आइतबार ६ हजार ३५९ जना काेराेना संक्रमणमुक्त
काठमाडौं । पछिल्लो २४ घण्टामा ३ हजार ५३९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार १४५ पीसीआर परीक्षणमा ९ हजार ९१० र ३ हजार २३५ एन्टिजेन परीक्षणमा ४९१ जना गरी चार हजार ९०४ जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार ३५९ जना संक्रमणमुक्त भएका छन् ।
कुष्ठरोगीलाई अझै समाजको डर
चितवन । भरतपुर महानगरपालिका–५ की ४९ वर्षीया एक कुष्ठरोगी महिला अहिले पनि आफूलाई रोग भएको कुरा गोप्य राख्न बाध्य भएका छन् । उनका दुई छोरी र नातिनी कुष्ठरोगी हुन् । उनीसहित दुई छोरीले दुई वर्षयता औषधि खाँदैछन् भने नातिनीले छ महिनादेखि औषधि खान थालेकी छिन् । कान्छी छोरीले भरतपुर अस्पतालमा परीक्षण गराएर औषधि खाएकी हुन् भने अन्य सबैले पोखरामा परीक्षण गराएर नियमित औषधि खान थालेकी हुन् । उनले भनिन् ‘घर यहाँ भए पनि स्वास्थ्य परीक्षण र औषधि लिन हामी टाढा जाने गरेका छौँ ।’ नियमित औषधि पनि भरतपुरमा नगई गीतानगर जाने गरेको उनले बताइन्। समाजको डर देखाउँदै उनले थपिन्, ‘छोराछोरीको विवाह गर्नुछ, कसैले थाहा पाए भने भन्ने सधैँ मलाई पिरलो हुन्छ ।’ गाउँमा लाटो फुस्रो दाग देखिएकालाई कुष्ठरोग परीक्षण गर्न जान सुझाउने भए पनि आफू र परिवारलाई भएको समस्याका बारेमा स्वास्थ्यकर्मीबाहेक अरुलाई नभनेको उहाँले बताउनुभयो । नाम गोप्य राख्न अनुरोध गर्दै उनले भनिन्, ‘अहिले औषधि खाँदा पनि समस्या आइरहन्छ, सुनेको छु, अब विस्तारै सधैँका लागि निको हुन्छ रे ।’ नौ वर्षीया नातिनीलाई समस्या देखिएपछि आफूलाई चिन्ता थपिएको उनको भनाइ छ । चिकित्सक स्वास्थ्यकर्मीले निको हुन्छ भनेकाले आफू ढुक्क रहेको उनको भनाइ छ । सङ्क्रमण देखिएकालाई बेलाबेलामा शरीरका ठाउँठाउँमा गाँठागुँठीसहितको घाउ आउने गरेको छ । औषधि खाएपछि निको हुने गरेको उनी बताउँछिन् । रोगबाट क्षति व्यहोर्नु नपरोस् भनेर सधैँ आफू स्थानीयलाई जनचेतना जगाउने काममा सक्रियरुपमा लागेको उनी बताउँछिन् । भरतपुर महानगरपालिका–१० का ५५ वर्षीय एक पुरुष पेसाले श्रमिक हुन् । उनको हातको तीन वटा औँला कुष्ठरोगले गर्दा झरेको छ । ज्याला मजदुरी गर्ने उनलाई काम गर्ने ठाउँमा हेयको दृष्टिकोणले हेर्ने गरेको अनुभव छ । उनले भने, ‘जहाँ काम गर्न गयो, मानिस नजिक पर्न खोज्दैनन् ।’ श्रीमती र दुई छोरालाई ज्याला, मजदुरी गरेर पाल्दै आएको बताउने उनले परिवारका अन्य सदस्यलाई भने रोग नसरेको बताए । समयमा उपचार नगराउँदा आफूले तीन वटा औँला गुमाउनु परेको बताउँदै उनले भने, ‘लाटो फुस्रो दाग देखिनेबित्तिकै परीक्षण गर्नुपर्ने रहेछ । मैले ढिलो गरेँ ।’ तीन वटा औँला गुमाएको भए पनि नियमित काम भने गरिरहेको उनले बताए । उनले भने, ‘औषधि खान थालेपछि काम भने गरिरहेको छु ।’ सबैलाई रोगका बारेमा नभनेको भन्दै उनले रोग थाहा पाउनेले हेर्ने दृष्टिकोण राम्रो नहुने गरेको बताए । स्वास्थ्य कार्यालय चितवनका प्रमुख दिपक तिवारीले रोगका बारेमा सबैलाई जानकारी हुने गरी सन्देश प्रवाह गरिरहेको बताए । नियमित उपचारबाट कुष्ठरोग पूर्णरुपमा निको हुने र एकमात्रा बहुऔषधि सेवन गरेपछि ९९.९ प्रतिशत किटाणु निष्क्रिय भई अरुलाई नसर्ने उहाँले बताए । कुष्ठरोगको औषधि सरकारी स्वास्थ्य संस्थामा निःशुल्क पाइन्छ । तिवारीले औषधि खाएकाबाट रोग नसर्ने भएकाले समाजले उनीहरुप्रति सम्मानजनक व्यवहार गर्नुपर्ने बताए । आफ्नो गाउँ समाजमा कुष्ठरोग लागेको शङ्का लागेमा तुरुन्त परीक्षण गरी औषधि खाने व्यवस्था गर्न उनले सबैमा आग्रह गरे । उनले भने, ‘हामीले पनि विभिन्न शिविरमार्फत खोजी जारी राखेका छौँ, सबै मिलेर रोगलाई निर्मूल पार्नुपर्छ ।’ भरतपुर महानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख दिपक सुवेदीले कुष्ठरोग भएका र निको भएकाको परिवार एवं नजिक रहेर काम गरेकालाई औषधि खुवाउने काम भइरहेको बताए । विसं २०५१ देखि हालसम्म एक हजार ७९१ जनामा सङ्क्रमण भएको तथ्याङ्क छ । तिनीहरुको परिवार र सम्पर्कमा आएकाको खोजी गरी औषधि खुवाउने काम भइरहेको उनले जानकारी दिए । स्वास्थ्य कार्यालय चितवनका भेक्टर कन्ट्रोल निरीक्षक राम केसीले हाल जिल्लामा ४६ जनाले नियमित औषधि खाइरहेको जानकारी दिए । जसमध्ये २० जना नयाँ थपिएका हुन् । गत आर्थिक वर्षमा ४५ जना नयाँ रोगी थपिएका थिए । यसैबीच कार्यालयले एक संक्षिप्त कार्यक्रम आयोजना गरी सङ्क्रमितलाई पौष्टिक खानेकुरा वितरण गरेको छ । सो अवसरमा पौष्टिक खानेकुराका साथै मास्क, सेनिटाइजर र साबुन वितरण गरिएको थियो । सो अवसरमा छ जनालाई ती सामग्री वितरण गरियो । जिल्लाका सबै सङ्क्रमितलाई पालिकामार्फत पौष्टिक खानेकुरा पु¥याइने कार्यक्रम रहेको छ । रासस
कोरोना संक्रमित घट्दै, पछिल्लो २४ घण्टामा ४ हजार ९ सयजना संक्रमित हुँदा ६ जनाको मृत्यु
काठमाडाैं । पछिल्लो २४ घण्टामा ४९०४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार १०१ पीसीआर परीक्षणमा तीन हजार ३१८ र चार हजार ४६१ एन्टिजेन परीक्षणमा एक हजार ५८६ जना गरी चार हजार ९०४ जनामा संक्रमण पुष्टि भएको हो । कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा ६ जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५,९२४ जना संक्रमणमुक्त भएका छन् ।