४० वर्षदेखि दरबन्दी नखोल्दा कर्मचारी अभावमा तड्पिदै अस्पताल, विदेशिँदै तयार जनशक्ति

काठमाडौँ । वीर अस्पतालको भीड देख्दा लाग्छ मुलुकभरका नागरिक यही अस्पतालमा छन् । कोही लाइनमा, कोही डाक्टरको पर्खाइमा त कोही अस्पतालको प्राङ्गणमा घाम तापिरहेको भीडले लाग्छ यो देशमा स्वस्थ कोही पनि छैनन् । कोही सामान्य बिरामी त कोही व्हीलचेयरमा तलमाथि गराउनु पर्ने । हुन त यस्तो दृश्य सबै अस्पतालमा देखिन्छ । तर, वीर अस्पतालमा जस्तो थेगी नसक्नुको भीड अन्त सायदै हुन्छ । वीर अस्पतालमा पुगेका सबैको गुनासो एउटै छ, ‘समयमै उपचार पाइँदैन ।’ कानको उपचारका लागि वीर अस्पताल पुगेकी धनगढीकी अञ्जलीलाई अस्पतालले चार महिनापछि पालो पाइने बताएपछि उनी अहिले वीरमा उपचार गराउनेकी नगराउने भन्ने दोधारमा छिन् । उनी भन्छिन्, ‘सस्तो हुन्छ भनेर यो वीरमा आइयो । तर, पालो चार महिनापछि मात्र पाइने भयो, अब निजी अस्पताल जानुको विकल्प छैन ।’ यस्ता पीडा लिएर आएका बिरामीहरू वीर अस्पतालमा सयौं बिरामीहरू भेटिन्छन् । कतिपय स्वास्थ्यकर्मीको अभावमा त कतिपय बेडको अभावमा वीरको स्वास्थ्य सेवा लथालिंग छ ।  नेपालको संविधानले स्वास्थ्यलाई मौलिक अधिकारको रूपमा राखेको छ । सबै नागरिकलाई स्वस्थरूपमा जिउने पाउने अधिकार भएपनि नेपालीले उपचार नपाएरै ज्यान गुमाउनु परेको छ । नागरिकले सरकारी अस्पतालमा सुलभरूपमा नपाएको गुनासो गरिरहेको बेला अस्पताल भने जनशक्तीको अभाव रहेको प्रतिक्रिया दिन्छन् । दरबन्दीको अभाव   वीर अस्पतालमा नेपाल सरकार तर्फको ६ सय ८७ दरबन्दी छ । तर, कार्यरत कर्मचारी भने ४ सय ८६ मात्रै छन् । जसमा १ सय ७१ चिकित्सकको दरबन्दीमा १ सय ६७, १ सय ८६ नर्सिङ तर्फको दरबन्दीमा १ सय ६४ र अन्य तर्फ ३ सय ३० जनाको दरबन्दीमा १ सय ५५ जना मात्र कार्यरत छन् । यहाँ अझै २ सय १ दरवन्दी रिक्त छ । वीर अस्पतालको पुल दरबन्दी तर्फ ८ सय ३१ जनाको दरबन्दी रहेकोमा २ सय ७३ जना कार्यरत छन् । त्यहाँ अझै ५ सय ८८ पद रिक्त छ । जसमा १ सय ४३ चिकित्सकको दरबन्दीमा २७ जनामात्र कार्यरत छन् । नर्सिङतर्फ ५ सय ८८ जनाको दरबन्दीमा २ सय ८८ जना कार्यरत छन् । यस्तै, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान तर्फ ६ सय ७० जनाको दरबन्दी रहेकोमा ५ सय ३८ मात्र कार्यरत छन् । त्यहाँ पनि १ सय ३२ कर्मचारीको अभाव छ । त्यहाँ चिकित्सक तर्फ १ सय ११ जनाको दरबन्दीमा १ सय जना र नर्सिङ तर्फ १ सय ४५ जनामा १ सय १३ मात्र कार्यरत छन् । आवश्यक कर्मचारीको अभावले उपचारमा सेवा प्रवाहमा समस्या देखिएको अस्पतालको भनाइ छ । वीर अस्पतालमा काम गर्ने स्वास्थ्यकर्मी नहुँदा बेड संख्या पनि घटाइएको बुझिएको छ । वीरको जस्तै हालत थापाथलीमा रहेको परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको पनि