लगानीकर्ताको चित्त बुझाउनु सीईओको लागि सबैभन्दा पिडादायी छ-अजय मिश्र
अजय मिश्र, प्रमुख कार्यकारी अधिकृत -नर्भिक इन्टरनेशनल हस्पिटल हरेक मान्छेको स्वभाव, रुची तथा जीवनशैली पृथक हुन्छ । संस्थामात्र नभई मान्छेले बेलाबेलामा पेसा पनि परिर्वतन गर्छन् । सायद रुची र खुसीका कारण पनि हुन सक्छ । यस्तैमध्येका एक पात्र हुन्, अजय मिश्र । जो कुनै बेला सरकारी जागिरे, विदेशी नियोग, सञ्चार माध्यम, बैंक तथा वित्तीय संस्थाको नेतृत्वदायी तहमा रहेर काम गरेका थिए । र, अहिले नर्भिक अस्पतालको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा छन् । प्रस्तुत छः मिश्रसँग पेसागत रुची, चुनौतीसँगै नर्भिक अस्पताल र अर्थतन्त्रमा देखिएको अस्थिरता लगायतका विषयमा विकासन्युजले गरेको विकास वहस । तपाई धेरै संस्थासँग जोडिए काम गर्नुभयो, यसरी बारम्बार संस्था परिर्वत गर्नुको कारण के हो ? म सरकारी विद्यालय र सरकारी कलेजबाट विद्या हासिल गरेको व्यक्ति हुँ । घरको वातावरणको कुरा गर्ने हो भने सबै जना सरकारी जागिरे । परम्परादेखि नै घर परिवार सबै सरकारी सेवा सुविधामा समर्पित । साढे २१ वर्षको उमेरमा म सरकारी लेखा अधिकृतको रूपमा सेवा प्रवेश गरे । किताब पढेको थिए, लेखा अधिकृतमा जागिर खान गए । त्यो बेला सरकारी लेखा प्रणाली मैले पढेको नै रहेनछु । पास भएर जागिर खान गए तर, त्यो सिस्टममा घुलमिल हुन निकै समय लाग्यो । सरकारी प्रणाली बुझ्न र व्यवहारमा लागू गर्न मलाई निकै समय लाग्यो । बिस्तारै काम गर्दैन थिए तर, अधिकृत पोस्टमा मैले गर्न सकिन । सरकारी निकायको काम गर्ने वातावरण मलाई आकर्षित गर्न सकेन । साढे २१ वर्षको युवा जोस जागर धेरै, के–के न गर्न सकिन्छ भन्ने भयो । त्यहाँ धेरै समयसम्म अट्न सकिनँ । मन उकुसमुकुश भयो । त्यसपछि मैले सरकारी जागिर छोडे । जागिर छाडेको केही महिनापछि संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (युनडीपी) आकर्षक प्रस्ताव आयो र त्यसमा काम गर्न थाले । आज हाम्रो समाजमा लाखौं युवा सरकारी जागिर कसरी खाने भनेर लोकसेवा परीक्षाको लागि भिडिरहेका छन्, उनीहरूको लक्ष्य नै सरकारी जागिर खानु हो । उनीहरूलाई तपाई के भन्न चहानु हुन्छ ? जागिर खादा व्यक्तिको स्पष्ट उद्देश्य हुन्छ । म जागिर खान बाध्य छु । किनकि त्यहाँ म आर्थिक रूपमा निर्भर छु । त्यति खेर म धेरै चिजमा सम्झौता गर्छु । त्यो जागिर मेरो जीविको पार्जन हो भनेर मैले वातावरण अनुकूल नभए पनि त्यसमा म लामो समयसम्म रहन्छु । अर्काे पक्षबाट हेर्दा आर्थिक निर्भरताको लागि म जागिर खान बाध्य छैन । म जागिर सन्तुष्टिको लागि खादै छु भने परिवर्तन धेरै हुँदो रहेनछ । म पनि साढे २१ वर्षको उमेरमा लेखा अधिकृतको जागिर छोड्ने आँट् गर्दिन थिए होला । किनछोडे भने अन्य विकल्पहरू मसँग थिए । म त्यसमा आर्थिक रूपमा निर्भर