डडेल्धुरा मेडिकल कलेजमा यसै वर्षदेखि विद्यार्थी भर्ना गर्ने तयारी
दोधारा चाँदनी । सरकारले घोषणा गरेको डडेल्धुरा मेडिकल कलेज सञ्चालनमा ल्याउन रणनीतिक योजना बनाएर काम अघि बढाइएको छ । मेडिकल कलेज सञ्चालनका लागि सुदूरपश्चिम विश्वविद्यालयको नाममा डडेल्धुराको तुफानडाँडास्थित ८४ रोपनी जग्गा प्राप्त भइसकेको छ । त्यसैगरी डडेल्धुरा क्षेत्रीय अस्पतालको नाममा दुई सय ३४ रोपनी जग्गा छ । सुदूरपश्चिम विश्वविद्यालयले डडेल्धुरामा डीनको कार्यालय स्थापना गरेर कलेज निमार्णको प्रक्रिया अघि बढाएको हो । अहिले प्रशासनिक भवन निर्माण, छात्रवासलगायतका संरचना निमार्णका लागि डिपीआर निमार्णको काम भइरहेको विश्वविद्यालयका उपकुलपति अम्मराज जोशीले बताए । ‘बोलपत्र आह्वान गरेर डिपीआर निमार्णको प्रक्रिया अघि बढिसकेको छ’, उपकुलपति जोशीले भने, ‘हामीले यसै शैक्षिक शत्रदेखि विद्यार्थी भर्ना गर्ने गरी काम गरिरहेका छौँ ।’ विश्वविद्यालयले अहिले पाठ्यक्रम निमार्णको काम अन्तिम चरणमा पु¥याएको उनले बताए । ‘मेडिकल कलेजमा पाँच विषयको अनुमति लिनेछौँ तत्काललाई दुई विषयको मात्रै अध्ययन हुन्छ”, उनले भने, ‘अहिले डडेल्धुरा अस्पतालमा एक सय शय्या सञ्चालनमा छन्, त्यसलाई थप गरेर सुरुवातमा तीन सय शय्याको अस्पताल सञ्चालन हुनेछ ।’ सरकारले डडेल्धुरा अस्पताललाई सुदूरपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पसका रुपमा सञ्चालन गर्ने निर्णय गरे पनि बजेट निकासा नहुँदा मेडिकल कलेज सञ्चालन हुन सकेको थिएन । ‘डडेल्धुरामा मेडिकल कलेज सञ्चालनमा आए सुदूरपश्चिम प्रदेश क्षेत्रका विद्यार्थीलाई चिकित्सा शिक्षामा पहुँच विस्तार हुनेछ, प्रदेशभरी विशेषज्ञ उपचार सेवामा पहुँच पुग्ने छ’, उनले भने, ‘विशेषगरी सुदूरपश्चिमका पहाडी जिल्लाका नागरिकले छिटोछरितो स्वास्थ्य सेवा पाउने छन् ।’ मेडिकल कलेजका लागि स्वास्थ्य तथा जनसङ्ख्या, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र सुदूरपश्चिम विश्वविद्यालयबीच त्रिपक्षीय सम्झौता भइसकेको उपकुलपति जोशीले बताए । यसैगरी मेडिकल कलेजका डीन डा हेमनाथ जोशीले अहिले डडेल्धुरा क्षेत्रीय अस्पतालमा सय शय्या मात्रै सञ्चालनमा रहेकाले स्नातक तहको मात्रै अध्ययन गर्न सकिने बताए । ‘अस्पतालको भवन निर्माण भइरहेको छ, अझै आठ/नौ महिना समय लाग्छ’, उनले भने, ‘स्नातक तहको अध्ययनका लागि चिकित्सा शिक्षा आयोगलाई पत्र पठाइसकेका छौँ ।’ उनले चिकित्सा शिक्षा आयोगबाट अनुमति पाए आउँदो फागुन/चैतबाट विद्यार्थी भर्ना गर्ने तयारी भइरहेको बताए । रासस
काठमाडौं महानगरले गर्यो दुई अस्पताल सिल
काठमाडाैं । काठमाडौं महानगरपालिकाले दुइटा अस्पताल सिल गरेको छ । सोमबार महानगरपालिकले बौद्धस्थित चाइना पिपुल्स हस्पिटल र जडिबुटीमा रहेको हाम्रो सहयात्री अस्पताल एवम् वर्थिङ सेन्टर सिल गरेको हाे । ति दुई अस्पताल बिना दर्ता संचालन गरेकाे पाइएकाले सिल गरिएकाे महानगरले जानकारी दिएकाे छ ।
कोशी प्रदेशका ३ जिल्लामा क्षयरोगका बिरामी बढी
काठमाडौं । कोशी प्रदेशका १४ जिल्लामध्ये तीन जिल्लामा क्षयरोगका बिरामी उच्च रहेको स्वास्थ्य निर्देशानलय धनकुटाले जनाएको छ । चालु आर्थिक वर्षको साउनदेखि वैशाखसम्ममा कोशीमा तीन हजार पाँच सय ५८ जना क्षयरोगका बिरामीमध्ये मोरङ, सुनसरी र झापामा बढी रहेको निर्देशानलयका क्षयरोग फोकल पर्सन तुलसीप्रसाद गुरागाइले बताए । उनले मोरङमा एक हजार तीन जना, झापामा नौ सय २३ जना, सुनसरीमा आठ सय ७५ जना र उदयपुरमा दुई सय ४२ जना क्षयरोगका बिरामी रहेको बताए । यसैगरी तथ्याङ्कमा ताप्लेजुङमा ४६ जना, सङ्खुवासभा ५२ जना, सोलुखम्बु ४४, खोटाङ ५५, भोजपुर ५३, धनकुटा ६४, तेह्रथुम २३, पाँचथर ४८ र इलाममा ९२ जना रहेको देखिन्छ । सरकारले क्षयरोगका कारणले परिवारमा पर्ने अधिक व्ययभार शून्यमा झार्ने रणनीतिका साथ काम गरिरहेको फोकल पर्सन गुरागाईंले बताए । उनले हाल जिल्ला स्वास्थ्य कार्यालय र स्थानीय तहका स्वास्थ्य शाखामार्फत गाउँगाउँमा पुगेर क्षयरोगका बिरामी खोज्ने, नियमित औषधि सेवनका लागि आग्रह गर्ने काम गरिरहेको बताए । उनले नेपालमा कूल जनसङ्ख्याको ४५ प्रतिशत व्यक्ति क्षयरोगबाट सङ्क्रमित रहेको अनुमान गरिएको बताए । राष्ट्रिय क्षयरोग कार्यक्रमका चुनौतीलाई सामना गर्दै र स्थानीय तहलाई जवाफदेही बनाई सन् २०५० भित्र नेपालमा क्षयरोग अन्त्य गर्ने सरकारको लक्ष्य रहेको उनले जानकारी दिए । उनले सो अवधिमा क्षयरोगको अन्त्यका लागि सङ्घ, प्रदेश र स्थानीय तहबीच कार्यक्रमलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्नका लागि संयन्त्र विकास गर्ने, स्थानीय तहमा आवश्यकता अनुसार सरोकारवालाको सहभागिता हुने गरी समिति गठन र जिम्मेवारी तोक्ने, स्वास्थ्यकर्मी, स्वयम्सेवक, शैक्षिक संस्था, सामाजिक सङ्घ संस्था, सरकारी नीति तथा गैर सरकारी सङ्घसंस्था समेतलाई कार्यक्रमप्रति जिम्मेवार बनाउने बताए । रासस