सुगरका बिरामीले नर्भिकमा निःशुल्क जाँच सेवा पाउने

काठमाडौं । थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलले आफ्नो संस्थागत सामाजिक उत्तरदायीत्व अन्तर्गत मधुमेह(सुगर)का बिरामीलाई लक्षित गरी वृहत निःशुल्क जनचेतना कार्यक्रम गर्ने भएको छ । अस्पतालले आगामी फागुन ७ गते अर्थात प्रजातन्त्र दिवसको अवसर पारी मधुमेहका बिरामी लक्षित वृहत निःशुल्क जनचेतना कार्यक्रम गर्ने भएको हो । नर्भिक अस्पतालको नर्सिङ ट्रेनिङ हलमा सो कार्यक्रम आयोजना हुनेछ । दिउँसो १ बजेदेखि कार्यक्रम सुरु हुने र त्यसमा सहभागी हुनेहरुका लागि अस्पतालले निःशुल्क सुगर लेभल जाँचको सेवा समेत उपलब्ध गराउने अस्पतालले जनाएको छ । सो क्रममा नर्भिक अस्पतालकी विशेषज्ञ चिकित्सक डा. मधु पाण्डेले जनचेतनामूलक कार्यक्रमको नेतृत्व गर्ने र निःशुल्क परामर्श सेवा समेत उपलब्ध गराउने छिन् । नर्भिक अस्पतालले बेला बेला आफ्नो संस्थागत सामाजिक उत्तरदायीत्व अन्तर्गत यस्ता कार्यक्रम आयोजना गर्दै आएको छ । अस्पतालले लामो समयदेखि प्रत्येक शनिवार यूरोलोजीको टिम परिचालन गरी निःशुल्क ओपिडी सेवा समेत सञ्चालन गर्दै आएको छ । विशेष अवसर पारेर विभिन्न विज्ञ चिकित्सकहरुलाई सहभागी गराई निःशुल्क स्वास्थ्य जाँचको सेवा समेत उपलब्ध गराउने गरेको छ ।

चीनले अनुदानमा दिएको ४० लाख डोज खोप प्रयोगविहीन, सरकारको उदासिनताले म्याद सकिने चिन्ता

काठमाडौं । चीन सरकारले नेपाललाई दिएको ४० लाख डोज प्रयोगविहीन भएको छ । चीनले गत वर्ष दिएको कोभिड–१९ भाइरस विरुद्धको ४० लाख खोप प्रयोगविहीन भएको हो । हाल कोरोना भाइूरस कम हुँदै जाँदा सो खोप आवश्यक नपरेको कारणले प्रयोगमा नआउने र समयमा नै उचित व्यवस्थापन नहुँदा खेर जानसक्ने सम्भावना बढको छ । झण्डै १ वर्ष अगाडि चीन सरकारले दिएको सो खोप प्रयोगको लागि अब ११ महिना मात्रै बाँकी छ । स्वास्थ्य सेवा विभाग आपूर्ति व्यवस्थापन शाखाका प्रमुख डा. सुरेन्द्रप्रसाद चौरासियाका अनुसार सो खोपको म्याद आगामी डिसेम्बर महिनासम्म मात्रै छ । खोप आवश्यक नभएको विभागको सुझावका बाबजुद पनि आएको सो खोपको बारेमा मन्त्रालय र सरकारको तहबाट समयमा नै आवश्यक कुटनीतिक पहल नगर्दा खोप खेर जानसक्ने चिन्ता पैदा भएको विभागका कर्मचारीहरुले बताएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. सञ्जयकुमार शाहका अनुसार खोपलाई अन्य कुनै देशमा पठाउने विषयमा अहिलेसम्म कुनै पहल भैसकेको छैन । उनले मन्त्रालयमा सो खोपको विषयमा कुनै निर्णय नभएको बताए । ‘त्यसलाई के गर्ने, त्यसलाई कुनै देशमा दिने वा के गर्ने भनेर निर्णय भएको छैन, यसको उपयोगिताको सम्भावना कम नै छ, अरु देशले पनि लिन्छ वा लिँदैन कतैबाट कुनै जानकारी पनि आएको छैन’, उनले भने । मन्त्रालय वा सरकारको तहबाट कुनै निर्णय भइनसकेको कारणले अन्य देशसँगको कुटनीतिक पहल पनि नभएको उनले बताए । स्वास्थ्य सेवा विभाग, बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख सागर दाहालका अनुसार चीन सरकारले दिएको सो खोप लगाउने संख्या नरहेको कारणले सो प्रयोगविहीन भएको हो । ‘हामीले ५ देखि ११ वर्ष उमेर, १२ देखि १७ र १८ देखि माथि सबै उमेरकालाई खोप लगाइसक्यौं’, उनले भने ‘अब खोप लगाउने संख्या नगन्य मात्रामा होला, त्यसैले हामीलाई यो खोप नचाहिने अवस्था बनेको छ ।’ दाहालका अनुसार चीन सरकारले दिएको सो खोप १८ वर्ष माथिका उमेर समूहलाई लगाउने पहिलो डोजको खोप हो । अब कति नेपालीलाई खोप लगाउन बाँकी छ भन्ने नै सरकारसँग आधिकारिक तथ्यांक छैन । नेपालमा हालसम्म पाँच करोड ७२ लाख ६४ हजार २०१ मात्रा खोप लगाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक छ । दाहालका अनुसार सल्लाहकार समितिले चीन सरकारले दिएको ४० लाख डोज खोप अब प्रयोगको लागि आवश्यक नपर्ने भनेर मन्त्रालयलाई सिफारिस गरेको छ । ‘४० लाख खोपलाई जहाँ प्रयोग हुन्छ, त्यहाँ पठाउन पाए हुन्थ्यो भनेर त्यसको लागि समन्वय गर्नुपर्यो भनेर विभागबाट मन्त्रालयमा सिफारिस गरेका छौं, त्यसलाई मन्त्रालयले हेर्दै होला’, उनले भने । अहिले विभागसँग खोपको स्टोरेज गर्ने क्षमता राम्रो भएको कारणले समस्या नभएको तर खोपको समयमा नै प्रयोगको विषयमा भने आफूहरु चिन्तित भएको उनले बताए । अन्तर्राष्ट्रिय मूल्य अनुसार नेपालमा स्टोरेज अवस्थामा रहेको सिनोभ्याक खोपको मूल्य अरबौं रुपैयाँ पर्छ ।

