निजी अस्पतालका सञ्चालक अस्तित्वका लागि आईपीओ ल्याउँदैछन्- डा.पदम बहादुर खड्का

पछिल्लो समय देशको अर्थतन्त्र स्वस्थ छैन । सुस्त गतिमा अगाडि बढिरहेको अर्थतन्त्रको प्रभाव स्वास्थ्य क्षेत्रमा पनि परेको छ । विशेष गरेर निजी अस्पताल सञ्चालकहरूले अस्पतालको बिजनेस घटेर संस्था सञ्चालन गर्न नै सकस भइरहेको गुनासो गरिरहेका छन् । अर्को, महत्वपूर्ण विषय निजी स्वास्थ्य संस्थाहरू सञ्चालनमा सरकारले सहजीकरण नगरेको, स्वास्थ्य क्षेत्रजस्तो संवेदनशील क्षेत्रप्रति सरकार जिम्मेवार नबनेको लगायत गुनासो पनि निजी अस्पतालका सञ्चालकहरूको छ । पछिल्लो समय युवाहरू पलायन हुँदै गएको विषयले प्राथमिकता पाइरहेको बेला निजी स्वास्थ्य क्षेत्रमा कार्यरत चिकित्सक तथा नर्सहरूले अपेक्षाअनुसारको पारिश्रमिक नपाएर विदेशिने गरेको भन्ने विषय पनि सुनिन्छ । यिनै समस्या र समस्याको समाधानका लागि भइरहेको पहलका विषयमा निजी अस्पतालहरूको छाता संस्था एसोसिएशन अफ प्राइभेट हेल्थ इन्स्टिच्युट नेपाल (अफिन)का अध्यक्ष तथा हाडजोर्नी तथा नशारोग विशेषज्ञ डा.पदम बहादुर खड्कासँग विकासन्युजका लागि इन्द्रसरा खड्काले कुराकानी गरेकी छन् । तपाईं निजी अस्पतालको छाता संस्था एसोसिएशन अफ प्राइभेट हेल्थ इन्स्टिच्युट नेपाल (अफिन) को अध्यक्ष भएको डेढ वर्ष भयो, यो अवधिमा के-के काम गर्नु भयो ? अफिन सबै निजी अस्पताल, मेडिकल कलेज र नर्सिङ कलेजहरूको छाता संस्था हो । यसमा करिब साढे तीन सय अस्पताल (संस्था) आबद्ध छन् । अहिले संघीय संरचना अनुसार हाम्रो पनि सातैवटा प्रदेशमा प्रदेश कमिटी छ । चिकित्सा शिक्षा आयोग जुन स्वास्थ्य क्षेत्रको सबै ह्युमन रिसर्च प्रोडक्सन गर्ने संस्था छ, त्यसमा पनि हाम्रो संस्थाको तर्फबाट प्रतिनिधित्व छ । हाम्रो संरचनात्मक काम भएको छ । बाँकी अरु हामीले राज्यसँग गर्नु पर्ने कामबारे छलफल बहस गरिरहेका छौं । अहिलेको निजी अस्पतालहरूको अवस्था कस्तो छ ? निजी अस्पतालसगँ सहकार्य गर्न राज्यको नीति नै स्पष्ट छैन । राज्यले नै सौतेनी व्यवहार गरिरहेको छ । स्वास्थ्य सेवामा दुइटा विषय छ– एउटा, हेल्थ केयर सर्भिस र अर्को ह्युमन रिर्सोस सर्भिस प्रोडक्सन । यी दुवै काम निजी अस्पतालले गर्छ । यी दुवै काममा राज्यको नियामक भूमिका भएन । सहजीकरणको भूमिका पनि राम्रोसँग गर्न सकेको छैन । मानव संसाधन सेवा उत्पादनमा निजीक्षेत्रको सबैभन्दा ठूलो हात छ । अहिले २० वटा जति मेडिकल कलेज छन् । यसमा ४ वटा सरकारी छन्, बाँकी ६ वटा निजी छन् । ब्याचलर्स कार्यक्रम चलाउने मात्र ९०/९२ संस्था छन् । त्यसमा १० वटा सरकारी छ । बाँकी ९० निजी छन् । यस्तै, सेवा प्रदान गर्नेमा पनि सरकारी अस्पतालको सबै बेड संख्या जोड्ने हो भनेपनि ६/७ हजार होला । निजीमा हेर्ने हो भने २१ देखि २५ हजार छ । राज्यले गाउँ-गाउँ, पालिका र वडासम्म आफ्नो सेवा दिने होला । निजीले आफुलाई जहाँनेर सजिलो हुन्छ त्यहीनेर गर्छ । त्यसैले निजी अस्पताल शहर केन्द्रित भए भन्ने सुनिन्छ । यसो नहुनलाई राज्यले सुविधा दिनु पर्‍याे । त्यसो भए राज्यले के गर्नु पर्‍यो ? मेरो घर बझाङ हो । त्यहाँ एउटा जिल्ला अस्पताल छ । तर, मैले बझाङमा गएर अस्ताल खोल्न सकिनँ । मैले पोखरामा अस्पताल खोलेको छु । भन्न सजिलो छ । तर, गर्न गाह्रो छ । मैले बझाङमा अस्पताल खोल्न जनशक्ती र स्रोतसाधान चाहियो । यो सेवा दिन राज्यले के सहुलियत दिएको छ भन्ने कुरा आउँछ । यसमा न राज्यले जग्गा उपलब्ध गराउन सहयोग गर्छ नत सामान सहुलियतमा उपलब्ध गर्न सहयोग गर्छ । स्रोतसाधन वा कर छुट केही न केहीमा राज्यले सहयोग गर्न सक्नुपर्छ । तर, यहाँ राज्यले केही गर्दैन । त्यसैले पनि जहाँ आफुलाई सजिलो हुन्छ मान्छेले त्यही काम सुरु गर्छ । राज्यले आफ्नो मातहतका निकाय अस्पताल, स्वास्थ्यचौकीलाई समेत भनेजस्तो सुविधा दिन सकेको छैन । यसमा साझेदारी गर्न पनि सकेको छैन । जसले गर्दा दुर-दराजमा निजी अस्पतालको पहुँच हुन सकेन । यसका लागि राज्यको नीति नै छैन । यस्तो किसिमको नीति बनाउनु पर्‍यो भनेर सरकारलाई दबाब कत्तिको दिनुहुन्छ ? के दबाब दिनु, दबाब दिएको कसले सुन्छ ? यो.