निजी स्वास्थ्य संस्थामा उपचार गराउँदा २० प्रतिशत तिर्नुपर्ने

काठमाडौं । स्वास्थ्य बीमा बोर्डको स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत आजदेखि निजी तथा सामुदायिक अस्पतालमा उपचार गर्ने बिमितले २० प्रतिशत रकम आफैले तिर्नुपर्ने भएको छ । बोर्डका कार्यकारी निर्देशक डा दामोदर बसौलाले आजदेखि निजी तथा सामुदायिक अस्पतालमा उपचार गर्ने विमितले उपचार खर्चको २० प्रतिशत रकम आफैले तिर्नुपर्ने (सहभुक्तानी) लागू गरिएको बताए । ‘अनावश्यक स्वास्थ्य परीक्षणलाई निरुत्साहित गर्न हामीले आजदेखि उपचार खर्चको २० प्रतिशत तिर्नुपर्ने नियम लागू गरेका छौँ’, उनले भने, ‘जसले गर्दा विमितले अनावश्यक स्वास्थ्यपरीक्षण नगराउने र बिरामी भएका विमित मात्र स्वास्थ्य बीमाबाट लाभान्वित हुनेछन् ।’ स्वास्थ्य बीमा कार्यक्रम सहभुक्तानी लागू गर्ने कार्यविधि २०८० संशोधन गरी बोर्डमा आबद्ध बिमितले निजी तथा सामुदायिक अस्पतालमा उपचार गर्ने बिरामीले २० प्रतिशत रकम उपचार खर्चबापत तिर्नुेपर्ने व्यवस्था लागू गरेको हो । बोर्डले यसअघि माघ १ गतेबाट सरकारी अस्पतालमा उपचार गरेबापत १० प्रतिशत रकम तिर्नुपर्ने नियम लागू गरेको थियो । उनले सरकारी अस्पतालको सक्षमता विकास गर्न र बिरामीलाइ सरकारी अस्पतालप्रति आकर्षित गराउन सहभुक्तानीको व्यवस्था लागु गरिएको बताए । कार्यकारी निर्देशक डा बसौलाका अनुसार सहभुक्तानी १५ शय्यासम्मका आधारभूत अस्पतालमा लागू हुँदैन । सङ्घीय तथा प्रादेशिक अस्पताल, विशेषज्ञ सेवा उपलब्ध भएका आधारभूत अस्पताल, निजी, सहकारी, सामुदायिक अस्पताल, मेडिकल कलेजमा सहभुक्तानी प्रणााली लागू हुने कार्यविधिमा उल्लेख छ । बीमा कार्यक्रममा कूल विमित सङ्ख्या ७७ लाख ४१ हजार चार सय ८३ जना र कूल विमितमध्ये सेवा लिनेको सङ्ख्या ३६ लाख ५२ हजार चार सय ३२ जना छन् । नवीकरण गर्ने बिमित ४८ लाख आठ हजार सात सय ६० रहेको छ । रासस

चिकित्सक नहुँदा हेटौंडा अस्पतालमा उपकरण थन्किए, समस्यामा बिरामी

हेटौंडा । हेटौंडा अस्पतालमा मुटुरोग विशेषज्ञ नहुँदा उपकरण थन्किका छन् । मुटुरोग चिकित्सक नियुक्त नहुँदा ती उपकरण थन्किएका अस्पताल सञ्चालक समितिका सदस्य उत्सव चौलागाईंले बताए । बिरामीको अत्यधिक चाप रहने अस्पतालमा चिकित्सक नभएर उपकरण थन्काउन बाध्य भएको बताउँदै सञ्चालक सदस्य चौलागाईंले चाँडोभन्दा चाडो चिकित्सक नियुक्तिका निम्ति सम्बन्धित निकायलाई घच्घच्चयाइरहेको बताए । उनले भने, ‘मुटुरोग विशेषज्ञको नियुक्तिका लागि गरिएको विज्ञापनमा एक जना चिकित्सकको आवेदन पर्यो तर उमेरका कारण उनलाई नियुक्ति दिन मिलेन । विज्ञापन भएका बेला निवेदन पर्दैनन् र परेका निवेदनमा पनि उमेर नपुग्ने, मापदण्ड पूरा नहुनेलगायत विविध समस्या आइलाग्छन् ।’ अन्य उपकरण अन्य विशेषज्ञबाट पनि चलाउन सकिने तर मुटुरोगका उपकरण मुटुरोग विशेषज्ञबाहेकले चलाउन नसक्ने भएकाले चिकित्सक नियुक्तिबिना उपकरण प्रयोगमा ल्याउन कठिन भएको उनको भनाइ छ । अस्पतालले स्त्रीरोग विशेषज्ञ सेवा सञ्चालन गरेपछि मधेस प्रदेशबाट सुत्केरी हुन आउनेको सङ्ख्यामा वृद्धि भइरहेको छ । हाडजोर्नी, छालारोग, सघन उपचार कक्षलगायत सेवा पनि उपलब्ध भएकाले अस्पतालमा बिरामीको चाप बढेको सदस्य चौलागाईंले बताए । रोटरी क्लब अफ मकवानपुरको सहयोगमा आठ महिनाअघि ल्याइएको रु एक करोडको उपकरण प्रयोगविहीन छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट श्रीधर अर्यालले विशेषज्ञ चिकित्सकको शीघ्र व्यवस्था मिलाइने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

साढे ३ अर्ब लगानीमा भैरहवामा एडभान्स इन्टरनेसनल हस्पिटल बन्दै

काठमाडौं । रुपन्देहीको भैरहवामा अत्याधुनिक सुविधासहितको हस्पिटल बन्ने भएको छ । सन् २०२५ भित्र सञ्चालनमा आउने योजनासहित उक्त स्थानमा एडभान्स इन्टरनेसनल हस्पिटल बन्न लागेको हो । निर्माणाधीन अवस्थामा रहेको उक्त अस्पताल प्रतिबेड २ करोड ४५ लाख (अर्थात तीन अर्ब ६७ करोड ५० लाख रुपैयाँ) लगानीमा बन्न लागेको छ । जसको बेड क्षमता १५० रहेको छ । याे  तुलनात्मक रूपमा धेरै रकम हो ।अस्पतालमा कमल भण्डारीको ४३ प्रतिशत र सुरज उप्रेतीको ५७ प्रतिशत सेयर स्वामित्व रहेको छ । सन् २०२४ को फेब्रुअरीसम्म हस्पिटलको २७ प्रतिशत वित्तीय प्रगति भइसकेको छ । बन्दै गरेको उक्त अस्पतालमा संस्थापकहरूको २७ प्रतिशत र बाँकी ७३ प्रतिशत वित्तीय लगानी हुनेछ । हालसम्म संस्थापकहरूले कूल लगानीको २४ प्रतिशत लगानी गरिसकेका छन् । हस्पिटल निर्माणका लागि कम्पनीले २ अर्ब ५४ करोड ऋण लिँदै छ । जसको लागि केयर रेटिङ एजेन्सी केयर नेपालमा रेटिङ गराएको छ । जसमा इक्रा नेपालले दीर्घकालीन अर्थात २ अर्ब ५० करोड कर्जाका लागि एलबी प्ल्स र अल्पकालीन अर्थात ४ करोड कर्जाको लागि एफोरको रेटिङ दिएको छ ।