सुरक्षाको व्यवस्था गर्न चिकित्सकको माग

काठमाडौं । नेपाल चिकित्सक सङ्घले चिकित्सक तथा स्वास्थ्यकर्मीको सुरक्षाका लागि देशभरका स्वास्थ्य संस्था तथा अस्पतालमा सुरक्षाको व्यवस्था गर्न माग गरेको छ । चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि गालीगलौज, हातपात तथा अस्पताल भवन नै तोडफोड जस्ता घटना बढेको उल्लेख गर्दै सङ्घले उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई सुरक्षाको प्रत्याभूति गर्न माग गर्दै ज्ञापनपत्र बुझाएको हो । ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (पहिलो) संशोधन ऐन २०७९ का सम्बन्धमा देशभरका सुरक्षा निकाय तथा न्यायिक एव अर्धन्यायिक निकाय अनविज्ञ हुनु अत्यन्तै चिन्ताको विषय बनेको छ । राज्यको तर्फबाट तर्जुमा गरिएका ऐन, कानुनबमोजिम चिकित्सक तथा स्वास्थ्यकर्मी सुरक्षित तवरले स्वास्थ्य सेवा प्रवाहमा समर्पित हुने उचित वातावरण सिर्जना गरिदिन अनुरोध गर्दछौं’, ज्ञापनपत्रमा उल्लेख छ । ज्ञापनपत्रमा नेपाल मेडिकल कलेज अत्तरखेल जोरपाटीमा चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि अभद्र व्यवहार भएको उल्लेख गर्दै सङ्घले आपत्ति जनाएको छ । गत मङ्गलबार उपचारका क्रममा भएको घटनालाई लिएर बिरामीका आफन्तले अस्पतालमा तोडफोड तथा चिकित्सक र स्वास्थ्यकर्मीलाई गालीगलौज गरी अभद्र व्यवहार गरिएको घटनाका सम्बन्धमा गृहमन्त्री श्रेष्ठको ध्यानाकर्षण गराएको छ । यस्तै अन्य अस्पतालमा भएका घटनाप्रतिसमेत सङ्घले ध्यानाकर्षण गराएको छ । सङ्घका अध्यक्ष डा अनिल विक्रम कार्कीले भने, ‘नारायणी अस्पताल वीरगञ्ज, सिन्धुली अस्पताल, सिरहा अस्पताललगायत देशका विभिन्न ठाउँमा चिकित्सक तथा स्वास्थ्यकर्मीलाई लक्षित गरी गालीगलौज, हातपात तथा अस्पताल भवन नै तोडफोड भएका घटनाक्रमले देशभरका चिकित्सक तथा स्वास्थ्यकर्मीले असुरक्षित महसुस गरेको अवस्था छ ।’ उपचार प्रक्रियामा चित्त नबुझेका अवस्थामा कानुनी बाटो अवलम्ब गर्नुभन्दा अस्पताल तोडफोड र अभद्र व्यवहार गर्नेक्रम बढेको उल्लेख गर्दै सङ्घले आपत्ति जनाएको छ ।

नर्भिकमा सुरु भयो लेजर इन प्रोक्टोलोजी, पायल्सको शल्यक्रिया गर्दा अब चिर्नु नपर्ने