संस्थासँग मानविय संसाधन मात्र हैन, मान्छे पनि छ । नीति निर्माता सरकारीमा काम गर्ने कर्मचारीको मात्र दायित्व होइन । त्योभन्दा बाहिर निजी, गैरसरकारीमा पनि मान्छे छन् । उहाँहरूले राज्यलाई चाहिने नीति नियम के हो भनेर सहयोग गर्न सक्छन् । उहाँहरूले एउटा संगठन हो आएर बिरोध गर्छ ज्ञापनपत्र बुझाउँछन् भन्नेमात्र बुझ्नुहुन्छ । खासमा भन्नुपर्दा मलाई यस्ता संघ संगठन राख्नै हुँदैन भन्छु । एउटा बिजोग लाग्दो कुरा के छ भने सरकारमा जागिर खान्छन् अनि त्यसैका संगठन हुन्छन् । कलेज, विश्वविद्यालयमा विद्यार्थी पढ्न जान्छन् त्यही संगठन खोल्छन्, पत्रकारको आफ्नै संगठन छन् । यस्ता संगठनमा रहेकाहरू आफ्नो काम गर्छन कि राजनीति ? राजनीति गर्नेहरू छँदैछन् त । हामी पेशा गर्नेहरूले पेशन नै गर्ने हो । यस्ता संगठनको कुनै अर्थ पनि छैन । करिब तीन सय निजी अस्पताल अफिनमा आबद्ध छन्, ती संस्थाबाट कतिले रोजगारी पाएका छन् ? एउटा निजी मेडिकल कलेजमा चिकित्सकदेखि सरसफाइकर्मी सबै गरी ७/८ सयदेखि हजार १२ सयसम्म कर्मचारी हुन्छन् । १५ मेडिकल कलेजमा हजारका दरले हेर्ने हो भने कम्तिमा १५ हजार भए । करिब ६० वटा सय बडेका अस्पताल छन् । यसमा पनि कम्तिमा सयदेखि दुई सय कर्मचारी छन् । ५० बेडका डेढ सय अस्पताल छन् । २५ बेडका अस्पताल छन्, वास्तविक तथ्यांक नभए पनि ४०/५० हजार बढीले रोजगारी पाएका छन् । निजी क्षेत्रले गरेको लगानीप्रति सरकारको बुझाइ कस्तो पाउनु भएको छ ? यहाँ सरकार भनेको पनि को हो भन्ने बेला आएको छ । ९/१० महिनामा सरकार फेरिन्छ । नफेरिने भनेको कर्मचारीतन्त्र हो । यसमा पनि गतिशलता छैन । म्यानेजमेन्टमा पनि पारदर्शी र जवाफदेहिता छैन । मैले यसरी बोल्दा सरकारी क्षेत्रमा काम गर्ने साथीहरूको चित्त दुख्ला । तर, पनि उहाँहरूको ‘मेज्युरेटीज अफ दि एडजस्ट ग्येटिङ स्यालरी’ यही हो कुरा । निजी र सरकारी क्षेत्र मिलेर काम गरौं भने पनि त्यो काम कर्मचारीको हातबाट हुँदैन । हामीले कर छुट माग्यौं भने उहाँहरूको हातबाट हुँदैन । तर, हामीले राखेका मागहरूमा ऐक्यबद्धता जनाइदिनु भयो भने पनि सहज हुन्छ । लोकसेवा पास गरेर आएका कर्मचारीमा लोकसेवक होइन शासक मेन्टालिटी छ । मैले भोगेको यही हो । सर्वसाधारणमा निजी अस्पतालको उपचार सेवा महँगो भयो भन्ने बुझाइ छ नी ? नेपालको संविधानले स्वास्थ्य र शिक्षा मौलिक अधिकार भनेको छ । सरकारी स्वास्थ्य संस्थामा सरकारको लगानी हुन्छ । तर, कुनैपनि अस्पतालले एक रुपैयाँ नलिएर सेवा दिँदैन । संविधानमा लेख्यो एउटा । तर, व्यवहारमा छैन । सबैभन्दा समस्या भनेकै यही हो । एउटा कुरा लेख्छौँ, अर्को गर्छौं । एउटा बोल्छौँ अनि अर्कै गर्छौं । निजी अस्पतालमा भवनदेखि कर्मचारी सबै लगानीकर्ताले पाल्नुपर्छ । उस्तै उपकरणहरू खरिद गर्नुपर्छ । त्यसमा आफु पनि बाँच्न पनि पर्‍याे । त्यसैबाट नाफा निकाल्नु पर्ने होला । त्यसैले पनि निजी अस्पतालको सेवा सरकारीको भन्दा महँगो हुन पुगेको हो । यसको मतलब नागरिकले महँगोमा उपचार गर्न नपोरस् भन्नका लागि सरकारी अस्पतालले नै सबै सेवा दिनुपर्छ भन्ने हो ? हो, सरकारी