जिल्ला अस्पताल सुनसरीकाे आम्दानी मासिक ५० लाख

सुनसरी । कुनैबेला प्राथमिक उपचार गराउनसमेत बिरामी जान नचाहने अस्पतालमा यतिबेला सेवा लिनेको भीड हुने गरेको छ । जिल्ला अस्पताल सुनसरीले आफ्नो धुमलिँदो छविलाई सुधार्दै सेवा प्रवाहलाई प्राथमिकता दिएसँगै अस्पताल पुग्ने बिरामीको संख्या बढ्न थालेको हो । जहाँ एका बिहानै पूर्जा काटेर पालो पर्खनेको भीड थामी नसक्नु छ । पालो कुरेरै भएपनि उपचार गराउनेको संख्या दिनानुदिन बढ्दो छ । लामो समय स्वार्थगत राजनीति र आर्थिक अनियमितता बाहेक नचाहनेहरुको चङ्गोलबाट उम्कन नसकेको इनरुवा अस्पतालबाट यतिबेला भने सेवाग्राहीले परिवर्तनको अनुभुति गर्न पाएका छन् । स्रोत साधनको उपलब्धताको आधारमा अस्पतालले २४ सै घण्टा विशेषज्ञ डाक्टर सहितको सेवा थालेसँगै अस्पतालप्रतिको आम सर्वसाधारणको धारणा समेत बदलिएको छ । अस्पतालको सेवाप्रति विश्वास जगाएको छ । जसको पछाडी एक जिद्दी डाक्टरको भुमिका अहम रहेको स्थानीयहरु बताउँछन् । नाम बदनाम अनि गुमनाम बन्न पुगेको अवस्थाबीच कार्यक्षेत्र रोजेर आएका डाक्टर देवराज घिमिरेको जिद्दीपनले नै यतिबेला अस्पताल कायापलट भएको हो । डाक्टर घिमिरेको साथमा यतिबेला सारा गाउँ नै लागिपरेको बताउँछन्, सञ्चारकर्मी राजेन्द्र पोखरेल । उनले डाक्टर घिमिरेले आफ्नो जिद्दीपना त्यागेको भए अस्पतालको दुरावस्था यतिबेला पनि रहीरहने बताए । उनले स्थानीयहरु अहिले व्यापक भ्रष्टाचारको ठाउँमा उपचार पाएसँगै खुशी भएको बताए । त्यस्तै सामाजिक अभियन्ता विनिता दाहालको अनुभव पनि सञ्चारकर्मी पोखरेलको भन्दा फरक छैन । उहाँ मानिसले गर्न चाहेको खण्डमा असम्भव नहुने बताउँछन् । अस्पतालमा बिरामीको चाप बढ्दै जानुमा अस्पताल सुविधा सम्पन्न हुँदै जानु र चिकित्सकको पर्याप्तता, सरल र सहज सेवा प्रवाह प्रमुख कारकका रुपमा हेरिएको छ । कुनै सयम औषधि खरिद लगायता प्रशासनिक खर्च अपार्दर्शीता जस्ता आर्थिक अनियमिततामा रुमल्लिएको अस्पतालले यतिबेला मासिक ५० लाख बढी आम्दानी गरिरहेको छ । प्राथमिक उपचार गराउनसमेत बिरामीहरु जान नचाहने अस्पतालले यतिबेला इको, इसीजी, इन्डोस्कोपी, मुटु, हाडजोर्नी, स्त्री तथा प्रसूति, मानसिक रोग तथा दाँतको विशेषज्ञ सेवा लिनको लागि इनरुवा अस्पताल पुग्ने गरेका छन् । जसले अस्पताल प्रतिको विश्वसनियता दर्शाएको सहजै अनुभुति गर्न सकिन्छ । जिल्ला अस्पताल सुनसरीका मेडिकल सुपरिटेन्डेन्ट डा. देवराज घिमिरे जिद्दी डाक्टरको रुपमा आफू चिनिए पनि आफूले स्वास्थ्य सेवा नागरिकले पाउनका लागि २४ सै घण्टा अस्पताल खुल्नुपर्ने माग गर्दै आएको बताए । उनले सबै उपचार अस्पतालमा नै हुनुपर्छ र नागरिकले सहज उपचार पाउनुपर्छ भन्नेकुरामा जिद्दी रहेको बताए । सदरमुकाममा रहेको जिल्ला अस्पतालमा इनरुवावासी र जिल्लाका कोशी, हरिनगर, गढी, देवानगञ्ज, रामधुनी लगायतका क्षेत्रबाट बिरामीहरु उपचार गराउन आउने गरेका छन् । अस्पतालले ब्लड बैंकसमेत सञ्चालनमा ल्याउन लागेको डाक्टर घिमिरेले जानकारी दिए ।