थिइनँ । अर्काे राम्रो अवसर पाइन भने मेरो मास्टर पढ्न बाँकी नै थियो । त्यो दुइटै अप्सन देखेपछि म खुल्ला रूपमा बाहिर निस्किए । संयोग नै भनौं, म कहिले पनि खाली बस्नु परेन । ३२ वर्षको प्रोफेसनल करियरमा नर्भिक हस्पिटल मेरो लागि १४ औं संस्था हो । त्यसले पनि के संकेत गर्छ भने कामप्रति सन्तुष्टि हुँदैन भने त्यो काम म बन्द गर्छु । हैन भने एउटै संस्थामा रहेर पनि २० वर्षसम्म जागिर खाइन्थ्यो । सबैभन्दा बढी एउटा संस्थामा ७ वर्ष काम गरे । मलाई लाग्छ कि, मैले त्यो संस्थामा गर्नुपर्ने काम जति गरिसकियो, त्यो संस्थामा थप योगदान दिन सक्दिन भन्ने लागेपछि छाडेर हिड्ने हो । मैले पनि त्यो संस्थालाई फाइदा दिने लिमिटेसन हुन्छ । त्यहाँ मेरो काम सकियो, अर्काेमा लागे हुन्छ भन्ने मेरो सोच हुन्छ । सीईओ भएर नै काम गरेको १५ वर्ष भइसक्यो । एकातिर मेरा साथीहरू बैंकको सीईओको रूपमा २ कार्यकाल काम कम भयो भनिरहेका छन् । म चाहिँ बैंकको सीईओेको एक कार्यकाल पर्याप्त हो भन्छु । किनभने ४ वर्षपछि कुनै व्यक्तिले जति भ्यालु एड गर्न सक्छ, त्यसपछि धेरै बाँकी रहँदैन भन्ने मेरो बुझाइ हो । युनडीपीको प्रजोक्टमा के काम गर्नुभयो ? युनडीपीबाट प्लान इन्टरनेसनलमा गरिवी निवारण परामर्शदाता भएर गएँ । ५ वर्ष प्लान इन्टरनेसनल र युनडीपीमा बिताए । मेरो जीवनको सबैभन्दा ठूलो वर्ष लर्निंग पोइन्ट त्यो ५ वर्ष हो । सो वर्षभित्रमा नेपालका गाउँगाउँमा भएका गरिबी, त्यसका कारणहरु, निराकरणको उपायको बारेमा गहिरिए अध्यान गर्न अवसर पाएँ । अलि कति राजनैतिक घटनाक्रमहरु बदलिए, काठमाडौं बाहिर सुरक्षाको चुनौति बढ्यो । विकासको काम गर्नको लागि असहजता भयो । काठमाडौं फर्किने मनासयमा म नेपाल टेलिभिजनमा आएँ । मेरो जिन्दगीमा सबैभन्दा सन्तुष्ट भएर काम गरेको नेपाल टेलिभिजनको ३ वर्षे कार्यकालमा हो । आफ्नो निर्णय सत प्रतिशत गर्न सक्ने, इच्छा लागेको कुरा गर्न सक्नेर स्रोत माथिको सत प्रतिशत कन्ट्रोल हुने सीईओ पदमा मैले १५ वर्ष काम गरें । तर, सीईओ नभए पनि नेपाल टेलिभिजनको त्यो ३ वर्षे कार्यकाल मेरा लागि सबैभन्दा बढी सन्तुष्टीको समय थियो । नेपाल टेलिभिजनमा जिम्मेवारी के थियाे ? नेपाल टेलिभिजनमा सुरु चोटी म त्यहाँको प्रशिक्षण र योजना विभाग हेर्थे । नेपाल टेलिभिजनको त्यो विभाग मैले नै स्थापना गरेको भन्दा पनि हुन्छ । युनेस्कोसँग सहकार्य गरी प्रशिक्षणको लागि ५५ हजार डलर अनुमोदन पनि गराइयो । नेपाल टेलिभिजन नोक्सानमा गइरहेको थियो, मलाई व्यापार महाशाखा पठाइयो । नेपाल टेलिभिजनको इतिहासमा व्यापारमा फाइदा भएको पहिलो पटक म व्यापार महाशाखामा भएको समयमा नै हो । त्यो बेला बोनस पनि ख्वाइएको थियो । त्यो बेला म शाखा प्रमुख भए पनि मैले प्रस्ताव गरेका कुनै पनि योजना तथा कार्यक्रम रोकिएन । मैले ल्याएको प्रस्तावलाई टेलिभिजनको