तलब खुवाउन नसकेपछि वीरमा कार्यरत कर्मचारी हटाएका हौँ : स्वास्थ्य मन्त्री

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले वीर अस्पतालमा कार्यरत करारमा कार्यरत कर्मचारीलाई तलब खुवाउन नसकेपछि हटाइएको बताएका छन् । विश्व मानसिक स्वास्थ्य दिवस २०२३ को सन्दर्भमा मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा स्वास्थ्य मन्त्री बस्नेतले कोभिड–१९ को बेला कोभिड प्रयोजनमा नियुक्त गरिएका कर्मचारीहरुलाई तलब दिन नसकेपछि निकाल्न बाध्य भएको बताएका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वीर अस्पतालमा कार्यरत २७६ जना करारका कर्मचारीलाई स्वास्थ्यमन्त्री बस्नेतको निर्देशन अनुसार एकैपटक सेवाबाट हटाएको थियो । उनले स्वास्थ्य क्षेत्रमा लामो समयदेखि दरबन्दी अभाव समस्याका रुपमा रहेको भन्दै अब यो छिटै समाधान हुने बताए । २०५४ सालदेखि स्वास्थ्य क्षेत्रमा दरबन्दी बढाउने काम अलमलीएर बसेको भन्दै चाँडैनै विज्ञापनमार्फत नयाँ नियुक्ति प्रकृया थालिने जानकारी दिए । मन्त्री बस्नेतले देशको आर्थिक अवस्था पनि विकराल रहेको र तलब खुवाउन सक्ने अवस्था समेत नआएपछि हटाउन बाध्य भएको बताए । ‘वीर अस्पतालमा कोभिड–१९ को बेला कोभिड प्रयोजनमा राखिएका दुई सय चानचुन कर्मचारीहरुलाई अहिले तलब दिन नसकेपछि निकालिएको छ । त्यहीपनि त्यहाँका एचओडीहरु, त्यहाँको न्याम्सको टिम र म बसेर साँच्चीनै एकदमै नचल्ने अवस्थामा केही छ भने दिनुहोस् । तत्कालै सरकारको नेतृत्वसँग कुरा गरेर अनुमती लिएर हामी आन्तरीक र वाहिरी व्यवस्थापन गरेर चलाउँछौ । चाँडो भन्दा चाँडो नयाँ भर्नाको प्रकृया वा दरबन्दी सृजना गरेर काम गर्ने प्रकृया अघि बढाउँछौ भनेर भनेका छौ’, उनले भने । मन्त्री बस्नेतले स्वास्थ्यकर्मी उत्पादन निकै कम भएको भन्दै यथाशिघ्र चिकित्सा शिक्षा ऐन संशोधन गरिने बताए । संविधानको मौलिक हकमा आधारभुत स्वास्थ्य सेवा जनतालाई निःशुल्क गर्ने भन्ने उल्लेख भएपनि कार्यान्वयन गर्न सरकार प्रतिवद्ध भएर लागिरहेको जानकारी दिए ।

अवैधरुपले सञ्चालित डेन्टल क्लिनिकमा प्रशासनको ताला

खोटाङ । जिल्ला प्रशासन कार्यालयले दिक्तेल बजारमा अवैध तरिकाले सञ्चालन गरिएको न्यू हलेसी डेन्टल क्लिनिक सिलबन्दी गरेको छ । दिक्तेल बजारको मानव अधिकारचोक नजिकै वेदनारायण साह तेलीले मापदण्ड तथा प्रक्रिया पूरा नगरी सञ्चालन गरेको उक्त क्लिनिकमा ताला लगाइएको हो । उक्त डेन्टलले बिना इजाजत न्युनकतम मापदण्ड पनि पूरा नगरी काम गरिरहेको पाइएपछि सिल गरिएको सहायक प्रमुख जिल्ला अधिकारी पवित्रप्रकाश साहले जानकारी दिए  । गत साउन ९ गते गरिएको बजार अनुगमनका क्रममा त्रुटि गरेको पाइएपछि सच्याउन निर्देशन दिएको लामो समयपछि पनि आवश्यक प्रक्रिया पूरा गरिएका कारण क्लिनिक सिल गरिएको जनाइएको छ । दाँतको स्क्रिनिङ, स्केलिङ र हल्लिएको दाँत फुकाल्न पाउने इजाजत पाएको डेन्टल क्लिनिकमा जोखिम मोलेर दन्त चिकित्सकले गर्ने सम्पूर्ण उपचार नै गरेको पाइएको थियो । तेलीलाई दन्त चिकित्सक राखेर डेन्टल चलाउन दिइएको अन्तिम चेतावनी पालना नभएको पाइएकाले सिल गरिएको सहायक प्रजिअ साहको भनाइ छ । उक्त क्लिनिकमा बिनास्वीकृति र बिनाजनशक्ति दाँतको आरसिटी गर्दै सेवाग्राहीबाट रकम असुल्ने गरेको अनुगमन टोलीले जनाउनाका साथै दन्त चिकित्सक नराखेको, डेन्टल एक्स-रे र कुर्सी एकै ठाउँमा राखिएको, डेन्टल चेयर काम नलाग्ने भएको, हातधुने बेसन नभएको, क्लिनिकको भवन मापदण्डअनुसार नभएको पाइएको उल्लेख गरिएको छ  । तेलीकै नाममा रहेको ॐ हलेसी मेडिकेयर क्लिनिक  पनि दर्ता बिना नै सञ्चालन गरेको पाइएपछि औषधि व्यवस्था विभागले गत चैत २३ गते सिल गरेर स्वास्थ्य कार्यालयबाट अनुमति लिएर मात्रै सञ्चालन गर्न चेतावनी दिएको छ । फार्मेसी पढेकाले मात्रै औषधि बिक्री गर्न पाइने भए पनि सो मेडिकेयर क्लिनिकमा फर्मासिष्ट वा फार्मेसी सहायकबिना नै औषधि बिक्रीवितरण हुँदै आएको पाइएको छ । यस्तै न्यू हलेसी मेडिकेयर क्लिनिक एन्ड मन्सुना फार्मेसीले पनि अवैध रुपमा रेबिजविरुद्धको भ्याक्सिन राखेको भेटिएको छ । चिकित्सकको प्रेस्क्रिप्सनबिना चलाउन नपाइने रेबिज भ्याक्सिन डोमेस्टिक फ्रिजमा राखेको पाइएको सहायक प्रजिअ साह बताउँछन् । फार्मेसी सञ्चालक महेशप्रसाद साहले थाहा नभएर रेबिजविरुद्धको भ्याक्सिन राखेको जवाफ दिएको  पनि सोही क्लिनिकमा मुटुको बिरामीले प्रयोग गर्ने औषधिहरु पनि भेटिएको अनुगमन टोलीले जनाएको छ । आसन्न चाडबाडलाई लक्ष्य गरेर जिल्ला प्रशासनले आइतबारदेखि जिल्लामा सञ्चालित हाटबजार, खुद्रा तथा होलसेल पसल, फार्मेसी एवम् क्लिनिकहरुमा कडाइका साथ अनुगमन सुरु गरेको छ । अनुगमनका क्रममा भेटिएका अखाद्यवस्तु बरामद गर्नाका साथै सञ्चालकलाई सजग गराउने काम भइरहेको अनुगमन टोली संयोजक एवम् सहायक प्रजिअ साह बताउँछन्  । रासस

