सिटिईभिटीले बढाएको शुल्क खारेज गर्न डा. केसीको माग
काठमाडौं । डा. गोविन्द केसीले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटीईभीटी)ले बढाएको शिक्षण शुल्क खारेज गर्न माग गरेका छन् । मंगलबार एक विज्ञप्ति जारी गर्दै उनले चिकित्सा शिक्षा आयोगको परामर्शबिना गरिएको शुल्क वृद्धि गलत र बदनियतपूर्ण भएको भन्दै खारेज गर्न माग गरेका हुन् । साथै वृद्धि गरिएको शुल्क खारेज नभए आन्दोलन गर्ने चेतावनी डा. केसीले दिएका छन् । उनले सिटिईभिटीमा स्वार्र्थको द्वन्द्व हुने गरी नियुक्ति भएका पार्टीका कार्यकर्ता तथा माफिया पदाधिकारीका कारण यस्तो निर्णय भएको उनले आरोप लगाएका छन् । ‘नियुक्तिमा दलीय भागवण्डाको विरोध गर्दै पदाधिकारी नियुक्तिका मापदण्डसहितको कानुनी व्यवस्थाको माग गर्दै हामीले लामो संघर्ष गरेका छौं। नियुक्तिमा स्वार्थको द्वन्द्व रोक्ने व्यवस्थाको माग पनि हामीले लगातार गरिरहेका छौं। तर कुनै पनि सरकारले अहिलेसम्म दलसम्बद्ध माफियाहरुको स्वार्थभन्दा माथि उठेर काम गर्न सकेका छैनन्’, डा. केसीले विज्ञप्तिमा उल्लेख गरेका छन् । सिटीईभीटीले चिकित्सा शिक्षा अन्तर्गतका प्रमाणपत्र तह नर्सिङ, प्रमाणपत्र तह सामान्य चिकित्सा (एचए) र डिप्लोमा इन फार्मेसीको अध्ययन शुल्क बढाएको छ । सीटीईभीटीले नयाँ शुल्कका विषयमा जानकारी दिन गत शुक्रबार सूचना प्रकाशित गरेको थियो। उक्त सूचना अनुसार सीटीईभीटीले नर्सिङ तर्फ एक लाख ४९ हजार २३० रुपैँया, एचए तर्फ १ लाख १९ हजार रुपैयाँ र फार्मेसी तर्फ साढे ८६ हजार रुपैयाँ बढाएको छ। सिटिईभिटीको शुल्क वृद्धिको निर्णय विरुद्ध विभिन्न विद्यार्थी संगठनहरुले समेत असहमति जनाएर विरोध गरेका छन् ।
औषधि अभावमा गाजाका ९ हजार क्यान्सरपीडितको जीवन जोखिममा
गाजा । अत्यावश्यक औषधिको अभावमा गाजा क्षेत्रका नौ हजार क्यान्सरपीडित सर्वसाधारणको जीवन जोखिममा परेको प्यालेष्टाइनका एक जना वरिष्ठ स्वास्थ्य अधिकारीले बताएका छन् । गाजापट्टीमा क्यान्सर रोगीहरू निदान र उपचारको अभावबाट पीडित भएका तथा त्यहाँको जनसङ्ख्यामा क्यान्सर रोगीहरूको सङ्ख्या बढ्दै गएको गाजा क्यान्सर केन्द्रका महानिर्देशक सुभी स्काइकले बताएका छन् । महानिर्देशक स्काइकले विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्कलाई उद्धृत गर्नुहुँदै ट्युमरको उच्च दरबारे जानकारी दिँदै सन् २०२१ मा गाजामा प्रति एक लाखमा ९० प्रतिशतभन्दा बढी क्यान्सरबाट पीडित भएको बताए । पत्रकारहरूसँगको कुराकानीमा उनले यो सङ्ख्या सन् २०४० सम्ममा दोब्बरले बढ्ने अनुमान गरिएको बताए । गाजामा हाल क्यान्सर मृत्युदर १२.५ प्रतिशत छ । गाजाका बिरामीलाई रोगको निदानको लागि रेडियोथेरापी र आणविक औषधिमा पहुँच छैन । इजरायलको यात्रा प्रतिबन्धले उनीहरू वेस्ट बैंक वा पूर्वी जेरुसेलममा उपचार गराउन बाध्य छन् । स्वास्थ्य अधिकारीहरूले गाजा क्षेत्रका क्यान्सर बिरामीको जीवन बचाउन अन्तर्राष्ट्रिय समुदाय र सम्बन्धित अधिकारीहरूलाई तत्काल हस्तक्षेप गर्न आग्रह गरेका छन् । सन् २००७ मा इस्लामिक प्रतिरोध आन्दोलन (हमास) ले गाजाको तटीय क्षेत्र कब्जामा लिएपछि त्यहाँ बसोबास गर्ने करिब २० लाख प्यालेस्टिानी इजरायली नाकाबन्दीको पीडामा बाँचेका छन् । रासस
