चिकित्सकलाई आन्दोलन फिर्ता लिन मन्त्रालयको आग्रह
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपाल चिकित्सक सङ्घलाई आन्दोलनका कार्यक्रमलाई फिर्ता लिई नियमित काममा फर्कन अनुरोध गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले विज्ञप्ति जारी गरी सङ्घलाई आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएर स्वास्थ्योपचारको नियमित काममा जुट्न सबै चिकित्सक तथा स्वास्थ्यकर्मीलाई अनुरोध गरेका हुन् । अधिकारीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘स्वास्थ्य क्षेत्रजस्तो संवेदनशील विषयमा सम्पूर्ण स्वास्थ्यकर्मी थप संवेदनशील बनेर अस्पतालमा उपचारका लागि आउने दीर्घरोगी, जटिल प्रकारका बिरामीको स्वास्थ्य सेवालाई मध्यनजर गर्दै सङ्घले माघ २९ गतेका दिन आह्वान गरेको आन्दोलनको कार्यक्रम फिर्ता लिएर नागरिकको स्वास्थ्योपचारको नियमित काममा जुट्नका लागि सबै चिकित्सक तथा स्वास्थ्यकर्मीलगायत सम्बद्ध सबै स्वास्थ्य सङ्घसंस्थालाई अनुरोध गर्दछौँ ।’ सङ्घले यही माघ २७ गते राष्ट्रिय ट्रमा सेन्टरका वरिष्ठ अर्थोपेडिक सर्जन डा जनिथलाल सिंहलगायत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि प्रहरीले लाठीचार्ज गरी घाइते बनाएको विरोधमा आज देशभरि नै आकस्मिक सेवाबाहेकका सबै सेवा बन्द गर्ने निर्णय गरेको थियो । मन्त्रालयका सहप्रवक्ता डा. अधिकारीले घटनालगत्तै नेपाल प्रहरीद्वारा घटनामा संलग्न सुरक्षाकर्मीलाई निलम्बन गरी घटनाको छानबिन गरिरहेको जनाउँदै घटनाका विषयमा थप छलफल गरी समस्या समाधान गर्नका लागि वार्ता समिति गठन गर्ने र संघले उठाएका विषयलाई संवादमार्फत समाधान गर्ने प्रयास भइरहेको जनाएका छन् । मन्त्रालयले राष्ट्रिय ट्रमा सेन्टर अगाडि सडकमा चिकित्सकमाथि भएको कुटपिटको घटनाप्रति दुः ख व्यक्त गरेको छ ।
डाक्टर कुटिएको विरोधमा चिकित्सक संघले आइतबार देशभरका उपचार सेवा बन्द गर्ने
काठमाडौं । शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीको क्रममा चिकित्सकमाथि भएको कुटपिटको विरोधमा नेपाल चिकित्सक संघले आइतबार देशभरका स्वास्थ्य संस्थाको आकस्मिकबाहेकका स्वास्थ्य सेवा बन्द गर्ने निर्णय गरेको छ । संघले शनिबार विज्ञप्ति जारी गर्दै डा. जनिथलाल सिंहमाथि प्रहरीले गरेको कुटपिटको विरोधमा देशभर आकस्मिकबाहेक स्वास्थ्य सेवा ठप्प पार्ने निर्णय गरेको हो । राष्ट्रिय ट्रमा सेन्टरका अर्थोपेडिक सर्जन डा. जनिथलाल सिंहसहित अन्य डाक्टरहरुमाथि प्रहरीले लाठिचार्ज गरी घाइते बनाएकोमा गम्भिर ध्यानआकर्षण भएको संघले विज्ञप्तिमा उल्लेख गरेको छ । भिआपीको सुरक्षाको नाममा चिकित्सकलाई घाइते बनाउने कार्य र हजारौं सेवाग्राहीहरुलाई अस्पतालसम्म पुग्न नदिएकोमा संघ स्तब्ध भएको जनाएको छ । ‘लोकका लागि स्थापित गरिएको लोकतान्त्रिक गणतन्त्रमा नागरिकलाई सास्ती दिने सवारीको नाममा अस्वभाविक सुरक्षाको प्रबन्ध मिलाउने भन्दै घण्टौं जाम गरेर दैनिक जीवन यापनमा अत्यन्तै असहज परिस्थितिको सिर्जना गर्नु न्यायोचित नभएको नेपाल चिकित्सक संघको ठहर छ’ विज्ञप्तिमा भनिएको छ ।
निशुल्क एम्बुलेन्स चलाउँदै गुल्मीका वडासदस्य थापा
रेसुङ्गा । गुल्मीको मालिका गाउँपालिका–३ का वडासदस्य सूर्य थापाले वडाका लागि निशुल्क एम्बुलेन्स चलाउँदै आएका छन् । उनले ह्वाङदी स्वास्थ्य चौकीको एम्बुलेन्स गत फागुनदेखि निशुल्क चलाउँदै आएका हुन् । गत वैशाखमा वडा सदस्यमा निर्वाचित भएपछि पनि थापाले एम्बुलेन्स चलाउँदै आएका छन् । स्वास्थ्य चौकीले मासिक तलब दिएर चालक राख्न नसकेपछि उनले समाजसेवीको रूपमा बिना तलब एम्बुलेन्स चलाउन थालेका हुन् । लामो समयसम्म वैदेशिक रोजगारीमा रहेका थापा विदेशबाट फर्केपछि पनि आफ्नो सीपअनुसार वडामा सेवा गरिरहेका हुन् । चालक राख्न नसकेपछि एम्बुलेन्स बेकामे भएर थन्किएकाले आफूमा सेवाको भावना जागेको उनले जानकारी दिए । सोही सेवा भावका कारण गत स्थानीय तहको निर्वाचनमा उनले नेपाली कांग्रेसबाट वडा सदस्यको टिकट पाए । निर्वाचित भएपछि पनि थापाले थप जिम्मेवारी महसुस गरी एम्बुलेन्स चालकको कामलाई निरन्तरता दिए । पछिल्लो समय ग्रामीण भेगका स्वास्थ्य चौकीमा एम्बुलेन्सको व्यवस्था भए पनि चालक राख्नसमेत कठिनाइ भइरहेको छ। त्यही समस्याबाट ग्रसित मालिकाको विकट मानिने ह्वाङदी स्वास्थ्य चौकीलाई वडासदस्य थापाले राहत दिलाएका छन् । वडा सदस्यको कार्यकाल रहुन्जेल पाँच वर्षसम्म निःशुल्क एम्बुलेन्स चलाएर सहयोग गर्ने उनले बताए । ‘समाजसेवा गर्ने हो, माध्यम जस्तो पनि हुनसक्छ’, वडासदस्य थापाले भने, ‘स्वास्थ्य संवेदनशील कुरा हो, नचलेको एम्बुलेन्स निःशुल्क चलाएर सहयोग गरेको छु ।’ उनले वडासदस्यको हैसियतमा वडाबाट पाउने सेवा सुविधा लिएर काम गरिरहेका छन् । आफूले पाँच वर्षसम्म वडासदस्यको भूमिकासँगै निःशुल्क एम्बुलेन्स चलाएर सहयोग गर्ने थापाले बताए । उनको कामलाई वडावासी सबैले प्रशंसा गरिरहेका छन् । रासस