एक करोडको लागतमा प्रसूतिसेवा भवन निर्माण
भोजपुर । भोजपुरको षडानन्द नगरपालिका–९ किमालुङमा सुविधासम्पन्न प्रसूतिसेवा भवन निर्माण भएको छ । जिल्लाको विकट यो गाउँमा एक करोड लागतमा भवन निर्माण गरिएको हो । भवन निर्माणसँगै सुत्केरी गराउन तथा स्वास्थ्य सेवा लिन छिमेकी जिल्ला सङ्खुवासभा जानुपर्ने बाध्यताको अन्त्य भएको छ । भवनमा आवश्यक उपकरण पनि जडान गरिएको छ । अब स्वास्थ्य सेवा लिन सहज भएको स्थानी वीरबहादुर तामाङले बताए । ‘यो दुर्गम ठाउँमा सुविधासम्पन्न स्वस्थ्य भवन बनेको छ, सेवा लिन सङ्खुवासभा जानुपर्ने बाध्यत्मक अवस्थाको अन्त्य भएको छ । अब राज्यले आवश्यक जनशक्ति व्यवस्थापनमा ध्यान दिन आवश्यक छ’, उनले भने । यो भवनबाट षडानन्द नगरपालिका वडा नं १०, ९, ८ र ३ का स्थानीयलाई प्रत्यक्ष लाभ पुग्ने वडाध्यक्ष निमा शेर्पाले बताए । नेपाल हेल्पिङ एजुकेशन फाउण्डेसन अफ नेपालको अनुदानमा एक करोड लागतमा केन्द्र स्थापना गरिएको हो । भवन निर्माणमा जर्मनीका दुई र स्वीटजरल्याण्डको एउटा संस्थाको सहयोग रहेको उनले जानकारी दिए। नवनिर्मित सात कोठाको भवनमा आवश्यक सम्पूर्ण आधुनिक उपकरण जडान गरिएको फाउण्डेसनका प्रबन्धक रामकुमार तामाङले बताए । ‘करिब रु एक करोड लागतमा भवनसँगै आवश्यक उपकरण जडान गरेका छौँ, यहाँ आवश्यक पर्ने जनशक्ति षडानन्द नगरपालिकाले व्यवस्थापन गर्ने सम्झौता गरेका छौँ । यहाँ शल्यक्रिया गरेर सुत्केरी गराउन सक्ने उपकरण जडान गरिएको छ । यससँगै अन्य स्वास्थ्य सेवा पनि प्रवाह गर्न सकिन्छ’, उनले भने । सम्झौताअनुसार जनशक्तिको व्यवस्थापन गरिने नगरपालिका प्रमुख सुरेन्द्रकुमार उदासले बताए । नवनिर्मित भवनलाई सरकारको स्वामित्वमा ल्याएर जनशक्ति व्यवस्थापनसँगै सञ्चालन गरिने उनले बताए । भवन निर्माण गर्न स्थानीय सुवास तामाङले निःशुल्क एक रोपनी जग्गा प्रदान गरेका हुन् । उनकै आमा पाक्तुरी मायाको नामबाट भवनको नामकरण गरिएको छ । रासस
हेपाटाइटिस भाइरसबाट दैनिक ३ हजार मानिसको ज्यान जाने गर्छ : डब्ल्यूएचओ
जेनेभा । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) ले हेपाटाइटिस भाइरसबाट हरेक दिन तीन हजार पाँच सयभन्दा बढी मानिस मर्ने गरेको र यो सङ्ख्या बढिरहेको मंगलबार चेतावनी दिएको छ । सङ्गठनले दोस्रो सबैभन्दा ठूलो सङ्क्रामक हत्यारा यस भाइरससँग लड्न छिटो कारवाही गर्न आग्रह गरेको छ । यस साता पोर्चुगलमा भएको विश्व हेपाटाइटिस शिखर सम्मेलनका साथ जारी डब्ल्युएचओको प्रतिवेदनअनुसार सन् २०२२ मा एक सय ८७ मुलुकको तथ्याङ्कले