काठमाडौं । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुले एक साताका लागि कोरोना विरुद्धको खोप अभियान स्थगित गरेको छ । अस्पतालले आज एक सूचना जारी गर्दै चिकित्सक, स्वास्थ्यकर्मी एवं अन्य ५० जनाभन्दा बढी कर्मचारीमा कोभिड–१९ संक्रमण पुष्टि भएपछि अभियान रोकिएको जनाएको हो ।
‘यस अस्पतालमा कार्यरत रही बिरामीको उपचार र कोभिड–१९ विरुद्धको खोप कार्यक्रममा संलग्न चिकित्सक, स्वास्थ्यकर्मी एवं अन्य कर्मचारीहरु ५० जनाभन्दा बढी कोभिड–१९ बाट संक्रमित हुनुभएकोले यस अस्पतालमा सञ्चालित खोप अभियान माघ १० गतेदेखि १६ गतेसम्म ७ दिनको लागि स्थगित गरिएको व्यहोरा अनुरोध छ’, अस्पतालले जारी गरेको सूचनामा भनिएको छ ।
