बाँकेका ज्येष्ठ नागरिकलाई घरमै उपचार

खजुरा । गत असार २७ गते अहेव मनोजकुमार कैराती ज्येष्ठ नागरिक अनोखा यादवलाई उपचार गर्नका लागि नेपालगञ्जमा डा विनोद थापा कहाँ पर्चा काट्दै थिए । भिलोरपुरुवाका ८५ वर्षीय यादवको तिघ्राको समस्या बल्झिएपछि अहेब कैराती उपचारमा खटिएका थिए । ज्येष्ठ नागरिक यादवलाई घरबाटै गाउँपालिकाको एम्बुलेन्समा राखेर नेपालगञ्ज लगिएको थियो । गाउँपालिकाले नै उपचार गरिदिने भएपछि अहेव कैराती त्यसका लागि खटिएका थिए । गाउँपालिकाले यादवलाई यसअघि पनि नेपालगञ्जमा ल्याएर उपचार गरेको थियो । चैत्र महिनामा होलियाको पिप्रहवा भन्दा पारीपट्टी भारतमा लाग्ने शुक जानकी बजारमा जाने क्रममा यादवलाई मोटरसाइकलले ठक्कर दिएको थियो । मोटरसाइकलको ठक्करबाट घाइते भएका ज्येष्ठनागरिक यादव पालिकाको सम्पर्कमा आएपछि उनको उपचार सबै पालिकाले गर्दै आएको छ । यादवको शिवशक्ति फार्मेसीमा उपचार गरिएको थियो । फेरि दुखाई बल्झिएपछि अहेव कैरातीले डा। विनोद थापाकहाँ पु्र्याएका हुन् । अहेव कैराती भन्छन्, ‘थाईमा चोट लागेको छ । पहिला शिवशक्तिमा उपचार ग्यौ । फेरि दुखाई बल्झिएपछि डा। विनोद थापालाई देखाएको छु ।’ गाउँपालिकामा ‘ज्येष्ठ नागरिकसँग गाउँपालिका अध्यक्ष कार्यक्रम’ सञ्चालन भएपछि ज्येष्ठनागरिकले घरमै उपचार सेवा पाएका छन् । पालिकामा ७० वर्षभन्दा माथिका ज्येष्ठनागरिकलाई कुनै समस्या भएमा स्वास्थ्यकर्मी घरमै पुग्छन् । स्वास्थ्य जाँच गर्छन् । घरमा उपचार सम्भव नभए पालिकाको स्वास्थ्य संस्थामा ल्याउँछन् । त्यहाँबाट पनि उपचार सम्भव नभए सुविधा सम्पन्न तथा विशेषज्ञ सेवाका लागि नेपालगञ्जका ठूला अस्पतालमा ल्याएर उपचार गराइन्छ । गाउँपालिकाका अध्यक्ष नरेन्द्रकुमार चौधरीसँग जोडिएको यो कार्यक्रमबाट ज्येष्ठ नागरिकले राम्रो लाभ लिएका छन् । गत वर्ष फाल्गुनदेखि यो कार्यक्रम लागू गरिएको हो । चैत्रदेखि कोरोनाको लहर शुरु भएकाले बीचमा केही महिना धेरैले लाभ लिन सकेका छैनन् । घरघरमा पुगेर स्वास्थ्यकर्मीले प्रचार–प्रसार गरिरहेका छन् । गाउँटोलमा प्रचारप्रसार हुँदै गएको छ । पालिकाले गत आर्थिक वर्ष २०७८/७९ को बजेटमा यो कार्यक्रमका लागि ३० लाख रुपैयाँ छुट्याइएको थियो । प्रदेश सरकारले ८४ वर्ष माथिकालाई घरघरमा सेवा दिने नीति लिएको छ । डुडुवा गाउँपालिकाले ७० वर्ष माथिलाई लक्षित गरेर यो कार्यक्रम सुरु गरेको थियो । विस्तारै ७० वर्ष हुँदै ६० वर्षसम्मकाले यो सेवा लिन थालेका छन् । बेतहनी स्वास्थ्यचौकीका जनस्वास्थ्य निरीक्षक हेमन्त शर्माले ज्येष्ठनागरिकले बिरामी छु भनेर फोन गरेपछि घरमै स्वास्थ्यकर्मीको टोली पुग्ने बताए । ‘स्वास्थ्यकर्मीलाई फोन गरे पनि हुन्छ । गाउँपालिकाका अध्यक्षलाई फोन गरे पनि हुन्छ । जहाँ फोन गरे पनि ज्येष्ठ नागरिक बिरामी छन् भन्ने थाहा पाएपछि स्वास्थ्यकर्मीको टोली घरमै पुग्छ’, जनस्वास्थ्य निरीक्षक शर्माले भने, ‘पहिला घरमै जाँच गर्छौं । त्यहाँ सम्भव नभए स्वास्थ्य संस्थामा ल्याउँछौँ । यहाँबाट पनि नभए नेपालगञ्जको ठूला अस्पतालमा पुर्याउँछौँ । बिरामीलाई उपचार गरेरै घरमा लगेर छोडिदिन्छौँ ।’ पिप्रहवाका ७५ वर्षीय सुहारा तेली बिरामी रहेको कुरा पालिका अध्यक्ष नरेन्द्र चौधरीमार्फत स्वास्थ्यकर्मीले थाहा पाए । तेलीको गोरुले हानेर तिघ्राको हड्डी भाँचिएको रहेछ । भेरी अस्पतालमा ल्याएर उनको निशुल्क अप्रेसन गरेको अहेव कैरातीले बताए । पिप्रहवाका ७६ वर्षीय धारा पासीको कम्मरमा समस्या भएपछि १८ दिन बढी भेरी अस्पतालमा उपचार गरियो । बाबागाउँका केशव अहिरलाई पटकपटक नेपालगञ्जमा ल्याएर उपचार गरिएको छ । पालिकामा एउटा एम्बुलेन्स सधैं तयारी अवस्थामा रहने गर्दछ । ज्येष्ठ नागरिक, सुत्केरी, गर्भवती वा अन्य बिरामीलाई ल्याउन र लैजान एउटाले नभ्याउने भएपछि पालिकाले अर्को एम्बुलेन्स खरिद गरेको छ । खरिद गरिएको नयाँ एम्बुलेन्स ज्येष्ठ नागरिकलाई ल्याउन र लैजान मात्रै प्रयोग गर्ने रणनीति बनाइएको छ ।

