फत्तेवाल आँखा अस्पतालमा उपचारका लागि भारतीय बिरामी
जानकी । भारत श्रावस्ती चिरैयारानीसिरका ६२ वर्षिय अमेरिकाप्रसाद यादव आँखाको उपचारका लागि नेपालगञ्ज–६ फुलटेक्रा स्थित फत्तेवाल आँखा अस्पताल आएका छन् । उनले गत शुक्रबार देब्रे आँखाको शल्यक्रिया गराए । उनले यसअघि पनि दाहिने आँखाको शल्यक्रिया यही अस्पतालमै गराइसकेका छन् । यादव श्रावस्तीमा आँखा अस्पताल नभएर यहाँ आएको भने होइन । ‘जिल्लामा दुई वटा आँखा अस्पताल छन् । तर यहाँ जस्तो गुणस्तरीय सेवा जस्तो छैन’, उनले भने, ‘म मात्रै होइन परिवारका अन्य सदस्य र साथीहरु पनि आँखाको यहीँ उपचारका लागि आउने गरेका छन् ।’ नेपाल नेत्र ज्योति सङ्घ, बाँके शाखाले सञ्चालन गरेको उक्त अस्पतालका अनुसार यादव मात्रै होइन, उपचारका लागि यहाँ आउने भारतीयहरुको सङ्ख्या उल्लेख्य छ । अस्पतालका प्रबन्ध निर्देशक डा कौशलकुमार बर्माका अनुसारमा अस्पतालमा नेपालीसँगै भारतीयहरुको पनि विश्वास बढ्दो छ । ‘स्थापनाकालदेखि नै अस्पतालमा उपचारका लागि आउने भारतीयको सङ्ख्या उल्लेख्य छ’, उनले भने, ‘नेपाली र भारतीय बिरामीहरुको सङ्ख्या बराबरी जस्तै छ ।’ छिमेकी देश भारतबाट मात्रै होइन टाढाका बिकट पहाडी जिल्लाबाट पनि बिरामीहरु अस्पतालमा आउने गरेका छन् । जुम्लाका ६४ वर्षे मुनबहादुर बुढा क्षेत्री आँखाको शल्यक्रियाका लागि गत शुक्रबार अस्पतालमा आएका छन्। पतारासी गाउँपालिका–५ माथिल्लो लोर्पाका क्षेत्रीले आँखाको उपचारका लागि अस्पताल भरपर्दो लागेकाले यहाँसम्म आएको सुनाए । ‘उहिल्यै २०५० सालतिर देब्रे आँखाको मोतियाबिन्दुको शल्यक्रिया यही अस्पतालमा गरेको थिएँ’, उनले भने, ‘आजसम्म यो आँखामा कुनै समस्या आएको छैन । त्यही विश्वासले अहिले अर्को आँखाको उपचारका लागि यहाँ आएको हुँ ।’ क्षेत्रीको जस्तै अस्पतालप्रतिको विश्वास बाँके बैजनाथ–५ बनकट्टिका देउमा बुढामगरको पनि छ । आँखाको शल्यक्रिया गर्न यहाँ आएका उनले भने, ‘आँखाको शल्यक्रियाका लागि धेरैले अन्यत्रै जान सुझाव दिएका थिए । तर मलाई यहीँ अस्पतालमा विश्वास लागेर आएकी हुँ ।’ लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाका साथै भारतका बहराइच, गोण्डा, श्रावस्ती, गोरखपुर, लखिमपुर, सीतापुर, बाराबङ्की, लखनउ, अयोध्या, फैजाबाद तथा सुल्तानपुरलगायतबाट पनि बिरामीहरुले अस्पतालमा सेवा लिनका लागि आउन गरेका छन् । विसं २०४३ सालमा स्थापना भएको उक्त आँखा अस्पताल स्थापना भएको वर्षदेखि हालसम्म २७ लाख ४६ हजार पाँच सय १४ जनाको आँखाको परीक्षण तथा उपचार गरिसकेको डा बर्माको भनाइ छ । उनका अनुसार दुई लाख ७९ हजार छ सय ९६ जना बिरामीको आँखाको शल्यक्रिया गरिएको छ । हाल अस्पतालमा दैनिक सरदर चार सयको हाराहारीमा आँखाका बिरामीहरु उपचारका लागि आउने गर्दछन् । ‘यहाँ वार्षिक एक लाख ४० हजार बिरामीको आँखा परीक्षण गरिनुका साथै आँखाको उपचार समेत भइरहेको छ’, डा बर्माले भने, ‘अस्पतालले वार्षिक १० हजारभन्दा बढी बिरामीको आँखाको शल्यक्रिया गर्दै आएको छ ।’ सुरुवातमा १० शय्या क्षमताको अस्पतालले हाल दुई सय ५० शय्यामार्फत सेवा दिइरहेको छ । अस्पताल अन्तर्गत विभिन्न जिल्लामा पाँच वटा आँखा उपचार केन्द्र सञ्चालनमा छन् । सो अस्पतालले निःशुल्क आँखा शिविर पनि सञ्चालन गर्दै आएको छ । रासस
मुस्ताङ भित्रने पर्यटक र तिर्थयात्रीको स्वास्थ्य परीक्षण
म्याग्दी । मुस्ताङ भित्रने पर्यटक र तीर्थयात्रीको स्वास्थ्य परीक्षण गर्न थालिएको छ । गण्डकी प्रदेश प्रहरी अस्पताल पोखराले जिल्ला प्रहरी कार्यालय मुस्ताङसँग समन्वय गरेर घरपझोङ गाउँपालिका–४ जोमसोमस्थित पर्यटक प्रहरी चोक पोष्ट परिसरमा आइतबार शिविर स्थापना गरेर स्वास्थ्य परीक्षण गर्न थालेको हो । प्रहरी नायब उपरीक्षक भोजराज पाण्डेले तीर्थयात्रा, भ्रमण, पदयात्रा र अवलोकनका लागि मुस्ताङ आउने आन्तरिक तथा बाह्य पर्यटकको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर शिविर सञ्चालन गरिएको जानकारी दिए । ‘चैते दसैंको सोह्र श्राद्ध तिथि पारेर कागबेनीमा पिण्डदान र मुक्तिनाथ दर्शनका लागि तीर्थयात्रीका साथै अनुकूल मौसमसँगै विद्यालय र विभिन्न संघसंस्थाबाट मुस्ताङ घुम्न आउनेको चाप बढेको छ,’ उनले भने, ‘लेक लाग्ने (अक्सिजन कमी हुने), बिरामी हुने, ढल्ने जस्ता समस्या सृजना भई मानवीय क्षति हुन सक्ने भएकाले स्वास्थ्य परीक्षण गर्न थालिएको हो ।’ जिल्ला प्रहरी कार्यालयको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८०÷८१ को हालसम्ममा दुई नेपाली र ६ विदेशी नागरिकको मुस्ताङमा लेक लागेर मृत्यु भएको छ । पछिल्लो तीन वर्षमा लेक लागेर २८ जनाले ज्यान गुमाएका छन् । ज्यान गुमाउनेमा अधिकांश समुन्द्री सतहदेखि तीन हजार आठ सय मिटर उचाइमा रहेको मुक्तिनाथ दर्शनका लागि आएका तीर्थयात्री हुन् । एक हप्तासम्म सञ्चालन हुने शिविरमा अशक्त, ज्येष्ठ नागरिक र दीर्घरोगीको स्वास्थ्य परीक्षण गरी परामर्श तथा प्राथमिक उपचारको व्यवस्था मिलाइएको छ । प्रदेश प्रहरी अस्पताल गण्डकीका स्वास्थ्य अधिकृत डा. मृदुषा श्रेष्ठको नेतृत्वमा तीन स्वास्थ्यकर्मी खटिएको सो शिविर सञ्चालन गर्न मुस्ताङ अस्पतालले प्राविधिक सहयोग गरेको छ । समुन्द्री सतहदेखि दुई हजार पाँच सय मिटरभन्दा माथिको उचाइमा अक्सिजनको कमीले स्याँ स्याँ हुने, टाउको दुख्ने, वाकवाकी हुने, रिङ्गटा लाग्ने, आँखा धमिलो हुने, निद्रा नलाग्ने, खान मन नलाग्ने, फोक्सो सुन्निने, स्मरण शक्ति हराउँदै जाने र सास फेर्न गाह्रो हुन्छ । प्रहरीले म्याग्दीको सिमानामा रहेको घाँसामा पनि पर्यटक र तीर्थयात्रीलाई अक्सिजनको कमीका कारण हुने स्वास्थ्य समस्याका बारेमा सचेतनामूलक कार्यक्रम गरेको छ । मुस्ताङका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले प्रहरीको स्वास्थ्य शिविर र सचेतनामूलक कार्यक्रमले अक्सिजनको कमीका कारण मानवीय क्षति न्यूनीकरणमा सहयोग पुग्ने अपेक्षा गरिएको बताए । मुस्ताङमा आइतबार एक हजार दुई सय सात सवारीसाधनमा ११ हजार एक सय ९२ नेपाली र तीन सय ४७ बाह्य पर्यटक भित्रिएको प्रहरीको तथ्यांक छ । शनिबार चार सय ३७ सवारीसाधनमा तीन हजार पाँच सय २७ नेपाली र चार सय ५६ विदेशी पर्यटक भित्रिएका थिए ।
कोशीका २३ लाख नागरिक स्वास्थ्य बीमामा आबद्ध
मोरङ । सरकारले नागरिकको स्वास्थ्य उपचारका लागि ल्याएको स्वास्थ्य बीमा कार्यक्रम विश्वमा सबैभन्दा न्यून रकममा स्वास्थ्य सेवा भएको सहभागीहरूले बताएका छन् । स्वास्थ्य बीमा बोर्ड कोशी प्रदेशद्वारा ‘स्वास्थ्य सेवामा सर्वव्यापी पहुँचका लागि स्वास्थ्य बीमा’ आठौँ स्वास्थ्य बीमा वार्षिकोत्सवको उपलक्ष्यमा आज यहाँ आयोजित कार्यक्रममा सहभागी वक्ताले स्वास्थ्य सेवा संस्थाले सहज र सरल रुपमा सेवा प्रवाह गर्नुपर्ने तथा बीमितले अनावश्यक स्वास्थ्य परीक्षण गरी सेवाको दुरुपयोग गर्न नहुने धारणा राखे । उनीहरूले राज्यले धेरै ठूलो अपेक्षा राखी सुरु गरेको यस कार्यक्रमलाई हामी सबैले सफल गरी संरक्षण गर्नुपर्ने बताए । कार्यक्रममा डा. शंकरप्रसाद अधिकारीले स्वास्थ्य बीमा कार्यक्रमले न्यूनतम रकममा अधिकतम स्वास्थ्य उपचार सेवा प्राप्त हुने भएकाले सम्पूर्ण नागरिकले बीमा गर्न आग्रह गरे । बोर्डका प्रदेश संयोजक अर्जुन पण्डितले बोर्डले मुलुकभरि गत वर्ष १६ अर्ब र चालु वर्षको आठ महिनाको अवधिमा चारपटक गरी आठ अर्ब रुपैयाँ सेवा प्रदायक स्वास्थ्य सेवा संस्थालाई भुक्तानी गरेको जानकारी दिए । कार्यक्रममा स्वास्थ्य बीमा कार्यक्रम लागू गर्ने विभिन्न स्वास्थ्य संस्थाका प्रमुख एवं प्रतिनिधिहरूको सहभागिता रहेको थियो । सोही अवसरमा विराटनगर–३ का उत्कृष्ट बीमा दर्ता सहयोगी विमला खनाललाई सम्मान गरिएको थियो । प्रदेशमा कूल बीमित परिवार संख्या चार लाख ४४ हजार नौ सय ११, कूल बीमित जनसङख्या २३ लाख नौ हजार आठ सय ५५ जना (४७ प्रतिशत), सेवा लिनेको बीमितको संख्या ११ लाख तीन हजार चार सय ३४ जना (४८ प्रतिशत) र नवीकरण गर्ने बीमितको संख्या ७७ दशमलव २९ प्रतिशत रहेको बोर्डद्वारा उपलब्ध तथ्यांकमा उल्लेख गरिएको छ । प्रदेश बोर्डअन्तर्गत सरकारी ८०, सामुदायिक चार र निजी २२ गरी एक सय ६ सेवा प्रदायक स्वास्थ्य संस्था आबद्ध रहेका छन् । हालसम्म नेपालमा ७७ लाख ४१ हजार चार सय ५३ जना (२२ दशमलव ५४ प्रतिशत) नागरिक स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध रहेका छन् । बोर्डले लक्षित वर्गबाहेक स्वास्थ्य बीमा सेवाको दुरुपयोग रोक्नका लागि सेवा प्रदान गर्ने स्वास्थ्य संस्थामा जम्मा रकमको १० प्रतिशत भुक्तानी गर्नुपर्ने व्यवस्था रहेको छ ।