मोरङमा मात्र ८६५ डेङ्गुबाट सङ्क्रमित

मोरङ । मोरङ जिल्लामा डेङ्गु रोगको असर दिनप्रति दिन वृद्धि हुँदै गएको छ । विराटनगरस्थित जिल्ला स्वास्थ्य कार्यालयका अनुसार गत असार १ गतेदेखि हालसम्म जिल्लाभर आठ सय ६५ जना डेङ्गुबाट सङ्क्रमित भैसकेका छन् । पथरीशनिश्चरे नगरपालिकामा छ सय ५० जना यो रोगका बिरामी फेला परेका छन् । यसैगरी लेटाङ, मिक्लाजुङ, केरावारी, कानेपोखरी, सुनवर्षी र बेलावरी पालिकामा पनि यो रोगका सङ्क्रमित देखापरेका छन् । मोरङको १७ पालिकाकामध्ये सात पालिकामा यो रोगको बिरामी देखिएको हो । जिल्लामा अहिलेसम्म यो रोगबाट कसैको मृत्यु नभएको स्वास्थ्य कार्यालयका प्रमुख डा. सुरेश मेहताले जानकारी दिए । उनले यो रोग नियन्त्रणका लागि स्थानीय पालिकासँग समन्वय गरी कार्य गरिरहेको जानकारी दिए । प्रमुख डा. मेहताले डेङ्गु फैलाउने लामखुट्टेको लार्भा खोजी र नष्ट अभियान सुरु गर्नका साथै विद्यालयस्तरमा जनचेतना अभियान सञ्चालन गरिएको बताए । कार्यालयले डेङ्गु सङ्क्रमण देखिएका स्थानमा आवश्यक जनशक्ति परिचालन र उपचारलाई तीव्रता दिनाका साथै रोग परीक्षणका लागि आवश्यक पर्ने  रक्त किटहरु पालिकाको मागअनुसार  पठाइसकिएको जनाएको छ । बिराटनगरस्थित कोशी अस्पतालमा अहिले तीन डेङ्गुका बिरामीको उपचार भइरहेको छ । अस्पतालमा असार १ गतेदेखि आजसम्म १५ जना डेङ्गुका बिरामी उपचारका लागि आएकामध्ये १२ जना उपचारपछि घर फर्किसकेको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. चन्द्रलाल झाले बताए । यो रोगको मुख्य लक्षण ज्वरो आउने, टाउको दुख्ने र पेट दुख्ने भएकाले अविलम्ब  चिकित्सकसँग सम्पर्क गर्नुपर्ने उनको सुझाव थियो । यो रोगबाट  बच्न राति झुल लगाएर सुत्ने, भान्सा कोठामा पानी जम्न नदिने, घर वरिपरि पानी जम्ने ठाउँ सफा राख्ने, पुरै बाहुला भएको लुगा लगाउनेजस्ता सुरक्षा अपनाउनुपर्ने छ । डेङ्गु सार्ने लामखुट्टे बिहानदेखि बेलुकासम्म बढी सक्रिय हुने भएकाले लामखुट्टेलाई लार्भा उत्पादन गर्न सहज हुने मुख्यत पानी जम्ने स्थान सफा राख्नु पर्छ । रासस

ग्लोबल रिच नेपालले साउन २० गते फुटसल टुर्नामेन्टको पाँचौँ संस्करण आयोजना गर्दै

काठमाडौं । ग्लोबल रिच नेपालले साउन २० गते फुटसल टुर्नामेन्ट आयोजना गर्ने भएको छ । ग्लोबल रिच नेपालले इन्टर स्कुल ए–लेभल तथा आइबिडीपी फुटसल टुर्नामेन्ट आयोजना गर्ने भएको हो । उक्त फुटसल प्रतियोगितामा काठमाडौं उपत्यकाका १६ वटा ए–लेभल तथा आइबिडीपी स्कूल सहभागी हुने ग्लोबल रिच नेपालले जनाएको छ । एक दिन सञ्चालन हुने उक्त प्रतियोगिता ढुकु फुटसल हव बालुवाटारमा हुने जनाएको छ । यस्ता खेलकुद प्रतियोगिताले विद्यार्थीहरुलाई आफ्नो कौशलता प्रस्तुत गर्ने अवसर प्रदान गर्नुका साथै स्वास्थ्य र मनोबलमा राम्रो प्रभाव पार्ने आयोजकको विश्वास छ । प्रतियोगिता लिगकम नकाउटका आधारमा खेलाइने छ । प्रतियोगिता विहान १० बजे देखि सञ्चालन हुनेछ । प्रतियोगिमा प्रथम हुनेले ट्रफी र प्रमाणपत्र पाउने छन् भने दोस्रो हुनेले रनरअफ ट्रफी र प्रमाणपत्र पाउने आयोजकले जनाएको छ । ग्लोबल रिच नेपालद्वारा आयोजित इन्टर स्कुल ए लेभल र आइ बि डी पी फुटसल टुनामेण्ट प्रतियोगिताको यो पाँचौँ संस्करण हो । ग्लोबल रिच नेपालले अष्ट्रेलिया, न्युजिल्यान्ड, अमेरिका, युके, क्यानडा लगायतका देशमा अध्ययन गर्न जाने नेपाली विद्यार्थीहरुको लागि अन्तर्राष्ट्रिय शिक्षाका बारेमा विगत ३२ वर्ष देखि निःशुल्क परामर्श प्रदान गर्दै आएको छ । उक्त प्रतियोगितामा निम्न स्कूलहरुको सहभागिता रहने छ ।