छ । आवश्यक जनशक्ति नहुँदा गुणस्तरीय सेवा दिन नसकेको अस्पतालले जनाएको छ । अस्पतालका सूचना अधिकारी रानु थापा दरबन्दी अनुसारको जनशक्ति नै अस्पतालमा नरहेको बताउँछिन् । त्यो अस्पतालमा नेपाल सरकार र विकास समितिको गरी कुल कर्मचारीको दरबन्दी संख्या ६ सय २८ छ । तर, अहिले २ सय २१ जना कार्यरत छन् । जसमा ३० जना कन्सलटेन्टको दरबन्दीमा २० जना कार्यरत रहेका छन् । यस्तै ४२ जना मेडिकल अफिसरमा १३, १ सय ७३ नर्सिङस्टापमा ४१ जना र पारामेडिक्स ल्याव ३७ जनाको दरबन्दी रहेको ठाउँमा ७ जनामात्र कार्यरत रहेका छन् । सूचना अधिकारी थापाले दरबन्दी अनुसार पुर्ति नभएका पदमा करारबाट कर्मचारी राखिएको बताइन् । उनी भन्छिन्, ‘एक त सरकारले दरबन्दी नै थपेको छैन, अर्को भएकै दरबन्दी पनि पुर्ती नहुँदा समस्या भएको छ ।’ कान्तिबाल अस्पतालको समस्या पनि त्यस्तै छ । अस्पतालमा २ सय ६४ दरबन्दी रहेकोमा १ सय ६१ जना स्वास्थ्यकर्मीमात्र कार्यरत छन् । त्यहाँ १ सय ३ जना कर्मचारी अझै आवश्यक छ । जसमा ९३ जना मेडिकल अधिकृतको दरबन्दी रहेकोमा हाल ५६ जना मात्र कार्यरत रहेका छन् । ३७ जनाको दरवन्दी रिक्त छ । यस्तै, १ सय ९० नर्सिङ स्टाफको दरबन्दीमा १ सय ७३ कार्यरत छन् भने १७ जनाको पद रिक्त छ । तथ्यांक नै छैन अहिले संघ, प्रदेश र स्थानीय तह गरी नेपालमा ७ सय ६१ सरकार छन् । तर, एउटा सरकारले अर्को सरकारसँग समन्वय नगर्दा स्वास्थ्यकर्मीको तथ्यांकको विषयमा पनि सरकार जानकार छैन । अहिले नेपालमा स्वास्थ्य क्षेत्रमा कति कर्मचारी छन् भन्ने तथ्यांक आफूसँग नरहेको स्वास्थ्य मन्त्रालय बताउँछ । नेपालमा स्वास्थकर्मीको दरबन्दी कति र हाल कति कार्यरत छन् भन्ने तथ्यांक मन्त्रालयसँग छैन । समायोजन पहिलेको तथ्यांक अनुसार देशमा ३१ हजार ६ सय ५० दरबन्दी छ । त्यसमा चौथो, पाँचौ र छैटौ तहको २८ हजार ७ सय ६७, सातौ र आठौको १५ सय ४९, नवौँ र दशौँको एक हजार ४९, एघारौंको २ सय ८२, र १२ औ तहको तीन वटा दरबन्दी छ । तर, यो अवधिमा कतिपय रिटायर्ड, ,कसैले राजनीनामा दिँदा अहिले करिब २५ हजार हजारसम्म मात्र स्वास्थ्यकर्मी कार्यरत छन् । स्थानीय र प्रदेशमा खाली रहेका सिटमा प्रदेश लोकसेवा आयोग ‘फङ्गसनिङ्ग नभएकाले नयाँ लिन पाएको छैन । केहीले लिएपनि थोरै मात्र लिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रकाश बुढाथोकी बताउँछन् । बुढाथोकीका अनुसार संघमा भने तत्काललाई दरबन्दी खालिको अवस्था छैन । ‘समायोजन हुँदा पनि धेरैले संघ नै रोजे,’ उनी भन्छन्, ‘केही रिटायर्ड भएको ठाउँमा खालि छ, त्यसमा हामीले रेगुलर मागिरहेका छौं, यो पटक लोक सेवा आयोगबाट फाइल बढुवा, खुल्ला सबै गरेर एघारौं तहको ३० जना, नवौं तहको १ सय ९ जना, आठौँ तहको १ सय ५० देखि दुई सय जनासम्म कर्मचारी मागेको छौं, अहिले लोकसेवा आयोगले काम गरिरहेको छ ।’ ६७ हजार जनशक्ती अभाव नेपालको संविधानले हरेक नागरिकलाई निःशुल्क आधारभूत स्वास्थ्य सेवा प्रदान गर्ने, आकस्मिक स्वास्थ्य सेवाबाट पनि कसैलाई बञ्चित नगराउने, भनेको छ । विश्व स्वास्थ्य संगठनले प्रति १० हजार जनसंख्यामा ४९ स्वास्थ्यकर्मी (डाक्टर, नर्स र मिडवाइफ) हुनुपर्ने मापदण्ड तोकेको छ । विश्व स्वास्थ्य संगठनको मापदण्ड र नेपालको संविधान अनुसार मुलुकमा अहिले ९२ हजार १ सय ६७ आवश्यक स्वास्थ्यकर्मी आवश्यक हुन्छ । तर, नेपालमा दरबन्दी ३१ हजार र कार्यरत २५ हजार स्वास्थ्यकर्मी छन् । अहिले ६७ हजार बढी स्वास्थ्यकर्मी नेपालमा आवश्यक छन् । जसका कारण एक जना स्वास्थ्यकर्मीले चार जना बराबरको काम गर्नु परेको मन्त्रालयका प्रवक्ता बुढाथोकीले बताए । उनका अनुसार यही कारण अस्पतालमा जाँदा बढी भीड देखिने, स्वास्थ्यकर्मी झर्कने गरेको पाइन्छ । ‘नेपालको संविधान र जनस्वास्थ्य ऐनमा धेरै कुरा लेखियो । तर, त्यही अनुसारको जनशक्ति, पूर्वाधार भएन,’ उनी भन्छन्, ‘४० वर्ष पहिले नेपालको जनसंख्या एक करोड हुँदा जति जनशक्तिले सेवा दिएको थियो अहिले तीन करोड पुग्दा पनि त्यही जनशक्तीले सेवा दिनु परेको छ ।’ स्वास्थ्य मन्त्रालयले लविङ गर्ने, माग गर्ने काम निरन्तर गरिरहेको बताउँदै प्रवक्ता बुढाथोकीले सामान्य प्रशासन, अर्थमन्त्रालयमा गएका फाइल उतै रोकिएको बताए । चिकित्सा शिक्षा आयोगले गरेको एक अध्ययनअनुसार ६३ हजार ८ सय ८ जनशक्तिको अभाव देखिएको छ  । आार्थिक वर्ष ०७७/७८ को मेडिकल जनशक्ति र व्यवस्थापनलाई आधार मानेर गरेको अध्ययनले हाल २ लाख ५७ हजार २ सय ३ मेडिकल जनशक्ति आवश्यक रहेकामा २ लाख ११ हजार ९ सय ७७ मात्रै कार्यरत रहेको पाइएको बताएको छ । यो तथ्यांक सरकारी र निजी स्वास्थ्य संस्था दुवैको हो । नेपालमा सरकारी अस्पताल करिब ९ हजार छन् । प्रत्येक वडामा गरी ६ हजार ७ सय ४३ स्वास्थ्य चौकी, बिरामी नै भर्ना गर्न मिल्ने अस्पताल भने दुई हजार मात्र छन् । सरकार र कर्मचारीमा स्थिरता नहुँदा समस्या जब राष्ट्रिय आयोगको बैठक, अर्थमन्त्रालयमा बैठक हुन्छ तब स्वास्थ्य मन्त्रालयले स्वास्थ्यमा जनशक्ति अभावको कुरा उठाउँछ । तर, सम्बन्धित निकायमा सचिव र कर्मचारी फेरबदल हुँदा समस्या भोग्नु परेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । ‘आज आएको सचिवलाई दुई/तीन महिना लगाएर यो विषयमा बुझाउँछौ,’ उनी भन्छन्, ‘हुन्छ नी अब केही गरौँ भन्ने बेला हुन्छ, उहाँको सरूवा हुन्छ, यसले पनि समस्या भएको छ ।’ स्वास्थ्य क्षेत्रका जानकारहरू स्थायी सरकार नहुँदा पनि यो विषय प्राथमिकतामा नपरेको बताउँछन् । स्वास्थ्यजस्तो संवेदनशिल क्षेत्रमा पनि सरकारको ध्यान नपुगेको भन्दै उनीहरूले आपत्ती जनाएका छन् । हजारौं जनशक्ति उत्पादन स्वास्थ्य संस्थामा जनशक्तिको आवश्यक भइरहेको बेला देशमा भने वार्षिक हजारौं जनशक्ति काम गर्नका लागि तयार भइरहेको छ । तर, अस्पतालमा समस्या झन बढ्दै गइरहेको छ । अस्पतालमा एकजना चिकित्सकले ३० जना बिरामीलाई हेर्नु पर्ने बाध्यता छ । अन्तरंग बाहिरंगदेखि इमरजेन्सीमा सेवा सहज छैन । नेपाल चिकित्सक संघका अध्यक्ष डा. अनिल कार्की यो विषयमा आवाज उठाए पनि सुनुवाई नै नभएको बताउँछन् । मुलुकमा स्वाथ्यकर्मीको अभाव हुनु भनेकै दरबन्दी नै नथप्नु भएको उनी बताउँछन् । ‘स्वास्थ्यमा प्राथमिकता पूर्वाधार, जनशक्ति र मेसिन हो, पूर्वाधारको पनि कमी छ, मेसिन प्रयोग गर्ने जनशक्ति पनि छैन, जनशक्ति थप्ने विषयमा सरकारले चासो देखाएको छैन,’ उनले भने । डा.कार्की कुल बजेटको १० प्रतिशत बजेट स्वास्थ्यमा छुट्याउनु पर्ने र सो १० प्रतिशत बजेटको ३३ प्रतिशत जनशक्तिमा खर्च गर्नु पर्ने बताउँछन् । आफूहरूले लामो समयदेखि यस्तो माग गरे पनि सुनुवाई नभएको उनको भनाइ छ । ९० वटा शिक्षण संस्थाबाट पढाइ नेपालमा वर्षेनी हजारौं डाक्टर, नर्स र अन्य स्वास्थ जनशक्ती पढाइ सकेर बजारमा निस्कन्छन् । देशभरका ९० वटा शिक्षण संस्थामा चिकित्सा शिक्षा पढाइ हुन्छ । त्यहाँ प्रमाणपत्रदेखि विद्यावारिधी सम्म पढाइ हुन्छ । स्नातक, स्नातकोत्तर, मेडिकल नर्सिङ, फार्मेसी, आयुर्वेद लगायतमा गरी प्रत्येक वर्ष ६ हजार ५ सय विद्यार्थी भर्ना हुन्छन् । प्राविधिक शिक्षा तथा व्यावसायीक तालिम परिषद् सिटीभिटी अन्तर्गतका २ सय ८५ वटा शिक्षण संस्थामा ११ विधामा प्रमाणपत्र तहको पढाइ हुन्छ । यसबाट ५ हजार बढी जनशक्ती उत्पादन हुन्छ । चिकित्सा शिक्षा आयोगका अनुसार प्रमाणपत्र तहदेखि विद्यावारिधिसम्म वर्षेनी १२ हजार जनशक्ती उत्पादन हुन्छ । अहिले स्नातक तहमा ८ हजार ७ सय ३० जना विद्यार्थी पढाउन सक्ने क्षमता नेपालमा छ । नेपाल मेडिकल काउन्सिलमा अहिलेसम्म एमबीबीएसमा ३० हजार, बिडिएसमा ४ हजार ८ सय ८३ जना चिकित्सक दर्ता भएका छन् । विशेषज्ञ चिकित्सकको संख्या भने १० हजार ५ सय ८८ छ । नेपाल नर्सिङ काउन्सिलमा अनमीदेखि विशेषज्ञ नर्ससम्मका १ लाख ५ हजार जनशक्ति दर्ता छन् । यीमध्ये कति नेपालमा छन् भन्ने एकिन तथ्यांक भने कुनै पनि निकायसँग छैन । यस्तै, आयुर्वेद तर्फ ५ हजार ६ सय १४ जना छ । नेपाल स्वास्थ्य व्यवसाय परिषदमा १ लाख ३७ हजार ६ सय ८३ जनशक्ती दर्ता छ । चिकित्सा शिक्षा आयोगका अनुसार आर्थिक वर्ष २०७७/७८ देखि चालुआवको फागुनसम्म एमबीबीएस अध्ययनका लागि १६ सय ७२ र विशेषज्ञ चिकित्सकका लागि ५ सय ९२ र नर्सिङका लागि तीन सय ५० ले वैदेशिक अध्ययनको अनुमति लिएका छन् । सरकारले तालमेल मिलाउन नसक्दा कामका लागि तयार भएका जनशक्तिले काम नपाएर विदेश जान विवश छन् ।

किन आयो अधिकांश बच्चाले चस्मा लगाउनुपर्ने अवस्था ?