वैज्ञानिक खोज : ४ दिन औषधि खाँदा ३ वर्ष जवान हुन सकिने
काठमाडौं । वैज्ञानिकहरुले मानिसको वृद्ध उमेरलाई घटाउन सकिने विषयमा नयाँ खोज गरेका छन् । हावर्ड विश्वविद्यालयका वैज्ञानिकले यस्तो छ वटा एस्तो केमिकल पत्ता लगाएका छन्, जसले वृद्ध भएको मानिसलाई फेरि जवान बनाउन सक्छ । न्युयोर्क पोस्टमा छापिएको रिपोर्टअनुसार सो विषय एजिङ जर्नलमा प्रकाशित एक अध्ययन ‘केमिकली इन्ड्युस्ड रि–प्रोग्रमिङ टु रिभर्स’ मा प्रकाशित भएको छ । अध्ययनकाअनुसार वैज्ञानिकले पत्ता लगाएका छ वटा केमिकल मिलाएर ‘फाउन्टेन अफ युथ’ नामको औषधि बनाइन्छ, जसले मानिसको उमेर घटाउनुको साथै छालालाई पनि पहिलाको जस्तै जवान अथवा चमकदार बनाउने काम गर्छ । सो औषधिको मिश्रणलाई कक्टेल पनि भनिएको छ । वैज्ञानिकहरुका अनुसार सो औषधिले मानिसको छालालाई धेरै वर्षसम्म बुढ्यौली बन्ने प्रकृयालाई रोक्ने काम समेत गर्नेछ । डेली मेलको रिपोर्टअनुसार चार दिनको उपचारपश्चात मानिसको उमेर घट्न सक्छ । सो अध्ययनको नेतृत्व गर्ने वैज्ञानिक डेभिड सिन्क्लेयरले खोजको उपलव्धिको विषयमा ट्वीट गरेर जानकारी समेत दिएका छन् । ‘यसअघिको अनुसन्धानमा जीन थेरापीबाट भ्रूणको जीन सक्रिय गरेर उमेर घटाउन सकिने कुरा खुलेको थियो । अब नयाँ अनुसन्धानमा केमिकल ककटेलबाट पनि यो सम्भव भएको पत्ता लागेको छ । यो सम्पूर्ण शरीर कायाकल्प गर्न को लागी एक सफल कदम हो’, वैज्ञानिक सिन्क्लेयरले लेखेका छन् । मुसामा सफल परीक्षण हावर्ड मेडिकल स्कुलले यो अनुसन्धान मुसामाथि गरेको थियो । तर, डेली मेलको रिपोर्टअनुसार भने यो सो अनुसन्धान मुसामाथि मात्रै नभएर मानिसको कोषिकामाथि पनि गरिएको थियो । नतिजाअनुसार प्रयोग गरिएको छ प्रकारका रसायनले उमेरलाई घटाउने काम गरेको थियो । उमेरमा देखिएको यो परिवर्तनलाई ट्रान्सक्रिप्टोमिक घडीहरुमार्फत ट्रयाक गरिएको थियो । सो घडीले जैविक उमेर बताउन जिन एक्सप्रेसन डाटाको प्रयोग गर्दछ । साथै, यो अनुसन्धान मानिसमाथि अर्को वर्ष परीक्षण गरिने जनाइएको छ । सो औषधिले दृष्टि क्षमतामा समेत सुधार ल्याउने वैज्ञानिक डेभिड सिन्क्लउयरका अनुसार छ प्रकारका रसायनको मिश्रणबाट बनाइएको औषधिले कमजोर भएको दृष्टिलाई समेत सुधार गर्ने काम गर्छ । साथै, सो औषधिले उमेरसँग जोडिएर विकास हुने रोगहरुको विरुद्धमा लड्न समेत सहयोग पुर्याउँछ । ‘हरेक रसायनमा ५/७ वटा एजेन्ट हुन्छन्, जसले भौतिक र मानसिक रुपमा हुने गलत निर्देशनलाई ठिक गर्नमा सहयोग पुरयाउन सक्छन् । मुसाको अप्टिक नर्भस, मस्तिस्कको तन्तु, मृगौला र मांसपेशीहरुमा गरिएको अध्ययनले त्यसको दृष्टिमा सुधार र आयु बढाएको पाइएको थियो । वैज्ञानिक सिन्क्लेयरका अनुसार उमेर उल्ट्याउने कुरा एउटा प्रकृया भएको बताएका छन् । उनले उमेरलाई बढाउन र घटाउन सकिने बताएका छन् । अवधारणात्मक रुपमा हेर्दा शरीरसँग यसको जवानीको प्रतिलिपि समेत रहेको छ । यदि त्यसलाई पुनः सञ्चालन गरियो भने कोशिकाहरु पुनः बन्न र काम गर्न थाल्नेछन् भने उमेर पनि घट्न थाल्नेछ । यो प्रयोगले आनुवंशिक उत्परिवर्तको परिणामस्वरुप बुढेसकाल हुन्छ भन्ने मान्यतालाई पनि गलत सावित गरिदिएको छ । एजेन्सीको सहयोगमा ।