कान्ति बाल अस्पताललाई सर्वोच्चको आदेश : ‘पीडितलाई ३० लाख क्षतिपूर्ति दिनु’

काठमाडौं । सर्वोच्च अदालतले कान्ति बाल अस्पतालले एक बालकलाई गलत खोप लगाएर चिकित्सकीय लापर्बाही गरेको मुद्दामा ३० लाख रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने आदेश दिएको छ । न्यायाधीशद्वय हरिप्रसाद फुयाल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले २०७९ साल माघ २५ गते गरेको फैसलाको आज सार्वजनिक पूर्णपाठमा उक्त क्षतिपूर्ति हुने ठहर गरिएको हो । आदेशमा भनिएको छ, ‘आधार, प्रमाण र कारणबाट कान्ति बाल अस्पतालको चिकित्सकीय असावधानीको कारणले पीडित आठ महिनाको बच्चा आलोक बरालको स्वास्थ्यमा गम्भीर असर परेको पुष्टि हुन आएको देखिएको छ ।’ श्वासप्रश्वासमा समस्या भएर उक्त अस्पतालको इमर्जेन्सीमा उपचार गर्न पु¥याइएका आठ महिनाका ती बालक आलोकलाई गलत खोप दिँदा क्षति पुगेको भन्दै उक्त रकम भराउन भनिएको हो । विसं २०७३ असार २२ गते ती बालकलाई उपचारका लागि उक्त अस्पतालको इमर्जेन्सीमा पु¥याइएको थियो । पीडित बालकका बुबा ध्रुवकुमारले अर्कै बालकका लागि तयार पारिएको मेनेन्जाइटिस मलेरियाको खोप आफ्नो बच्चामा लगाउँदा बच्चाको स्वास्थ्यमा गम्भीर क्षति पुगेको उल्लेख गर्दै काठमाडौँ जिल्ला प्रशासन कार्यालयमा उजुरी गरेका थिए । सोही राति शम्भु विक नामका अर्कै बालकका लागि ल्याइएको खोप आलोकलाई लगाइएको थियो । त्यसपछि बच्चामा सास फेर्न गाह्रो हुनाका साथै दिसा, पिसाब चुहिनेजस्ता लक्षण देखिएको थियो । काठमाडौं जिल्ला जनस्वास्थ्य कार्यालयको तर्फबाट डा आयुष्मा रेग्मीले तयार पारेको प्रतिवेदनबमोजिम ती लक्षण मेनेन्जाइटिस मलेरियाको खोपबाट साइड इफेक्ट भएको प्रमाणित भएको अदालतको ठहर थियो । फैसलाको पूर्ण पाठमा भनिएको छ, ‘उक्त लक्षण इन्जेक्सन मोन्टाजको साइडइफेक्टको लक्षणसँग मिलेको पाइयो, यसरी अस्पतालको लापर्बाहीका कारण गलत औषधिको अधिक मात्रा प्रयोग गरी आठ महिनाको बच्चाको ज्यान नै जान सक्ने गरी आजीवन शारीरिक तथा मानसिकलगायत असर परेको देखिँदा निज पीडित बालकलाई अस्पतालबाट क्षतिपूर्ति भराई दिनुपर्ने अप्रत्यक्ष दायित्व सिर्जना भएको देखियो ।’ आफ्नो बच्चाको स्वास्थ्यप्रति अस्पतालले लापर्बाही गरेकाले क्षतिपूर्तिको माग गर्दै उनले काठमाडौं जिल्ला प्रशासन कार्यालयमा उजुरी गरेका थिए । उक्त विवाद उच्च अदालत पाटन हुँदै सर्वोच्च अदालतसम्म पुगेको थियो । रासस