गेटा मेडिकल कलेजलाई सञ्चालन गरिने, डडेल्धुरामा पनि निर्माण हुने

काठमाडौं । सरकारले गेटा मेडिकल कलेजलाई सञ्चालनमा ल्याउने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले आइतबार संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै गेटा मेडिकल कलेजलाई सञ्चालन गरिने र डडेल्धुरामा पनि मेडिकल कलेज निर्माण गर्ने बताएका हुन् ।

४० वर्ष माथि उमेरका मानिसको वर्षमा एक पटक निः शुल्क स्वास्थ्य जाँच

काठमाडौं । सरकारले ४० वर्ष माथिका उमेर समूहका मानिसको वर्षमा एक पटक निः शुल्क स्वास्थ्य जाँच गर्ने घोषणा गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले आइतबार संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै उनले ४० वर्ष माथिका उमेर समूहका मानिसको वर्षमा एक पटक नसर्ने रोगको निःशुल्क स्वाथ्य जाँच गर्ने बताएका हुन् ।

नेपालमा स्वास्थ्य क्षेत्रको सूचकमा उल्लेखनीय सुधार

काठमाडौं । नेपालमा स्वास्थ्य क्षेत्रको सूचकमा उल्लेखनीय सुधार भएको पाइएको छ । आर्थिक वर्ष २०७८/७९ को आर्थिक सर्वेक्षणमा स्वास्थ्य क्षेत्रको सूचकमा उल्लेख सुधार हुँदै गएको पाइएको हो । दिगो विकासको लक्ष्य अनुसार सन् २०३० मा प्रजनन दर २ दशमलव १ पु¥याउने लक्ष्य भए पनि अहिले नै २ प्रतिशत रहेको आर्थिक सर्वेक्षणमा जनाइएको छ । यस्तै पाँच वर्षमुनिका बाल मृत्युदर र नवजात शिशु मृत्युदर पनि दिगो विकास लक्ष्य अनुसार घटाउन सफल भएको देखिएको छ । मातृ स्वास्थ्यसम्बन्धी अन्य सूचकको चालु आवको फागुनसम्मको उपलब्धिको अनुपातले यस आवको अन्त्यसम्म दिगो विकास लक्ष्यले तोकेको लक्ष्य पूरा हुने प्रारम्भिक अनुमान देखिएको सर्वेक्षणमा जनाइएको छ । पूर्णरुपमा सबै प्रकारका खोप लगाएका बालबालिका ५९ दशमलव ७ प्रतिशत रहेका छन् । यस्तै स्वास्थ्य संस्थामा प्रसूति गराउने गर्भवती महिला ५२ दशमलव ७ प्रतिशत रहेको छ । नवजात शिशु मृत्युदर (प्रति एक हजार जीवित जन्ममा, जन्मेको २८ दिनभित्र) १६, शिशु मत्युदर (प्रति एक हजार जीवित जन्ममा, जन्मेको एक वर्षभित्र)मा २५, पाँच वर्षमुनिको बाल मृत्युदर (प्रति एक हजारमा) २८ जना तथा कम्तीमा चार पटक गर्भ जाँच गराउने महिला ५० प्रतिशत, दक्ष प्रसूतिकर्मीबाट प्रसूति गराउने गर्भवती महिला ४९ दमशलव ५ प्रतिशत रहेका छन् । चालु आर्थिक वर्षमा कूल ग्राहस्थ्य उत्पादनमा स्वास्थ्य तथा सामाजिक क्षेत्रको योगदान १ दशमलव ७९ प्रतिशत रहने प्रारम्भिक अनुमान छ । आव २०७७/७८ को तुलनामा यस आवमा स्वास्थ्य क्षेत्रको कूल मूल्य अभिवृद्धि ६ दशमलव ९१ प्रतिशतले वृद्धि हुने प्रारम्भिक अनुमान रहेको सर्वेक्षणमा जनाइएको छ ।