ओमिक्रोनपछि कोभिड महामारी अन्त्य हुन्छ भन्ने समाचारमा कुनै सत्यता छैन: डब्लुएचओ
काठमाडौं । नेपालस्थित विश्व स्वास्थ्य संगठनको कार्यालयले ओमिक्रोन भाइरसले कोभिड महामारी अन्त्य गराउँछ भन्ने समाचारमा कुनै सत्यता नभएको बताएको छ । विश्व स्वास्थ्य संगठनको नेपालस्थित कार्यालयका स्वास्थ्य आपतकालिन कार्यक्रमका टोली नेता डा. आलिसन गोकोतानोले उक्त समाचारमा कुनै सत्यता नभएको बताएका हुन् । ओमिक्रोनको भाइरसको संक्रमणले अहिले कडा खालको असर नगरेको पाइए पनि यो छिटो फैलने र धेरैलाई संक्रमित गराउने उनले बताए । उनले खोप नलगाएका, खोप लगाएपनि दीर्घ रोग भएका व्यक्तिमा यसले नराम्रो असर गरिरहेको बताए । ‘भाइरस जति छिटो फैलन्छ र जति धेरै जनामा पुग्छ यो त्यति धेरै आनुवांशिक परिवर्तन हुने र संक्रामक हुने सम्भावना रहेको छ । अहिले नरम देखिएको भाइरस पुनः संक्रामक र घातक हुनसक्ने सम्भावना रहेकोले भाइरस फैलिन नदिने तर्फ सबै सजग हुनुपर्छ,’ उनले भने । डा. आलिसान गोकोतानोले खोप लगाएका व्यक्तिमा ओमिक्रोनको संक्रमणको असर पनि कम देखिएकोले सबैलाई खोप लगाउन आग्रह गरेका छन् ।
दक्षिण कोरियामा कोरोनाका दैनिक सङ्क्रमित अहिलेसम्मकै बढी
साेल । दक्षिण कोरियामा कोरोना भाइरसबाट एकैदिनमा ८ हजारजना भन्दा बढी सङ्क्रमित देखिएका छन् । यो संक्रमण संख्या यहाँ कोरोना भाइरसको महामारी सुरु भएयताकै सबैभन्दा धेरै भएको बताइएको छ । यहाँका स्वास्थ्य अधिकारीहरुले दिएको जानकारीअनुसार यहाँ गएको २४घन्टामा ८ हजार ५७१ जना सङ्क्रमित थपिएका छन् । यहाँ अहिलेसम्ममा दैनिक सङ्क्रमित भएकामध्ये पछिल्लो २४ घण्टामा सङ्क्रमितको संख्या सबैभन्दा धेरै देखिएको बताइएको छ । उनीहरुका अनुसार दक्षिण कोरियामा पछिल्लो २४ घण्टामा यी संक्रमितसहित कोरोना भाइरसबाट संक्रमित भएकाहरुको कुल संख्या ७ लाख ४९ हजार भन्दा बढी पुगेको छ ।कोरियाली रोग नियन्त्रण केन्द्रले मंगलबार सार्वजनिक गरेको विवरणअनुसार दक्षिण कोरियामा कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट पनि फैलिएको छ । यहाँ पछिल्ला दिनहरुमा ओमिक्रोन भेरियन्ट फैलिनुका साथै अस्पताल भर्ना हुनेहरुको संख्या पनि बढेको छ । यहाँ सबैभन्दा बढी राजधानी सोलमा देखिने गरेका छन् । त्यस्तै बाहिरबाट आएका नागरिकहरुमा संक्रमण देखिने पनि गरेको बताइएको छ । रासस/सिन्ह्वा
थप १२ हजार बढीमा संक्रमण पुष्टि, ८ जनाको मृत्यु
काठमाडाैं । पछिल्लाे २४ घण्टामा नेपालमा थप १२ हजार बढीमा कोरोना संक्रमण पुष्टि भएकाे छ । देशभरिक २५ हजार ९०९ जनाको नमुना परीक्षण गर्दा १२ हजार ८ जनामा कोरोना संक्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ८८ हजार ९३४ पुगेको छ । मन्त्रालयका अनुसार यो अवधिमा ३ हजार ४० जना निको भएका छन् भने ८ जना संक्रमितको मृत्यु भएको छ ।