प्रबन्धक, महाप्रबन्धकले रोक्ने प्रयास गरेनन् । मैले चाहेको हिसाबमा त्यहाँ काम गर्न पाएँ । जहाँ पदभन्दा मर्यादा तथा अवसर पाउनु हुन्छ त्यहाँ सन्तुष्ट हुनुहुन्छ । अहिले पनि नेपाल टेलिभिजनमा जहाँ म माइत गएको अनुभव गर्छु । मैले उक्त सञ्चार माध्यम छोडेको २० वर्ष भइसक्यो । आज पनि मैलेसँगै काम गरेका सहकर्मी साथीहरूबाट त्यही सम्मान, त्यही माया पाउँछु । जो सञ्चार क्षेत्रमा क्रियाशील हुनुहुन्छ उहाँहरू त्यही सन्तुष्टि देखिँदैन तर जो सञ्चार क्षेत्रबाट बाहिर जानुभयो उहाँहरू मिडिया नै राम्रो थियो भन्नुहुन्छ । यो किन यस्तो हुँदो रहेछ ? २० वर्ष अगाडि मिडिया छाडा पनि थिएन । कन्टेन्ट पनि बेच्दैन थिए । त्यो बेला इमानदारिता र अनुशासन थियो । आज धेरै मिडियाको कन्टेन्टमा प्रश्नहरू देखिराखेको छु । अनुसासन भन्ने चिज नै छैन । त्यसमा योग्यता, विज्ञताका चिजहरू ओझोलमा पर्दै गए । ३२ वर्षमा १४ वटा संस्थाको परिवर्तन गर्नुभयो कुन कुन संस्थामा काम गर्नुभयो ? प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीइभीटी), जिल्ला शिक्षा कार्यालय, युएनडीप, प्लान इन्टरनेशनल, नेपाल टेलिभिजन, एभिन्यूज टेलिभिजनको महाप्रबन्धक भएर काम गरे । यसपछि माछापुच्छ्रे बैंक, प्रुडेन्सियल फाइनान्सको सीईओ भएपछि त्यसलाई एनएमबीमा मर्ज गरेर सिद्धार्थ डेभलपमेन्ट बैंकको सिईओ बने । सिद्धार्थबाट जनता बैंकको डेपुटी सिइओ भएर गए । जनता बैंकपछि युनाइटेड फाइनान्सको सिईओ भएँ । र, हाल नर्भिक अस्पतालमा काम गरिरहेको छु । बैंकतर्फ जुन–जुन संस्थामा रहेर काम गर्नुभयो, ती संस्थाहरुको अस्तित्व नै रहेनन् नि ? प्रुडेन्सियल फाइनान्समा मैले प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी लिदा त्यो संस्था बन्द हुने अवस्थामा थियो । केही गुनासो र सरकारी मुद्दाहरू थिए । नकारात्मक ब्यालेन्ससिट थियो, त्यो संस्था टिकाइरहन गाह्रो थियो । सेयरहोल्डर र निक्षेपकर्ताको हितको लागि त्यो संस्थाको मर्जरको विकल्प थिएन । मर्जरमा लानु पर्ने बाध्यता थियो । प्रुडेन्सियल फाइनान्स एनएमबीमा लगिसकेपछि सिद्धार्थ बैंकको सीइओ भएँ । सिद्धार्थको म सीइओ हुँदा बैंकिङ्ग कसुरका केही मुद्धा चालिरहेको थियो । सेयरको मूल्य ६० रुपैयाँमा झरेको थियो । राष्ट्र बैंकले कारबाही गर्ने अवस्थामा पुगेको संस्था हो । मैले २ वर्षभित्र अत्यधिक रिटन पनि सेयर होल्डरलाई खुवाको हुँ । क्यापिटल बढाएर २ सय ५० करोड रुपैयाँ पनि पुर्याएको थिएँ । शाखा सञ्जाल पनि ह्वातै बढाएँ । त्यतिखेर समयमा डेभलोमेन्ट बैंक मध्ये चौथो नम्बरमा पुयाँइएको हो । त्यति विकास भइसकेपछि सेयर होल्डरको चाहना अनुसार वाणिज्य बैंकमा विकास बैंक मर्जर गर्दा सबैभन्दा बढी मूल्य लिएर मर्जर भएको बैंक सिद्धार्थ डेभलपमेन्ट बैंक नै हो । हेर्दा १ः१ को मर्जर हो । तर सिद्धार्थले ६० प्रतिशत हकप्रद