अब काठमाडौंवासीलाई रगत पाउन झन्झट नहुने, महानगरले नै निःशुल्क दिने

काठमाडौं । अब काठमाडौं महानगरवासीले निःशुल्क रुपमा रगत पाउने भएका छन् । नेपाल रेडक्रस सोसाईटीसँग सहकार्य गर्दै काठमाडौं महानगरले महानगरवासीलाई उक्त सेवा दिने भएको हो । यससँगै काठमाडौं महानगरका जोसुकैले जुनसुकै अस्पतालमा उपचारत गराउँदा निःशुल्क रुपमा रगत र रक्ततत्व पाउने भएका छन् । आकस्मिक वा जुनसुकै रोगको उपचारमा रगतको अभाव भई कुनै पनि नगरवासीले अकालमा मृत्युवरण गर्नु नपरोस् भन्ने उद्देश्यका महानगरले असोज २२ गते नेपाल रेडक्रस सोसाईटीसँग सहकार्य गरेको हो । यसबाट काठमाडौंवासी सबै लाभान्वीत हुने महानगरको अपेक्षा छ । महानगरका अनुसार काठमाडौं महानगरवासी भएको प्रमाण खुल्ने, नागरिकता वा बसाईसराई वा घर जग्गा कर तिरेको कागजात लिई नेपाल रेडक्रस सोसाईटीको केन्द्रीय कार्यालयमा सम्पर्क गरेपछि निःशुल्क रुपमा रगत तथा रक्ततत्व पाइने महानगरका मेयर बालेन्द्र शाह बालेनले जानकारी गराए । राजधानीमा हुने रगत अभावलाई न्युनिकरण गर्न महानगरपालिकाले आफ्नो स्वास्थ्य प्रवद्धर्न केन्द्रहरुमा नियमित रक्तदान कार्यक्रमहरु सञ्चालन गर्नेछ । रक्तदान कार्यक्रमलाई प्रोसाहित गर्न सामाजिक तथा गैरसरकारी संघ संस्थाले रक्तदान शिविर संचालन गरेमा त्यस निकायलाई प्रति युनिट २०० रुपैयाँ सञ्चार तथा यातायात खर्चको लागि रकम उपलब्ध गराइने मेयर बालेनले जानकारी गराए । त्यस्तै, नेपाल रेडक्रस सोसाइटीलाई रक्त सञ्चार सेवा बिना झन्झट जुनसुकै समयमा बिरामीलाई रगत उपलब्ध गराउने र रगत परीक्षण ग्रुपिङ्ग तथा क्रस म्याचिङ लगायतका कार्यका लागि महानगरले प्रतियुनिट १३ सय रुपैयाँ उपलब्ध गराउने बालेनले बताए । नागरिकले तिरेको करको उच्चतम उपयोग गर्दै सेवा प्रवाहलाई नागरिक मैत्री बनाउन महानगर प्रतिवद्ध रहेको बताउँदै मेयर बालेनले महानगरबासीलाई स्वस्थ राख्न र रोग लागेकालाई उपचारमा सहजीकरण गर्ने कार्य निरन्तर भइरहेको समेत जानकारी गराए ।