काठमाडौं । काठमाडौंको धापासीमा ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालको व्यापार घटेको छ । यस अस्पतालको कारोबार अघिल्लो वर्षको तुलनामा गत वर्ष ५२.२२ प्रतिशतले घटेको हो । यस अस्पतालले सन् २०२१ मा ६८ करोड ६० लाख रुपैयाँको विजनेस गरेको देखिएको छ ।
सन् २०२० मा भने अस्पतालले एक अर्ब ४३ करोड ६० लाख रुपैयाँको व्यापार गरेको थियो । यस्तै, सन् २०१९ मा अस्पतालले दुई अर्ब ५ करोड ६० लाख र सन् २०१८ मा एक अर्ब ८८ करोड ९० लाख रुपैयाँको विजनेस गरेको देखिएको छ ।
यस अस्पतालको आम्दानी पनि नियमित घट्दै गएको छ । सन् २०१७ मा यस अस्पतालले एक अर्ब ५३ करोड १० लाख रुपैयाँको बिजनेस गरेको थियो । कम्पनीको विजनेस प्रत्येक वर्ष घट्दै गएको छ ।
२०० शैय्या रहेको यो अस्पताल काठमाडाैंमा रहेका सुविधा सम्पन्न अस्पतालको रुपमा परिचित छ । सन् २०१३ देखि सञ्चालनमा आएको यो अस्पतालमा हेलिप्याडको पनि सुविधा छ ।
यस अस्पतालले एक अर्ब ५५ करोड २० लाख रुपैयाँ ऋण सुविधाका लागि इक्रा नेपालमा रेटिङ गराएको छ । कम्पनीले एलबी रेटिङ पाएको छ ।
७ सदस्यीय सञ्चालक समिति रहेको यस अस्पतालको नेतृत्व दिपक कुवँरले गरिरहेका छन् । सञ्चालक समितिको सदस्यका रुपमा विजयराज भण्डारी, साधुराम पाण्डे, सुवर्ण कृष्ण मल्ल, बिरेन्द्र बहादुर श्रेष्ठ र डा. सविना श्रेष्ठ बिजुक्छे छन् ।
यस अस्पतालका परिकल्पनाकार एवं सेयरहोल्डर डा.चक्रराज पाण्डे र प्रमुख लगानीकर्तामध्येका एक व्यवसायिक समूह ज्योति समूहका डा. रुपज्योतिको तालमेल नहुँदा बढेको किचलो अदालतसम्म पुगेको थियो । डा. पाण्डे र ज्योति समूहको लगानीको लफडा अन्त्य गर्नका लागि सेयर धनीका रुपमा सन् २०१५ मा डा. उपेन्द्र महतो पनि ग्राण्डीमा छिरेका थिए ।
५१ प्रतिशत सेयर लिएर ग्राण्डी छिर्ने सहमति गरेर लगानी गर्न सुरु गरेका डा. महतोले कबोल गरेको पुँजी पूरै जुटाउन नसकेपछि फेरि अर्को किचलो थपिएको थियो । पूरा पैसा लगानी गर्न नसकेता पनि डा. महतो पनि ज्योति समूहकै हाराहारीको लगानीकर्ता हुन् ।