अस्पतालले बेड छैन भन्दै बाहिर रिफर गर्नु भएन । सरकारी अस्पतालमा गएर बिरामीले उपचार पाएन भने कता जाने ? हो, समस्या यहीँनेर छ । कुनैपनि बिरामीसँग पैसा छैन भनेर उपचार गर्दैन भनेर कुनैपनि संस्थाले भन्न पाउँदैन । उसको बाँच्न पाउनुपर्छ । यो सबैको दायित्व हो । निजी क्षेत्रका अस्पतालले पाउने प्रतिफल कस्तो छ ? धेरैजसो संस्थालाई गाह्रो छ । कतिपय साथीहरूले बैंकबाट ऋण लिनु भएको छ । समस्या भइरहेको छ भनिरहनु भएको छ । कतिपय साथीहरू राम्रो होला भनेर पनि लागिरहनु भएको छ । तर, केही साथीहरूको राम्रै चलेको होला, त्यसैले पनि यसमा लागिरहेका छन् । तपाईंको पनि अस्पतालको छ, बिजनेस र प्रतिफल कस्तो छ ? मैले पोखरामा कास्की सेवा प्रालि सञ्चालन गरिरहेको छु । मैले चलाएको अस्पताल राम्रो चलेको छ भन्न सक्ने अवस्थामा छैन । अस्पताल नाफामा छैन । सबैले सेवाको लागि अस्पताल खोलेको हो भन्ने पनि छैन । राम्रो प्रतिफल पाइरहेकाहरू संस्थालाई निरन्तरता दिन्छन्, नपाएकाहरूले विकल्प सोच्नुहोला । तपाईले चाहिँ के उद्देश्यले अस्पताल सञ्चालन गर्नुभएको हो ? मेरो बुवा बझाङकै पहिलो स्वास्थ्यकर्मी हुनुहुन्थ्यो । म मणिपाल मेडिकल कलेजको पहिलो ब्याचमा पेढेको हुँ । निजी क्षेत्रको मेडिकल कलेजमा एमबीबीएस पहिलो कार्यक्रम पोखरामा रहेको मणिपाल कलेजमा पढाइ भएको हो । त्यो भन्दा पहिले महाराजगञ्मा मात्र थियो । मैले कहिल्यै बिरामीबाट पैसा लिएर व्यापार गर्नुपर्छ भन्ने थाहा पाएको नै थिइनँ । मेरो घरमा पनि सधैँ तीन/चार जना बिरामी भइराख्नुहुन्थ्यो । ४/५ दिन लगाएर अस्पताल पुर्‍याउनु परेको अनुभव मसँग छ त्यसैले पनि मलाई व्यापार गर्न आउँदैन । मर्नु अगाडि एउटा संस्था बनाउनुपर्छ भनेर रहर लागेर मैले संस्था खोलेको हुँ । मैले कुनै उद्देश्यले खोलेको हैन । मेरो उदेश्य भनेको नर्सिङ अरु स्वास्थ्यकर्मी उत्पादन गर्ने एउटा कलेज बनाउने भन्ने भावले अस्पताल सुरु गरेको हो । तर, देशको नीति यस्तो छ कि १२ वर्षसम्म पनि कलेज सञ्चालन गर्न पाइएन । मैले व्यापार गर्नको लागि अस्पताल खोलेको पनि होइन । तपाईं आफ्नो बुवालाई देखेर स्वास्थ्यकर्मी बन्नुभएको हो ? म यो नै बन्छु भनेर यो क्षेत्रमा आएको होइन । डाक्टर भनेको ठुलै हो भन्ने पहिले पनि लाग्दैनथ्यो अहिले पनि लाग्दैन । म गाउँमा एसएलसी पास गरिसकेपछि साइन्स पढ्न आएँ । यो पढिसकेपछि अब यही पढ्नु पर्‍याे भनेर यो पेशामा लागेको हुँ । तर, डाक्टर भएकोमा पछुतो भने छैन । मलाई रहर भनेको पाइलट बन्नु थियो तर,आर्थिक अवस्था थिएन । त्यसैले यो क्षेत्रमा लागेको हुँ । निजी अस्पतालका सञ्चालकहरू लगानीको प्रतिफलप्रति कत्तिको विश्वस्त छन् ? विश्वस्त हुने अवस्था छैन । स्वास्थ्य सेवा यसै पनि महँगो छ । भौतिक पूर्वाधार बनाउनु पर्‍याे, आवश्यक उपकरण ल्याउनु पर्‍याे, प्रविधिहरू नयाँ-नयाँ हुन्छ । स्वास्थ्यकर्मीलाई पनि त्यही अनुसार पैसा दिनु पर्‍याे । लगानी पनि उठ्न सकिरहेको छैन । यो विषय राज्यको नजरमा परेको छैन । स्वास्थ्य शिक्षामा कसैको ध्यान गएको छैन । निकै जोखिम छ । जोखिम के कारणले भयो ? राज्यको नीति राम्रो नभएकोले नै हो । राज्य यसमा गम्भीर बनेन । राज्यले लगानीकर्तालाई जुन सुविधा दिनु पर्थ्याे, उपकरणमा जुन किसिमको सहजीकरण गर्न सक्नु पर्थ्याे, त्यो भएन । सहकार्य गर्‍याे भने पो जोखिम कम हुने हो । यस्तो नभएकै कारणले लगानीकर्ताले जोखिम लिनु परेको हो । राज्यले आफ्नो संस्था बनाउन भन्छ । त्यसको लागि भवन निर्माण गर्न जग्गा चाहियो । जग्गा राज्यको हो । जग्गाको लिजमा दिने व्यवस्था मात्र गरिदियो भनेपनि राहत हुन्छ । उपकरणहरू डलर तिरेर ल्याउनुपर्छ । यसमा भन्सारमा केही सहुलियत दिन सक्नु पर्ने हो । राज्यले अहिले बीमा नीति ल्याएको छ । एउटा बीमा बोर्ड छ, त्यो पनि राजनीतिले जेलिएको छ । बीमा भनेर जोडेको छ । वर्षेनी ७ अर्ब बजेट छुट्याइन्छ । यो कसरी खर्च गरेर खाने भन्नेमा प्रतिसपर्धा हुन्छ । बीमा ल्याउनु राम्रो कार्यको थालनी हो । मान्छेले आफ्नो घरखेत गरेर औषधी गर्न गाह्रो हुन्छ । तर, भएका संस्था सबैलाई प्रयोगमा ल्याएर चलाउन सके राम्रो हो । तर, त्यसो छैन । यस्तै नीतिले गर्दा समस्या भएको हो । पछिल्लो समय अस्पतालमा चिकित्सकको अभाव रहेको सुनिन्छ । भएको जनशक्ति पनि पलायन भइरहेको छ, यो समस्या तपाईंले कत्तिको अनुभव गर्नु भएको छ ? जनशक्ति सबै पलायन भएको छैन । केही व्यक्ति जाँदैमा सबै पलायन भए भन्ने पनि हैन । नेपालमा वर्षमा दुई हजार मेडिकल विद्यार्थी पास हुन्छन् । ती सबै बाहिर जाँदैनन् । यदि सबै जनशक्ती पलायन भयो भन्ने लाग्छ भने कसरी पलायन हुनेलाई रोक्ने भन्ने नीति ल्याउन पनि सक्नु पर्‍याे । आजभन्दा ५० वर्ष अघि नेपालमा मेडिकल एजुकेशन पढाइ नै हुँदैन्थ्यो । त्यो बेला बाहिरबाट ल्याएर पनि देशले काम गरेकै थियो । त्यसपछि देशमा संस्थाहरू खुले, जनशक्ती उत्पादन भयो । त्यसैले पलायन हुनुको एउटा दुइटा कारणमात्र छैन । चिकित्सक तथा नर्सहरूले महँगो शुल्क तिरेर पढेका हुन्छन् । तर, काम चाहिँ थोरै पैसामा गर्नु पर्ने बाध्यता छ भन्ने गरिन्छ, यो कत्तिको यथार्थ हो ? तलब बढी र कम हुनु भनेको सम्बन्धित संस्थाको विषय हो । संस्थाका आ-आफ्नै नीति हुन्छन् । त्यो संस्थाको लागि आवश्यक्ता के हो ? यस्ता कुरामा पारिश्रमिकको कुरा आउँछ । सरकारी कर्मचारीको ५०/६० हजार तलब छ । त्यसैले उनीहरू भ्रष्टचार गर्छन् भन्ने कुरा सुनिन्छ । नेपालमा सरकारी कर्मचारी ८५ हजार भन्दा बढी छैनन् । जनसंख्या छ तीन करोड । शसस्त्र, प्रहरी गरेर जम्मा तीन लाख होलान् । तीभन्दा अरु नागरिक पनि त छन् नि देशमा । पाउनेले बाँच्नै सकिँदैन भन्छन्, त्यति पनि नहुने बाँचेकै छन् । जसलाई कम तलब भो भन्ने लाग्छ, उसले बढी तलब हुने काम खोज्दा भइहाल्यो त । पछिल्लो समय निजी अस्पतालहरूको बिजनेस खस्कियो, घाटामा गए भन्ने गुनासो सञ्चालकहरूको छ, यही बेला धेरै अस्पतालहरू पब्लिकमा जाने कुरा पनि सुनिरहेको छ, यसलाई हामीले कसरी बुझ्ने ? यो त उहाँहरूको अस्तित्वको रणनीति हो । अस्पताल चाहे पब्लिकमा जाउन, चाहे सेयर बाडुन् । यो उनीहरूको कुरा हो । देशमा नागरिकले राम्रो सेवा पाउनु पर्‍यो । जनशक्ति उत्पादन हुनु पर्‍याे । गुणस्तरीय सेवा पाउनु पर्‍याे । सय जना स्टेकहोल्डरले सकेनन् भने अरु हजार जना ल्याएर भएपनि संस्था बचाए राम्रो । समस्या धेरै सुनियो, यी समस्याहरूको समाधानका लागि अफिनको अध्यक्षको हैसियतले तपाईंले के गर्नु भयो ? विभिन्न व्यक्तिहरूसँग भेटघाट भइरहेको हुन्छ । समस्या समाधानका लागि लागिरहेको छु । एक जना मन्त्रीलाई भेट्न गएको प्रतिवेदन अर्को मन्त्री आउँदा डस्टबिनमा गइसकेको हुन्छ । समस्या सबैलाई थाहा छ । तर, समाधानका लागि पहल नै हुँदैनन् । स्वास्थ्य क्षेत्रमा देखिएका यी समस्याहरू समाधान गर्न कसले के गर्नुपर्छ ? जसको जे जिम्मेवारी छ, त्यो काम सबैले इमान्दारीकासाथ गर्‍यो भने मात्र पनि पुग्छ । तर, यहाँ त्यस्तो छैन । अन्तिममा, तपाईं सुदूरपश्चिमको बझाङमा जन्मिनु भएको, सुदूरपश्चिमको गेटा मेडिकल कलेज र डडेल्धुरा मेडिकल कलेज सञ्चालनको विषय ठूलो विवादमा छ । सञ्चालन गर्ने भनिए पनि अझै प्रक्रिया अगाडि बढ्न सकेको छैन । यो विषयलाई कसरी हेर्नु हुन्छ ? यो दुःखको