‘पैसाको अभावमा उपचार नपाएर फिर्ता जान पर्दैन’
काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरस्थित नेपाल आँखा अस्पतालले वार्षिकरूपमा १५ हजार शल्यक्रियासहित दुई लाख ५० हजार सेवाग्राहीलाई सहज र सुलभ मूल्यमा आँखासम्बन्धी सम्पूर्ण गुणस्तरीय सेवा प्रदान गर्ने लक्ष्य लिएको छ । अस्पतालले गत आर्थिक वर्ष २०७९/८० मा ११ हजार जनाको शल्यक्रियासहित एक लाख ५४ हजार बिरामीलाई बहिरङ्ग सेवामार्फत आँखासम्बन्धी सबै खाले उपचार प्रदान गरेको थियो । आगामी चार वर्षभित्रमा निर्धारित लक्ष्य हासिल हुने गरी सेवालाई थप गुणस्तरीय, चुस्त र प्रभावकारी तुल्याइने उक्त अस्पताल सञ्चालक समितिका अध्यक्ष डा. गोपालप्रसाद पोखरेलले बताए । अस्पतालले उक्त आवमा सेवाग्राहीलाई एक करोड १६ लाख मूल्य बराबर विभिन्न छुटसहित निःशुल्क उपचार सेवा उपलब्ध गराएको थियो । त्यसअवधिमा अस्पतालले विभिन्न शिविर र दृष्टि केन्द्रमार्फत २७ हजार २०० जनाको निःशुल्क आँखा परीक्षण, शल्यक्रिया र औषधि वितरण गरेको अध्यक्ष डा. पोखरेलले जानकारी दिए । सो कार्यका लागि अस्पतालले २७ लाख खर्च गरेको थियो । अस्पतालले विद्यालय आँखा कार्यक्रमअन्तर्गत सो अवधिमा एक हजार ७२१ ग्रामीण समुदायका विद्यार्थीलाई पठन÷पाठनका लागि आवश्यक पर्ने चश्मा निःशुल्करुपमा उपलब्ध गराएको थियो । त्यस आवमा १४ हजार ९९४ विद्यार्थीको आँखा परीक्षण गरेको अस्पतालले जनाएको छ । अस्पतालले गत आवमा बाराको सिमरा र गोरखामा समुदाय लक्षित गरी सञ्चालन गरेको आँखा शिविरमा एक हजार तीन सय १४ जनाको निःशुल्क शल्यक्रिया गरिएको थियो । सो कार्यका लागि ५२ लाख ५६ हजार रुपैयाँ खर्च भएको अस्पतालले जनाएको छ । उक्त आवमा स्वास्थ्यकर्मी र सामाजिक कार्यकर्ता गरी ४७३ जनालाई अस्पतालले तालिम समेत प्रदान गरेको छ । गत आवमा उपचार गर्न आउने बिरामीलाई अस्पतालले विभिन्न सहुलियत प्रदान गर्ने क्रममा २९ लाख ९५ हजार रुपैयाँबराबरको छुट प्रदान गरेको छ । अस्पतालले नागरिकको कमजोर आर्थिक पाटोलाई दृष्टिगत गरी सुलभ अर्थात् रु एक सयमा ओपिडी उपचार सेवा प्रदान गर्दैआएको छ । जिल्लाबाट रिफर भई आउने तथा जटिल खालका रोग लागेका तर आर्थिक हिसाबले विपन्नलाई अस्पतालले उपचारमा विशेष सहुलियत प्रदान गर्दैआएको छ । त्यस्ता विभिन्न बिरामीलाई सेवा र आवश्यकताअनुरुप छुटको व्यवस्था गरिएको छ । अस्पतालमा हाल सातामा एक सय ८० देखि दुई सय जनासम्मको शल्यक्रिया गरिँदै आएको छ । अस्पतालले मुुलुकका विभिन्न भागमा आँखा शिविर सञ्चालन गरी वार्षिकरूपमा ८६ लाख मूल्यबराबरको सहयोग पुर्याएको छ । त्यस क्रममा अघिल्लो वर्ष शिविरमार्फत २७ हजार दुई सय बिरामीको स्वास्थ्य परीक्षण गरेको थियो । अस्पतालले पछिल्लो समय उपकरणको अभावमा चश्मा नलगाउन पर्ने शल्यक्रियाबाहेक आँखासम्बन्धी सबै उपचार सेवा उपलब्ध गराउँदैआएको छ । सेवाको गुणस्तर अभिवृद्धिका साथै सेवा विविधीकरणका हिसाबले फड्को मार्ने अर्थात् स्तरोन्नतिका लागि कोसिस गरिरहेको अध्यक्ष डा. पोखरेल बताउँछन् । उनी भन्छन्, ‘अरुका तुलनामा धेरै सस्तो र गुणस्तरीय सेवा तथा ठाउँका हिसाबले सबैलाई आउन जान सजिलो भएका कारणले पनि आँखा अस्पताल सेवाग्राहीको रोजाइमा पर्दै आएको छ ।’ अस्पतालको हाल दैनिक सात सय बिरामीको भार थेग्ने क्षमता छ । जन्मजात बच्चामा आँखाको पर्दामा हुने रोगको उपचार प्रणालीगत हिसाबले नेपाल आँखा अस्पतालले परोपकार प्रसूति अस्पतालमा विशेषज्ञ खटाएर परीक्षण गर्ने र अस्पतालमा ल्याएर उपचार गर्दै आएको छ । अस्पताल प्राङ्गणमा आएका कुनै पनि बिरामी पैसाको अभावमा उपचार नलिई फिर्ता नजाउन भन्नेमा अस्पताल प्रतिबद्धता रहेको डा. पोखरेल बताउँछन् । ‘पैसा छैन भनेर उपचार भएन भनेर कोही फिर्ता जानुपर्दैन, त्यस्ता बिरामीलाई हामी सहुलियत र निःशुल्क सेवा उपलब्ध गराउँछौँ,’ उनी भन्छन् । राज्यले विपन्न तथा आर्थिक अभाव झेल्न परेका त्यस्ता व्यक्तिलाई गरिब परिचयपत्र उपलब्ध गराएमा पहिचान गरी सेवा दिन सहज हुने उनको सुझाव छ ।
दादुरा-रुबेला खोप : ५७ लाख बालबालिकालाई लगाइने, लागत १ अर्ब बढी लाग्ने
काठमाडौं । सरकारले फागुन १३ गतेदेखि दादुरा-रुबेला खोप अभियानमा सञ्चालन गर्ने भएको छ । चैत ७ गतेसम्म सञ्चालन हुने अभियानमा सरकारले ५७ लाख बढीलाई खोप लगाउने उद्देश्यले लिएको छ । अभियानमा दादुरा-रुबेलाको बढी संक्रमण भेटिएको २४ जिल्लामा ९ महिनादेखि १५ वर्षसम्मकालाई दादुरा-रुबेलाको खोप लगाइने छ भने अन्य ५१ जिल्लामा ९ महिनादेखि ५ वर्षसम्मका बालबालिकालाई खोप लगाइने भएको हो । भूकम्प प्रभावित जाजरकोट र रुकुमपश्चिमका बालबालिकालाई भने दादुरा रुबेला सम्बन्धी खोप लगाइसकेको बालस्वास्थ्य तथा खोप शाखा प्रमुख डा. अभियान गौतमले बताए । उनका अनुसार ९ महिनादेखि ५ वर्ष मुनिका बालबालिकालाई दादुरा-रुबेलासँगै पीसीभी, आइपीभी, डीपीटी-हेप वी.हिव लगायतका खोप लगाइनेछ । खोप अभियानका लागि देशभर ४० हजार खोप केन्द्र सञ्चालन गरिनेछ भने कतिपय ठाउँमा विद्यालय, स्वास्थ्य संस्थामापनि खोप लगाइने छ । यसका लागि देशभरका महिला स्वास्थ्य स्वयमसेविकालाई प्रयोग गरिनेछ भने ३० हजार बढी स्वास्थ्यकर्मी परिचालन गरिने खोप शाखाले जनाएको छ । यो अभियानका लागि १ अर्ब ३५ करोड रुपैयाँ लागत लाग्ने छ भने ६३ लाख मात्रा खोप सबै जिल्लामा वितरण गरिसकेको जनाइएको छ । कुनैपनि बालबालिका दादुरा-रुबेलाका कारण जोखिममा नपरुन् भन्ने उद्देश्यले अभियान सञ्चालन गर्न लागेको जनाइएको छ ।
‘बोनम्यारो ट्रान्सप्लान्ट युनिट’ बनाउँदै क्यान्सर अस्पताल
चितवन । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा चार शय्याको बोनम्यारो ट्रान्सप्लान्ट युनिट निर्माण गरिने भएको छ । चीन सरकारको आर्थिक सहयोगमा युनिट निर्माण गर्न लागिएको हो । अस्पतालका कार्यकारी निर्देशक डा शिवजी पौडेलका अनुसार युनिट निर्माणका लागि जग्गाको नापजाँच गरिएको छ । उनले भने, ‘सर्भे सकेर चीन सरकारलाई ड्राफ्ट पठाएका छौँ, अब परियोजना अघि बढ्छ ।’ एघार करोडको लागतमा युनिट निर्माण गर्न लागिएको हो । चिनियाँ प्राविधिकहरूसँग यस विषयमा छलफल गरिएको उनले बताए । अर्बुद रोग ९क्यान्सर०का कारण बोनम्यारो फेर्नुपर्ने बिरामीलाई विदेश जानबाट रोक्न यो काम गर्न लागिएको हो । बोनम्यारो फेर्न नेपालबाट मासिक १०-१२ जना भारत जाने गरेको उनले बताए । युनिट सञ्चालनमा आएपछि विदेश जानुपर्ने बाध्यता हट्ने उनको विश्वास छ । निर्माण सुरु गरेको दुई वर्षमा काम सम्पन्न गरेर सेवा सुरु गर्ने योजनामा अस्पताल रहेको छ । बोनम्यारो ट्रान्सप्लान्ट युनिट अस्पतालले जग्गा उपलब्ध गराएर चिनियाँ सरकारको लगानीमा निर्माण गरिने उनले बताए । भवन निर्माणदेखि आवश्यक सम्पूर्ण उपकरण, दक्ष प्राविधिक, प्राविधिकलाई तालिमसम्मका काममा चीन सरकारले सहयोग गर्नेगरी काम अघि बढाइएको कार्यकारी निर्देशक पौडेलले बताए । रासस