उत्कृष्ट काम गरेकोमा भेरी अस्पताल सम्मानित

नेपालगञ्ज । बाँकेको भेरी अस्पताल, नेपालगञ्जलाई सेवा प्रवाहमा उत्कृष्ट काम गरेको भन्दै सम्मान गरिएको छ । आर्थिक वर्ष २०७८/७९ मा तोकिएको वार्षिक कार्यक्रमअनुसार विकास निर्माण तथा सेवा प्रवाहमा उत्कृष्ट कार्यसम्पादन गरेकाले सो अस्पताललाई पाँच हजार पुरस्कारसहित सम्मान गरिएको हो । बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले भेरी अस्पतालका डा राजन पाण्डेलाई उक्त पुरस्कार प्रदान गरे । जिल्ला प्रशासन कार्यालय बाँकेले जिल्लामा उत्कृष्ट कार्यसम्पादन गर्ने कार्यालयलाई पुरस्कार तथा सम्मान गर्ने नीति लिएको छ । अस्पताललाई कर्मचारी मिलन केन्द्र बाँकेको कार्यक्रममा पुरष्कृत तथा सम्मान गरिएको थियो । सो अवसरमा कर्मचारी मिलन केन्द्रले प्रकाशन गरेको नयाँ क्यालेण्डरको समेत विमोचन गरिएको थियो । रासस

देशभर वैशाख ६ र ७ गते भिटामिन ए र जुकाको औषधि खुवाइने

काठमाडौं । वैशाख ६ र ७ गते देशभर भिटामिन ए र जुकाको औषधि खुवाइने भएको छ । सरकारले ६ देखि ५९ महिनासम्मको बालबालिकालाई भिटामिन ए र जुकाको औषधी खुवाउने भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार ६ देखि ५९ महिनासम्मको बालबालिकालाई भिटामिन ए र १२ देखि ५९ उमेरसम्मका बालबालिकालाई भिटामिन ए र जुकाको औषधी खुवाइने छ ।  

नेपालमा एक करोड ६६ हजार जनाले लगाए पूर्ण खोप

फाइल फाेटाे काठमाडौं । नेपालमा हालसम्म एक करोड ८७ लाख २२ हजार ९०६ जनाले पहिलो मात्रा खोव लगाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार लक्षित समूहमा एक करोड ९९ लाख २२ हजार १६४ वयस्क रहेकामध्ये करिब ९४ प्रतिशतले पहिलो मात्रा खोप लगाएका हुन् । साथै एक करोड ६५ लाख ६३ हजार ३७० जनाले खोपको पूर्ण मात्रा लगाएका छन् । त्यस्तै, लक्षित वर्गभित्र रहेका ३४ लाख २५ हजार ४०८ जना बालबालिका मध्ये ९२ प्रतिशत अर्थात् ३१ लाख ४५ हजार ४५१ जनाले खोपको एक मात्रा लगाएका छन् भने २५ लाख ८४ हजार ३२६ जनाले खोपको पूर्ण मात्रा लगाएका स्वास्थ्य मन्त्रालयले जनाएको छ । यस बाहेक २३ लाख ७४ हजार ११ डोज अतिरिक्त खोप प्रयोगमा आएको र देशभर हालसम्म उपलब्ध ५ करोड ३३ लाख ८१ हजार ५७० डोज खोपमध्ये ४ करोड ५ लाख ८५ हजार ५५७ डोख खोप प्रयोग गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा: समिरकुमार अधिकारीले जानकारी दिए । सहप्रवक्ता अधिकारीले विभिन्न सञ्चारमाध्यमहरूमा कोरोनाविरुद्धको खोप प्रयोग नगरेर खेर फालेको भन्ने समाचारप्रति मन्त्रालयको ध्यानाकर्षण भएको बताएका छन् । हालसम्म सरकारले कोरोनाविरुद्धका खोपहरू खेर नफालेको उनले दाबी गरे । ‘अहिलेसम्म खोप खेर गएको छैन, एउटा भाँडोमा १० जना वा ६ जनालाई पुग्ने गरेर खोप आउँछ, अब त्यो खोप ६ घण्टाभित्रमा नलगाए नष्ट गर्नुपर्ने हुन्छ । तर खोप लगाउने मानिसहरु नहुँदा १/२ वटा खोप प्रयोग भए पनि प्याकमा बाँकी खोप खेर जानसक्ने सम्भावना हुन्छ।’ उनले भने । सहप्रवक्ता अधिकारीका अनुसार यसलाई खेल फालिएको भन्न मिल्दैन । निस्चित समयभित्र लगाउन मान्छे नपाइँदा यसको समयावधि सकिएर खेल फाल्नुपर्ने बाध्यतालाई सञ्चारमाध्यमले खोर खेल फालेको भन्दै समाचारमा छापिएको भन्दै दु:खेसो पोखे ।