सरकारी अस्पतालमा ४० घण्टा भन्दा बढी काम गर्ने डाक्टर नर्सलाई थप तलब भत्ता उपलब्ध गराउने
काठमाडौं । सरकारी अस्पतालमा ४० घण्टा भन्दा बढी समय काम गर्ने चिकित्सक र नर्सलाई थप सुविधा उपलब्ध गराउने तयारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको छ । सरकारी अस्पतालमा चिकित्सक तथा नर्सलाई सेवामा आकर्षण गर्नको लागि अतिरिक्त सुविधा प्रदान गर्न आवश्यक नीति निर्माण गर्न लागेको मन्त्रालयले जनाएको छ । सरकारको न्यूनतम साझा कार्यक्रममा आधारित रहेर स्वास्थ्यका नीतिगत प्राथमिकता र न्यूनतम कार्यक्रमको कार्ययोजना तयार गरी स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीले मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पेस गरेका छन् । सो कार्ययोजनामा सरकारी अस्पतालमा ४० घण्टा भन्दा धेरै समय काम गर्ने चिकित्सक तथा नर्सलाई थप सुविधा प्रदान गरिने उल्लेख गरिएको छ । चिकित्सक तथा स्वास्थ्यकर्मीको सेवा सुविधामा पुनरावलोकन गरी थप सेवा सुविधाको उपलब्ध गराउन अर्थ मन्त्रालयमा प्रस्ताव पेस गरिने मन्त्रालयको कार्ययोजनामा उल्लेख गरिएको छ । साथै, अर्थ मन्त्रालयको राय/सहमति लिएर कार्यविधि तयार गरिने मन्त्रालयको कार्ययोजनामा उल्लेख गरिएको छ । [pdf id=387030]
रामपुरमा एपेन्डिसाइटिसको शल्यक्रिया सेवा शुरु
पाल्पा । पाल्पाको रामपुर अस्पतालमा एपेन्डिसाइटिसको शल्यक्रिया सेवा सुरु भएको छ । पहिलोपटक सफलतापूर्वक शल्यक्रिया गरिएपछि चिकित्सक तथा स्थानीय खुसी भएका छन् । अब एपेन्डिसाइटिसको उपचारका लागि सदरमुकाम तानसेन जानुपर्ने समस्या हटेको छ । मङ्गलबार राति स्थानीय २१ वर्षीया सरला रेग्मीको सफलतापूर्वक शल्यक्रिया गरी सो सेवाको थालनी भएको हो । आफ्नै गाउँको अस्पतालमा सेवा पाएपछि अन्यत्र बिरामी लिएर धाउनुपर्ने समस्याबाट मुक्ति पाइएको बिरामीकी आमा सीता रेग्मीले बताइन् । ‘रामपुरमै सेवा पाएपछि बाहिर उपचार गराउन जाने समस्या हटेको छ’, उनले भनिन्, ‘गाउँमै पाएको सेवाले खुसी छौँ ।’ डा. सुनिलकुमार दासको नेतृत्वमा पहिलो पटक अस्पतालमा सो सेवाको थालनी भएको हो । जानकी मेडिकल कलेज जनकपुरमा एमबिबीएस अध्ययनपश्चात डा. दास यहाँ आएका हुन् । सफलतापूर्वक शल्यक्रिया भएपछि काम गर्न हौसला बढेको उनको भनाइ छ । सफल भएपछि उत्साह बढेको छ’, डा. दासले भने । आधारभूत सेवा विस्तार गरी बहु–विशेषज्ञ सेवा थालनी गर्न रामपुर अस्पतालमा कार्यरत जनशक्ति परिचालन गरी शल्यक्रिया सेवा थालिएको अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा. विजय परियार बताउँछन् । ५० शैंयाको अस्पताल निर्माण जारी छ । अस्पतालले सेवा बढाउँदै लगेको छ । शल्यक्रियाका लागि छुट्टै जनशक्ति व्यवस्थापन गरी एपेन्डिसाइटिसको सेवा सुरु गरिएको अस्पताल विकास समितिका अध्यक्ष रामप्रसाद ढकालले बताए । छिट्टै विशेषज्ञसहितको सेवा दिने तयारी रहेको उनी बताउँछन् । अस्पतालले २०७७ चैतदेखि शल्यक्रियामार्फत प्रसूति सेवा समेत थालेको छ । एक हप्ताअघि हर्नियाको शल्यक्रिया सम्पन्न भएको छ । आर्थिक वर्ष २०७७/७८ मा १५, आव २०७८/७९ मा १६, आव २०७९/८० मा १२ जनाको सफलतापूर्वक प्रसूति शल्यक्रिया गरिएको अस्पतालले जनाएको छ । आव २०७६/७७ मा दुई सय २२, आव २०७७/७८ मा दुई सय तीन, २०७८/७९ मा दुई सय ७६ र २०७९/८० को हालसम्म एक सय ७९ जनाले सामान्य प्रसूति सेवा लिएका छन् । अस्पतालबाट पूर्वी पाल्पासहित स्याङ्जा, तनहुँ, नवलपुर (नवलपरासी सुस्तापूर्व) का स्थानीयले सेवा लिँदै आएका छन् । अस्पतालमा दैनिक दुई सयदेखि तीन सयसम्म बिरामी सेवा लिन आउने गर्दछन् । रासस
बजेट अभावले तातोपानी चिकित्सालय सञ्चालनमा बाधा
म्याग्दी । बजेट अभावले म्याग्दीको बेनी नगरपालिका–४ सिङ्गा तातोपानीमा प्राकृतिक चिकित्सालय सञ्चालनमा बाधा पुगेको छ । चिकित्सकको निगरानीमा औषधि प्रयोगबिना बिरामीको उपचार गर्ने गरी सञ्चालनमा ल्याएको उक्त चिकित्सालय बजेट अभावले समस्यामा छ । गत वर्ष असोजदेखि बिरामी भर्ना गरेर सेवा दिने तयारी भए पनि आन्तरिक र जनशक्ति व्यवस्थापन गर्न बजेट अभाव भएपछि चिकित्सालय सञ्चालनमा समस्या भएको तातोपानी कुण्ड व्यवस्थापन समितिका अध्यक्ष वीरेन्द्रमान शाक्यले बताए । पर्यटन मन्त्रालयको ५० लाख रुपैयाँ तथा तातोपानी कुण्ड व्यवस्थापन समितिको एक करोडमा पाँचतले भवन निर्माण गरिएको छ । ‘भवन निर्माण गर्दा लागेको ६९ लाख रुपैयाँ ऋण तिर्न बाँकी छ’, उनले भने–’विभिन्न चरणमा उपभोक्ता समितिमार्फत भवन निर्माण गरिएको हो ।’ कोरोना महामारीका कारण तातोपानी कुण्ड सञ्चालन नहुँदा आम्दानीको स्रोत गुमेपछि बेनीस्थित एक सहकारीबाट ६९ लाख ऋण लिएर उपभोक्ता समितिलाई भुक्तानी गरिएको शाक्यले बताए । प्रदेश सरकारले विनियोजन गरेको ५० लाख बजेटबाट नगरपालिकामार्फत चिकित्सालयका लागि आवश्यक उपकरण र सामग्री खरिद गरिएको छ । योगा, फिजियोथेरापी, हाइड्रोथेरापी, अक्कुपञ्चर र परामर्शकक्ष निर्माण गरिएको छ । चिकित्सालय सञ्चालन नहुँदा खरिद गरिएका उपकरण थन्किएका छन् । ‘चिकित्सालय सञ्चालनका लागि प्रशासन र नगरपालिकालाई गुहारेका छौँ’, उनले भने– ‘बजेटका लागि स्थानीय, प्रदेश र सङ्घीय सरकारसँग माग गरेका छौँ ।’ म्याग्दी नदीको किनारमा जमिनभित्रबाट निस्कने तातोपानी सङ्कलन गरि तलाउमा परम्परागत शैलीमा शरीर डुबाएर गरिँदै आएको प्राकृतिक उपचारलाई व्यवस्थित र प्रभावकारी बनाउन चिकित्सालय बनाइएको हो । चिकित्सालयमा जलचिकित्सा, मसाजथेरापी, योगाथेरापी, पोषणथेरापी, अकुपञ्चर र परामर्शको माध्यमबाट औषधिको प्रयोगबिना विभिन्न नसर्ने रोगबाट थलिएका बिरामीको उपचार गरिन्छ । तातोपानीमा उपचार गराएमा ग्यास्ट्रिक, बाथरोग, ढाड दुख्ने, छाला, सुन्निएको, बज्रिएको, मर्किएको, पेट दुख्ने, खाना रुचि नहुनेलगायत स्वास्थ्य समस्या निको हुने बिरामी बताउँछन् । तातोपानी कुण्डमा पुरुष र महिलाका लागि फरक–फरक समयतालिका बनाइएको छ । कुण्डमा विशेषगरी असोज, कात्तिक, माघ, फागुन र चैतमा सर्वसाधारणको घुइँचो लाग्छ । कुण्डको आम्दानीबाट कर्मचारीको पारिश्रमिक, व्यवस्थापन, पूर्वाधार निर्माणका साथै स्थानीय सरस्वती माविका ११ निजी स्रोतका शिक्षकलाई तलबभत्ता उपलब्ध गराउने गरिएको कुण्ड व्यवस्थापन समितिका सहसचिव कुमार केसीले जानकारी दिए । रासस