गरेर जनता बैंकले ५० प्रतिशत हकप्रद रद्द गरी मर्जर गरेका हुनाले सेयर होल्डरले एक सय ४० बराबरको मूल्य पाएको मर्जर हो । सिद्धार्थ विकास बैंकको रूपान्तरणको लागि त्यो मर्जर आवश्यकता थियो । जनता बैंक पनि ग्लोबल बैंकमा जानु आवश्यक थियो । जनता बैंकको पनि आफ्नै किसिमको कमिकजोरीहरु थिए । बढ्नको लागि लिमिटेशन थियो, ग्लोबलमा गएपछि अवसर चाहिँ खुलेको हो । यसपछि म युनाइटेड फाइनान्समा गएँ । यो बलियो र पुरानो फाइनान्स कम्पनी हो । तर सानो थियो । यसको फोकस चाहिँ हायर पर्चेज कर्जामा थियो । समय बदलियो र कोभिडको पनि प्रभाव बढ्यो । त्यसपछि युनाइटेडलाई मर्जरको विकल्प रहेन । त्यसपछि नेपालको सबैभन्दा ठूलो बैंकसँग मर्जर गर्यौं । मर्जर गर्नु गराउनुमा नियमकको प्रेसर, सेयर धनीको चाहना र दबाब कति काम गर्याे, तपाईँ जस्तो प्रोफेशनल मान्छेको भूमिकाले कति काम गर्यो ? म आफै पनि ६ वटा मर्जर प्रोशेसमा प्रत्यक्ष संलग्न भएँ । व्यक्तिगत रूपमा भन्दा सबैभन्दा धेरै मर्जर मैले नै गराएको हुँ । म संलग्न भएर गरेको कुनै मर्जर नियमक निकायको प्रेसरले गराएको हैन । सेयर होल्डरको हितको लागि बढी भन्दा बढी रिटर्न दिन सक्ने गरी मर्जर गरेका हौं । जे जति मर्जर भए, त्यो सबै प्रोफेसनल र नितान्त सेयरधनीको चाहानामा भएका थिए । मर्जरमा तपाईले जति भूमिका खेल्नुभयो त्यसमा तपाई पूर्ण सन्तुष्ट रहनुभयो ? म पूर्ण सन्तुष्ट रहेँ । त्यसको कारण छ । कारण के हो भने मर्जर हुने संस्थामा म जागिर खान जान्न भन्थें । त्यसले मर्जर सफल हुन सहयोग गर्दाेरहेछ । मर्जर भाँडिने २ वटा कारण छन् । एउटा सीईओको व्यवस्थापन र अर्काे बोर्डको व्यवस्थापन । मैले भन्ने गरेको छु मर्जपछि मलाई केही पनि चाहिँदैन । जनता बैंक मेरो बाध्यता र परिवेश हो । जनता बैंकले एक वर्षको लागि भएपनि आइदिनु पर्याे भनेर मात्र म त्यहाँ गएको हुँ । बैंक तथा वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत तथा नेतृत्व तहमा पुग्ने चाहाना धेरेको हुन्छ, यो जिम्मेवारी सम्हाल्दाका सुखद पक्षहरू केके रहेछन् र यसका जोखिमहरू केके हुन् ? मेरो लागि सुखद पक्ष फरक दृष्टिकोणले पनि छ । म तराइको मान्छे । बैंकिङ क्षेत्रको उपल्लो ओहोदामा बिरलै भेट्नु हुन्छ । म फाइनान्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत भएँ, सी क्लासमा केही व्यक्तिहरु तराईबाट सीइओ बन्नुभएको थियो । बी क्लासको पनि सीईओ भएँ, बी क्लासमा एउटा सरकारी संस्थामा मात्रै तराईबाट सीईओ हुनुभएको थियो । म ए क्लास (वाणिज्य बैंकको) को बैंकको डेपुटी सीईओ भएँ । तराईबाट ए क्लासको बैंकको डेपुटी सीईओ हुने म एक जना मात्र हुँ । म डी क्लास (लघुवित्त) को वित्तीय संस्थाको डाइरेक्टर भएँ । यस्तो संस्थाको डाइरेक्टर तराईबाट धेरै जना हुनुभएको छ । म राष्ट्र बैंकले तोकेको ए, बी, सी र डी गरी चारै