नवलपरासीमा ज्येष्ठ नागरिकको घर–घरमा स्वास्थ्य सेवा

नवलपरासी । नवलपरासी पूर्वको मध्यविन्दु नगरपालिका– ९ की पुतली कुमाल ७५ वर्ष पुगिन् । उमेर ढल्किँदै गएपछि विभिन्न स्वास्थ्य समस्याले उनी पीडित छिन् । स्वास्थ्यकर्मीले घरमै आएर स्वास्थ्यजाँच गराउन थालेपछि पुतली कुमाल खुसी भएकी छिन् । स्वास्थ्यकर्मीले घरमै आएर रक्तचाप, मधुमेह, दमलगायतका रोगको जाँच गरी आवश्यक औषधि निःशुल्क उपलब्ध गराएका छन् । मध्यविन्दु नगरपालिका–९ कै ७८ वर्षीय रोशन सिंहलाई पनि रक्तचाप र दमको समस्या छ । आफैँ अस्पताल पुगेर औषधि लिन उनलाई समस्या थियो । गत साउनदेखि स्वास्थ्यकर्मी घरमै आएर जाँच गरी औषधि दिन थालेपछि उनी पनि खुसी भएका छन् । मध्यविन्दु नगरपालिकाले चालू आर्थिक वर्षको नीतिकार्यक्रममा समावेश गरेको को ७० वर्ष पुगेका ज्येष्ठ नागरिकलाई घरमा स्वास्थ्य सेवा कार्यक्रम अन्र्तगत नगरभित्रका १५ वटै वडामा गत साउनदेखि सञ्चालन गरेको छ । मध्यविन्दु नगरपालिकामा चालू आर्थिक वर्षदेखि महिनाको एक पटक ज्येष्ठ नागरिकको घरमा नै पुगेर स्वास्थ्य परीक्षण गर्न थालिएको हो । प्रत्येक महिनाको २० गतेदेखि २४ गते सम्म स्वास्थ्यकर्मी घर घरमा पुगेर ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण गर्ने गरेका छन् । स्वास्थ्य परीक्षणका क्रममा ज्येष्ठ नागरिकको मासिक स्वास्थ्यअवस्थाको अभिलेख राखिने गरिएको छ भने आवश्यक परामर्श प्रदान गर्ने गरिएको मध्यविन्दु नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ख्यामबहादुर क्षेत्रीले बताए । ‘घर–घरमा स्वास्थ्य परीक्षण कार्यक्रमअन्तर्गत नगरभित्रका करिब दुई हजार तीनसय ज्येष्ठ नागरिकले लाभ लिएका छन्’, स्वास्थ्य शाखा प्रमुख क्षेत्रीले भने, ‘अशक्त, अपाङ्गता, दीर्घ रोगी र पहाडी क्षेत्रका ज्येष्ठ नागरीकलाई अझ प्रभावकारी भएको महसुस गरिएको छ ।’ भौगोलिक दृष्टिले विकट पहाडी क्षेत्रमा बसोबास गर्ने नागरिकदेखि आर्थिक अवस्था कमजोर भएका घरपरिवारले यस कार्यक्रमबाट लाभ लिएको मध्यविन्दु नगरपालिकाका प्रमुख भीमलाल अधिकारीले बताए । जनताकाबीचमा गरिएको प्रतिबद्धता अनुसार ज्येष्ठ नागरिकलाई घर आँगनमै स्वास्थ्यपरीक्षण गर्न १५ वटै वडामा स्वास्थ्यकर्मीको टोली गाउँगाउँ खटिएको बताए् । उनले भने,’हामीले पहिलो चरणमा उनीहरूको स्वास्थ्य परीक्षण गरी सामान्य औषधि वितरण गरिरहेका छौँ । स्वास्थ्यचौकीमा निःशुल्क नपाइने औषधि पनि खरिद गरेर वितरण गर्दै आएका छौँं ।’ पहिलो चरणमा सबै ज्येष्ठ नागरिकको स्वास्थ्यअवस्था, सेवन गरिरहेको औषधिको विवरणलगायतका आधारभूत तथ्याङ्क टिपोट गरी लगत सङ्कलन गरिएको थियो । सबै लाभग्राहीको छुट्टछुट्टै रेकर्ड फाइल तयारी गरी अवस्था विश्लेषण गर्ने गरिएको छ । प्रत्यैक ६/६ महिनामा विशेषज्ञ चिकित्सकसहित घर–घरमा स्वास्थ्य परीक्षण गरिने जनाइएको छ । घर घरमा ज्येष्ठ नागरिकको स्वास्थ्यपरीक्षणमा खटिने स्वास्थ्यकर्मिलाई विशेष प्रोत्साहान भत्तासमेत उपलव्ध गराइएको नगरपालिकाका सूचना अधिकारी सुमनराज रेग्मीले बताए । रासस