कुरा हो । सुदूरपश्चिमका मान्छेले बिरामी भयो भने कि काठमाडौं आउनुपर्‍याे, कि घरखेत बेचेर भारत जानुप¥यो । भारत वा काठमाडौं जहाँ जानु पर्‍याे भने पनि ३०/४० घण्टा लाग्छ । कतिपयको उपचारका लागि आउँदा बाटोमै ज्यान जान्छ । उपचारको लागि एउटा सस्था त्यहाँ पनि हुनुपर्ने हो । गेटा मेडिकल कलेजमा भवनहरू निर्माण गरिएका छन् । तर, कार्यक्रम अघि बढेन । डडेल्धुरामा मेडिकल कलेज भयो भनेपनि त्यहाँका नागरिकले सेवा पाउलान् भन्ने हो । कैलाली र कञ्चनपुर छाडेर सात वटा पहाडी जिल्लाको सबैभन्दा नजिकको केन्द्रबिन्दु भनेको डडेल्धुरा हो । अहिले त्यहाँ सुदूरपश्चिम विश्वविद्यालय अन्तर्गत केही कार्यक्रम सुरु भएको छ । मैले त पहिलेदेखि नै आवाज उठाउँदै आएको छु । गेटाको कुरा गर्दा पालिकादेखि केन्द्रसम्म राजनीतिको नराम्रो जालो छ, जसले गर्दा यस्तो समस्या आएको हो । राजनीति बिना नेपालीले श्वास फेर्न पनि गाह्रो हुने अवस्था छ ।

उपचार नपाउँदा पोर्चुगलमा नेपाली युवतीको बिचल्ली

लिस्बन । पोर्चुगलमा रोजगारीका लागि पुगेकी एक नेपाली चेली सडक दुर्घटनामा परी गम्भीर घाइते भएर उपचार नपाउँदा बिचल्लीमा परेकी छन् । वैदेशिक रोजगारीको सिलसिलामा दुई वर्षअघि पोर्चुगल आएकी सिन्धुली जिल्ला मरिण-३ की २९ वर्षीया सुस्मिता मोक्तान उपचार अभावमा बिचल्लीमा परेकी हुन् । सडक पार गर्ने क्रममा कारको ठक्करबाट गम्भीर घाइते भएकी उनी औषधि उपचारको अभावमा ओछ्यानमै थलिएर बस्न बाध्य छिन् । गत जनवरी १० तारिखका दिन कामबाट फर्कने क्रममा मोन्तिजो पिँगो दोस भन्ने स्थानमा साँझ ७ बजेतिर जेब्रा क्रसिङबाट बाटो काट्दै गरेकी उनलाई तीव्रगतिमा आएको कारले एक्कासी ठक्कर दिएको थियो । कारको ठक्करबाट गम्भीर घाइते भएकी उहाँको दाहिने हात र देब्रे हिप भाँचिएको छ । दुर्घटनाले हिपदेखि मुनिको देब्रे खुट्टा नचल्ने भएको छ । कारको ठक्करबाट उछिट्टिएर सडकको छेउमा रगताम्मे अवस्थामा ढलेकी उनको अनुहारमा समेत चोट लागेको छ । हिप फ्याक्चर भई देब्रे खुट्टा नचल्ने भएपछि पीडित मोक्तान ओछ्यानमै थला परेको एक महिना हुन लागेको छ । सामान्य उपचारबाट समेत बञ्चित भएकी उनको स्थिति दिनप्रतिदिन नाजुक बन्दै गएको छ । दुर्घटनापश्चात् प्रत्यक्षदर्शीले प्रहरीलाई खबर गरेपछि उनलाई तत्काल मोन्तिजोस्थित बरेइरो अस्पताल पुर्याइएको थियो भने कार चालक फरार भएका थिए । उपचारका लागि अस्पताल पुर्याइए पनि अस्पतालले हातको मात्रै शल्यक्रिया गरी खुट्टाको उपचार नै नगरी घर पठाएको पीडित मोक्तानलेसँग दुःखेसो पोखिन् । खुट्टाको उपचारका लागि अस्पतालसँग धेरै अनुरोध गरे पनि उपचार नै नगरी घरमै आराम गर्नु भनी अस्पतालले जबर्जस्ती डिस्चार्ज गरेको उनले बताइन् । रोजगारदाता मोन्तिजोस्थित ट्रान्सएटलान्टिको टरभालो टेम्पोरेरिया एलडीए कम्पनीले समेत उपचारमा बेवास्ता गरेपछि विक्षिप्त बनेकी मोक्तानले उपचारका लागि सहयोगको याचनासमेत गरेकी छन् । ‘उपचारै नपाउँदा म त मुढाजस्तै ढलिरहेको छु । न त उठ्न, चल्न सक्छु, न त दिसापिसाब नै गर्न सक्छु । विदेशी भूमिमा मेरो रेखदेख र स्याहारसुसार गरिदिने पनि कोही छैन । उपचार नपाउँदा जीवनभर कुँजिएरै बस्नुपर्ने हो कि भन्ने चिन्ताले सताउन थालेको छ’, पीडा सुनाउँदै मोक्तानले भनिन् । दुर्घटनामा परी बाँचेपनि उपचार पाउन नसक्दा घरपरिवारसमेत चिन्तित बनेका छन् । दुर्घटनाका कारण विक्षिप्त बनेकी उनी आफ्नो औषधोपचारका लागि सबैसँग हारगुहार गरिरहेकी छिन् । मोक्तान मोन्तिजोस्थित ट्रान्सएटलान्टिको टरभालो टेम्पोरेरिया एलडीए कम्पनीमा कृषि मजदुरका रुपमा कार्यरत थिए । भाँचिएको खुट्टाको