काठमाडौं । स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको आठौं सम्मेलन हुने भएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी)को आयोजनामा चैत २७ गते आइतबारदेखि उक्त सम्मेलन हुन लागेको हो ।
उक्त तीन दिने सम्मेलनको प्रमख उद्देश्य विभिन्न स्थानमा रहेका अनसन्धानकर्ताहरु, जनस्वास्थ्यविदहरु, जनसंख्या विद्हरु, नीति निर्माणकताहरु तथा बहुक्षेत्रीय विज्ञहरुबीच भेट गराई तथ्यमा आधारित नीति निर्माण गरिने एनएचआरसीका सदस्य सचिव प्रदिव ज्ञवालीले जानकारी दिए ।
यसका साथै सम्मेलनको अर्को उदेश्य बढ्दै गएका जनस्वास्थ्यका सवालहरुको अन्तरविषयात्मक अनुसन्धानका निष्कर्षहरुद्वारा सम्बोधन गर्ने अभ्यासमा टेवा पुऱ्याउनु रहेको उनले बताए ।
सम्मेलनको उद्घाटन स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले गर्नेछन् । कार्यक्रममा भौतिक उपस्थिति तथा भर्चुअल माध्यमबाट स्वदेश तथा विदेशमा रहका स्वास्थ्य तथा जनसंख्या विषयसँग सम्बन्धित व्यक्तित्वहरू सहभागी हुने ज्ञवालीले बताए ।
ज्ञवालीले सम्मेलनमा ३१ जना राष्ट्रिय विज्ञ र २२ जना अन्तराष्ट्रिय विज्ञहरुलाई प्रस्तुतीकरणका लागि आमन्त्रण गरिएकाे जानकारी दिए ।