काठमाडौं । काठमाडौंकी आन्ना मानन्धर १३ वर्षकी भइन् । उनी अहिले वृहष्पति विद्या सदनमा अध्ययन गर्छिन् । आन्ना कक्षा ७ को परिक्षा दिएर रिजल्टको प्रतीक्षामा छिन् । १३ वर्षकी उनलाई चस्मा नलाउँदा भने अक्षर देख्न मुस्किल पर्छ । जन्मदा उनको आँखामा कुनै समस्या थिएन । तर, जब मोबाइल चलाउन थालिन उनको आँखामा समस्या आउन थाल्यो । आन्नाकी आमा रानु कोभिड– १९ को महामारीमा विद्यालय बन्द हुँदा अनलाइनबाट कक्षा सुरु भएपछि आन्नाले मोबाइल ल्यापटप चलाउन थालिनपछि उनको आँखामा समस्या देखिएको बताउँछिन् । साँझ बिहान अनलाइनमार्फत पढ्ने र फुर्सदमा मोबाइलमै गेम खेल्ने उनको दैनिकी नै बन्यो । जसका कारण उनको आँखाबाट पानी आउने, टाउको दुख्नेजस्ता लक्षण देखिन थाल्यो । कोभिडपछि विद्यालय सञ्चालमा आयो । विद्यालय जान थालेपछि आन्नाले शिक्षकले बोर्डमा लेखेका मधुरो देख्न थालिन् । आन्नाले आफ्नो समस्या घरमा आमाबुवालाई सुनाइन् । आमाले आँखा जचाउन अस्पताल पुर्याइन् । डाक्टरले उनलाई चस्मा लगाउन सल्लाह दियो । कक्षा ४ मा पढ्दै गर्दा चस्मा लगाउन सुरु गरेकी उनले अहिले माइनस २.७८ पावरको चस्मा लगाएकी छिन् । ‘चस्मा लगाउँदा सबै देख्छु, टाढाको कुरा पनि स्पष्ट देख्न सकिन्छ, उनी भन्छिन्, ‘चस्मा नलगाउँदा अन्धकार हुन्छ केही देख्दिनँ, सुत्ने समयभन्दा बाहेक चस्मा लगाउनै पर्छ ।’ अन्ना आफुसँग पढ्ने धेरै साथीहरू पनि चस्मा लगाएरै आउने गरेको बताउँछिन् । उनी भन्छिन्, ‘मेरा कोही साथीहरू चस्मा नलगाउँदा पनि अक्षर देख्छन् तर, म चस्मा खोल्दा अक्षर नै चिन्दिनँ ।’ बर्दियाका अंकित गिरीको अवस्था पनि अन्नाको जस्तै छ । चस्मा नलगाउँदा उनी अक्षर चिन्नमात्र होइन देख्न सक्दैनन् । ७ वर्षदेखि चस्मा लगाउन सुरु गरेका अंकित अहिले १४ वर्षका भए । यूनाइटेड स्कुलमा कक्षा ८ मा पढिरहेका उनी पनि चस्माको साहाराबाटै अक्षर हेरिरहेका छन् । सानैदेखि आँखामा समस्या हुँदा छोराले चस्मा लगाउनुपरेको अंकितकी आमा ललिता गिरी बताउँछिन् । अंकित कक्षा दुईमा पढ्दै आँखामा समस्या भएको थियो । धनगढीको गेटा आँखा अस्पतालका डाक्टरलाई देखाउँदा चस्मा लगाउनुपर्ने बताएपछि सानैदेखि चस्मा लगाउन सुरु गरेको उनी बताउँछिन् । अंकितले पछिसम्मै चस्मा लगाउनुपर्ने चिकित्सकको भनाइले ललितालाई भने चिन्ता लागेको छ । ‘भएको एउटा सन्तान उही हो, अहिलेदेखि नै चस्माबिना पढ्न त के हिँड्नै गाह्रो हुन्छ,’ ललिताले भनिन् । आजभोलि धेरैजसो बालबालिकाले चस्माको भरमा उज्यालो देखिरहेका छन् । समयमै समस्या पत्ता लगाइ अस्पतालमा पुगेका बालबालिका चस्माको भरमा भए पनि कतिपय अभिभावक भने