चितवनकाे जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा फिजियोथेरापी र अकुपन्चर सेवा सुरु

चितवन । चितवनको रत्ननगरमा रहेको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा फिजियोथेरापी र अकुपन्चर सेवा सुरु भएको छ । आज आरोग्यता दिवस तथा धन्वन्तरि जयन्तीको अवसर पारेर जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायण अधिकारीले सेवा सुभारम्भ गरे । प्रदेश स्तरको सो केन्द्रको उपचार थप प्रभावकारी बनाउन सेवा थप गरिएको कार्यालय प्रमुख डा कोपिला अधिकारीले जानकारी दिए । उनका अनुसार अकुपञ्चर सेवा पूर्वी चितवनमै पहिलो पटक आयुर्वेद स्वास्थ्य केन्द्रमार्फत प्रदान गर्न लागिएको छ । आयुर्वेद थेरापी, दुःखाइ व्यवस्थापन, बाथरोग, नशासम्बन्धी रोग, निद्रा नलाग्ने लगायतका रोगको उपचार जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमार्फत भइरहेको अधिकारीले जानकारी दिए । केन्द्रमा प्रयोगशाला, भिडियो एक्सरे सेवा पनि उपलब्ध छ । प्रस्तावित ५० शय्याको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा २५ शय्याको भवन निर्माण भइरहेको छ । केन्द्रले गतवर्ष मात्रै ४० हजार नागरिकलाई सेवा प्रदान गरेको जनाएको छ । आरोग्यता दिवस तथा आज धन्वन्तरि जयन्तीमा प्रभातफेरी प्रत्येक वर्ष कात्तिक कृष्ण त्रयोदशीका दिन मनाइने आरोग्य दिवस एवं धन्वन्तरि जयन्तीको अवसरमा चितवनमा प्रभातफेरी निकालिएको छ । रत्ननगरमा रहेको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रको आयोजनामा प्रभातफेरी निकालिएको हो । केन्द्रको कार्यालय परिसरदेखि सुरु भएको प्रभातफेरी ईलाका प्रहरी कार्यालय हुँदै सौराहा चोक, बकुलहर चोक, हरिहर मन्दिर हुँदै पुनः कार्यालयमा आएर समापन भएको थियो । प्रभातफेरीमा सहभागीलाई विभिन्न जनचेतनामूलक सन्देश लेखिएका प्ले कार्ड समातेका थिए । दिवसकै अवसरमा कार्यालयमा धन्वन्तरि पूजन एवं धन्वन्तरि मूर्ति प्रतिस्थापन गरिएको छ । वन जङ्गलमा पाइने जडीबुटीमा आधारित प्राचीनतम् वैदिक चिकित्सापद्दति आयुर्वेदका प्रवर्तक भगवान् धन्वन्तरिको उत्पत्ति भएको सम्झनामा सो जयन्ती मनाउने गरिन्छ । आजको दिनलाई आयुर्वेदका चिकित्सकले सत्सङकल्प गरी शुभकार्य प्रारम्भ गर्ने अवसरका रूपमा लिने गर्छन् । विसं १९८५ मा काठमाडौँको नरदेवीमा आयुर्वेद क्याम्पसको स्थापना भएपछि नेपालमा विधिवत् धन्वन्तरी जयन्ती मनाउन थालिएको थियो । रासस

