होलीमा खेलिएको रंगले छालालाई कस्तो असर पार्छ ?
काठमाडौं । होली रंगहरूको पर्व हो । रंग एकआपसमा लगाउँदै, खुसीयाली साँटासाँट गरि मनाइन्छ । तर नेपालमा आवश्यक मात्रा भन्दा धेरै रंग दल्ने गरिन्छ । टाढाबाट लोला हान्ने, कपाल, आँखा, मुखमा जताततै रंग पोतिन्छ । यसरी होलिमा लगाइने रंग भने स्वास्थ्यका लागि हानिकारक हो । हामीले ध्यान नदिँदा एक, दुई दिनको रमाइलोले भोलिको दिनसम्म असर पर्ने छाला रोग विशेषज्ञहरूको भनाइ छ । छाला शरीरको महत्वपूर्ण मानिन्छ । रंगले एलर्जी हुने मात्र नभइ छालामै असर पनि गर्ने गर्छ । होलीका लागि अहिले बजारमा आएका रंगहरू खतरनाक रसायन मिसाइएको हुन्छ । जुन हाम्रो छालाको लागि खतरा हुन्छ । यसले छालामा एलर्जी गराउँछ । जसका कारण छाला चिलाउने, पोल्ने, दुख्ने, बिमिरा आउने, पानी बग्ने, घाउ हुने, छालामा किटाणुको संक्रमण हुने, सेतो दुबी बढाउने हुन्छ । यतिमात्र हैन रंगमा मिसाइएको मेटल र केमिकलको प्रयोगले छालाको क्यान्सरसम्म गराउन सक्छ । होलीका लागि बजारमा आएका कालो, हरियो, निलो रंगमा विभिन्न प्रकारका हानिकारक तत्त्वहरु हुन्छन् । छालामा मात्र हैन रंगको असर आँखामा पनि उत्तिकै पर्छ । आँखा विशेषज्ञका अनुसार रंगमा हुने केमिकल र मेटलहरुका कारण आँखा रातो हुने, आँखाको कोर्नियामा घाउ हुने सम्भावना हुन्छ । ‘हरियो रंग कपर सल्फेट, बैजनी रंग क्रोमियम आयोडाइड, चम्किलो रंग एल्मुनियम ब्रोमाइड, नीलो रंग पर्सियन ब्लु र रातो रंग मर्करी सल्फेटबाट बन्छ । यी रसायनहरू मानव स्वास्थ्यका लागि अति हानिकारक हुन्छ । त्यसैले होलीमा एकअर्कालाई रंग दल्दा सभ्यताका साथ लगाउनुपर्ने विशेषज्ञहरू बताउँछन् । रंग खेल्नु अगाडि के गर्ने ? हेलिमा रंग खेल्न निस्कनु अघि छालामा राम्रोसँग मोस्चराइजर वा भ्यासिल्न लगाउने । शरीर पुरै ढाक्ने गरी कपडा लगाउने । कपालमा राम्रोसँग तेल लगाउने अथवा टोपी लगाउने । नङमा नेलपालिस लगाउने । आँखामा रंग पस्न नदिने, यसका लागि चस्मा लगाउने । शरीरका कुनै भागमा काटेको वा घाउ भएको ठाउँछ भने त्यसमा टेप लगाएर बन्द गर्ने । रंग खेल्ने क्रममा पटक पटक मुख धोइराख्नुपर्छ । होली खेलिसकेपछि रंग कसरी पखाल्ने ? नुहाउनु अघि शरीरमा भएको सबै सफा कपडाले पुछ्नुपर्छ । शरीरमा भएको रंग हटाउन मनतातो पानीको प्रयोगमा सावुन लगाएर बल नलगाइ पखाल्ने । पानीमा कागतीको झोल,दही,बेसार मिसाएर सफा गर्ने । आँखा सफा गर्दा नमाडेर बिस्तारै छ्याप छ्याप गरेर पखाल्ने । रंगबाट टाढा कसले रहने ? रंगहरू जति हेर्दा रंगिन र रमाइलो देखिन्छ त्यत्तिकै छाला र कतिपय बिरामीहरूका लागि खतरनाक मानिन्छ । मिर्गौलाको समस्या भएका व्यक्तिले रंगबाट टाढै रहनुपर्छ । मानसिक अशक्तता भएका, स्मरण शक्ति कम भएका, स्वासप्रस्वासमा समस्या भएका, दम रोग भएका र क्यान्सर रोगीले होलीको रंगबाट टाढा रहनु नै राम्रो हुने विश्लेषकहरू बताउँछन् ।