समयमै अस्पताल नपुग्ने गरेको चिकित्सकहरू बताउँछन् । प्रायः बालबालिका जन्मेदेखि ७ वर्ष उमेरमा पुग्दा आँखासम्बन्धी समस्या धेरै हुन्छ । यस्तो अवस्थामा कतिपय अभिभावकले समयमै बच्चालाई अस्पताल पुर्याउँछन् भने कतिपयले त्यस्ता समस्यालाई वास्ता नगरेको पाइन्छ । जसका कारण बच्चाले जीवनभरि अन्धकारमा बस्नुपर्ने बाध्यता हुन्छ । उपचारमा आउने धेरै बालबालिकालाई समस्याबाट मुक्त हुन चस्मा लगाउनुपर्ने हुन्छ । तर, कतिपय अभिभावक नै छोराछोरीलाई चस्मा लगाइदिन तयार हुँदैनन् । आँखारोग विशेषज्ञ डाक्टर बेन लिम्बुले आफ्नो अनुभव सुनाउँदै अभिभावकको लापरबाहीले बच्चाको आँखा अल्छी भएको बताउँछन् । केही वर्ष पहिले एक अभिभावक तीन वर्षको छोराको आँखाको समस्या लिएर अस्पताल पुगे । उनले बालकलाई चस्मा लगाउन सल्लाह दिए । तर, ती बच्चा ८ वर्षको हुँदा उनै अभिभावक बच्चा लिएर फेरि अस्पताल पुगे । ती डाक्टरले जाँच गर्दा बच्चाको आँखाको ज्योति गुमिसकेको थियो । गुमिसकेको आँखाको ज्योति फर्किने सम्भावना लगभग शुन्य हुन्छ । बच्चाको अविभावकले चस्मा लगाउन नदिँदा यस्तो समस्या देखिएको डाक्टरले पत्ता लगाए । सानो उमेरमा चस्मा लगाउँदा अरुले हेला गर्ने, यसको बच्चा कमजोर रहेछ भन्ने डरले चस्मा लगाउन नदिएको उदाहरण दिँदै डाक्टरले अस्पताल आउने अभिभावकलाई परामर्शको बढी आवश्यक्ता हुने गरेको बताए । नेपालमा बालबालिकामा देखिने प्रमुख स्वास्थ्य समस्यामध्ये आँखाको रोग पनि प्रमुख हो । यस्ता स्वास्थ्य समस्याको समाधान भनेकै नियमित चस्मा लगाउनु हो । तर, अधिकांश अविभावकमा सानै उमेरमा चस्मा लगाउँदा झन् समस्या थपिने त्रासमा हुने गरेको चिकित्सकहरू बताउँछन् । आँखारोग विशेषज्ञ डाक्टर लिम्बु बच्चा जन्मेको ६ महिनादेखि एक वर्षको उमेरभित्र आँखाको परीक्षण गर्नुपर्ने बताउँछन् । त्यसपछि स्कुल जाने उमेर ४ देखि ५ वर्षको उमेरमा परीक्षण गराउनुपर्छ । उनका अनुसार यदि बच्चा समय नपुगी ५–६ महिनामै जन्मिएमा वा नवजात शिशुलाई लामो समय अस्पतालमै राख्नु परेमा जन्मेको एक महिनाभित्रै आँखाको परीक्षण गर्नु अनिवार्य हुन्छ । आँखामा देखापर्ने समस्या विशेषगरी बालबालिकामा देखिने आँखाको समस्यामा दृष्टि दोष, आखाँ चिलाउने, छड्केपन, आँखा पाक्ने, सुख्खा आँखा र जन्मजात देखिने मोतियाविन्दु र आँखाको लोति झर्ने आदि हुन् । यी सबै आँखामा देखिने रोगको समयमै उपचार गरिएन भने बालबालिकाको आँखा अल्छि हुन सक्छ । जसलाई अल्छि आखाँ भन्ने गरिन्छ । नेपालमा यो रोग देखापर्ने गरेको छ । अल्छि आँखाको दृष्टि कमजोर हुने हुनाले कमजोर आँखा नै त्यसको प्रमुख लक्षण हो । त्यसैले