कालीकोट जिल्ला अस्पतालमा स्थानीयद्वारा खानेपानी आपूर्तिमा अवरोध

कालीकोट । जिल्ला अस्पताल कालीकोटमा खानेपानीको अभाव भएको छ । जिल्ला अस्पतालमा ल्याइएको खानेपानीको मुहानमा स्थानीयले अवरोध गर्दा खानेपानीको अभाव भएको हो । जिल्ला अस्पतालमा खाँडाचक्र नगरपालिका–१ को जिरोप्वाइन्ट रहेको मुहानबाट खानेपानीको आपूर्ति गरिँदै आएको थियो । जिरोप्वाइन्टमा आफ्नै खानेपानी ट्याङ्की रहेको र त्यसलाई घेरबार गरेर राखेका अवस्थामा अनधिकृतरुपमा केही व्यक्तिले ट्याङ्कीमा आफ्ना निजी पाइप जोडेर लगेका कारणले जिल्ला अस्पतालमा खानेपानीको अभाव भएको अस्पतालका निमित्त स्वास्थ्य सेवा व्यवस्थापक डा. सङ्केत विश्वकर्माले बताए । ‘अस्पताल जस्तो संवेदनशील क्षेत्रमा पानीको अवरोध गर्नु गैरकानुनी काम हो’, उनले भने, ‘यो समस्या तत्काल समाधान नभए कानुनीरुपमा जान बाध्य हुनेछौँ ।’ जिल्ला अस्पतालमा खानेपानीको अभाव हुँदा बिरामी तथा बिरामीका कुरुवालगायतका अन्य सेवाग्राहीलाई खानेपानीका लागि टाढाटाढा जानुपर्ने बाध्यता रहेको निमित्त स्वास्थ्य सेवा व्यवस्थापक डा. विश्वकर्माले बताए । ‘केही दिनयता खानेपानीको अभाव हुँदा बिरामी तथा कुरुवालगायतका स्वास्थ्यकर्मी र सेवाग्राहीलाई निकै सकस भएको छ’, उनले भने, ‘गर्मीको मौसममा खानेपानीको अभाव हुँदा अस्पतालमा उपचारमा आएका पनि खानेपानीको अभावले बिरामी पर्ने गरेका छन् ।’ खानेपानीको अभावमा स्वास्थ्य सेवा प्रवाहमा प्रतिकूल असर परेको हुँदा तीन दिनभित्र खानेपानीको पाइप नहटाए कानुनी कारबाहीमा जाने निमित्त स्वास्थ्य सेवा व्यवस्थापक डा. विश्वकर्माले बताए । ‘स्वास्थ्य क्षेत्रमा अवरोध गरिनु कुनै राम्रो काम होइन’, उनले भने, यस्तो गैरकानुनी कामलाई प्रश्रय दिनु पनि राम्रो होइन ।’ जिल्ला अस्पतालमा खानेपानीको अभाव भएका कारणले खानेपानीका लागि भौतारिनुपर्ने बाध्यता रहेको बिरामीका कुरुवा बस्नुभएका पचाल झरना गाउँपालिका–४ का नैन तिरुवाले बताए। ‘यता बिरामीको कुरुवा बस्नु कि खानेपानीका लागि भौतारिनु’, उनले भने, ‘खानेपानी खोज्दाखोज्दै अस्पतालमा बिरामीलाई अप्ठ्यारो पनि हुनसक्छ ।’ गर्मीयाम बढ्दै गएका कारणले कालीकोटको सदरमुकाममा पनि खानेपानीको चरम अभाव हुन थालेको छ ।

भक्तपुर जिल्लाका बासिन्दालाई निःशुल्क रगत

भक्तपुर । भक्तपुर जिल्लामा रहेका चार नगरपालिकाका स्थायी बासिन्दाले निःशुल्क रगत पाउन थालेका छन् । विभिन्न रोगको उपचारका क्रममा अत्यावश्यक पर्ने रगतका लागि लाग्ने आवश्यक विभिन्न शुल्कहरु चारवटै नगरपालिकाले व्यहोर्ने गरी आफ्ना नगरवासीले  निःशुल्क रगत पाउन थालेका हुन् । नेपाल रेडक्रस सोसाइटी भक्तपुर शाखासँग जिल्लाका चारवटै नगरपालिकाहरु भक्तपुर, मध्यपुरथिमि, सूर्यविनायक र चाँगुनारायण नगरपालिकाले गरेको सम्झौताबमोजिम रेडक्रसले बिरामीका लागि अत्यावश्यक पर्ने रगत निःशुल्क उपलब्ध गराउन थालेको हो । रेडक्रसका जिल्ला सभापति मनोजकुमार थापाले रगत  निःशुल्क प्राप्त गर्नका लागि बिरामीका आफन्तले बिरामीको भक्तपुर जिल्लाभित्र स्थायी ठेगाना भएको परिचय खुल्ने आधिकारिक परिचयपत्र र सम्बन्धित अस्पतालका चिकित्सकको रगत आवश्यकता रहेको सिफारिस पत्र पेस गरेका आधारमा बिरामीलाई निःशुल्क रगत उपलब्ध गराउन सुरु गरिएको जानकारी दिए । बिरामीलाई रेडक्रसले निःशुल्क उपलब्ध गराएको रगतको शुल्क भने सम्बन्धित नगरपालिकाले सोधभर्ना गर्नेछ । सभापति थापाले भने, ‘जिल्लाका चारवटै नगरपालिका र रेडक्रसले निःशुल्क रगत उपलब्ध गराउने बारेमा सम्झौता भएपछि यो सेवा सुरु गरेका हौँ, बिरामीलाई रगत दिएपछि त्यसको शुल्क नगरपालिकाहरुले ब्यहोर्ने गर्छ, बिरामीले निःशुल्क रगत पाउन थालेपछि आर्थिकरूपमा विपन्न नागरिकलाई निकै राहत पुगेको छ ।’ अहिलेसम्म रेडक्रसले करिब एक हजार छ सय ५४  जिल्लावासीलाई दुई हजार पिन्ट रगत एवम् रक्ततत्व निःशुल्क वितरण गरिसकेको छ । सबभन्दा बढी भक्तपुर नगरपालिकाका बिरामीबाट रगत माग हुने गरेको छ । रेडक्रसका सभापति थापाका अनुसार भक्तपुरमा रगतको अभाव छैन । दैनिक विभिन्न ठाउँमा हुने रक्तदान र आकस्मिक रक्तदानबाट रगतको आपूर्ति भइरहेको बताउँदै उनले भक्तपुर मात्रै नभई काठमाडौं उपत्यका, काभ्रेपलाञ्चोक र उपत्यका बाहिरका अस्पतालमा उपचार गराइरहेका बिरामीका लागिसमेत रगत उपलब्ध गराइरहेको जानकारी दिए ।

घुस लिएको अभियोगमा टेकुका ल्याव टेक्नोलोजिस्ट भट्टराई पक्राउ

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५० हजार रुपैयाँ घुस लिएको अभियोगमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुका मेडिकल ल्याव टेक्नोलोजिस्ट लेखनाथ भट्टराईलाई पक्राउ गरेको छ । आयोगका प्रवक्ता भोला दाहालका अनुसार ल्याव दर्ता प्रक्रिया अगाडि बढाउन सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस माग गरेको भन्ने सूचनाका आधारमा पुगेको आयोगको टोलीले उनलाई शङ्खमूलबाट पक्राउ गरेको हो । आरोपी भट्टराईमाथि थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।