कर्णालीमा ६९ प्रतिशतले लगाए कोरोना खोपको दोस्रो मात्रा

कर्णाली । कर्णाली प्रदेशमा ६९ प्रतिशतले कोरोना भाइरसविरुद्ध खोपको दोस्रो मात्रा लगाएका छन् । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार नौ लाख ७३ हजार ६४८ जनाले खोपको दोस्रो मात्रा लगाएका हुन् । हालसम्म खोपको पहिलो मात्रा ७० प्रतिशतले लगाएका छन् । निर्देशनालयका सूचना अधिकारी पदम केसीले एक लाख सात हजार ६८१ ले बुस्टर डोज लगाएको जानकारी दिनुभयो । हाल सबै जिल्लामा कोरोनाविरुद्धको खोप अभियान जारी छ । कर्णालीमा कोभिशिल्ड, एस्ट्राजेनिका, भेरोसेल, फाइजर, मोडर्ना र जोनसन खोप दिइएको छ । पछिल्लो समय कर्णालीमा कोरोना सङ्क्रमण दर न्यून छ । हाल प्रदेशमा सक्रिय सङ्क्रमितको सङ्ख्या २६ रहेको छ ।

‘५०० एमजीको प्यारासिटामोल उत्पादन बन्द गर्दैनाैं’

काठमाडौं । ५०० एमजीको प्यारासिटामोलको उत्पादन बन्द गर्ने आफूहरुको कुनै योजना नरहेको नेपाल औषधि उत्पादक संघका महासचिव विप्लव अधिकारीले बताएका छन् । उनले बजारमा ५०० एमजी प्यारासिटामोलको उत्पादन बन्द गरेर ६५० एमजीको प्यारासिटामोल मात्र उत्पादन गर्ने विषय भ्रमपूर्ण रहेको बताए । हामीले ५०० एमजीको उत्पादन निरन्तर भई ६५० एमजी पनि उत्पादन गर्नको लागी अनुमति पाएका हौं । त्यसैले ५०० एमजी पनि अभाव नहुने र आवश्यकता अनुसार ६५० एमजी पनि उपलब्ध हुनेछ, उनले भने । औषधि सल्लाहकार समितिको चैत १० गते बसेको बैठकले ६५० एमजीको औषधिलाई उत्पादन गर्न अनुमति दिएको थियो । विभिन्न रोगहरुमा पारासिटामोल ६५० एमजी पनि आवश्यक देखिएकोले यसको उत्पादन सुरु गर्न लागेको उनले बताए । कोभिडको समयमा समेत नेपाल तथा विभिन्न राष्ट्रहरुमा चिकित्सकहरुले पारासिटामोलको ६५० एमजी मात्र नभई १००० एमजी सम्मको डोज आवश्यकता महशुस गरी प्रयोग भइरहेकोे उनी बताउँछन् ।

काभ्रेपलाञ्चोकमा कोरोना संक्रमित संख्या शून्य

काभ्रेपलाञ्चोक । जिल्लामा चार दिनदेखि गरिएका परीक्षणमा कुनै पनि व्यक्तिमा कोरोना सङ्क्रमण नदेखिएकाले काभ्रेपलाञ्चोक कोरोनामुक्त भएको जनाइएको छ । जिल्लामा पछिल्लो २४ घण्टामा २३ जनाको कोरोना परीक्षण गरिएको थियो । चार दिनदेखि दैनिक दुई दर्जन हाराहारीमा कोरोनासँग मिल्दोजुल्दो क्षण देखिएकाको परीक्षण गर्दा कसैमा पनि कोरोना सङ्क्रमण नदेखिएको जिल्लास्थित कोभिड–१९ सङ्क्रमण नियन्त्रण, रोकथाम र उपचारसम्बन्धी केन्द्र (डिसीएमसी)का सदस्यसचिव एवं जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा पुरुषोत्तमराज सेढाईँले जानकारी दिए । उनका अनुसार यसअघि कोरोना सङ्क्रमणको दोस्रो लहरपश्चात अर्थात् मङ्सिरमा पहिलोपटक जिल्ला कोरोना सङ्क्रमणमुक्त भएको थियो । सदरमुकाम धुलिखेलस्थित प्रदेश प्रयोगशालामा कोरोना लक्षण देखिएका व्यक्तिको परीक्षण भइरहने सेढाईँले बताए । काभ्रेपलाञ्चोकमा १३ स्थानीय तह छन् । चार दिनअघि बनेपा नगरपालिकामा रहेका एक कोरोना सङ्क्रमित पुरुष निको भएपछि जिल्ला कोरोना सङ्क्रमणमुक्त भएको हो । केन्द्रका अनुसार जिल्लामा हालसम्म दुई वर्षको अवधिमा १७ हजार ५५६ मा सङ्क्रमण देखिएकामा १९५ जनाको मृत्यु भएको थियो । कोरोना सङ्क्रमणको तेस्रो लहरमा जिल्लाका एक पुरुषको मृत्यु भएको हो । यसैबीच जिल्लाको मण्डनदेउपुर र पनौती नगरपालिकाले कोरोना सङ्क्रमणबाट मृत्यु भएकाको परिवारलाई आर्थिक सहयोग प्रदान गरेका छन् । साथै मण्डनदेउपुर नगरले कोरोनाबाट ग्रसित भई भेन्टिलेटरमा उपचार गराएकालाई समेत सहयोग गरेको छ । मण्डनदेउपुर नगरले कोरोनाबाट मृत्यु भएकाको प्रतिपरिवारलाई ५० हजार र भेन्टिलेटरमा उपचार गरेकालाई २५ हजारका दरले आर्थिक सहयोग प्रदान गरेको हो । कोरोना सङ्क्रमणबाट उक्त नगरका १८ जनाको मृत्यु भएको थियो भने दुई दर्जनभन्दा बढीले भेन्टिलेटरमा उपचार गराएका थिए । यस्तै पनौती नगरले पनि कोरोना सङ्क्रमणबाट मृत्यु भएकाको प्रतिपरिवारलाई २५ हजारका दरले आर्थिक सहयोग प्रदान गरेको छ । नगरमा कोभिड–१९ को सङ्क्रमणबाट १९ जनाको मृत्यु भएको नगर स्वास्थ्य शाखाले जनाएको छ । रासस