मिर्गौला ७० प्रतिशत बिग्रेपछि मात्र रोग लागेको थाहा हुन्छ : डा. कटवाल

मानिसको शरिरमा लाग्ने धेरै प्रकारका रोगहरुमध्ये पछिल्लो समयमा मिर्गौला रोगीहरुको संख्या दिनप्रतिदिन बढ्दै गएको छ । प्रारम्भिक सजगता अपनाउँदा मिर्गौला सम्बन्धी धेरै रोगहरु नलाग्ने र लागिसकेपछि पनि प्रारम्भिक चरणमा उपचार गर्दा सहज, सस्तो र निको हुने सम्भावना धेरै हुने विशेषज्ञहरुको भनाइ छ । मिर्गौला रोग लाग्नु अगाडिका सावधानी र लागिसकेपछिको गर्नुपर्ने सही जानकारी प्राप्त गर्न नसक्दा धेरै बिरामीहरुले अनावश्यक समस्या झेल्नुपरेको पनि देखिन्छ । प्रस्तुत छ, मिर्गौला सम्बन्धी रोग र खासगरी रोग लागिसकेपछिको अवस्थाका बारेमा सुमेरु अस्पताल धापाखेल ललितपुरका वरिष्ठ कन्सल्टेन्ट, युरोलोजिस्ट तथा मिर्गौला प्रत्यारोपण सर्जन डा. विजयमान प्रधान कटवालसँग गरिएको कुराकानीको सम्पादित अंश : पछिल्लो समयमा मिर्गौला रोगीहरुको संख्या बढ्दै गएको देखिन्छ, सामान्यतया मिर्गौलामा देखिने समस्यालाई प्रारम्भिक रुपमा कसरी बुझ्न सकिन्छ ? मिर्गौलाको समस्या भन्ने वित्तिकै हामीले मिर्गौला फेल भएको विषयलाई मात्रै बुझ्ने समस्या देखिन्छ । त्यो होइन, त्यो भनेको मिर्गौला रोगको अन्तिम अवस्था हो । समस्या भन्ने वित्तिकै मिर्गौलामा हुने क्यान्सर, मिर्गौलामा हुने पत्थरी, मिर्गौलामा हुने टिवी, मिर्गौलामा हुने साधारण संक्रमण र मिर्गौलामा हुने वंशानुगत डिसअर्डर पनि मिर्गौलामा हुने समस्याहरु हुन् । मिर्गौलामा धेरै प्रकारको रोगहरु लाग्ने गर्छ । त्यसको भिन्दाभिन्दै सिन्ड्रमहरु हुन्छ । हामीले अन्य रोगहरुको उपचार गर्ने प्रकृयामा पनि अल्ट्रासाउन्ड गर्दा मिर्गौलामा लागेका रोगहरुको बारेमा थाहा पाउन सक्छौं । कहिलेकाहीँ पत्थरी लुकेर बसेको हुनसक्छ । टिबी भयो भने पिसाबमा रगत आउने, पिप आउने तथा पिसाब पोल्ने हुनसक्छ । क्यान्सर भएको छ भने पिसाबमा रगत आउनसक्छ, छाम्दाखेरी डल्लोजस्तो हुने साइडमा ठूलो हुन्छ । पत्थरी भयो भने पत्थरी पिसाबको नलीमा आएर अड्केर सहनै नसक्नेगरी दुख्ने पनि हुन्छ । साथै वंशानुगत समस्याले पनि मिर्गौलामा समस्या देखिन सक्छ । केही तथ्यांकहरुले विकसित मुलुकमा प्रौढ अवस्थामा मात्रै धेरै मानिसहरुलाई मिर्गौला रोग लाग्ने देखाएको छ भने नेपालमा युवा अवस्थामा नै त्यस्ता रोगीको संख्या बढी देखिएको छ, तपाईंहरुले यसलाई कसरी हेरिरहनुभएको छ ? विकसित मुलुकहरुमा मानिसहरुले आफ्नो नियमित स्वास्थ्य जाँच गर्छन् । जसको खर्च बीमाले कभर गर्छ । वर्ष-वर्ष दिनमा अनिवार्य रुपमा सबैले