धादिङको स्वास्थ्य संस्थामा औषधि अभाव

धादिङ । खनियाबास गाउँपालिकामा रहेका पाँच वटा स्वास्थ्य संस्थामा निःशुल्क वितरण गरिने औषधिको अभाव भएको छ । दैनिक बिरामीका लागि आवश्यकताका आधारमा निःशुल्क वितरण गरिने सिटामोल लगायतका औषधि स्वास्थ्य संस्थामा नहुँदा उपचारमा समस्या भएको छ । झार्लाङ स्वास्थ्यचौकी, झार्लाङ सामुदायिक स्वास्थ्य इकाइ, कुरी आधारभूत स्वास्थ्य केन्द्र, भोक्टेनी स्वास्थ्य चौकी, र खनियाबास ग्रामीण अस्पतालमा आधारभूत औषधिसमेत नभएको सेवाग्राही र स्वस्थ्यकर्मीले बताएका छन् । स्वास्थ्य सेवाको मूल्याङ्कन र कार्ययोजनाको क्रममा ती स्वास्थ्य संस्थामा केही दिनका लागि मात्रै पुग्ने औषधि रहेको स्वास्थ्य चौकी र सामुदायिक स्वास्थ्य केन्द्रका प्रमुखले बताएका छन् । ‘वर्षमा एक पटक मात्रै औषधि आउने र बिरामीको सङ्ख्या बढी भएकाले औषधिको अभाव भएको हो’, झर्लाङ स्वास्थ्य चौकीका इन्चार्ज अनिश पाठकले भने । उनका अनुसार बिरामीलाई निःशुल्क वितरण गरिने औषधिमध्ये सिटामोल सकिन लागेकाले एक/दुई चक्की दिने गरेको तथा अन्य नियमित वितरण गरिने औषधि माघमै सकिएको छ । स्वास्थ्यचौकीमा देखिएको औषधिको अभावका विषयमा आफूले पालिकामा कुरा उठाउने खनियाबास गाउँपालिका–४ का वडा अध्यक्ष लीलामान तामाङले बताए । खनियाबास गाउँपालिकाको स्वास्थ्य संस्थामा देखिएको औषधि अभाव तथा व्यवस्थापनका पक्षमा भएका कमजोरीका विषयमा कार्यपालिकाको बैठकमा छलफल गरी समस्या समाधान गर्ने गाउँपालिका अध्यक्ष रणबहादुर तामाङले बताए । डब्लुएचएचको सहयोगमा लिबर्डले स्वास्थ्य संस्था कार्ययोजना बनाउन सहयोग गरेको थियो । सोही अवसरमा स्वास्थ्य संस्थाको स्वमूल्याङ्कन गरी नियमित औषधि तथा अत्यावश्यक सामग्रीको व्यवस्था स्थानीय सरकारले गर्नुपर्नेमा वडाध्यक्षहरुले जोड दिएका छन् । रासस