महिलामा बिकराल बन्दैछ पाठेघरको मुखको क्यान्सर, संक्रमण रोक्न एचपीभी खोप लगाइँदै
काठमाडौं । पाठेघरको मुखमा हुने क्यान्सरबाट जोगाउन किशोरीलाई दोस्रो मात्राको एचपीभी खोप लगाउन सुरु गरिएको छ । पहिलो खोप लगाइसकेका १४ वर्ष पूरा भई १५ वर्ष नकटेका किशोरीलाई दोस्रो मात्रामा खोप लगाउन सुरु गरिएको स्वास्थ्य सेवा विभाग अन्र्तगतको परिवार कल्याण महाशाखाको बाल स्वास्थ्य तथा खोप शाखाले जनाएको छ । खोप शाखाका प्रमुख अभियान गौतमका अनुसार सातवटै प्रदेशमा खोपको पहिलो मात्रा लगाइसकेका किशोरीलाई खोप लगाइनेछ । चैत ६ गतेदेखि सुरु भएको कर्यक्रम १५ गतेसम्म लगाइने छ । जसअनुसार चैत ६ गते लुम्बिनी प्रदेशको भेरी अस्पताल, ७ गते कोशी प्रदेशको कोशी अस्पताल विराटनगर, मधेशको नारायणी अस्पताल विरगञ्ज, गण्डकीको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र कर्णालीको प्रदेश अस्पताल विरेन्द्रनगरमा खोप कार्यक्रम सुरु भएको छ । यस्तै बागमती प्रदेशको परोपकार प्रसुति तथा स्त्री रोग अस्पताल र सुदूुरपश्चिमको डडेल्धुरा अस्पतालमा चैत १५ गते खोप लगाइने छ । पहिलो मात्रा खोप लगाएका ९ हजार ९ सय ९९ किशोरीलाई दोस्रो मात्रा लगाउन थालिएको हो । किशोरीहरूले खोप लगाउन पहिलो खोप लगाएको केन्द्रमै जानु पर्नेछ । सरकारले चीन सरकारसँग महिलाको पाठेघरको मुखमा हुने क्यान्सरविरुद्धको २० हजार मात्रा खोप खरिद गरेको थियो । १० हजार मात्रा पहिलो पटकको अभियानमा लगाइएको थियो भने बाँकी मात्र दोस्रो पटक लगाइने भएको हो । यो खोपको दुवै मात्रा लगाएपछि पाठेघरको मुखमा हुने क्यान्सरको सङ्क्रमणबाट ९५ प्रतिशत सुरक्षा प्रदान गर्ने दाबी गरिएको छ । यसअघि सरकारले सन् २०१६/१७ मा पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप नमुनाका रूपमा चितवन र कास्कीमा लगाएको थियो । बाँकी रहेका किशोरीलाई आगामी दिनमा खोप लगाइने शाखाले जनाएको छ । महिलामा बिकराल पाठेघरको मुखको क्यान्सर आजभोली स्वास्थ्य संस्थामा पुग्ने धेरै जसो महिलामा पाठेघरको मुखको क्यान्सर भएको पाइन्छ । यो समस्या महिलामा विकरालरूपमा देखिएको छ । पाठेघरको मुखको क्यान्सर ह्युमन प्यापपिलोमा भाइरस (एचपीभी) एउटा भाइरसको संक्रमणका कारण लाग्ने गर्छ । साथै, धेरै पुरुषसँग सम्पर्क राख्दा पनि यो रोग लाग्छ भने कम उमेरमा धेरै सन्तान जन्माउने महिलाहरूमा पनि यस्तो समस्या देखिने गर्छ । जुनसुकै अंगमा सामान्य भन्दा धेरै कोषीका बढ्नु राम्रो होइन, यो हुनु भनेको क्यान्सर हो । पाठेघरमा पनि असामान्यरूपमा कोषहरू