विश्व पक्षघात दिवसः विश्वमा बर्सेनि एक करोड ३० लाखमा पक्षाघात

काठमाडौं । विश्व पक्षघात दिवस आज विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । प्रत्येक वर्ष अक्टोबर २९ अर्थात् आजका दिन विश्वभर पक्षघात दिवस मनाउने गरिएकाले नेपालमा पनि यस अवसरमा विभिन्न कार्यक्रम गरी मनाइँदै छ । एक जटिल शारीरिक अवस्थाको रुपमा रहेको पक्षाघात मस्तिष्कको कुनै भागमा रक्तसञ्चार नभएमा हुने गर्दछ । मस्तिष्कमा अक्सिजन तथा पोषक तत्वको कमी भएमा रक्त धमनीमा रगत जम्मा भएर अवरोध हुँदा मस्तिष्कले आफ्नो नियन्त्रण गुमाउँछ । यसलाई नै पक्षाघात भनिन्छ । समयमै यसको उपचार नगरे मस्तिष्क सधैँका लागि खराब हुनाका साथै व्यक्तिको मृत्युसमेत हुनसक्छ । नेपाल पक्षघात सङ्घका अध्यक्ष डा. राजु पौडेल पक्षाघातको उपचारका लागि सङ्घले विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थामा तालिम प्रदान गर्नाका साथै उपचारका लागि अन्तर्राष्ट्रिय मापदण्ड तय गर्दै आएको बताउँछन् । । उक्त सङ्घले जर्मनीको युनिभर्सिटी हस्पिटल हाइडलवर्गको सहयोगमा नेपाल पक्षघात परियोजनासँगसहकार्य गरी काम गर्दै आएको छ । सन् २०१७ मा स्थापना भएको सङ्घले नेपालको पक्षघातको वर्तमान अवस्था र त्यसको उपचारका लागि गरिने उपायको खोजी गर्दै आएको छ । यस्तै जिआइजेड, विश्व स्वास्थ्य सङ्गठनलगायत संस्थासँगको सहकार्यमा नेपालको पक्षाघातसम्बन्धी गाइडलाइन तय गर्ने काम गर्दै आइएको उक्त सङ्घले पक्षघात सम्बन्धी निर्देशिका चाँडो निर्माण गरी सरकारलाई हस्तान्तरण गर्ने जनाएको छ । देशभरका १५ अस्पतालको पक्षाघातको अवस्थाबारे सूचीकरण गर्ने, बिरामीको अवस्थाबारे जानकारी राख्नेलगायतका काम पनि संघले गर्दै आएको छ । ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा कार्यरत वरिष्ठ न्यूरोलोजिस्टसमेत रहनुभएका डा. पौडेल पक्षाघात भएकामध्ये एक तिहाइले अकालमा ज्यान गुमाउनुपरेको भन्दै यसलाई भयावह हुन नदिन सरकारले विशेष ध्यान दिनुपर्नेमा जोड दिन्छन् । ‘विश्वमा हरेक चारजनामा एक जनालाई र छ सेकेन्डमा एकजनालाई पक्षाघातको सम्भावना रहेको हुन्छ, यसबाट सजग हुनुपर्छ’, उनको भनाइ छ । नेपालजस्तो अल्पविकसित र विकासोन्मुख देशमा पक्षाघातको दर बढी भएकाले सरकारले समयमै ध्यान दिनु जरुरी रहेकामा डा. पौडेल जोड दिन्छन्। नेपालमा अहिले पक्षाघात भएकामध्ये १० प्रतिशतको मृत्यु हुने गरेको तथ्याङ्क छ । उनका अनुसार उच्च रक्तचाप, मधुमेह, मोटोपन, धुम्रपान, निष्क्रिय जीवन पद्धति, असन्तुलित आहार र मुटुको चाल गढबढ हुँदा पक्षाघातको सम्भावना हुने भएकाले त्यसप्रति सतर्क रहनुपर्छ । सन्तुलन गुम्नु, अनुहार बाङ्गो हुनु, आँखाको ज्योति अचानक गुम्नु, बोली लरबराउनु, हातखुट्टा लुलो हुनु पक्षाघातको लक्षण भएको र यस्ता लक्षण देखिए साढे चार घण्टाभित्रै अस्पताल पुग्न सकेमात्र उपचार सम्भव रहेको डा. पौडेल बताउँछन् । पक्षघात हुँदा शरीरमा रगत जम्ने भएकाले रगत पातलो बनाउने औषधि प्रयोग गरेर बिरामीको उपचार गर्नुपर्ने र यसका अलावा बिरामीलाई फिजियोथेरापी गर्नुपर्ने हुन्छ । नेपालमा भौगोलिक विकटता, सीमित स्रोतसाधन र दक्ष जनशक्तिको अभावका कारण पक्षाघातको उपचारमा चुनौतीपूर्ण हुँदै गएको छ । समयमै रोग पहिचान गरेर उपचार गर्न सके उपचार सम्भव रहेको डा. पौडेल बताउँछन् । नेपाल पक्षघात सङ्घले ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल धापासीलगायत विभिन्न अस्पतालसँगको सहकार्यमा अक्टोबर १९ मा विभिन्न कार्यक्रम आयोजना गरी विश्व पक्षघात दिवस मनाइरहेको छ । यसै अवसरमा आजै काठमाडौँको महाराजगञ्ज चोकदेखि सामाखुसीसम्म पदयात्रा गरिएको थियो ।