उपचार नै नगरी जबर्जस्ती डिस्चार्ज गरी घर पठाउँदा उनको अवस्था झन् नाजुक बन्दै गएको उनीसँगै बस्ने साथी प्रतिज्ञा बानियाँले बताइन् । ‘सुस्मिताको उठ्न, चल्न सक्ने अवस्था छैन । ओछ्यानमा थला परेकी छिन्, रेखदेख गर्ने कोही छैन । उनको त बिजोग नै भएको छ’, सहयोगको आशा राख्दै बानियाँले भनिन् । मोक्तानको दुर्घटनाको विषयमा लिस्बनस्थित महावाणिज्यदूतको कार्यालय र गैरआवासीय नेपाली सङ्घलाई जानकारी गराइएको छ । मोक्तानको उपचारका लागि विभिन्न माध्यममार्फत पहल भइरहेको यहाँ कार्यरत नेपाली पत्रकार प्रबल भट्टराईले बताए । पीडित मोक्तानको औषधोपचारसहित पाउन सक्ने सेवा सुविधाका लागि कानुन व्यवसायीको व्यवस्था गरी औषधोपचारसँगै आवश्यक कानुनी उपचारको समेत पहल भइरहेको मोन्तिजो नेपाली समाज पोर्चुगलका अध्यक्ष गोपाल योञ्जनले बताए । उनको उपचारका लागि यहाँ क्रियाशील नेपाली सङ्घसंस्थामार्फत आर्थिक सहयोग सङ्कलन अभियानसमेत सञ्चालन गरिएको उनले सुनाए । अस्पतालले डिस्चार्ज गरेपछि उनी कम्पनीले कामदार राख्दै आएको एक आवासगृहमा साथीहरूसँग बस्दै आएकी छिन् । नेपाल नगएको चार वर्ष भएको बताएकी मोक्तानको आठ वर्षीय छोरा र श्रीमान् नेपालमा रहेको जनाइएको छ । मोक्तान दुर्घटनामा परी उपचारबाट समेत बञ्चित हुनुपरेको विषयमा सम्बन्धित निकायमा बुझ्ने काम भइरहेको र उनको उपचारका लागि आवश्यक पहल भइरहेको पोर्चुगलका लागि अवैतनिक नेपाली महावाणिज्यदूत मकरबहादुर हमालले बताए । पीडित मोक्तानलाई गत जनवरी ३० मा अस्पतालले डिस्चार्ज गरी घर पठाएको थियोे । रोजगारीको सिलसिलामा चार वर्षअघि साइप्रस आएकी उनी दुई वर्षअघि पोर्चुगल आएको जनाइएको छ । साइप्रसमा रोजगारीका लागि आएका नेपालीको यकिन तथ्याङ्क नभए पनि करिब ७० हजारको हाराहारीमा नेपाली रोजगारीका लागि आएको महावाणिज्य दूतावासले जनाएको छ । पछिल्लो समय वैदेशिक रोजगारीका लागि पोर्चुगल आकर्षक गन्तव्यका रूपमा स्थापित हुन थालेको छ । यससँगै त्यहाँ नेपाली पीडित पनि हुन थालेका छन् । रासस

रक्तदान किन आवश्यक र कतिपटक गर्न सकिन्छ ?

रगतबिनाको जीवनको कल्पना पनि गर्न सकिँदैन । स्वेच्छाले रगत दान गर्नुलाई नै रक्तदान भनिन्छ । नेपालमा बर्सेनि करिब तीन लाख युनिट रगत चाहिन्छ तर जहिल्यै अभावका समाचार आइरहेका हुन्छन् । पछिल्लो समय बाढी, पहिरा, भूकम्पजस्ता प्राकृतिक कारणदेखि सडक दुर्घटना एवं स्वदेशमै अनेक जटिलखालका रोगहरूको शल्यक्रियाको सुविधा पनि उपलब्ध भएसँगै रगतको माग आकासिएको छ । ब्लड बैंकहरूले पनि आवश्यक मात्रामा सेवाग्राहीलाई रगत उपलब्ध गराउन सकिरहेका छैनन् । योग्य व्यक्तिहरूले पनि रक्तदान नगर्ने प्रवृत्तिले गर्दा देशमा रगतको अभाव भएको छ । स्वस्थ शरीर, मानसिक सन्तुलन ठीक, कम्तीमा १८ वर्ष पूरा भई ६० वर्ष ननाघेको र कम्तीमा ४५ केजी तौल भएको, मलेरिया, क्षयरोग, जन्डिस, मधुमेह तथा एचआइभी/एड्स नलागेको व्यक्ति रक्तदान गर्न योग्य मानिन्छन् । गर्भवती र महिनावारीको समयमा र सुत्केरी भएको छ महिनाभन्दा अगाडि रक्तदान गर्नु हुँदैन । रक्तदान गर्दा कतिपय मुटुजन्य रोगका समस्या र कतिपय मधुमेहजन्य रोगका समस्या निदान हुने विभिन्न स्वास्थ्य अनुसन्धानले प्रमाणित गरेको छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार विकसित देशमा एक हजारमा ३३ दशमलव चार जना, विकाशोन्मुख देशमा ११ दशमलव सात जना र अल्पविकसित देशमा चार दशमलव छ जनाले मात्र रक्तदान गर्ने गर्दछन् । विश्वको जनसङ्ख्याको दुई प्रतिशतले मात्र रक्तदान गर्दा पनि बिरामीको उपचारको लागि रगत अभाव हुँदैन भन्ने तथ्याङ्क छ । रक्तदान किन