नर्भिक अस्पतालमा फ्रि न्यूरो क्याम्प हुने
काठमाडौं । वरिष्ठ स्नायू रोग विशेषज्ञ डा. राजीव झा नेतृत्वको टिमले थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा आगामी शनिबार निःशुल्क ओपिडी सञ्चालन गर्ने भएको छ । नर्भिकमा पनि कार्यरत डा. झा नेतृत्वको टिमले आगामी शनिबार (जेठ २७ गते) बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म निःशुल्क ओपिडी(न्यूरो क्याम्प) सञ्चालन गर्ने भएको हो । नेपालीहरुमा पछिल्लो समय ब्रेन ट्यूमरको समस्या बढ्दो छ । यसैलाई मध्यनजर गरी ‘वल्र्ड ट्यूमर डे’को अवसर पारी डा. झाले निःशुल्क ओपिडी सेवा दिन लागेका हुन् । उनले सो क्रममा ब्रेन ट्यूमरका केशहरुमा फोकस रहेर बिरामीहरुको चेकजाँच गर्ने नर्भिक इन्टरनेशनल हस्पिटलले जनाएको छ । नर्भिक इन्टरनेशनल हस्पिटलले विगत लामो समयदेखि आफ्नो संस्थागत सामाजिक उत्तरदायीत्व (सीएसआर) अन्तर्गत विभिन्न रोगका विशेषज्ञहरुको सहभागितामा निःशुल्क ओपिडी सञ्चालन गर्दै आइरहेको छ । यो क्रममा सर्वसाधारणहरुको सहभागिता समेत उल्लेख्य हुने गरेको छ ।
स्याङ्जाको विद्यार्थीमा ठेउला देखिएपछि विद्यालय बन्द
स्याङ्जा । स्याङ्जाको वालिङ–१२ कोखेस्थित सिर्सेकोट जनहित आधारभूत विद्यालयका बालबालिकामा ठेउलाको सङ्क्रमण देखिएको छ । सुरुका दिनमा केही बालबालिकामा देखिएको सङ्क्रमण फैलँदै जाँदा २३ जना तथा घरका अन्य सदस्यलाई पनि सर्न थालेपछि आउँदो शुक्रबारसम्म विद्यालय बन्द गरिएको छ । बालबालिकाको शरीरमा एकै प्रकारका पानीका फोका आउने, चिलाउने, दुख्ने, ज्वरो आउनेजस्ता लक्षण देखिएको छ । विश्व स्वास्थ्य सङ्गठन, गण्डकी प्रदेश स्वास्थ्य मन्त्रालय, स्वास्थ्य कार्यालय स्याङ्जा र गह्रौँ प्राथमिक अस्पताल वालिङबाट चिकित्सकको टोली पुगेर औषधि उपचार गरेको वालिङ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कमलप्रसाद पाण्डेले बताए । पहिलो पटक परीक्षण गर्दा २३ जनामा देखिएको सङ्क्रमण दर बढ्दै गएपछि गण्डकी प्रदेश स्वास्थ्य मन्त्रालय र विश्व स्वास्थ्य सङ्गठनका प्रतिनिधि कोखे पुगेर नमूना सङ्कलन गरेका हुन् । ‘ठेउला देखिएको ठाउँमा पुगेर स्वास्थ्यकर्मीको टोलीले घाँटीको स्वाब, छालाको नमूना तथा रगतको नमूना सङ्कलन गरी परीक्षण गर्न काठमाडौँ पठाएको छ’, उनले भने, ‘लक्षणअनुसार ठेउला भएको प्रारम्भिक परीक्षण हेर्दा सङ्ख्या धेरै भएकाले नमूना परीक्षण गर्न काठमाडौं पठाएका छौँ ।’ ठेउला रोगको रोकथाम तथा नियन्त्रण गर्न हावाबाट बच्न र सामाजिक दूरी कायम राख्नसमेत अनुरोध गरिएको शाखा प्रमुख पाण्डेले बताए । दोस्रो पटक जाँच गर्दा थप दश जना बालबालिका तथा समुदायस्तरसम्म सङ्क्रमण फैलिएकाले रोकथाम तथा न्यूनीकरणका लागि स्थानीयलाई सचेत गराइएको उनले बताए । ठेउला भाइरसबाट सर्ने सङ्क्रामक रोग हो । विशेष गरी १५ वर्ष उमेर समूहमुनिका बालबालिकामा यो रोग बढी देखिने गर्छ । यसले दीर्घरोगी तथा गर्भवती महिलालाई बढी असर गर्नसक्ने भएकाले समुदायस्तरमा फैलिन नदिन विशेष सावधानी अपनाइएको स्वास्थ्य कार्यालय स्याङ्जाकी प्रमुख वसुन्धरा शर्माले बताए । ‘सङ्क्रमण फैलिन नदिन सङ्क्रमित बिरामीको सम्पर्कमा नआउने, एउटै लुगा प्रयोग नगर्ने, सरसफाइमा ध्यान दिनुपर्छ’, उनले भने, ‘एकदेखि दुई हप्तासम्म यसको लक्षण देखिन्छ, एकपटक भएपछि दोस्रो पटक हुँदैन ।’ जेठ १४ गतेदेखि सुरु भएको ठेउलाको सङ्क्रमण अहिले सिर्सेकोट जनहित विद्यालय तथा समुदायस्तरमा फैलिएको छ ।
सूर्यविनायकका स्वास्थ्यकर्मी ५ महिनादेखि तलबबाट वञ्चित
भक्तपुर । भक्तपुरको सूर्यविनायकमा स्वास्थ्यकर्मी पाँच महिनादेखि तलवबाट वञ्चित रहेका छन् । सूर्यविनायक नगरपालिकाभित्रका स्वास्थ्य शाखाका कर्मचारी, नगरपालिकाभित्र सञ्चालित विभिन्न स्वास्थ्यचौकी, उपस्वास्थ्य चौकी, नगर अस्पताल र सहरी स्वास्थ्य संस्थाका कार्यरत एक सयभन्दा बढी स्वास्थ्यकर्मीले पाँच महिनादेखि तलब पाएका छैनन् । चालु आर्थिक वर्षका लागि सरकारले पठाएको बजेट अपुग भएपछि नगरपालिकाका विभिन्न स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीले तलब नपाएको नगरपालिका स्वास्थ्य शाखाका प्रमुख वसन्त चापागाईले जानकारी दिए । स्वास्थ्यकर्मीले गत माघ महिनादेखि नेपाल सरकारका करिब ७० स्वास्थ्य शाखाका कर्मचारी एवं स्वास्थ्यकर्मीले तलब नपाउँदा पनि स्वास्थ्य सेवामा कुनै गुनासो आउन नदिने गरी काम गरिरहेको उनले बताए । नगरपालिकाले करारमा नियुक्त गरेका स्वास्थ्यकर्मीले भने नियमित तलब पाइरहेका छन् । चापागाईले भने, ‘एउटै कार्यालयमा नगरपालिकाले करारमा नियुक्त गरेका कर्मचारी एवं स्वास्थ्यकर्मीले नियमित तलब पाइरहने तर नेपाल सरकारको तर्फबाट तलब खाने स्वास्थ्यकर्मी भने पाँच महिनादेखि तलब नपाउँदा कर्मचारीको घर व्यवहारमै समस्या परेको छ ।’ एउटै शाखामा काम गर्ने नगरपालिकाले नियुक्त गरेका कर्मचारीले नियमित तलब पाउने र सरकारका कर्मचारीले तलब नपाउँदा उनीहरुलाई समस्या भएको छ । यहाँका कर्मचारीका लागि मासिक करिब ४५ लाख तलबमा खर्च हुने गरेको लेखा शाखाले जनाएको छ । नगरपालिकाको लेखा शाखाले भने बजेट सकियो भनेर सरकारले थप रकम नपठाएका कारण तलब खुवाउन नसकेको जानकारी दिएको छ । नगरपालिका लेखापाल महेश भट्टराईले सरकारबाट रकम नआएका कारण तलब खुवाउन नसकेको बताए । तलब खुवाउनु बाँकी रकमको माग गर्दै स्वास्थ्य मन्त्रालयमा पत्राचार गरिरहेको जानकारी दिँदै उनले तलबका लागि रकम निकासा भएर नआउँदा तलब खुवाउन नसकेको बताए ।