भाइरल हेपाटाइटिसबाट मृत्यु हुनेको सङ्ख्या १३ लाख पुगेको देखाएको छ । डब्ल्यूएचओको ग्लोबल एचआईभी, हेपाटाइटिस र यौन सञ्चारित सङ्क्रमण कार्यक्रम प्रमुख मेग डोहर्टीले यो डरलाग्दो प्रवृत्ति भएको बताए । प्रतिवेदनमा हेपाटाइटिस सङ्क्रमणबाट विश्वभर दैनिक तीन हजार पाँच सयको मृत्यु हुने गरेको र त्यसमा ८३ प्रतिशत हेपाटाइटिस बी र १७ प्रतिशत हेपाटाइटिस सीबाट हुने उल्लेख छ । प्रतिवेदनमा प्रभावकारी र सस्तो जेनेरिक औषधिले यस्तो भाइरसहरूको उपचार गर्न सकिने र सन् २०२२ मा पुरानो हेपाटाइटिस–बी बाट सङ्क्रमण भएकामध्ये तीन प्रतिशतले मात्र उपचार पाएको उल्लेख छ । हेपाटाइटिस–सीबाट सङ्क्रमितमध्ये २० बीस प्रतिशतको उपचार गरिएको थियो । ‘हेपाटाइटिसको सङ्क्रमणलाई रोक्न विश्वव्यापी रूपमा प्रगति भए पनि मृत्युदर बढ्दै गएको छ’, डब्ल्यूएचओ प्रमुख टेड्रोस अधानोम गेब्रेयससले एक विज्ञप्तिमा भने । अफ्रिकामा पाँचमध्ये एक शिशुलाई जन्मको समयमा खोप लगाइए पनि नयाँ हेपाटाइटिस–बी सङ्क्रमणको ६३ प्रतिशत मामिला देखिएको प्रतिवेदनमा उल्लेख छ । संयुक्त राष्ट्र एजेन्सी डब्ल्युएचओले प्रभावित देशहरूसँग जेनेरिक हेपाटाइटिस औषधिमा पर्याप्त पहुँच नभएकामा पनि दुःख व्यक्त गरेको छ । प्रतिवेदनअनुसार कूल हेपाटाइटिसका दुई तिहाइ केस बङ्गलादेश, चीन, इथियोपिया, भारत, इन्डोनेसिया, नाइजेरिया, पाकिस्तान, फिलिपिन्स, रुस र भियतनाममा छन् । सन् २०२५ सम्ममा यी १० देशमा हेपाटाइटिस रोकथाम गर्न र उपचारमा विश्वव्यापी पहुँच पुयाउन आवश्यक रहेको डब्ल्यूएचओले बताएको छ । रासस
व्यायाम गर्न अल्छी नगरौँ : मन्त्री श्रेष्ठ
काठमाडौं । युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले स्वास्थ्य जीवनशैलीका लागि नियमित शारीरिक व्यायाम गर्न आग्रह गरेका छन् । मंगलबार यहाँ आयोजित एक कार्यक्रममा नियमित व्यायामबाट शारीरिक एवं मानसिक स्वास्थ्य कायम राख्न सहज हुने उनले बताए । ‘आफ्नो शरीरका लागि केही समय छुट्याउनुभयो भने यसले स्वस्थ्य बनाउँछ । यसले हाम्रो स्वास्थ्य समस्यामात्र नभई मानसिक समस्या पनि कम गर्न मद्दत गर्छ । त्यसकारण व्यायाम गर्न अल्छी नगरौँ । साथै यस्ता जिम क्लबले खेलाडी लक्षित प्याकेजहरू बनाउनुपर्छ, यसले सामाजिक उत्तरदायित्व बहन गराउँछ’, मन्त्री श्रेष्ठले भने । त्यस अवसरमा मन्त्री श्रेष्ठसँगै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद असिम शाह, चलचित्र निर्देशक आशिफ शाह, चलचित्र पत्रकार सङ्घका पूर्वअध्यक्ष दिनेश सिटौलालगायत उपस्थित थिए ।