आवश्यक छ ? वैज्ञानिकहरूले चिकित्सा क्षेत्रमा अकल्पनीय आविस्कारहरू गरी क्यान्सर, मिर्गौला प्रत्यारोपण, ठूला एवं जटिल रोगहरूको उपचार पनि सम्भव गराएका छन् तर त्यस्ता रोगहरू उपचार गर्न मानव जीवनका लागि नभई नहुने रगतको विकल्प भने दिनसकेका छैन । प्राकृतिक प्रकोपका कारण बर्सेनि लाखौँले जीवन गुमाउने गर्दछन् भने करोडौँको सङ्ख्यामा घाइते हुन्छन् । त्यस्तै मानव निर्मित सडक दुर्घटना, युद्धजस्ता कारणले समेत बर्सेनि ठूलो सङ्ख्यामा मानवीय क्षति हुने गरेको छ । यसका अलावा सरुवा रोगलगायत विभिन्न प्रकोपका कारण लाखौँको ज्यान जान्छ । साथै गरिब परिवारका गर्भवती, सुत्केरी तथा नवजात शिशुको रगतमा हेमोग्लोबिनको मात्रा कम भएकालाई उपचार गर्न रगत आवश्यक पर्दछ । कुनै पनि बिरामीको उपचारका क्रममा रगत आवश्यक हुन गएमा अर्को स्वस्थ मानिसलाई रक्तदान गराउनुबाहेक अर्को विकल्प छैन । आफ्नो शरीरको अमूल्य रगतबाट अरुको जीवन बचाउन सकिने भएकाले नै रक्तदानलाई जीवनदान भन्ने गरिएको हो । हामीले शरीरमा भएको रगत दान नगरे पनि तीन महिनामा त्यो रगत त्यत्तिकै खेर जान्छ । खेर जाने रगत दान गर्दा कसैको ज्यान बच्छ भने किन नगर्ने भन्ने भावनाको विकास हुन जरुरी छ । त्यसैले रक्तदानभन्दा अर्को ठूलो पुण्य काम केही हुँदैन । रक्तदान कतिपटक गर्न सकिन्छ ? मानिसको शरीरमा रगत बोनम्यारोमा बन्छ । शरीरमा हरेक १२० दिनमा नयाँ रगत बन्दै जाने र पुरानो रगत नष्ट हुने गर्दछ । पुरुषमा ७६ र महिलामा ६६ मिलीलिटर प्रतिकिलोग्राम रगत हुन्छ । मानिसलाई दैनिक काम गर्नका लागि ५० मिलीलिटर रगत प्रतिकिलोग्राम आवश्यक पर्दछ । एकजना स्वस्थ एवं ४५ किलोग्राम तौल भएको व्यक्तिले आठ मिलीलिटर प्रतिकिलोग्राम अर्थात् तीन सय ६० मिलीलिटर रगत सजिलैसँग दान गर्न सक्छ । यो रगत दिँदा हाम्रो शरीरमा कुनै कमजोरी हुँदैन । दान गरेको रगतको परिणाम कुनै पनि तीन सय ६० मिलीलिटर पेय पदार्थबाट र दैनिक खानपानबाट केही दिनमा आफैँ बनेर पूर्ति हुने भएकाले रक्तदान गर्न सकिन्छ । रगत निकाल्दा यसले कमजोरी बनाउँदैन तर आफ्नो शरीरमा सञ्चालन भएको रगत एकाएक निकाल्दा रगतका कोशिका र नसाहरूमा केही गडबड भने हुन्छ । यसले कसैकसैलाई केही अप्ठ्यारो हुन्छ तर तरल पदार्थको यथेष्ट खाएका एक–दुई दिनमा नै यथारूपमा आउँछ । एउटा स्वस्थ व्यक्तिको शरीरमा चारदेखि पाँच लिटर रगत हुन्छ । त्यसमध्येबाट ३५० मिलीलिटर मात्र रगत लिइरहेका हुन्छौँ । दुर्घटना, प्रसूति, शल्यक्रिया तथा अन्य रोगका कारण शरीरमा रगतको कमी भएका बिरामीलाई रगत दान गरी उनीहरूलाई बचाउन सकिन्छ । विश्वभरि रक्तदान गर्नेमध्ये एक प्रतिशतभन्दा कमले मात्र सयौँपटक रक्तदान गर्न सकेका छन् । नेपालको परिपेक्ष्यमा १८ वर्ष पूरा भएका, ६५ वर्ष ननाघेका र ४५ किलो वजनका भएका व्यक्तिले हरेक ९० दिनमा रक्तदान गर्न सक्छन् । अमेरिका र क्यानडामा हरेक ५६ दिनमा रक्तदान गर्न सकिन्छ भने १६ वर्ष पुगेका र ७५ वर्ष ननाघेका व्यक्तिहरूले वर्षमा छ पटकसम्म रक्तदान गर्न सक्छन् । रक्तदानप्रति युवाको आकर्षण कसरी बढाउने ? नेपालमा पछिल्लो समय रक्तदानबारे सचेतना त बढेको छ, तर अभावलाई पूर्ति गर्न सकेको छैन । दाताहरू पनि रक्तदान गर्न सहजरुपमा उपस्थिति हुँदैनन् । रगतको स्रोत स्वस्थ्य युवाहरू नै हुन् । रक्तदान जीवनदान भन्ने कुरा सबैलाई थाहा छ । रगत दिएर अरुलाई बचाउन सकिन्छ भन्ने पनि थाहा छ, तर पनि युवाहरू रक्तदानमा सहभागी हुँदैनन । आमरूपमा रक्तदान गर्नुपर्छ भन्ने चेतना जगाउन जरुरी छ । अहिले काठमाडौँमा प्रतिदिन झण्डै पाँच सय युनिट रगत चाहिन्छ । तर स्वयंसेवीहरूबाट