वृद्धी हुँदा क्यान्सर हुन्छ । डिम्बाशयको क्यान्सर र पाठेघरको मुखको क्यान्सरपछि पाठेघरको क्यान्सर नै प्रजनन् प्रणालीको क्यान्सरबाट हुने मृत्युको तेस्रो कारक तत्व हो । पाठेघरको मुखको क्यान्सरका कारण नेपालमा वर्षेनी दुई हजार देखि तीन हजार महिलाको मृत्यु हुने गरेको छ । के हो एचपीभी ? ह्युमन प्यापिलोमा (एचपीभी) एउटा भाइरस हो । यो सानो र सामान्य डीएनए भाइरस हो । यसले शरीरका भित्री अङ्गको सतहमा हुने झिल्लीमा रहेको कोशिकामा सङ्क्रमण गर्छ । अहिलेसम्मको अध्ययन अनुसार महिलाहरूको पाठेघरमा लाग्ने क्यान्सरको प्रमुख कारण एचपीभी हो । यसका अनगिन्ती प्रजातिहरू हुन्छन् । पाठेघरको मुखमा हुने क्यान्सर मध्ये ९५ प्रतिशत बढी क्यान्सर यसले गराउँछ । सामान्यतया यसको सङ्क्रमणले कुनै लक्षण देखाउँदैन । तर, कुनै कुनैले भने शरीरमा ‘मुसा’ उत्पन्न गराउँछ । संक्रमण भएको बेलैमा थाहा नहुँदा शरीरको प्रतिरोध प्रणालीले कुनै उपचारबिना नै भाइरस सखाप पारिदिन्छ । यो भाइरस छालाको सम्पर्कबाट सर्छ । अझै भन्नुपर्दा यौन क्रियाकलापको माध्यमबाट महिलामा सर्ने गर्दछ । तर, यो संक्रमित व्यक्तिको यौनांगको छाला श्लेष्म झिल्ली (म्युकस मेम्ब्रेन) वा तरल पदार्थ (सेक्रेसन)सँगको सम्पर्क मार्फत् पनि सर्ने हुन्छ । यसको संक्रमण पुरुष र महिला दुवैमा हुन्छ । लक्षणहरू के हुन् ? सुरुमा त यो संक्रमण भएको धेरैलाई थाहै हुँदैन । तर, बिस्तारै तल्लो पट दुख्ने, अनियमित रुपमा रगत बग्ने, गन्हाउने पानी बग्ने लक्षणहरू देखा पर्दछन् । यसको संक्रमण भएको आफैं थाह हुँदैन । यसका लागि स्वास्थ्य संस्थामा गइ पाठेघरको मुखको पानीको परीक्षण गर्नुपर्छ । कसरी हुन्छ रोकथाम ? यो संक्रमण असुरक्षित यौन सम्पर्कबाट हुने भएकाले सुरक्षित तबरले सम्पर्क राख्नुपर्छ । यो संक्रमणबाट बच्ने भरपर्दो उपचार भनेको एचपीभी विरुद्धको खोप नै हो । यौन सम्पर्क राख्ने उमेर भन्दा पहिले नै किशोरीलाई खोप लगाउनुपर्छ । यो खोप लगाउँदा कुनै असर पर्छ ? कुनैपनि खोप लगाउँदा कतिपयलाई यसले असर गर्छ । प्रायः खोप लगाइसकेपछि ज्वरो आएको महसुस हुन्छ । एचपीभी खोपले पनि किशोरीहरूमा केही समस्या देखिन सक्छन् । यो खोप लगाइसकेपछि खोप लगाएको ठाउँमा दुख्ने, सुन्निने, टाउको दुख्ने, वाकवाकी लाग्ने, थकान महसुस हुने, रिँगटा लाग्ने, ज्वरो आउने, एलर्जी रियाक्सन हुने हुन्छ । यी असरहरू सामान्य हुने भएकाले पछि आफैं निको हुन्छ । तर, यस्ता असरहरू रहिरहेमा वा गम्भीर लक्षणहरु देखिएमा तुरुन्त स्वास्थ्य संस्थामा सम्पर्क गर्नुपर्छ ।
कोरोना भाइरस सङ्क्रमण दर बढ्दै, सातामै २१ जनामा देखियो
सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा पछिल्ला हप्तामा कोरोना भाइरसको सङ्क्रमण दर उकालो लाग्न थालेको छ । स्वास्थ्य निर्देशनालय दिपायलको तथ्याङ्कका अनुसार पछिल्लो आठ दिनमा प्रदेशमा २१ जना कोरोना भाइरस सङ्क्रमित फेला परेका छन् । यसअघि गत फागुन १२ देखि ३० गते सम्मको १८ दिनमा २६ जनामा कोरोनाको सङ्क्रमण देखिएको थियो । कोरोना सङ्क्रमित बढ्दै गएपनि यो रोगको रोकथाम र निगरानीका लागि त्यति चासो देखिएको पाइदैन । कोरोना भाइरसको सङ्क्रमण बढेको भए पनि यसको रोकथाममा त्यति चासो नदेखाइएको गौरीफन्टा सीमानास्थित ‘हेल्थ डेस्क’का अहेब गणेश साउदले बताए । हेल्थ डेस्कमा एन्टिजेन विधिबाट कोरानाको नमुना जाँच हुने गरेको छ । ‘देशका अरु नाकामा यो रोगका सङ्क्रमित देखिएका छैनन्, सुदूरपश्चिमका नाकामा कोरोनाका बिरामी फेला परेका छन्’ उनले भने । कोरोनालाई नागरिकले सामान्य रुपमा लिँदा स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउनमा चासो नदिने गरेको पाइएको पनि छ । धनगढीका स्थानीयवासी लेखराज ओझाले भने ‘कुनै समयमा गाउँमा हैजा, झाडापखाला लाग्दा रोगी नजिक जानु नहुने र रोगबाट जोगिन स्वस्थ्य व्यक्ति गाउँनै छोडेर सुरक्षित भएर बस्नुपर्ने अवस्था थियो, नागरिकले अहिले कोरोनालाई पनि सामान्य रोगजस्तै लिन थालेको हुनसक्छ ।’ पछिल्लो हप्तामा सुदूरपश्चिमका सीमा नाकाहुँदै भित्रिने नागरिकमध्ये शङ्कास्पद छ सय २० को एन्टिजेन विधिबाट को नमुना जाँच गरिएको छ ।’सिकिस्त अवस्थाका कोरोना सङ्क्रमित फेला परेका छैनन्’ अहेब साउदले भने ‘कोरोनाको लक्षण देखिएकालाई घरमै छुट्टै आइसोलेशनमा बस्न सल्लाह दिएर पठाउने गरेका छौँ ।’ हेल्थ डेस्कमा कोरोनाको नमुना जाँच गर्ने कीट, लगायतका सामग्रीको अपर्याप्तता देखिएको छ । प्रदेशमा विगतमा कोरोना सङ्क्रमितको उपचार व्यवस्थापनका लागि बनाइएका क्वारेन्टाइन, र होल्डिङ सेन्टर प्रयोगविहीन अवस्थामा छन् । गौरीफन्टा, गड्डाचौकी, लगायतका सीमा नाका हुँदै भित्रिने नागरिकमा कोरोना सङ्क्रमण देखिने गरेको हो । गएको पुस अघिको आठ/दश महिना शून्य रहेको कोरोना सङ्क्रमण गत पुस महिनादेखि पुनःदेखिन थालेको हो । ‘हेल्थ डेस्कका कर्मचारीलाई गत साउन देखिको तलब परिश्रमिकसमेत खान पाएका छैनन्,’ साउदले भने ‘तलब नपाउँदा कर्मचारीले पीडाबोध गरिरहेका छन्, हेल्थ डेस्कमा एन्टिजेन कीट, मास्क लगायतका सामग्री पनि पर्याप्त नहुँदा काम गर्ने मनोबल पनि घटेको छ ।’ सेती प्रादेशिक अस्पताल धनगढीका मेडिकल सुपरिटेन्डेन्ट डा शेरबहादुर कमरले कोरोना सङ्क्रमण रोकथामका लागि निरन्तर निगरानी भइरहेको बताए । उनले भने,’यो मौसममा भाइरलको समस्या बढ्ने भएकोले सबैले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाइ सचेतता अपनाउन जरुरी छ ।’ रासस