स्वास्थ्य जाँच गर्ने गर्छन् । तर, नेपालमा भने साधारण स्वास्थ्य जाँच गर्न जाँदा पनि हाम्रो पैसा खर्च गर्नुपर्ने हुन्छ । हाम्रो पुरै शरिरको जाँच गर्दा १५/२० हजार रुपैयाँ खर्च हुन्छ । साधारण नेपाली परिवारमा यो खर्च गरेर स्वास्थ्य जाँच गर्ने विषयमा समस्या पनि छ । रोग लागिसकेपछि डाक्टरकोमा जाने कारणले गर्दा पनि रोगलाई निको गराउन गाह्रो हुन्छ, तर शुरुवाती अवस्थामा पत्ता लगाउन सकियो भने रोगलाई नियन्त्रण गर्न सकिन्छ । कुनैपनि रोग वर्षमा एक पटक पत्ता लाग्नु र ४/५ वर्षमा एकपटक पत्ता लाग्नुमा फरक हुन्छ । ढिलो पत्ता लाग्दा रोग निको नै नहुने अवस्थामा पुगिसकेको हुन्छ । मिर्गौलाको रोग यस्तो हुन्छ की हामीलाई लागेको नै थाहा हुँदैन । हाम्रो मिर्गौला ७० प्रतिशत नबिग्रने बेलासम्म रोग लागेको थाहा नै हुँदैन । त्यतिबेलासम्म खानाको रुची भइरहेको हुन्छ, पिसाब राम्रोसँग आइरहेको हुन्छ । त्यसपछि ७०/८० प्रतिशत बिग्रेपछि मात्रै भोक कम लाग्ने, पिसाब कम आउने जस्तो समस्या देखिन थाल्छ । मिर्गौला रोग लागिसकेपछि उपचार गर्ने कार्य महंगो र बोझिलो देखिन्छ, मिर्गौलालाई रोगबाट नै बचाउन जीवनशैली र खानपानमा आधारभूत कस्तो ख्याल राख्दा सम्भव छ ? यो कारणले पत्थरी बन्छ भन्ने छैन, सामान्यतया गर्मी ठाउँमा बस्ने र पसिना धेरै आउने मानिसले पानी कम पिउने गर्छ भने त्यो मान्छेलाई पत्थरी बढी भएको देखिन्छ । मिर्गौला सामान्य भएको मानिसले पानी र झोलिलो पदार्थ २४ घण्टामा ३ देखि ४ लिटर खायो भने मिर्गौलाको धेरै रोगबाट बच्न सकिन्छ । त्यसपछि, रक्तचाप वा मधुमेहको कारणले मिर्गौला धेरै बिग्रेको देखिन्छ । हामीले रक्तचाप र मधुमेहलाई नियन्त्रणमा राख्न सक्यौं भने पनि मिर्गौला फेल हुने समस्याबाट बच्न सकिन्छ । अर्को समस्या पिसाबबाट प्रोटिन लस हुने हुन्छ, अन्य मेडिकल रोगहरु हुन्छन्, जसलाई लागेको शुरु अवस्थाबाटै थाहा पाउन सकियो भने निको बनाउन सकिन्छ । हामीसँग भएका दुइवटा मिर्गौला एकैपटक फेल हुन्छन् की हामीले दुईवटै बिग्रेपछि मात्रै थाहा पाउँछौं ? यदि पत्थरीको कारण मिर्गौलामा समस्या भएको छ भने जुन मिर्गौलामा पत्थरी भएको छ त्यसलाई उपचार गरेमा निको हुन्छ । तर, पत्थरी दुईवटै मिर्गौलामा भयो भने समस्या हुन्छ । यस्तो समस्या निकै कमलाई हुन्छ । केही विरामीहरु दुईवटै मिर्गौलामा पत्थरी भएर बिग्रेपछि आएको पनि देखिन्छ । अन्य कारणले बिग्रने भनेको शरिरमा रगतमा फोहोर भएर दुईवटै मिर्गौलाले एकैपटक छान्नुपर्ने अवस्थामा साधारण भाषामा भन्दा मिर्गौलाको फिल्टरका प्वालहरु टालिदै