उपचारमा चस्मा लगाइन्छ तर चस्मा लगाए पनि आँखामा दृष्टि भने आउँदैन । अल्छि आँखा हुँदा आँखाको गेडी दुख्ने र चाँडै थाक्ने, एकछिन पढ्नेबित्तिकै मधुरो देख्ने, टाउको दुख्ने र आँसु बग्ने हुन्छ । पढ्ने बेला किताबलाई आँखा नजिकै लैजाने, आँखा चिम्सो पार्ने र कहिलेकाँही छड्के हेर्नुपर्ने हुन्छ । नजिकै गएर टेलिभिजन हेर्ने बानी छ भने अल्छी आँखाको शंका गर्न सकिने डा. लिम्बु बताउँछन् । चश्मा लगाएर गरिने उपचार नियमित चस्मा लगाउनाले बालबालिकामा स्पष्ट देख्न सक्ने क्षमताको क्रमिक विकास हुँदै जान्छ । चस्माको नियमित प्रयोग तथा भिजन थेरापी गरी अल्छि आँखाको उपचार गर्न सकिन्छ । तिनीहरूलाई आँखाको प्रयोग गराएर अर्थात् पढ्ने, लेख्ने, कम्प्युटर चलाउने, गेम खेल्ने, चित्र कोर्ने, रंग भर्ने दृष्टिसँग सम्बन्धित क्रियाकलाप गराएर दृष्टिमा सुधार गर्न सकिन्छ । काठमाडौंको मच्छेगाउँका ८ वर्षका आरुस खतिवडाले पनि ७ वर्षको उमेरमा चस्मा लगाउनुप¥यो । तर, तीन महिनापछि उनको आँखाको पावर आफैं बढ्दै गयो र चस्माको नियमित आवश्यकता परेन । उनकी आमा मीना खतिवडाले नियमित परिक्षण र उपचारपछि अहिले छोराले चस्मा लगाउन नपर्ने अवस्था आएको बताइन् । आरुस अहिले चस्मा नलगाएरै अक्षर स्पष्ट देख्छन् । तर, उनको आँखाको परिक्षण भने बेलाबेला गराउनुपरेको मीनाले बताइन् । बालबालिकाको आँखा जटिल हुन्छ चिकित्सकका अनुसार बालबालिकाको आँखा एकदमै जटिल हुन्छ । ठूलो मान्छे र बच्चाको आँखामा फरक हुन्छ । बच्चाको आँखाको दृष्टि विकास बच्चा जन्मदादेखि नै हुँदैन । जन्मेपश्चात बिस्तारै आँखा देख्ने गतिमा विकास भएको हुन्छ । बच्चा जन्मेदेखि ७ वर्षको उमेरमा तीव्र गतिमा दृष्टि विकास हुन्छ । त्यो उमेरमा बच्चाको आँखा कुनै कारणले कमजोर छ वा चस्मा लगाउनुपर्ने छ भने त्यो बेला नलगाएको खण्डमा पछि जिन्दगीभर अन्धोपनको सिकार हुनुपर्ने आवस्था हुनसक्छ । बच्चा जन्मेदेखि ७ वर्षभित्रको समय बच्चाहरूको आँखाको दृष्टिको लागि महत्वपूर्ण समय हभएको डा. लिम्बु बताउँछन् । कतिपय रोग जन्मेको एकदेखि तीन महिनामा आँखालाई शिथिल बनाएर दृष्टि गुम्ने पनि हुन्छ । यस्ता समस्यालाई समयमै पहिचान गरेर उपचार गरिएन भने पछि यसको उपचार गर्दा पनि प्रभावकारी नहुने उनको भनाइ छ । डा. लिम्बुका अनुसार बच्चाहरूमा ७ वर्ष अगाडि आएको समस्या ८ देखि ९ वर्षमा आएर उपचार गर्न खोज्दा निको हुँदैन । अहिले दृष्टि विकास रोकिएका धेरै बालबालिका अस्पताल पुग्ने गरेका छन् । आँखाको ढकनी सानो भएमा उसको दृष्टि रोकिन्छ । डा. लिम्बु भन्छन्, ‘ग्याजेटहरूको धेरै प्रयोगले केही हदसम्म यो समस्या बढ्यो होला तर, विश्वमा नै बालबालिका आँखामा समस्या थियो र छ, पहिले बालबालिकाको आँखा स्वास्थ्यमा राम्रो पहुँच थिएन, अहिले अभभिावकलाई नै यो विषयमा सचेत छन् ।’ प्रविधिको प्रयोगबाट कसरी बच्ने ? आजभोलि विद्यार्थीको पढाइ नै प्रविधिबाट हुने गरेको छ । यो विषयमा विद्यालयका शिक्षकले पनि ध्यान दिनुपर्छ । बच्चालाई पछाडि राख्दा उसले देख्दैन भन्छ, आँखा मिचिराख्छ भने परिक्षण गर्न सल्लाह दिनुपर्ने डाक्टर बताउँछन् । ‘मोबाइल, कम्प्युटर प्रयोग गर्दा आँखा ड्राई हुन्छ,’ उनी भन्छन्, ‘यो ड्राइनेस आफैंले आँखा बन्द गराउने अवस्था ल्याउँदैन तर त्यसले आँखा दुख्ने, आँखा पोल्ने, बच्चालाई निन्द्रा राम्रोसँग नलाग्ने कहिलेकाहीँ मानसिक सन्तुलनसम्मा पनि असर पार्छ ।’ लामो समयसम्म मोबाइल ग्याजेट चलाएर बस्ने बच्चाको आँखा तुलनात्मक हिसाबले दुर दृष्टिमा असर परेको अध्यनले देखाएको छ । त्यसैले बच्चाको नियमित आँखा परिक्षणमा अभिभावकले ध्यान दिनुपर्ने डा. लिम्बु सल्लाह दिन्छन् ।

जगदम्बा स्टील्सद्धारा सेती प्रादेशिक अस्पतालमा प्रविधियुक्त अक्सिजन प्लान्ट हस्तान्तरण

काठमाडौं । जगदम्बा स्टील्सले धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा ठुलो क्षमताको प्रविधियुक्त नयाँ अक्सिजन प्लान्ट निःशुल्क उपलब्ध गराएको छ । कम्पनीले इन्फिनिटी फाउन्डेसनसँगको साझेदारीमा सहयोग स्वरुप हस्तान्तरण गरी एक समारोहबीच उद्घाटन गरेको हो । दुई संस्थाहरू बीचको यो सहकार्यले सामुदायिक कल्याणप्रतिको समर्पण मात्र नभई स्वास्थ्य सेवाको महत्वपूर्ण आवश्यकतालाई पनि सम्बोधन गर्दछ । अक्सिजन आवश्यक परेका विरामीहरूलाई समयमै अक्सिजन उपलब्ध गराउन स्थापना गरीएको यस अक्सिजन प्लान्टले स्थानीय समुदाय लगायत समग्र सुदूरपश्चिमका नागरिकलाई प्रभावकारी चिकित्सा सेवा सुनिश्चित गर्दै बिरामीहरूको सेवा गर्ने अस्पतालको क्षमतामा उल्लेखनीय वृद्धि गर्नेछ । यस पहलले पक्कै पनि स्वास्थ्य क्षेत्रमा अक्सिजन जस्तो अपरिहार्य तत्वको विद्यमान संकटलाई सम्बोधन गरि अस्पतालको पूर्वाधारलाई बलियो बनाउन ठूलो मद्दत गर्ने कम्पनीको विश्वास छ । उद्घाटन समारोहमा सेती प्रादेशिक अस्पताल, धनगढीका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. खगेन्द्रराज भट्ट, सेती प्रादेशिक अस्पताल व्यवस्थापन समितिका अध्यक्ष नरबहादुर शाह (निर्मल) तथा जगदम्बा स्टील्स लिमिटेडका जनसम्पर्क उपाध्यक्ष कृष्णदत्त भट्ट; कानून प्रबन्धक (कम्पनी सचिव विजय तिमल्सेना र जगदम्बा स्टील्सका बिक्री प्रतिनिधि नवीन पाण्डे लगायत विशिष्ट अतिथिहरूको उपस्थिति रहेको थियो ।