काठमाडौं । पायल्स, फिसर र फिस्टुलाको उपचारमा चिरेर गरिने परम्परागत शल्यक्रियाको युग अब सकिएको छ । थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलले लेजरबाटै पायल्स, फिसर र फिस्टुलाको सहज उपचार(सर्जरी) गर्ने प्रविधि ‘लेजर इन प्रोक्टोलोजी’को सुरुवात गरेसँगै अब चिरेर शल्यक्रिया गर्नुपर्ने बाध्यताको अन्त्य भएको हो । अस्पतालका जनरल जीआई सर्जन(ग्यास्ट्रो इन्टेस्टाइन सर्जन) डा. प्रकाश चौधरी र डा. सञ्जय पौडेल लगायतको जीआई सर्जरी टिमले नर्भिकमा पनि ‘लेजर इन प्रोक्टोलोजी’ प्रविधिबाट उपचार सेवाको थालनी गरेको हो । दुई दिनअघि धनगढीबाट अस्पतालमा भर्ना भएका एक ३८ वर्षीय बिरामीको निकै पुरानो पायल्सको लेजर प्रविधिबाट सफलतापूर्वक उपचार भएको डा. चौधरीले जानकारी दिए । उनका अनुसार यो प्रविधिबाट उपचार गर्दा बिरामीलाई पूरै बेहास् बनाइरहनुपर्दैन । ‘पहिला–पहिला हामी पायल्स, फिसर र फिस्टुलाका जटिल समस्याहरुको ओपन सर्जरी गरेर उपचार गर्ने गथ्र्यौ । अब भने त्यो बाध्यता हटेको छ ।’ डा. चौधरीले भने–‘नयाँ प्रविधि र डिभाइसको मद्दतले लेजरबाट एनर्जी फ्लो गरेर एनलमा हुने डल्लोको रगत सुकाउने काम गरिन्छ । लेजर डिभाइसले एनर्जी फाल्छ र त्यसले डल्लोलाई सुकाउने तथा स्रिंक गराएपछि नर्मल अवस्था बन्छ ।’ यो अत्याधुनिक प्रविधिबाट उपचार गराउँदा बिरामीलाई धेरै हस्पिटलमा बस्नुपर्ने बाध्यता पनि हुँदैन । ‘लेजरबाट गर्दा सर्जरी सुचर लगाउनुपरेन, काट्नु परेन ।’ डा. चौधरीले थपे–‘काटेपछि दाग हुन्थ्यो, लेजरबाट गर्दा दाग नदेखिने भयो । लेजरबाट गर्दा रगत पनि कम बग्छ ।’ उनकाअनुसार हस्पिटल आएर लेजर प्रविधिबाट उपचार गराएको ३–४ घण्टाभित्रै बिरामीलाई घर जान दिन सकिन्छ । ‘ओपन सर्जरीबाट गर्दा २ दिनसम्म हस्पिटल बस्नुपथ्र्यो ।’ उनले भने–‘यो प्रविधि कस्ट इफेक्टिभ पनि हुन्छ । ओपन सर्जरी गर्दा हस्पिटल बसाई लामो हुनसक्थ्यो, तर लेजरबाट हुने सर्जरीमा भने हस्पिटल बस्दा हुने खर्च जोगिने भयो । यसरी सोच्दा बिरामीलाई सजिलो भयो । लेजरबाट सर्जरी गरिसकेपछि डाक्टरकहाँ फलोअपमा पनि धेरै आइरहनु पर्दैन ।’ डा. चौधरीकाअनुसार नेपालका लागि ‘लेजर इन प्रोक्टोलोजी’ नयाँ उपचार पद्धति र प्रविधि हो । डा. चौधरीले लेजर प्रोक्टोलोजी सम्बन्धी विशेष क्लिनिकल तालिम भारतबाट लिएका छन् । मेडिकलको भाषामा गुद्धद्वार र मलाशयसँग सम्बन्धित चिकित्सा विज्ञानलाई प्रोक्टोलोजी भनिन्छ । यी क्षेत्रमा विशेषगरी मानिसलाई पायल्स, फिसर, फिस्टुला लगायतका समस्या भइरहेको हुन्छ । यस्ता स्वास्थ्य समस्याको समयमै निराकरण भएन भने ठूलै सर्जरीसम्म गर्नुपर्ने हुन्छ । तर, अब नर्भिक अस्पतालमा लेजर प्रविधिबाट सहजै पायल्स, फिसर र फिस्टुलाको सर्जरी हुनेछ । गुद्धद्वार र मलाशयमा रगत आउने, मासुको डल्लो हुने, डल्लो बाहिर आउने र समस्या बढ्दै गएपछि मासुको डल्लो निकै क्रोनिक बन्ने लगायतका समस्या हुँदा सचेत बन्नुपर्ने चिकित्सकहरुको सुझाव छ ।

सूर्तिजन्य पदार्थको करवापतको ६ अर्ब हाम्रो मन्त्रालयले पाउनुपर्छ : स्वास्थ्यमन्त्री

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले सूर्तिजन्य पदार्थको करवापत संकलन भएको सबै रकम आफ्नो मन्त्रालयले पाउनुपर्ने बताएका छन् । ऐन, कानून र नियमावलीमा सूर्तिजन्य पदार्थको करवापत उठेको रकम स्वास्थ्य मन्त्रालयले नै पाउनुपर्ने व्यवस्था भएको उल्लेख भएपनि सो अनुसार बजेट विनियोजन नभएकोमा उनले आपत्ति जनाए । सूर्तिजन्य पदार्थको करबाट हाल ६ अर्ब रकम उठेको तर सरकारले बजेटमा ४० करोड मात्रै स्वास्थ्य मन्त्रालयलाई विनियोजन गरेको उनकाे भनाइ छ । ‘सो बजेट मन्त्रालयलाई उपलब्ध गराए दरबन्दीसम्बन्धि सबैभन्दा ठूलो समस्या हल गर्दै लैजान सकिने थियाे,’ उनले भने । दरबन्दीकै अभावमा हाल जनताले उचित ढंगले स्वास्थ्य सेवा पाउन नसकिरहेको उल्लेख गर्दै मन्त्री बस्नेतले त्यसको उचित व्यवस्थापन गर्नका लागि पनि सूर्तिजन्य पदार्थको करवापत उठेको रकम आफ्नो मन्त्रालयलाई दिन जरुरी रहेको धारण राखे ।