चितवन मेडिकल कलेजको प्रयोगशालाले पायो विशिष्ट श्रेणीको मान्यता

चितवन । चितवन मेडिकल कलेज सिएमसी शिक्षण अस्पतालको प्रयोगशालाले विशिष्ठ श्रेणी ए क्याटागोरीको मान्यता प्राप्त गरेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला नेशनल पब्लिक हेल्थ ल्याब्रोटरीले उक्त मान्यता प्रदान गरेको हो । राजधानी बाहिर यो मान्यता प्राप्त गर्ने सिएमसी पहिलो हो । चितवन मेडिकल कलेज सिएमसी शिक्षण अस्पतालले आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरी राजधानी बाहिर र मेडिकल कलेजमध्ये आफू पहिलो रहेको दाबी गरेको हो । अस्पतालका प्रमुख कार्यकारी अधिकृत प्रताप देवकोटाले नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको स्वास्थ्य संस्था सञ्चालनसम्बन्धी मापदण्ड, २०७७ अनुसार ‘ए’ ग्रेडको प्रयोगशालाका लागि आवश्यक सम्पूर्ण प्रक्रिया पूरा गरी मान्यता पाएको बताए । प्रयोगशालाले विशिष्ट श्रेणीको पूर्ण सुरक्षित भवन र त्यसभित्र आवश्यक पर्ने नमूना सङ्कलन, प्रतीक्षालय, बैठक कक्ष, कार्यालय क्षेत्र, भण्डार, शौचालयलगायतको व्यवस्था गरेको छ । न्यूनतम ३० मध्ये ५० प्रतिशत जनशक्ति स्नातक अथवा सोभन्दा माथिको योग्यताको हुनुपर्ने प्रावधान रहेको भए पनि सिएमसी प्रयोगशालामा तोकिएभन्दा बढी दक्ष जनशक्ति रहेको उनले बताए । सो मेडिकल कलेजले यसअघि नै आइएसओ १५१८९ः२०१२ प्राप्त गरिसकेको छ । देवकोटाले उच्च गुणस्तरको प्रयोगशालाका लागि चितवन तथा छिमेकी जिल्लाबाट राजधानी र विदेश जान नपर्ने गरी व्यवस्थापन गरिएको बताए । उनका अनुसार नेपालमा हुने सबै खालका परीक्षण यहाँ गर्न सम्भव छ । विशिष्ट श्रेणीको प्रयोगशालाको हैसियतले सिएमसी प्रयोगशालाले अन्य प्रयोगशालामा नहुने विशिष्ट जाँच पनि यसअघिदेखि नै गर्दै आएको छ । अब यहाँ परीक्षण हुन नसकेर नमूना विदेश नमूना पठाउनुपर्ने अवस्थाको अन्त्य भएको छ । सिएमसी प्रयोगशालामा यसअघि नै हरेक परीक्षण स्टान्डर्ड ओपरेटिङ सिस्टम एसओपी अनुसार र गुणस्तर म्यानुअलअनुसार परीक्षण गर्ने भएकाले यसलाई अझै प्रभावकारी बनाउँदै लैजाने प्रयोगशाला प्रमुख सञ्जयराय यादवले बताए । उनले भने, ‘प्रयोगशाला स्वाथ्य सेवाको अभिन्न अङ्ग हो । प्रयोगशालाको नतिजाका आधारमा नै रोगको पहिचान र उपचार सहज हुन्छ ।’ अस्पतालका निर्देशक डा दयाराम लम्सालले प्रयोगशाला उच्च गुणस्तरको नहुँदा बिरामीलाई उपचारमा कठिनाइ हुने भएकाले ठूलो लगानीमा विशिष्ट किसिमको प्रयोगशाला आफैँले बनाएको बताए । उनले भने, ‘राजधानी बाहिर यस्तो प्रयोगशाला अन्यत्र छैन, राजधानीमा हुने सबैखाले परीक्षण हामी गर्छौँ ।’ अन्य अस्पताल र प्रयोगशालालाई पनि यो प्रयोगशाला उपयोगी हुने उनको भनाइ छ । देशभरकै मेडिकल कलेजमा धेरै बिरामी उपचार गर्ने अस्पतालका रूपमा चितवन मेडिकल कलेजलाई चिन्ने गरिन्छ । रासस