गएर फोहोर नछानिने अवस्थामा मिर्गौला फेल हुनसक्छ । मधमेह र उच्च रक्तचाप छ भनेपनि विस्तारै–विस्तारै दुवै मिर्गौलाहरु एकैपटक बिग्रदै जाने अवस्था हुन्छ । हामीले हेर्दापनि समस्या भनेको मिर्गौला फेल भएकाहरुको मात्रै देखिरहेका हुन्छौं, किनभने अन्य सामान्य रोग लागेको अवस्थालाई महत्व दिइँदैन । मिर्गौलाको निको नहुने रोग लाग्ने भनेकै फेल हुने हो । क्यान्सर भयो भने कि उपचार हुन्छ, कि रोगीको मृत्यु हुन्छ । त्यस्तै मिर्गौला फेल हुने भनेको क्रोनिक रोग हो । जुन लागिसकेपछि गर्ने उपचारमा सबैलाई थाहा हुन्छ । मिर्गौलाको रोग लागिसकेपछि फेल हुने भनेको ५ देखि १० प्रतिशत मात्रै रहेको देखिन्छ । मिर्गौला बिग्रिसकेपछि वा फेल भइसकेपछि कुन उपचार पद्दती प्रयोग गर्दा उपयुक्त हुन्छ ? मिर्गौला फेल भइसकेपछि तुरुन्तै बाँच्ने उपाय भनेको डाइलासिस हो, जुन अस्थायी उपचार हो । यो भनेको कृत्रिम प्रकृयाद्वारा रगत छान्ने हो । तर, स्थायी समाधान भनेको प्रत्यारोपण नै हो । यदि प्रत्यारोपण गर्ने हो भने साधारण मान्छे जस्तै जिउन सकिन्छ । त्यसैले उत्तम विकल्प भनेको मिर्गौलाको प्रत्यारोपण नै हो । डाइलोसिस भनेको पनि दुई प्रकारको हुन्छ । पेरिटोरियल डाइलासिस जुन पेटबाट गर्न सकिन्छ, अर्को हेमोडाइलोसिस हुन्छ, जुन रगत छान्ने काम गरिन्छ । हेमोडाइलोसिस अस्पताल आएर मात्रै गर्न सकिन्छ, जुन सरकारले निःशुल्क रुपमा उपलब्ध गराएको छ । हप्ताको दुई पटक गर्नुपर्ने हुन्छ । पेरिटोरियल डाइलासिस भनेको मिर्गौलाले २४ सै घण्टा काम गरेजस्तै आठ-आठ घण्टामा घरमा आँफै बसेर गर्न मिल्छ । यो रगतमा नभएर पेटमा गर्ने हो । यसमा प्रयोग हुने पानी पनि सरकारले निःशुल्क रुपमा उपलब्ध गराएको छ । यो डाइलासिस गर्दा बिरामीले स्वयं आफैले आफ्नो काम गर्दै गर्न सक्छ । साथै उसलाई पानी र खाना खान पनि समस्या हुँदैन । तर, रगतबाट गर्ने डाइलासिसमा पानी खान मिल्दैन यी दुईवटा डाइलासिस मध्ये पेरिटोरियल डाइलासिस बिरामी र उसको परिवारको लागि सहज देखिन्छ । साथै हेमोडाइलासिस गरेको बिरामी भन्दा पेरिटोरियल गरेको बिरामी हेर्दापनि बढी स्वस्थ देखिन्छ । तपाईं मिर्गौला प्रत्यारोपणको क्षेत्रमा काम गर्नुभएको सफल चिकित्सक पनि हुनुहुन्छ, मिर्गौला रोगी र आफन्तहरुले प्रत्यारोपणको विषयमालाई कसरी बुझ्नुपर्छ ? सामान्यतया विद्यमान कानूनअनुसार प्रत्यारोपणको लागि कसरी अगाडि बढ्न सकिन्छ भन्ने सल्लाह दिनुहुन्छ ? संसारभरी नै अंग किनबेच गर्न पाईंदैन । सरकारले बनाएको कानून एकदम ठिक छ । त्यसैले आफ्नो परिवारका सदस्यबीचमा