
काठमाडौं । चिकित्सा क्षेत्रमा भएको नयाँ खोजले आगामी वर्षहरुमा रोगहरुको उपचार गर्ने विधि तथा पद्दतीमा रुपान्तरण ल्याउने अनुमान गरिएको छ । यतिबेला बेलायत र जापानका वैज्ञानिकहरुले रोगको अध्ययनको लागि शरीरभित्रै परिचालन गर्न मिल्ने सानो आकारको रोबोट तयार गरिरहेका छन् । जसलाई शरीरभित्रै परिचालन गरेर रोग पत्ता लगाउन सकिन्छ ।
ब्रिटेनको लिड्स विश्वविद्यालयको रोबोटिक्स विभागका प्राध्यापक पियत्रो भल्दस्त्रीले २० वटा विभिन्न प्रकारका न्यानोरोबोटहरुको डिजाइन गरेका छन । यी रोबोटहरुमा क्यामेर र सेन्सरको प्रयोग गरिएको छ । जसमध्ये केही रोबोटहरुमा रेडियो ट्रान्समिटर र रिसिभर समेत जडान गरिएको छ । जसको सहायताले सर्जन चिकित्सकले शरीरको भित्री भागमा रहेको गतिविधि हेरेर रोबोटलाई निर्देशन समेत दिन सक्छन् ।
यी रोबोटहरु यती सानो आकारका छन् की जसलाई निल्न वा सुईको सहायताले शरीरभित्र पठाउन सकिन्छ । अर्को महिना प्राध्यापक भल्दस्त्रीले डिजाइन गरेको रोबोटलाई पहिलोपटक मानव शरीरमा परीक्षण गरिने भएको छ ।
यो रोबोट पीडारहित कोलोनोस्कोपी गर्ने उद्देश्यले डिजाइन गरिएको हो । यसको माध्यमबाट रोगीलाई बेहोस नबनाई उपचार गर्न सकिने दाबी गरिएको छ । यसको डिजाइन गर्न प्राध्यापक भल्दस्त्रीलाई १५ वर्ष समय लागेको थियो ।
डा. सिल्ड्सका अनुसार रोबोट क्याप्सुलले मानिसको शरीरमा प्रतिसेकेन्ड एकसय ५० पटक फन्को मार्ने क्षमता राख्छ । वैज्ञानिहरुले मुसामा सो रोबोटको सफल परीक्षण गरिसकेको जनाइएको छ । एजेन्सीको सहयोगमा ।