चितवनमा डेङ्गु सङ्क्रमित दुई हजार नाघे

चितवन । चितवनमा डेङ्गु सङ्क्रमितको सङ्ख्या दुई हजार नाघेको छ । जिल्ला स्वास्थ्य कार्यालय चितवनका अनुसार चालु आर्थिक वर्षमा हालसम्म दुई हजार एक सय ६४ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भइसकेको छ । सो अवधिमा आठ हजार आठ सय ५३ जनामा डेङ्गु परीक्षण गर्दा दुई हजार एक सय ६४ जनाको रिपोर्ट पोजेटिभ आएको छ । जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी राम केसीका अनुसार उनीहरूमध्ये एक हजार चार सय ५१ चितवनका छन् । जसमा आठ सय २२ पुरुष र छ सय २९ महिला छन् । चार सय ५४ सङ्क्रमित अन्य जिल्लाका हुन् भने दुई सय ५९ जनाको ठेगाना नखुलेको कार्यालयले जनाएको छ । चितवनमा यो अवधिमा डेङ्गु सङ्क्रमणबाट तीन जनाको ज्यान गएको छ । चितवनका सात पालिकामध्ये सबैभन्दा धेरै डेङ्गु सङ्क्रमित भरतपुर महानगरपालिकाका रहेका छन् । भरतपुरमा हालसम्म पाँच सय ५९ पुरुष र चार सय १९ महिला गरी नौ सय ७८ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भइसकेको छ । यस्तै खैरहनी नगरपालिकामा एक सय २४, माडीमा २८, रत्ननगरमा एक सय ९७, राप्तीमा ७९ र कालिकामा ३७ जनामा डेङ्गु देखिएको केसीले बताए । इच्छाकामना गाउँपालिकामा हालसम्म आठ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ । अझै केही समय डेङ्गु सङ्क्रमण हुनसक्ने भन्दै कार्यालयले सचेत बन्न सबैलाई आह्वान गरेको छ । रासस