काठमाडौं । सरकारले दादुरा-रुबेला खोप अभियान सञ्चालन गर्ने भएको छ । सरकारले काठमाडौं उपत्यका, चितवन लगायत देशभरका २७ वटा जिल्लामा उक्त अभियान सञ्चालन गर्ने भएको हो ।
कुनैपनि बालबालिका दादुरा-रुबेलाका कारण जोखिममा नपरुन् भन्ने उद्देश्यले अभियान सञ्चालन गर्न लागिएको जनाएको छ । सरकारले यही फागुन १३ गतेदेखि १६ गतेसम्म ९ महिनादेखि १५वर्ष उमेर समूहका बालबालिकालाई दादुरा-रुबेला र ९ महिनादेखि ५ वर्ष मुनिका दादुरा-रुबेलासहित अन्य छुटेका सबै खोपहरू लगाउने जनाइएको छ ।
दादुरालाई कोभिडभन्दा पनि संक्रमण मान्न सकिने डाक्टर भुवन पौडेलको भनाइ छ । उनका अनुसार दादुरा लागेको एकजना संक्रमित व्यक्तिबाट १८ देखि २० जनासम्मलाई सार्ने जोखिम हुन्छ । यसले विगतमा महामारी ल्याएपनि अहिले भने महामारी ल्याएको छैन । निवारणका लागि नेपालले प्रयास गरिरहेको छ ।
दादुरा-रुबेला खोप विशेषगरी ९ महिनादेखि ५ वर्ष मुनिकालाई लगाइन्छ तर, विशेष अभियानमा १५ वर्ष सम्मकालाई पनि खोप लगाइने जनाइएको छ । नेपालमा दादुरा खोपको सुरुवात सन् १९८८ देखि भएको हो । त्यसबेलादेखि नियमित खोप सेवाको माध्यमबाट बालबालिकाहरूलाई ९ महिना उमेरको बालबालिकालाई खोप दिइँदै आएको थियो ।
सन २०१५ देखि नियमित खोपसेवामा दादुरा रुबेला खोपमो दोस्रोमात्र दिन सुरुवात गरियो । जुन १५ महिनाको उमेरमा दिन थालियो ।
नेपालले विश्वसामु सन २०२६ सम्म नेपाललाई दादुरा-रुवेला मुक्त गर्ने प्रतिबद्धता जनाएको छ । तर त्यो समयभित्र दादुरा-रुवेला मुक्त गर्न भने नेपाल सामु चुनौती रहेको विज्ञहरू बताउँछन् । नेपालले २०१९ मा दादुरा-रुवेला मुक्त गर्ने लक्ष्य राखेको थियो, त्यो समूह सारेर २०२३ मा राखियो तर, पनि नसकेकाले २०२६ भित्र निवारण गर्नुपर्ने बाध्यात्मक अवस्था भएको छ ।
खोप नलगाउने बालबालिको संख्या बढ्दै
जन्मेपछि १५ महिनाभित्र सात पटक स्वास्थ्य संस्था जानुपर्छ । त्यहाँ गएर १३ प्रकारका विरुद्धको नि:शुल्क खोप बालबालिकालाई लगाउनुपर्ने हुन्छ । अहिले कुनैपनि खोप नपाएका बालबालिकाको संख्या बढेको देखिएको छ । नेपाल डेमोग्राफी हेल्थ सर्वेस २०२२ ले ४ प्रतिशत बालबालिकाले कुनैपनि खोप नपाएको देखाएको छ । २०१६ मा कुनैपनि खोप नपाउने १ प्रतिशत थियो तर, अहिले बढेर चार प्रतिशत पुगेको छ । सात पटक स्वास्थ्य संस्था गइ लगाउनुपर्ने निशुल्क खोप पनि २० प्रतिशतले नलगाएको तथ्यांकले देखाएको छ । यस्ता व्यक्ति कहाँ छुटेका छन् भनेर राज्यले सुक्षम योजना बनाउन सकेको छैन । बालबालिकाले खोप नलागउँदा खेर जाने अवस्था पनि उत्तिकै रहेको छ ।
दादुरा के हो ?