प्रकारको बैंक तथा वित्तीय संस्थाको नेतृत्वदायी भूमिकामा पुग्न सफल भएँ । मैले जे जति संस्था समाले, त्यो सबै बिग्रेको संस्था समालेको हुँ । त्यो बिग्रेको संस्थालाई बनाएर इज्जतदार भूमिकामा ल्याएर छोडेको छु । मलाई यो विषयमा पूर्ण सन्तुष्टी छ । अहिले पनि अलिकति संस्था बिग्रेको र मर्जर चाहिएको रहेछ भने मलाई खोज्दै आइरहेका छन् । आज पनि मलाई मर्जर गर्नुपर्ने छ, आउनुहोस् भनेर भन्छन् । चुनौतीको कुरा गर्नुभयो, बैंकिङ क्षेत्र बढो चुनौतीको क्षेत्र हो । यसलाई चुनौतीमूलक बनाएको पनि हामी बैंकरले हो । हामी प्रोफेसनल्ली म्यानेज गर्छाैं भन्छौं संस्थालाई । हामी सर्टटर्म भिजनले काम गर्दैछौं । हामी ३ महिना टाल्ने, ६ महिना टाल्ने, एक वर्ष टाल्ने हिसावले काम गर्छाैं । दीर्घकालिन रुपमा काम गर्दैनौं । जस्तो कि छिटै तरलता फालाफाल हुने र नपाएर हैरान हुने अवस्था जुन छ, त्यसमा आधा दोष बैंकरको हो, आधा मात्रै नीतिगत लगायतको हो । आफ्नो सम्पत्ति र दायित्वको व्यवस्थापन त आफैले गर्न सक्नु पर्यो । बैंकिङ क्षेत्र पछिल्लो ४ वर्षमा बढी चुनौतिपूर्ण भयो । किनभयो भने हाम्रा सहकर्मी साथीहरू नै सय मिटरको दौडमा होमिए । बैंकिङ सय मिटरको दौड हैन । तर, सबै संस्थामा सञ्चालक समितिको प्रेसर कस्तो आयो भने त्यो बैंकले सय मिटरको दौड दौडे जस्तो गरी तिमी पनि दौड न भनियो । अनि हामी सबैजना दौडन थाल्यौं । समस्या त्यहाँबाट सुरु भयो । हामीले सिस्टमलाई धरापमा पुर्याएका छौं । बैंक तथा वित्तीय संस्थाहरूको प्रमुख कार्यकारी अधिकृत जिम्मेवारीमा जो बस्नु भएको छ, उहाँहरूको पिडा केके हुन् ? संस्थाका विभिन्न स्टेकहोल्डर मध्ये लगानीकर्ता पनि एक हुन् । लगानीकर्ताको चित्त बुझाउनु सबैभन्दा पिडादायी छ । किनभने सबै संस्थाको आफ्नै स्ट्रेन्थ हुन्छ । लगानीकर्ताले संस्थाको स्ट्रेन्थ नहेरी, जुन १, २, ३ भन्ने नम्बरिङ छ, त्यसमा तुलना गरिदिन्छन् । बजारले बैंकरहरुलाई हेर्ने दृष्टिकोण, विशेष गरी सीइओहरुप्रति सकारात्मक छैन । किनभने इनले धेरै तलब खान्छ, धेरै सुविधा लिन्छन्, ऋणीहरूलाई लुटेर पैसा कमाएर धेरै तलब खाइरहेएका भन्ने छ । बैंकरहरुको तलब धेरै भयो भनेर प्रधानमन्त्रीको मुखबाट पनि सुनिरहेका हुन्छौं । बैंकले राम्रो प्रगति गरेको छ, सेयरधनीलाई प्रतिफल दिएको छ, त्यसैकारण त उसले बढी सेवा सुविधा लिएको हुन्छ । तर यी राम्रा पक्षमा कसैले बोल्दैन, लेख्दैन । सोझै आलोचना मात्रै हुन्छ । यही यो देशको बिडम्बना यो पनि हो । बैंकरप्रति हेर्ने दृष्टिकोण राम्रो छैन । सरकारी निकायबाट काम लिन बैंकलाई ज्यादै कठिन हुन्छ । जस्तो कि कुनै बैंकले कुनै ठाउँमा शाखा खोल्यो भने त्यहाँ विद्युत चाहिन्छ । तर, सिधा प्रक्रियाबाट विद्युतको लाइन जोड्न सकिदैन । ऋण लिन दिनको लागि जग्गा रोक्का फुक्का राख्नुपर्ने हुन्छ । सिधा तरिकाले मालपोतमा