सिन्धुली अस्पताललद्वारा सेवा विस्तार

सिन्धुली । सिन्धुली अस्पतालले थप छ सेवा प्रदान गर्ने भएको छ । अस्पताल स्थापनाको ४५औँ वार्षिकोत्सवका अवसरमा शनिबार साँझ पत्रकार सम्मेलन सो जानकारी दिइएको हो । अस्पताल विकास समितिका अध्यक्ष प्रल्हाद पोख्रेलले विपन्न नागरिकलाई आकस्मिक उपचार कार्यक्रम सञ्चालन गरिने बताए । विपन्न नागरिक आकस्मिक तथा उपचार कोष स्थापना गरी कोषको रकम विपन्न नागरिकको उपचारमा उपयोग गरिने उनको भनाइ छ । तीस वर्षभन्दा माथिका महिलाको विशेषज्ञ चिकित्सकद्वारा स्तन क्यान्सरको पहिचान गरी स्तन क्यानसर रोगको लक्षण देखिएका महिलालाई थप निदानात्मक जाँचका लागि सम्बन्धित अस्पतालमा पठाइने अस्पतालले जनाएको छ । जनआन्दोलनका घाइतेको निःशुल्क उपचार हुने भएको छ । जनआन्दोलनबाट घाइते भनी सम्बन्धित निकायबाट परिचयपत्र प्राप्त गरेका व्यक्तिलाई राष्ट्रिय बीमा बोर्डले तोकेबमोजिम उपचार सिन्धुली अस्पतालले प्रदान गर्ने जनाएको छ । १६ वर्षभन्दा माथिका हर्निया भएका बिरामीको निःशुल्क शल्यक्रिया गरिने उनले पत्रकार सम्मेलनमा बताए । सो अवसरमा सन्तान जन्माउन इच्छा पूरा भएका पुरुष तथा महिलालाई निःशुल्क बन्ध्याकरण सेवा उपलब्ध गराइनुको साथै मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम पनि सञ्चालन गरिने अस्पतालले जनाएको छ । अस्पताल विकास समितिका अध्यक्ष पोख्रेलले स्वास्थ्य सेवा सर्वसाधारणलाई महँगो बन्दै गएकाले सर्वसुलभ सेवा बनाउनुपर्ने जनाउँदै अस्पतालका सेवा विस्तारै निःशुल्क सेवातर्फ अघि बढाइने उनले बताए । अस्पतालले विगतको तुलनामा विशेषज्ञ सेवा प्रदान गर्दै आएको र जिल्लामा विशेषज्ञ चिकित्सकको समयअगावै सरुवा गर्ने तर दरबन्दीअनुसार चिकित्सक नपठाउने गर्दा समसया बल्झँदै आएको बताए । सिन्धुली अस्पतालले २४सै घण्टा आकस्मिक सेवा, फर्मेसी सेवा, ल्याब सेवा, एक्स–रे सेवा, प्रसूति सेवा, ओसिएमसी सेवा तथा एम्बुलेन्स सेवा उपलब्ध गराउँदै आएको मेडिकल सुपरिटेण्डेन्ट डा उमेश प्रधानले जानकारी दिए । अस्पतालले हाडजोर्नी, बालरोग, स्त्री तथा प्रसूति, जनरल सर्जरी, साइक्याट्रिक र रेडियोलोजी विशेषज्ञ सेवा प्रदान गर्दै आएको उनले जानकारी दिए । विशेषज्ञ सेवा निरन्तरताका लागि दरबन्दी सिर्जना गरी दुई विशेषज्ञ चिकित्सक थप गर्नुपर्ने, बिरामीको चाप बढेकाले चिकित्सकको दरवन्दी वृद्धि गर्नुपर्ने बर्ताए । सिन्धुली अस्पतालमा नाक, कान, घाँटी तथा छाला रोगको उपचारका लागि दरबन्दी नभएकाले दरबन्दी थप गर्न पहल गरे सर्वसाधारणलाई अस्पतालमा सबै विशेषज्ञ सेवा प्रदान गर्न सकिने बताए । रासस