दादुरा एक प्रकारको संक्रामक रोग हो । यो आरएनए भाइरसबाट लाग्ने गर्दछ । यो भाइरस मानिसमामात्र सर्ने र छिटो सर्ने अतिसंक्रामक भाइरस हो । यो रोगले छिट्टै महामारीको रुप लिन्छ । यो रोग कुनैपनि उमेरसमूहका व्यक्तिलाई लाग्न सक्छ । तर, ५ वर्ष मुनिका बालबालिकामा यो रोग धेरै हुने गरेको छ ।
सर्ने तिरका
दादुरा संक्रामक भएको व्यक्तिको नाक तथा घाँटीमा यसको भाइरस हुन्छ । नाक तथा घाँटीमा विृद्धभइ यसले श्वासप्रस्वास नली एवम् शरिरका अन्य भित्री अंगहरूमा संक्रमण गर्छ ।रोगीको खकार, सिगाँनको सम्पर्कमा आउँदा वा रोगीले हाच्छिउँ गर्दा निस्कने छर्काहरू हावाको माध्यमबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्दछ ।
लक्षणहरू
दादुरा रोगको पहिलो चिन्ह ज्वरो आउनु हो । १० देखि १२ दिनसम्म ज्वरो आउँछ ।
ज्वरोसँगै रोगीको नाकबाट पानी बग्ने, खोकी लाग्ने वा आँखा राता हुने लक्षणहरू देखापर्छन्।
शरीरमा राता बिमिराहरू देखापर्छन् ।
सबैभन्दा पहिले बिमिरा अनुहार, कानको पछाडि र गर्दनको माथिल्लो भागमा देखापर्छन् । बिस्तारै हात खुट्टामा पनि देखापर्छन् ।
जटिलताहरू
झाडापखाला लाग्ने ।
कान पाक्ने ।
मष्तिष्कमा कडा खालको सुजन हुने ।
कम्पन आउने ।आँखामा समस्या भइ अन्धोपन हुने ।
जटिलताको कारणबाट बिरामीको मृत्युपनि हुन सक्छ ।
बच्ने उपाय ः यसबाट बच्न दादुरा बिरुद्धको खोप लगाउनु नै सबैभन्दा भरपर्दो विषय हो ।
के हो रुबेला रोग ?
रुबेला आरएन ए (टोगाभाइरस) बाट लाग्ने संक्रामक रोग हो । यो भाइरसबाट संक्रमण हुँदा दादुरामा जस्तै बिमिराहरू देखा पर्ने र हल्का ज्वरो आउन सक्छ । यो रोग बालबालिका र वयस्कहरूमा देखा पर्न सक्छ ।
सर्ने तरिका
यो रोगको भाइरस शरीरमा प्रवेश गरेको १४ दिनपछि रुबेला रोगका लक्षण र चिन्हहरू देखा पर्छन् ।
यो रोगको पहिलो लक्षण शरीरमा राता बिमिरा आउनु हो । ज्वरो आउने, घाँटीका ग्रन्थीहरू बढ्ने गर्छ ।
बिमिरा आउँदा सुरुमा अनुहारमा, त्यसपछि शरीरका विभिन्न भागमा आउने र तीन दिनपछि आफै हराउँदै जाने गर्छन् ।
जटिलताहरू
हाड जोर्नीहरू सुन्निने, दुख्ने ।
रक्तश्राव हुने ।
मष्तिष्कमा कडा खालको सुजन हुने ।
गर्भावस्थामा संक्रमण भएमा गर्भपतन हुने वा मृत सिसु जन्मिने ।
उपचार ः दादुरा जस्तै यो रोगबाट बच्न पनि खोप सबैभन्दा प्रभावकारी हो ।