हाम्रो काम हुँदैन । यातायातमा गाडीको नामसारीको काम कानुनी व्यवस्था अनुसार हुँदैन । त्यो हाम्रा लागि ज्यादै पिडादायी क्षण हो । किनभने यस्ता खर्च मैले कहाँबाट व्यवस्थापन गर्ने भन्ने पीडा हुन्छ । कहाँबाट व्यवस्थापन हुन्छ भनेर मैले धेरै भन्न मिल्दैन । अर्काे, नियामकसँगको सम्बन्ध पनि निकै पीडादायी हुन्छ । बैंकका म्यानेजरलाई बैंक व्यवस्थापन गर्न धेरै समय दिन सकिदैन । आधा समय त यस्ता सरोकारवालालाई मिलाउँदैमा जान्छ । धेरै मान्छेले भन्ने गर्छन् नर्भिक अस्पताल धेरै महँगो छ तर सो अस्पतालमा मानिसहरूको भिड पनि लागेका छ । महँगो पनि, भिड पनि किन भइरहेको छ ? तपाई नर्भिकमा आउनु भयो भने ८० प्रतिशत बिरामीहरू मध्यम वर्गीय भेट्नुहुन्छ । ५ प्रतिशत न्यून वर्गीय र १० देखि १५ प्रतिशत मात्र सम्पन्न वर्गीय भेट्नु हुन्छ । त्यो भनेको हाम्रो अस्पतालको सेवा मध्यम वर्गको लागि उपयुक्त छ । नर्भिक कसरी महँगो भन्ने छाप पर्यो भनेर बुझ्नु जरुरी छ । यो अस्पताल २८ वर्ष अगाडि स्थापना भएको थियो । त्यो समय प्राइभेट ठूला अस्पताल थिएन । सरकारी अस्पताल मात्र थिए । अहिले नर्भिक महँगो भनिरहेका छौं, यस्तै २/४ वटा अस्पताल छिरौं र अन्य अस्पतालको तुलनामा नर्भिक सस्तो रहेछ भन्ने अवस्थामा आइपुग्नु हुन्छ । २० वर्ष अगाडि नर्भिकमा हुनेखाने मात्र उपचारका लागि आउँथे । अहिले सबै मध्यम वर्गीय उपचारको लागि आउँछन् । त्यसैले यो अस्पताल सबैको लागि उपयुक्त छ । कुन कुन कारणले गर्दा यस अस्पतालमा आम सर्वसाधारण आकर्षित भइरहेका छन् ? ३ वटा कारणले गर्दा यो अस्पतालमा सर्वसाधारण आकर्षित भएका छन्, एउटा नर्भिकको लोकेशन, अस्पतालमा भएको केही ख्याति प्राप्त डाक्टर र ब्रान्ड इमेजको कारण गर्दा यो अस्पताल नागरिकहरू आकर्षित भएका छन् । यस अस्पतालमा तपाईको नेतृत्वमा के परिवर्तन हुन्छ ? बिरामी र अस्पतालबीचको सञ्चार प्रणालीको सम्बन्धलाई अलिक बढाउने, सेवा विस्तार गर्ने, काठमाडौंर बाहिर पनि यसको पहुँच पुर्याउने योजना बनाएका छौं । नर्भिकको साधारण सेयर निष्काशन प्रक्रिया कहाँ पुग्यो ? आगामी आर्थिक वर्ष २०७९/८० मा यसको प्रक्रिया सम्पन्न हुन्छ । किन भने बुक बिल्डिङको प्रक्रियाबाट अगाडि बढ्छौं । यसका आवश्यक तयारीहरू भइरहेका छन् । २० प्रतिशत सेयर पब्लिकमा लाने हाम्रो सोच हो । समयले यसलाई परिवर्तन गर्न सक्छ । अस्पतालको क्षेत्रमा सरकारले पनि ठूलो लगानी गरिरहेको छ, निजी क्षेत्रबाट खुलिरहेका अस्पतालहरू लगानीको हिसाबले कति सुरक्षित छन् कति नाफामूलक छन् ? अन्य क्षेत्रको तुलनामा अस्पतालहरु नाफामुलक चाहिँ छैन । सरकारका अस्पतालहरू सुविधा सम्पन्न छन् । लगानी पनि अस्पतालको क्षेत्रमा सरकारले निकै गरेको छ । तर, देशको आवश्यकता अनुसारको सेवा सुविधा भने पुर्याउन सकेको छैन । सरकारी अस्पतालमा अपरेसनको पालो कुर्नु पर्याे भने ३ देखि ६ महिनासम्म लाग्छ । बिरामीले त्यो समयसम्म कुर्न सक्दैन बाध्य भएर निजी अस्पताल नै जानु पर्यो । सरकारीमा लोड धेरै छ लोड थेग्न सकेको छैन ।