पर्यटन व्यवसायीले ‘टुर प्याकेज’ ल्याउँदै

नेपालगञ्ज । पर्यटन प्रवद्र्धनका लागि तीन प्रदेशका पर्यटन व्यवसायीले ‘टुर प्याकेज’ सञ्चालनमा ल्याउन थालेका छन् । नाट्टा बाँके च्याप्टरले नाट्टा केन्द्र र दिगो पर्यटनका लागि जीविकोेपार्जन पुनःरुत्थान परियोजनासँगको सहकार्यमा सुरु भएको चार दिने ‘टुर प्रोडक्ट डेभलपमेन्ट र टिकेटिङ’ तालिम आयोजना गरेर सो घोषणा गरेका हुन् । नाट्टाका केन्द्रीय सचिव युविका भण्डारीले पर्यटनको क्षेत्रमा दक्ष जनशक्ति तयार गर्न तालिम फलदायी हुने उल्लेख गर्दै कोभिड–१९ पछि पर्यटनको क्षेत्रमा दक्ष जनशक्ति पलायनको अवस्थाले अभाव बढेको बताए । उनले त्यही अभाव न्यूनीकरणका लागि नेपाल पर्यटन बोर्डको योजनामा मुलुकका विभिन्न ठाउँमा यस्ता तालिम चलाउन थालिएको जानकारी दिए । नेपालगञ्ज उपमहानगरपालिका प्रमुख प्रशान्त विष्टले पर्यटननै मुलुकको अर्थतन्त्रका लागि बलियो र स्थायी आधार बन्न सक्ने धारणा व्यक्त गरे । उनले देशको अर्थतन्त्र सवलीकरणमा निजी क्षेत्रको भूमिका रहेको उल्लेख गर्दै तीन प्रदेशका पर्यटन व्यवसायीले तालिमपछि बनाउने टुर प्याकेजमा एकरुपता आउने बताए । नाट्टा बाँके च्याप्टरका अध्यक्ष श्रीराम सिग्देलले पश्चिम नेपालमै पहिलोपटक आयोजना गरिएको तालिमले व्यवसायीलाई भ्रमण प्याकेज बनाउन गन्तव्य पहिचानदेखि विश्वभरका गन्तव्यमा जाने पर्यटकका लागि आवश्यक टिकट व्यवस्थापन गर्नसक्ने उल्लेख गरे । सो कार्यक्रममा होटल व्यवसायी महासङ्घका लुम्बिनी प्रदेशका अध्यक्ष भाष्कर काफ्ले, पर्यटन प्रवद्र्धन मञ्च बाँकेका संयोजक कृष्णप्रसाद श्रेष्ठ, नाट्टा बाँकेका उपाध्यक्ष डिल्लीराम रेग्मी, सुदूरपश्चिम अध्यक्ष पवनविक्रम सिंह, नेपाल पत्रकार महासङ्घ बाँकेका सचिव कमल डाँगी, पूर्वअध्यक्ष झलक गैरेलगायतले पर्यटन क्षेत्रको विकास अपरिहार्य भएको बताए । तालिममा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका ३० टुर अपरेटर सहभागी छन् । नाट्टाका केन्द्रीय सचिव युविका भण्डारी र सुनिल दाहालले तालिमको सहजीकरण गरिरहेका छन् ।

हप्तामा १० मिनेट फुर्तिलो व्यायाम गर्दा ५ सालसम्म उमेर बढ्न सक्ने

एजेन्सी । अहिले धेरैजसो मानिसको जीवन निकै व्यस्त अवस्थाबाट गुज्रिरहेको छ । यस्तो अवस्थामा या त हामीलाई व्यायाम गर्ने समय मिल्दैन वा हामी त्यसबाट भाग्छौं। यदि तपाईको पनि यस्तै अवस्था छ भने अमेरिकाको सिड्नी विश्वविद्यालयले तपाईको लागि खुसीको खबर ल्याएको छ । नयाँ अध्ययनका अनुसार हरेक हप्ता मात्र १० मिनेटको कडा व्यायाम गर्दा आयु लामो हुन सक्छ । व्यायाममाथि अनुसन्धान अनुसन्धानकर्ताहरूको टोलीले युके बायोबैंकका ७० हजारभन्दा बढी मानिसको डाटा विश्लेषण गरेको थियो। उनीहरुको उमेर ४० देखि ६९ वर्षको बीचमा थियो र उनीहरुलाई क्यान्सर वा हृदय रोग थिएन। अध्ययनका सबै सहभागीहरूलाई एक्टिभिटी ट्र्याकर लगाउन भनिएको थियो। यससँगै एक सातासम्म उनीहरुको शारीरिक गतिविधिको जानकारी संकलन गरिएको थियो । त्यसपछि वैज्ञानिकहरूले औसत ७ वर्षसम्म सबै सहभागीहरूको स्वास्थ्य रेकर्डलाई फलो गर्ने काम गरे। यस अवधिमा उनीहरुको कडा व्यायाम, क्यान्सर र मुटुरोगजस्ता गम्भीर रोग र मृत्युको सम्भावनाबीचको सम्बन्धलाई निगरानी गरिएको थियो । फुर्तिलो कसरत के हो ? बेलायतको नेशनल हेल्थ सर्भेका अनुसार कडा व्यायाम भनेको कुनै पनि शारीरिक गतिविधि हो, जसमा व्यक्तिको श्वासप्रश्वास छिटो हुन्छ। यस्तो क्रियाकलाप गर्ने व्यक्तिले एकैपटक धेरै शब्दहरू उच्चारण गर्न नसक्ने गरी फेरि बोल्नको लागि बीचमा सास फेर्छ। यसका उदाहरणहरूमा पौडी खेल्ने, पहाडमा साइकल चलाउने, सीढी चढ्ने आदि समावेश छन्। अनुसन्धानको नतिजाले के भन्छ ? बैज्ञानिकहरुका अनुसार आरामका साथ व्यायाम गर्नुको सट्टा जोसका साथ व्यायाम गर्दा मानिसको स्वास्थ्यमा सुधार आउने गरेको पाइएको छ । यदी तपाईं छोटो समयमा छिटो व्यायाम गर्नुहुन्छ भने तपाईंको स्वास्थ्यलाई निकै फाइदा हुन्छ । अध्ययनमा सहभागी व्यक्तिहरू जसले व्यायाम गरेनन् उनीहरुमा ५ वर्ष छिटो मर्ने जोखिम ५ प्रतिशत देखियो भने सोही समयमा हप्तामा एकपटक १० मिनेट फुर्तिलो व्यायाम गर्नेहरुलाई २ प्रतिशत र ६० मिनेट व्यायाम गर्नेहरुलाई १ प्रतिशत मात्रै जोखिम देखियो । भास्कर दैनिकबाट ।