काठमाडौं । कोभिड—१९ महामारीपछि नेपालमा आँखाका बिरामीहरु बढेका छन् ।
कोरोना भाइरसपछि बालबालिकाहरुमा पनि आँखाको रोग बढ्दै गएको तथ्यांक बाहिरिएको हो । नेपाल आँखा अस्पतालले आईतबार पत्रकार सम्मेलन गर्दै नेपालमा दिनप्रतिदिन आँखाका बिरामीहरु बढ्दै गएको भन्दै आँखाको हेरचाहमा ध्यान दिन आग्रह गरेको छ ।
पत्रकार सम्मेलनमा बोल्दै अस्पतालका सचिव यज्ञध्वज सापकोटाले अर्थिक वर्ष २०८१/०८२ को ८ महिनामा अस्पतालमा आँखाका बिरामी बढ्दै गएको बताए । उनले यो अवधिमा झन्डै १ लाख भन्दा बढीलाई उपचार सेवा दिएको बताए । इमर्जेन्सी सेवामार्फत २ हजार ७३५ जनालाई सेवा दिएको बताए । आँखाको रोग शुरुवाती उमेर र वृद्ध उमेरमा बढी देखिने भएपनि कोभिड १९ पछि बालबालिकाहरुमा धेरै मात्रामा रोग देखिएको बताए ।
उनले अस्पतालले १६ वर्ष उमेर पुगेका भन्दा कम उमेर समूहका १५ हजार भन्दा बढी बालबालिकाको यस आठ महिनाको अवधिमा उपचार गरेको बताए । ३ हजार ५ सय ९८ सर्जरी गरेको पनि बताए । अस्पताल आउन नसक्नेहरुलाई दूरदराजमै पुगेर आठ महिनाको अवधिमा ७२१ जनाको शल्यक्रिया गरेको बताए । दैनिक ४ सयदेखि ७ सय जना बिरामीहरुलाई बहिरंग सेवा दिने गरेको जानकारी दिए ।
‘यस अर्थिक वर्ष २०८१/०८२ को ८ महिनाको तथ्यांकअनुसार झन्डै १ लाख भन्दा बढीलाई उपचार सेवा दिइसकेका छाैँ । इमर्जेन्सी सेवामार्फत २ हजार ७३५ जनालाई सेवा दिएका छौँ । आँखाको रोग कस्तो हुन्छ भने हाम्रो उमेरको शुरुवातमा बढी समस्या हुन्छ, की प्रौढ अवस्थामा बढी समस्या हुन्छ । हाल यस अस्पतालमा आउने झन्डै दैनिक ४ सयदेखि ७ सय जना बिरामीहरुलाई बहिरंग सेवा दिने गरेका छौँ । विद्यार्थीहरुको आँखा जाँच गरी निःशुल्क परीक्षण गर्ने काम गरेका छौँ । फिजिकल स्पेस बढाउनेतर्फ हामीले सोचिरहेका छौँ’, उनले भने ।
उनले विद्यार्थीहरुको आँखा जाँच गरी विपन्नलाई निःशुल्क चश्मा वितरण गरेको पनि बताए । गत ८ महिनामा १५ हजार बढी विद्यार्थीहरुको आँखा परीक्षण गरी १ हजार भन्दा बढी विपन्न विद्यार्थीलाई चश्मा वितरण गरेको जानकारी दिए ।