४५ प्रतिशत क्षयरोगका बिरामी उपचारभन्दा बाहिर
काठमाडौं । क्षयरोगका ४५ प्रतिशत बिरामी उपचारभन्दा बाहिर रहेको पाइएको छ । राष्ट्रिय क्षयरोग केन्द्रका निर्देशक डा प्रज्ज्वल श्रेष्ठले रोग पहिचान भएकामध्ये अझै ४५ प्रतिशत बिरामी उपचारको दायरामा ल्याउन नसकिएको बताए । उनले निःशुल्क औषधि, परीक्षण र उपचार गर्दा पनि यति ठुलो सङ्ख्यामा बिरामी उपचारमा नआउनु क्षयरोग नियन्त्रणमा चुनौती थपिएको बताए । उनका अनुसार आर्थिक वर्ष २०७८-७९ मा नयाँ भेटिएका ७१ हजार सात सय बिरामीमध्ये करिब ३२ हजार बिरामी उपचारको दायरामा ल्याउन नसकिएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अतिरिक्त सचिव डा विकास देवकोटाले उपचारको दायरामा आउन नसकेको बिरामीले आगामी वर्ष बजेटमा समेट्ने बताए । ‘उपचारको दायरा नआएका बिरामीले परिवार र समाजमा क्षयरोग सारिरहेका छन्,’ उनले भने, ‘आगामी वर्ष बजेटमा ती बिरामीलाई उपचार ल्याउने बजेट विनियोजन गरिने छ ।’ उनले स्थानीय तह र समुदायलाई परिचालन गरेर क्षयरोगलाई नियन्त्रण गर्न सकिने बताए । नेपालमा क्षयरोगका कारण वार्षिक १७ हजार मानिसको मृत्यु हुने अनुमान गरिएको केन्द्रले जनाएको छ । क्षयरोग माइकोब्याक्टेरियम ट्युबरक्लोसिस नामक जीवाणुको सङ्क्रमणका कारण हुने सङ्क्रमणजन्य सरुवा रोग हो । क्षयरोग श्वासप्रश्वासको माध्यमबाट सर्ने रोग हो । क्षयरोग भएका बिरामीले खोक्दा, हाच्छिउँ गर्दा कीटाणु निरोगी मानिसको सम्पर्कमा आएमा रोग सर्ने जोखिम हुन्छ । क्षयरोगबाट ७२ प्रतिशत फोक्सोलाई सङ्क्रमण गर्छ । यस्तै मुटुको बाहिरी झिल्ली, मासु, जोर्नी, मस्तिष्कमा पनि क्षयरोगले असर गर्दछ । केन्द्रका निर्देशक डा श्रेष्ठ क्षयरोगका बिरामीले कम्तीमा छ देखि बढीमा १२ महिनासम्म चिकित्सकको निगरानीमा बसेर औषधि सेवन गरेमा ९० प्रतिशत रोग निको हुने बताउँछन्। उनका अनुसार क्षयरोगको जोखिम १५ देखि ४४ वर्ष उमेर समूहमा रहेको छ । पछिल्लो वर्षमा ६५ वर्षभन्दा माथिका वृद्धवृद्धामा पनि क्षयरोग देखिने गरेको पाइएको छ । सरकारले सन् २०३० सम्ममा दिगो विकास लक्ष्य र २०५० सम्ममा क्षयरोग अन्त्य गर्ने लक्ष्य लिएको छ । केन्द्रले छिटो र छरितो तरिकाले रोग पहिचान गर्न १५ सेन्टरबाट, एक सय १३ स्वास्थ्य संस्थाबाट, एक सय ३१ वटा यन्त्र जडान गरी रोगी पत्ता लगाउने गरेको उनको भनाइ छ । नेपालभरका छ हजारभन्दा बढी स्वास्थ्य संस्थामा क्षयरोगविरुद्धको औषधि निःशुल्क उपलब्ध छ । कुपोषण भएका, धूमपान तथा सुर्तीजन्य पदार्थको सेवन, मधुमेहका बिरामी, मादक पदार्थ सेवन गर्ने, एचआइभी सङ्क्रमित, रोग प्रतिरोधात्मक क्षमता कम भएका मानिस क्षयरोगको उच्च जोखिममा पर्ने गर्दछन् । रासस
बेलायतका विकासमन्त्रीद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको अवलोकन
लुम्बिनी । नेपाल भ्रमणमा रहेका बेलायतका विकास र अफ्रिका तथा राष्ट्रमण्डल विकास कार्यालयका मन्त्री एन्ड्र्यु मिचेलले सोमबार बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालको अवलोकन गरेका छन् । बेलायती मन्त्री मिचेलले विशेषगरी अस्पतालको मातृ स्वास्थ्य, शिशु स्वास्थ्य तथा बालबालिकाको पोषण कार्यक्रमका बारेमा चासो व्यक्त गर्दै सहयोग वृद्धि गर्ने प्रतिबद्धता गरे । अस्पतालले उपलब्ध गराउँदै आएको स्वास्थ्य सेवाप्रति सराहना व्यक्त गर्दै मिचेलले अस्पतालमा मातृ–शिशु स्वास्थ्य तथा बालबालिकाको पोषणको क्षेत्रमा आर्थिक सहयोग वृद्धि गर्न बेलायत सरकार तयार रहेको बताए । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, स्वास्थ्य सचिव राजु खनाल, बुटवल उपमहानगरका प्रमुख खेलराज पाण्डेयलगायतको उपस्थितिमा अस्पतालको स्वास्थ्य अवस्थाबारे छलफल भएको थियो । त्यस अवसरमा मुख्यमन्त्री चौधरीले लुम्बिनी प्रदेशको स्वास्थ्य क्षेत्रका बारेमा जानकारी गराएका थिए । अस्पतालका मेडिकल सुपेरिटेन्डेन्ट डा. सुदर्शन थापाले अस्पतालको स्वास्थ्य उपचार र अवस्थाबारे जानकारी गराएका थिए । अस्पतालमा रहेको ओसिएमसी, एनआइसीयू, एसएनसीयू, पिआइसीयू तथा बालबालिकाको पोषण पुनःस्थापना केन्द्रको अवलोकनपछि स्वास्थ्य उपचार सेवाबारे छलफल भएको मेसु डा थापाले जानकारी गराए । यस्तै नगर प्रमुख पाण्डेयले बुटवलले मातृ स्वास्थ्य र शिशु स्वास्थ्यलाई विशेष प्राथमिकता दिएर कार्यक्रम अगाडि सारेको जानकारी गराए । त्यस अवसरमा प्रमुख पाण्डेयले मन्त्री मिचेललाई नेपाल–अङ्ग्रेज युद्ध, जितगढी किल्ला र उजिरसिंहका बारेमा जानकारी गराउँदै उजिरसिंहको तस्बिर मायाको चिनोस्वरुप प्रदान गरे ।
डिप्रेसनबाट बच्ने ? ध्यान र प्राणायाम गर्नुस्, मस्त सुत्नुस्
काठमाडौं । अहिले खराब जीवनशैली र खराब खानपानका कारण मानिसमा डिप्रेसनको समस्या बढ्दै गएको छ । यसले मानसिक स्वास्थ्यमा प्रतिकूल असर पारिरहेको छ । कहिलेकाहीँ शारीरिक क्रियाकलापको कमीले पनि यस्तो समस्या हुने गर्छ । हालै ब्रिटिस मेडिकल जर्नलमा प्रकाशित एक अध्ययन अनुसार स्ट्रेन्थ ट्रेनिङ, योग र हिँड्नेजस्ता गतिविधिमा संलग्न हुँदा डिप्रेसनको जोखिम कम हुन्छ । डिप्रेसनले तपाईंको मानसिक स्वास्थ्यलाई मात्र नभई शारीरिक स्वास्थ्यलाई पनि नराम्ररी असर गर्छ। डिप्रेसनका कारण स्वास्थ्य बिस्तारै बिग्रिन थाल्छ र तपाईं आफ्नो आत्मविश्वास पनि गुमाउन थाल्नुहुन्छ । अध्ययनका अन्वेषकहरूका अनुसार डिप्रेसनको अवस्थामा योग, व्यायाम र स्ट्रेन्थ ट्रेनिङजस्ता गतिविधिमा संलग्न हुनु मानसिक स्वास्थ्यका लागि थेरापीभन्दा कम हुँदैन । यदि तपाईंलाई डिप्रेसनको समस्या छ भने सबैभन्दा पहिले व्यायाममा ध्यान दिनुपर्छ । यसका लागि शोधकर्ताहरूले २ सय १८ अध्ययनहरूको समीक्षा गरे र यो अध्ययन सञ्चालन गर्न डिप्रेसनबाट पीडित १४ हजार १ सय ७० मानिसलाई पनि समावेश गरे । यो अध्ययनले व्यायामले वास्तवमा डिप्रेसनका लक्षणहरू कम गर्न मद्दत गर्ने प्रमाणित गरेको छ । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार विश्वभरि ३० करोड मानिस डिप्रेसनको समस्याबाट ग्रसित छन् । अष्ट्रेलियाको क्विन्सल्याण्ड विश्वविद्यालयको स्कूल अफ साइकोलोजीका वरिष्ठ प्राध्यापक डा। माइकल नोएटेलका अनुसार डिप्रेसनबाट बच्न व्यायाम गर्नु राम्रो र बलियो विकल्प साबित हुन्छ । यसो गर्दा डिप्रेसनको जोखिम निकै कम हुन्छ । डिप्रेसनबाट बच्ने उपाय डिप्रेसनबाट बच्न शारीरिक रूपमा सक्रिय रहनुपर्छ । यसका लागि ध्यान र प्राणायाम गर्नुपर्छ र पर्याप्त निद्रा पनि लिनुपर्छ । डिप्रेसनबाट बच्न खानपानमा ध्यान दिनुपर्छ । यसका लागि सकेसम्म धेरै व्यक्तिहरूसँग कुरा गर्ने र आफ्नो सामाजिक सर्कल बढाउनुपर्छ । एजेन्सी