महानगरद्वारा डेङ्गुको सङ्क्रमण सार्ने लामखुट्टेको लार्भा नष्ट गर्ने अभियान

विराटनगर । विराटनगर महानगरपालिकाले डेङ्गु रोगको सङ्क्रमण रोकथाम तथा नियन्त्रण अभियानलाई तीव्रता दिएको छ । सरोकारवालालाई राखेर अभिमुखीकरणपछि महानगरले डेङ्गुको सङ्क्रमण सार्ने लामखुट्टेको लार्भा नष्ट गर्ने अभियानलाई तीव्रता दिएको हो । महानगरको स्वास्थ्य महाशाखाको सक्रियतामा बुधबार विराटनगर–८ का विभिन्न टोलमा लामखुट्टेको लार्भा खोज तथा नष्ट अभियान सञ्चालन गरिएको महानगरले जनाएको छ । वडाध्यक्ष राम पोखरेलको नेतृत्वमा शान्तिचोकदेखि दक्षिण जतुवासम्म रहेका मोटरसाइकलका ग्यारेज, स्थानीयको घर र पानी जमेको स्थानमा लामखुट्टेको लार्भा खोजेर नष्ट गरिएको स्वास्थ्य महाशाखा प्रमुख हैदर अलीले जानकारी दिए । विशेष गरी टायर, झाडी, जमेको फोहोर पानीलगायतमा डेङ्गुको सङ्क्रमण सार्ने लामखुट्टे बस्ने भएकाले खोज तथा नियन्त्रण अभियानलाई तीव्रता दिएको वडाध्यक्ष पोखरेलले जानकारी दिए । यसअघि महानगरले स्वास्थ्य, नागरिक समाजसहित सरोकारवालालाई राखेर डेङ्गुु नियन्त्रण तथा रोकथामका लागि अभिमुखीकरण सञ्चालन गरेको थियो । महानगरका प्रमुख नागेश कोइरालाको निर्देशनअनुसार सबै वडामा डेङ्गु नियन्त्रणको अभियान सञ्चालन गरिरहेको महाशाखा प्रमुख अलीले बताए । सो कार्यअन्तर्गत हरेक दिन विभिन्न वडामा लामखुट्टे र लार्भा नष्ट गर्ने अभियान जारी छ । यसअघि मङ्गलबार वडाध्यक्ष श्याम घिमिरेको नेतृत्वमा वडा नं १९ मा खोज तथा नष्ट गर्ने अभियान सञ्चालन गरिएको थियो । महानगरको अभियानपछि सङ्क्रमणसमेत घट्दै गएको महानगर स्वास्थ्य महाशाखा प्रमुख अलीको दाबी छ । घर वरिपरि फोहोर पानी जम्न नदिने, सुत्दा झुल टाँगेर मात्रै सुत्ने, शरीर ढाक्ने लुगा लगाउने लगायतका विधि अपनाएमा डेङ्गुको सङ्क्रमणबाट बच्न सकिने चिकित्सकले बताउँदै आएका छन् । रासस

मकवानपुरमा स्वास्थ्य बीमा गराउने बढे

बागमती । मकवानपुर जिल्लामा स्वास्थ्य बीमा गराउनेको सङ्ख्या बढ्दै गएको एक तथ्याङ्कले जनाएको छ । साथै बीमा नवीकरण गर्नेको सङ्ख्या पनि बढेको छ । मकवानपुर जिल्लामा हालसम्म एक लाख ७२ हजार ४९ जनाले स्वास्थ्य बीमा गराएका छन् । नेपाल सरकारले पाँच वर्ष अगाडि सो कार्यक्रम सञ्चालन गरेको थियो । स्वास्थ्य बीमा बोर्ड मकवानपुरका दर्ता अधिकारी नरबहादुर खड्काका अनुसार गत आर्थिक वर्र्ष मात्र एक लाख ५२ हजार आठ सय ९४ जनाले स्वास्थ्य बीमा गराएका थिए । स्वास्थ्य बीमा गराउनेमध्ये जिल्लामा ९१ प्रतिशतले नवीकरण गरेको उनले जानकारी दिए । मकवानपुर जिल्लामा एक सय २८ जना दर्ता सहयोगी रहेका छन् । बीमाबाट एक हजार एक सय ३६ प्रकारको औषधि सूचीकृत रहेको बताइएको छ । औषधिको उपलब्धतामा कुनै गुनासो नआएको अधिकारी खड्काले भने । हेटौँडामा रहेको हेटौँडा अस्पताल तथा चुरेहिल अस्पतालमा स्वास्थ्य बीमा लागू गरिएको छ । रासस