दक्षिण एसियामै पहिलोपटक टिसिभी प्रयोग गरी टाइफाइड खोप अभियान गर्दै नेपाल
काठमाडौं । नेपालले दक्षिण एसियामै पहिलोपटक टाइफाइड कन्जुगेट भ्याक्सिन (टिसिभी) प्रयोग गरी टाइफाइड खोप अभियान गर्ने भएको छ । नेपालले यही चैत २५ गतेदेखि वैशाख १८ गतेसम्म देशव्यापी रुपमा टिसिभी प्रयोग गरी टाइफाइड खोप अभियान गर्ने भएको हो । टाइफाइडको लागि निकै प्रभावकारी मानिएको टाइफाइड कन्जुगेट भ्याक्सिन (टिसिभी) विश्व स्वास्थ्य संगठनको सिफारिसमा नेपालले यो भ्याक्सिन प्रयोग गर्न लागेको हो । सरकारले अभियानमा १५ महिनादेखि १५ वर्षसम्मके ७५ लाख बालबालिकालाई खोप लगाउने जानकारी स्वास्थ्य मन्त्रालय अन्तर्गतको परिवार कल्याण महाशाखाका बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख सागर दाहालले जानकारी दिए । दाहालको अनुसार अभियान अन्तर्गत स्थानिय तहको प्रत्येक वार्डम तोकिएको विद्यालयहरुको खोप केन्द्रहरुमा खाेप उपलब्ध हुने, विद्यालय नभएका वा कम भएका वडाहरुमा बाह्य खाप केन्द्र संचालन गरिने र अभियानको अन्तिम दिन वैशाख १८ गते स्वास्थ्य सेवामा खोप सेवा संचालन गरिनेछ । दाहालले यस खोप अभियानमार्फत कोरोनाको कारण अन्य खोप लगाउन छुटेका बालबालिकाको पनि डाटा संकलन गरेर उनीहरुलाई खोप उपलब्ध गराउने उदेश्य रहेको बताए । टाइफाइडको कारण विश्वमा हरेका वर्ष २ करोड बढी जनसंख्या संक्रमित हुन्छन् जसमा एक लाख ६१ हजारजनाको मृत्यु हुने गरेको छ । विगत ५ वर्षको तथ्यांक अनुसार नेपालमा वर्षोनि साढे ४ लाख नेपालीमा टाइफाइड रोग संक्रमण देखिएको छ ।
घाटा भएको भन्दै जीवनजल उत्पादन बन्द गरे उद्योगीले
काठमाडौं । लागत पनि नउठ्ने देखेपछि औषधी व्यवसायीहरुले जीवनजलको उत्पादन बन्द गर्न लागेका छन् । सरकारले तोकेको मूल्यमा उत्पादन गरेर विक्री वितरण गर्नै नसकिने भन्दै उद्योगीले उत्पादन गर्न छोडेका छन् भने केही उद्योगीले उत्पादन बन्द गर्ने तयारी थालेका छन् । सरकारले जीवनजलको उपभोक्ता मूल्य प्रतिप्याकेट १० रुपैयाँ तोकेको छ । तर, एक प्याकेट जीवनजल उत्पादन गर्न १७ रुपैयाँ लाग्ने गरेको उद्योगीको भनाई छ । सरकारले तोकेको मूल्यमा विक्री गर्नको लागि जीवनजल उत्पादन नै गर्न नसकिने अवस्था रहेको नेपाल औषधी उत्पादक संघ (एपोन) का उपाध्यक्ष सन्तोष बरालले बताए । ‘अहिले भारतमा जीवनजलको मूल्य प्रतिप्याकेट ३२ रुपैयाँ छ भने नेपालमा १० रुपैयाँ छ, हामीलाई एक प्याकेट उत्पादन गर्नको लागि लागत मात्रै १६ देखि १७ रुपैयाँ आउँछ, डिस्ट्रिब्युटर मार्जिन, होलसेल मार्जिनको त कुरै छोडौं, यस्तो अवस्थामा हामीले कसरी बेच्ने ?’ उनले भने । २०६४ सालमा औषधी व्यवस्था विभाग, औषधी उत्पादक संघ र नेपाल औषधी व्यवसायी संघको सहमतिमा जीवनजलको मूल्य प्रतिप्याकेट १० रुपैयाँ तोकिएको थियो । त्यसयता १४ वर्षदेखि यसको मूल्य बढेको छैन । आदी रेमेडिजका प्रबन्ध निर्देशकसमेत रहेका बरालले आफैले पनि जीवनजलको उत्पादन बन्द गरिसकेको बताए । ‘मैले आफै पनि बनाउन छाडिसकें, कोभिड अघिसम्म वर्षको तीन कन्टेनर बनाउँथें, एक कन्टेनरमा २४ टन जीवनजल हुन्छ, तर कोभिडको समयमा कच्चा पदार्थको मूल्य असाध्यै बढ्यो, त्यसपछि उत्पादन बन्द गर्नुको विकल्प भएन,’ बरालले थपे । उनले अहिले बजारमा जीवनजल अभाव देखिएको पनि बताए । स्वदेशी उद्योगले लागतका कारण उत्पादन बन्द गर्नु परेको उनको भनाई छ । ‘अहिले कुनै पनि गाउँमा झाडापखला सुरु भयो भने जीवनजल लगभग पाइदैन, औषधी व्यवसायीहरुले अब यसमा चाहेर पनि केही गर्न नसक्ने अवस्था आइसकेको छ,’ उनले भने । यसअघिसम्म व्यवसायीहरुले अन्य उत्पादनहरुको फाइदा समायोजन गरी जीवनजल उत्पादन गर्दै आएका आएका उनी बताउँछन् । उद्योगीले साढे ३ वर्षअघि विभागलाई जीवनजलको उत्पादनमा लाग्ने लागतको बारेमा जानकारी दिदै औषधी व्यवस्था विभागलाई पत्र पठाएका थिए । त्यसबेला जीवनजलको लागत १४ रुपैयाँ आएको थियो । यस्तै, ओम्निका ल्याब्रोटोरिजका प्रबन्ध निर्देशक तथा औषधी उत्पादक संघका वरिष्ठ उपाध्यक्ष महेश प्रधानले आफ्नो मन नहुँदा नहुँदै पनि जीवनजलको उत्पादन बन्द गर्न बाध्य भएको बताए । ‘हाम्रो जीवनजल प्रिमियम ब्राण्डमा पर्छ, हामीले दुई वर्ष अनुसन्धान गरेर हाम्रो जीवनजल इलाइट बनाएका हौं तर लामो समयदेखि यसमा घाटा बाहेक केही नभएपछि बाध्य भएर उत्पादन नै बन्द गरियो,’ प्रधानले भने । सरकारले आफुहरुलाई व्यवसायीभन्दा पनि समाजसेवी सम्झेको प्रधान बताउँछन् । सरकारलाई भन्दा भन्दा आफूहरु थाकिसकेको उनले बताए । ‘मैले यो विषयबारे यथार्थ अवगत गराउन हरेक समयको प्रधानमन्त्री, अर्थमन्त्रीदेखि लिएर स्वास्थ्यमन्त्रीलाई भेटे, तर यहाँ व्यवसायीहरुको कसैलाई वास्ता छैन, म सरकारलाई अब केही भन्न सक्ने अवस्थामा छैन,’ उनले भने । प्रधानले १४ वर्षअघिको मूल्य अहिलेको परिवेश अनुसार समायोजन गर्नु आवश्यक रहेको बताए । ‘१४ वर्षअघि जीवनजलको मूल्य त्यस समयको बजारलाई हेरेर १० रुपैयाँ तोकिएको थियो, त्यसबेला डलरको भाउ ५५ देखि ५७ रुपैयाँ थियो, अहिले डलर १२१ रुपैयाँ पुगेको छ । कच्चा पर्दाथको मूल्य डबल भइसक्यो, लेबलको पनि डबल भइसक्यो तर जीवनजलको मूल्य जहाँको त्यही छ,’ उनले थपे । प्रधानका अनुसार नेपालमा जिवनजल उत्पादन गर्ने ६ वटा कम्पनी रहेका छन् । यसअघि नेपालमा जीवनजल बेचिरहेको एउटा विदेशी कम्पनी पनि दुई वर्षअघि भागिसकेको उनले बताए । ओम्निकाले हाल डाक्टर र डाक्टरको परिवारहरुको लागि मात्र केही मात्रामा जीवनजलको उत्पादन गरिरहको उनले बताए । नेपालमा हाल जीवनजल नेपाली कम्पनीहरुले मात्र उत्पादन गरिरहेका छन् ।