हङकङको कमाइले गाउँमा एम्बुलेन्स सेवा
फाइल फाेटाे सुन्दरहरैंचा । रोजगारीका लागि हङकङ पुगेका मोरङको उर्लाबारीका युवाले आफू हुर्केको गाउँका बासिन्दालाई निःशुल्क सेवा दिन एम्बुलेन्स उपलब्ध गराएका छन् । रोजगारीका लागि हङकङ पुगेका उर्लाबारीका ९४ युवाले एम्बुलेन्स खरिदका लागि उर्लाबारी नगरपालिका हङकङ परिवारका नाममा रु २५ लाख ५० उपलब्ध गराएका थिए। सो रकमले निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गरिएको छ । उक्त एम्बुलेन्स उर्लाबारी नगरपालिका-९ स्थित राजघाट उपस्वास्थ्य चौकी मातहतमा सञ्चालन गरिएको छ । कार्यविधि बनाएर वडाका विपन्न परिवारलाई परिचयपत्र वितरण गरेर निःशुल्क तथा अन्यलाई २० प्रतिशत छुटमा एम्बुलेन्स सेवा उपलब्ध गर्ने तयारी गरिएको वडाध्यक्ष नरवहादुर मोक्तानले जानकारी दिए । विपन्न परिवारलाई निःशुल्क एम्बुलेन्स सेवा दिँदा नगरपालिकाले इन्धनको प्रबन्ध गर्ने उनले बताए । एम्बुलेन्स खरिदका लागि हङकङमा रहेका याम सेम्बु एक्लैले पाँच लाख ३० हजार रुपैयाँ उपलब्ध गराएका थिए। उनीसहित साङगेहाङ तुम्बाहाम्फेको सक्रियतामा उक्त रकम संकलन भएको हो । स्थानीय मीना खवासले वडामा एम्बुलेन्स सञ्चालनमा आएकामा खुसी व्यक्त गरिन् । उनले भनिन्, ‘आपतकालीन अवस्थामा भनेको बेला एम्बुलेन्स पाउन सकिँदैन, आफ्नै वडामा एम्बुलेन्स भएपछि राहत मिलेको छ ।’ सहयोगी दातामध्येका अगुवाइकर्ता याम सेम्बुले आफूहरू जहाँ भएपनि गाउँको समस्यामा चिन्तित रहने गरेको बताए । गाउँको समस्यालाई आफ्नै ठान्दै एम्बुलेन्स सहयोग गरेको उनको भनाइ छ । अर्का सहयोगी साङ्गेहाङ तुम्बाहाम्फेले भने, ‘हामीलाई हाम्रो गाउँठाउँको दुःखसुख सबै थाहा छ, हामीले एम्बुलेन्स सहयोग गर्दा विपन्न परिवारलाई सहज होस् भन्ने उद्देश्य हो ।’ रासस
म्याद सकिएको औषधी बेच्ने दुईवटा फार्मेसी बन्द, मन्त्री भन्छन्- कारबाही गर्छौं
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले वीर अस्पताल बाहिर सञ्चालित दुईवटा औषधी पसल बन्द गर्न निर्देशन दिएका छन् । स्वास्थ्य मन्त्रालय तथा औषधी विभागको संयोजत्वमा बिहीबार गरिएको निरीक्षणका क्रममा सत्यम फर्मा र उपकार सेवा फर्माले म्याद गुर्जेका र दर्ता नभएका औषधी बिक्री वितरण गरेको भेटिएपछि मन्त्री बस्नेतले बन्द गर्न निर्देशन दिएका हुन् । उनले भने, ‘वीर अस्पताल बाहिर रहेको फार्मेसीले म्याद गुर्जेका औषधी बेचेको भेट्यौं । त्यस्तै औषधी महँगोमा बेचेको पाइयो । औषधीलाई राम्रोसँग स्टोर गर्नुपर्नेमा बाहिरै त्रिपालले छोपेर राखेको पाइएपछि यी फार्मेसी पसललाई बन्द गर्ने निर्णय गरी कानुनी कारबाहीका लागि अगाडि बढ्नेछौँ ।’ मन्त्री बस्नेतले वीर अस्पतालको स्टोरमा औषधि लुकाएर बिरामीलाई बाहिरको फार्मेसीमा किन्न लगाउने गरेको पाइएको बताए । उनले भने, ‘अस्पतालको स्टोरमा औषधी राख्ने तर फार्मेसीमा औषधी छैन भनेर बिरामीलाई बाहिरबाट औषधी किन्न लगाउने गरेको भेटिएको छ । यो झन् ठूलो समस्या देखिएको छ ।’ मन्त्री बस्नेतले अस्पतालको पार्किङ क्षेत्रमा रहेको ठाउँमा टहरो बनाएर फार्मेसी सञ्चालन गर्नेबारे अस्पतालको व्यवस्थापनसँग छलफल भइरहेको जानकारी दिए । उनले भने, ‘शल्यक्रियाका लागि आवश्यक औषधी र महँगा औषधी अस्पतालको फर्मेसीमै पाउने व्यवस्था गर्नका लागि पार्किङमा फार्मेसी निर्माण गर्न छलफल भइरहेको छ ।’ औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकालले निरीक्षणका क्रममा ‘फ्रिज’मा राख्नुपर्ने औषधिलाई बाहिर खुला राखिएको भेटिएको बताए । स्वास्थ्य विभागले नियमन गरिआएका औषधि प्रशस्त मात्रामा भेटिएको समेत महानिर्देशक ढकालले जानकारी दिए । रासस
अब कोही पनि स्वास्थ्य सेवाबाट वञ्चित हुन नपर्ने, वडाको सिफारिसमा निःशुल्क उपचार हुने
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले नेपाली नागरिक गरिब भएकै कारणले स्वास्थ्य सेवाबाट वञ्चित हुन नपर्ने बताएका छन् । गरिब विपन्नको परिचयपत्र नभएसम्मका लागि वडाको सिफारिसमा निःशुल्क उपचार हुने व्यवस्था गरिएको उनले उल्लेख गरे । परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, कुपण्डोल परिसरमा नवनिर्मित ‘सेवा विस्तार तथा अध्ययन अनुसन्धान भवन’को उद्घाटन गर्दै मन्त्री बस्नेतले स्वास्थ्य सेवा नागरिकको संविधान प्रदत्त अधिकार भएको उल्लेख गरे । “शिक्षा र स्वास्थ्य संविधानमा मौलिक हकको रुपमा स्थापित भइसकेको छ”, मन्त्री बस्नेतले भने, “सो मौलिक हक कार्यान्वयन गर्न सरकार लागिपरेको छ ।” स्थानीय, प्रादेशिक र सङ्घीय सरकारको समन्वयमा चार प्रदेशमा प्रादेशिक अस्पतालमा ‘जनरलवार्ड’ सबै निःशुल्क गरिएको उनले बताए । अस्पतालका निर्देशक डा श्रीप्रसाद अधिकारीले ४० श्ययाबाट सुरु भएको अस्पतालले अहिले चार सय ८९ श्ययाबाट सेवा प्रवाह गरिरहेको जानकारी दिए । उनले गरिबीको रेखामुनि रहेका नागरिकको स्वास्थ्य उपचारमा सहज पहुँचका लागि स्वास्थ्य मन्त्रालयको सहयोगमा ‘जनरलवार्ड’मा निःशुल्क उपचारको व्यवस्था गरिएको बताए । रासस