समस्याको आधारमा एकले अर्कोलाई दिने गर्दा किनबेच हुने सम्भावना हुँदैन । कहिलेकाहीँ एउटै परिवारभित्रका सदस्यमध्ये एकले अर्कोलाई मिर्गौला दिन खोज्दा पनि नमिल्न सक्छ । त्यसैले त्यस्तो अवस्थामा समस्या भएका दुई परिवारबीचमा साटासाट गर्न सकिन्छ । त्यो भनेको आफ्नै परिवारको सदस्यालाई दिएको बराबर नै भयो । रगतको ग्रुप नमिलेपछि आफ्नो परिवारको सदस्यलाई दिन मिल्दैन र त्यस्तै रगतको ग्रुप नमिलेपछि अर्को परिवारको सदस्यले पनि उसको परिवारको सदस्यलाई दिन नमिलिरहेको हुन्छ । तर, त्यस्तो अवस्थामा एक अर्को परिवारका सदस्य बीचमा मिल्दा साटासाट गर्न सकिन्छ । नेपालमा नै यस्तो अभ्यास सयौं भइसकेको छ । मिर्गौला प्रत्यारोपण गरिसकेपछिको नियमित औषधि सेवन र स्वस्थ रहने विषय कत्तिको खर्चिलो र सहज छ ? हो । पैसा नै छैन भने प्रत्यारोपण गरेर मात्रै हुँदैन । पैसा कमाउन सकिने स्थिति हुनुपर्छ । प्रत्यारोपण गरेको शुरुमा महिनाको ३० देखि ४० हजार रुपैयाँसम्म औषधिको लागि खर्च हुन्छ । जुन ३/४ महिनासम्म खर्च हुन्छ । अप्रेसन गरिसकेपछि सरकारले पनि दुई लाख दिन्छ । केही पछि सँधैका लागि महिनाको १० देखि १५ हजार औषधिको लागि छुट्याउनै पर्छ । तर, प्रत्यारोपण गरिसकेपछि काम गरेर पैसा कमाउन पनि सकिन्छ भने सरकारले पनि उपचारको लागि महिनाको पाँच हजार दिने व्यवस्था पनि गरेको छ । जसले गर्दा खर्च गर्न गाह्रो नहुन पनि सक्छ ।

आज विश्व मुस्कान दिवस, यस्ता छन् मुस्कुराउँदाका फाइदा

काठमाडौं । आज विश्व मुस्कान दिवस मनाइँदै छ। हरेक वर्ष अक्टोबर ६ मा दिन यो दिवस मनाइन्छ । मानिसमा आपसी दया, सद्भाव र खुसी फैलाउन प्रोत्साहित गर्न सन् १९९९ देखि यो दिवस मनाउन सुरु गरिएको हो । ‘सुन्दर र आकर्षक देखिन कसलाई मन हुँदैन र?’ विश्व मुस्कान दिवसका सन्दर्भमा मनोविद विजया बिजुक्छे भने, ‘उसो भए मुस्कुराइरहनुहोस्, नसके पनि कोसिस गर्नुहोस् ।’ मनोविद् बिजुक्छेका अनुसार मुस्कुराइरहुनका धेरै फाइदा छन् । मुस्कानले व्यक्तिको व्यक्तित्वलाई आकर्षकसँगै सामाजिक सम्बन्धलाई प्रगाढ बनाउन सहयोग गर्छ। मुस्कानले स्वास्थ्यलाई फाइदा गर्छ । ‘मानिस सामाजिक प्राणी भएकाले सधैँ समाजमा बस्न रुचाउँछ । सही सम्बन्धको अभावमा थुप्रै खालका मानसिक विकारको अवस्थामा पुग्ने अवस्था हुन्छ, जस्तै डिप्रेसन, एन्जाइटी’, मनोविद् बिजुक्छेले भने, ‘मुस्कुराउँदा सामाजिक सम्बन्ध र सहयोगमा वृद्धि गर्छ । जब सामाजिक सहयोग बढ्छ त्यहाँ सम्बन्धहरू सुध्रिन्छन् । तब व्यक्तिको तनाब कम हुन्छ, तनाब कम भएपछि सुखी बढ्छ र आनन्द बढ्छ । आनन्द बढ्नु भनेको नै मानसिक स्वास्थ्य स्वस्थ हुनु हो ।’ मनोविद्हरूका अनुसार मुस्कानले व्यक्तिको सामना गर्न सक्ने क्षमतालाई वृद्धि गर्छ। मुस्कानले आत्मविश्वास बढाउँछ। कसरी मुस्कुराइरहने ? कतिपय व्यक्तिलाई मुस्कुराउन नै नसक्ने समस्या हुने मनोविद् बिजुक्छे बताउछन् । सके मुस्कुराइरहने नसके मुखको मांशपेशीलाई मुस्काउने अभ्यास गर्नुपर्ने उनले बताए । ‘खुलेर मुस्कुराउन नसक्ने थुप्रै व्यक्ति छन् । हाँसो उठ्दैन भने पनि जबर्जस्ती भए पनि मांशपेशी तन्काउनुपर्छ’, मनोविद् बिजुक्छेले भने, ‘मुखमा पेन्सिल राखेर भए पनि मुखको मांशपेशी बङ्ग्गाउने वा ओठको दुवै छेउमा दुई चौरऔलाले दबाएर माथितिर तान्छौ भने त्यसले हाँसोजस्तो देखाइदिन्छ। त्यो भए पनि हाम्रो मस्तिष्कले हाँस्नका खुसी पैदा गर्ने रसायन उत्पादन गर्दछ ।’ बिजुक्छेका अनुसार यसरी मुखको मांशपेशीलाई तन्काएर भए पनि मुस्काउने वा हाँस्ने अभ्यासले मुस्कुराउने बानीको विकास गर्छ । जुन स्वास्थ्यको लागि धेरै फाइदा जनक छ। रासस

यस वर्षको भिटामिन ‘ए’ र जुकाको औषधि कात्तिक १७ र १८ गते खुवाइने

काठमाडौं ।  सरकारले बालबालिकालाई यस वर्षको ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम’ आगामी कात्तिक १७ र १८ गते सञ्चालन गर्ने भएको छ । आर्थिक वर्ष २०८०/८१ को नियमित रुपमा पहिलो चरणमा कात्तिक २ र ३ गते खुवाउँदै आएको भिटामिन ‘ए’ कार्यक्रम दसैँ परेकाले कात्तिकको १७ र १८ गते सञ्चालन गर्ने स्वास्थ्य सेवा विभागको बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमले जानकारी दिए । उनका अनुसार भिटामिन ‘ए’ क्याप्सुल छ महिनादेखि ५९ महिनाका बालबालिका तथा जुकाको औषधि एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई खुवाइने छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले भिटामिन ‘ए’ कार्यक्रम सफल बनाउनका लागि सातवटै प्रदेश सरकार अन्तर्गतका सामाजिक विकास मन्त्रालय र स्थानीय तहलाई परिपत्र गरिसकेको छ । दोस्रो चरणमा भिटामिन ‘ए’ कार्यक्रम वैशाखमा महिनामा गर्ने गरिएको छ । भिटामिन ‘ए’ करिब २७ लाख बालबालिका र जुकाको औषधी करिब २४ लाख बालबालिकालाई खुवाइने शाखाले जनाएको छ । सरकारले बालबालिकामा हुनसक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्नका लागि २०५० सालदेखि भिटामिन ‘ए’ क्याप्सुल र २०५६ सालदेखि जुकाको औषधि नियमित खुवाउन थालेको हो । सरकारले प्रत्येक आर्थिक वर्षमा कात्तिक र वैशाखमा भिटामिन ‘ए’ र जुकाको औषधी बालबालिकालाई निःशुल्क खुवाउने गरेको छ ।