करिब एक सय ५० युनिटमात्र रगत दान गरेको पाइन्छ । यसले गर्दा दैनिक झण्डै तीन सय बिरामीले रगत नपाउने स्थिति छ । नेपालको जनसङ्ख्या करिब तीन करोडमध्ये एक प्रतिशतले पनि रक्तदान गरेका छैनन् । देशभरिमा झण्डै सवा तीन लाख युनिट रगत चाहिन्छ । गत वर्ष लगभग दुई लाखले मात्र रक्तदान गरेका थिए । प्रविणता प्रमाणपत्र तहमा अङ्ग्रेजी पाठ्यपुस्तकको ‘द ब्लड डोनर’ पाठबाट प्रेरित भई रक्तदान कार्यमा आफूलाई समर्पण गरेको मैले विगत ४० वर्षदेखि निरन्तर रक्तदानको माध्यमबाट बिरामीलाई नयाँ जीवन दिँदै आएको छु । युवाहरूमा रक्तदानको महत्वबारे अवगत गराउन विद्यालय, विश्वविद्यालयका पाठ्यक्रमहरूम रक्तदानसम्बन्धी पाठ्यसामग्री समावेश गर्नु जरुरी छ । पाठ्यपुस्तकमा रक्तदानबारे एउटा सानो पाठ राखिदियो भने ती विद्यार्थीलाई रक्तदान गर्न उत्पे्ररणा मिल्छ । रक्तदानको महत्वबारे समाजमा अझै अनेक अविश्वास, भ्रम र चेतनाको अभाव रहेको पाइन्छ । त्रिवि मातहतको सरस्वाती क्याम्पसको समाजशास्त्र विभागले सन् २०२२ मा गरेको रक्तदानबारे सामाजिक बुझाइसम्बन्धी अध्ययनमा पनि अझै यो अवस्था रहेको पाइएको छ । अध्ययनमा नेपालमा रक्तदानको दर न्यून रहेको, अत्यावश्यक अवस्थामा बाहेक रक्तदान गर्न तयार नरहेको, रक्तदान गर्दाका असर र फाइदाबारे जानकारी नभएको, सामाजिक चेतनाको अभाव, रक्तदानका लागि उत्प्रेरणा बढाउन नसकिएकोलगायतका विषय औँल्याएको छ । अर्को कुरा रक्तदानसम्बन्धी काम गर्ने नेपाल रेडक्रसको रक्तसञ्चार सेवा, नेपाल सरकारको केन्द्रीय रक्त ब्यूरोले रक्तदान कार्यक्रम बढाउनका लागि स्थानीय सङ्घसंस्थालाई प्रोत्साहन गर्नुपर्छ । रक्तदानको अभियान ‘म एक्लैले यस संसारलाई दयारुपी संसारमा बदल्न सक्दिन तर संसाररुपी पानीमा एउटा पत्थर फ्याँकेर समाज सेवाको हलचल मच्चाइ मानव सेवाका लागि मनुष्यमा दया पैदा गर्न सक्छु’ भन्ने मदर टेरेसाको भावनाबाट प्रेरित भएर नै मैले पनि रक्तदानको अभियानलाई विश्वव्यापी बनाउन खोजेको हुँ । मान्छेहरूलाई बचाउन सकुँ र समुदायलाई पनि उत्प्रेरणा दिने नै मेरो अभियान रहेको छ । रगत दान गर्दा कमजोरी भइन्छ भन्नेहरूका लागि रक्तदान गरेर कमजोरी हुँदैन भनेर बुझाउनु मेरो अर्को उद्देश्य हो । बिरामीलाई रगत उपलब्ध गराउन, युवाहरूलाई रक्तदान गरेर कमजोर भइँदैन भनेर बुझाउनका लागि १९९० डिसेम्बर ५ मा रक्तदान गरेको एक घण्टापछि विभिन्न जिल्लाहरूमा साइकलयात्रा गरेको थिएँ । सन् २०२२ नोभेम्बरसम्म विश्वका छवटै महादेशका १४ वटा देशमा पुगी त्यहाँ बसोबास गरेका नेपाली समुदायमा रक्तदान गर्न उत्पे्ररणा गरेको छु र आफूले पनि दुई सय पाँचपटक रक्तदान गरेको छु । यस अभियानबाट छ सय १५ जना बिरामीलाई बचाउन सक्नु आफैँमा असाधारण काम हो भन्ने लाग्दछ । प्राकृतिक प्रकोप, दुर्घटना र युद्धमा घाइते भएका मानिसलाई बचाउन रगतको ठूलो भूमिका हुन्छ । रगत खेर जाने चिज होइन, यो सबैलाई चाहिने कुरा हो, असह्य भएर पनि अरुलाई रगत दिनु र उसलाई बचाउनु चानचुने कुरा होइन । मेरो रक्तदानको यात्रा एउटा देश वा भूगोलमा सीमित छैन । मैले आफ्नै साधन, स्रोत, समयमा यो अभियानलाई विश्वव्यापी बनाउने जमर्को गरेको हुँ । यसले विश्वमा नेपालको परिचय गराउन मद्दतमात्र पुगेको छैन, मानवीय भावनाको विस्तार पनि भएको छ । अझै ५० वर्षसम्म पनि रगतको विकल्प आउन कठिन रहेकाले देश र विदेशमा पुगेर रक्तदानको आवश्यकता, महत्व र उपयोगिताका बारेमा जनचेतना बढाउने मेरो अभियान कायमै रहनेछ । रासस (प्रस्तुत विचार लामो समयदेखि अमेरिकामा बस्दै आएका र हालै नेपाल भ्रमणमा आएका मैनालीसँग गरेको कुराकानीमा आधारित)