बागलुङका गाउँमा स्वास्थ्य बीमा पुग्यो तर सेवा पुगेन

गलकोट । बागलुङमा एक लाख १६ हजार नागरिक स्वास्थ बीमामा आबद्ध भएका छन् । स्वास्थ्य बीमाको पहुँच वृद्धि गरी नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले विसं २०७३ असारदेखि लागू भएको यस कार्यक्रममा नागरिकको आकर्षण थप बढ्दो छ । सो बीमाबाट लाभ लिनका लागि स्वास्थ्य सेवाको पहुँच भने अझै पुग्न सकेको छैन । स्वास्थ्य बीमामा पहुँच पुगे पनि आफ्नै पालिकामा त्यसबाट लाभ लिन नपाएकामा बीमितहरू निराश देखिएका छन् । निसीखोला गाउँपालिका-३ का हुमलाल रेग्मीले आफ्नै पालिकामा निःशुल्क स्वास्थ्य सेवा पाउने आशले स्वास्थ्य बीमा गरे पनि हालसम्म बीमामार्फत औषधोपचार नपाएको गुनासो गरे । हुमलालमात्रै होइन निःशुल्क स्वास्थ्य सेवा पाउने आशमा स्वास्थ्य बीमा गरेका यस पालिकाका १४ हजार तीन ४२ जनामध्ये कसैले पनि आफ्नै घरछेउमा बीमाबाट लाभ लिन सकेका छैनन् । गाउँपालिकाले त सबै नागरिकलाई स्वास्थ्य बीमाको पहुँचमा ल्याउने अभियान नै सञ्चालन गरेको छ । त्यसका लागि आफ्नै स्रोतबाट पहिलोपटक स्वास्थ्य बीमा गर्ने नागरिकको प्रिमियम बराबरको रकम तिर्ने गरेको छ । यस कार्यले सबै नागरिकलाई बीमाको पहुँचमा ल्याउन सघाउ पुगे पनि स्वास्थ्य सेवा पाउन ढोरपाटन नगरपालिकास्थित बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्र धाउनुपर्ने बाध्यता रहेको रेग्मीको भनाइ छ । ‘गाउँगाउँमा स्वास्थ्य चौकी, स्वास्थ्य चौकी नभएका ठाउँमा सामुदायिक स्वास्थ्य केन्द्र र गाउँघर क्लिनिक स्थापना गरिएका छन् तर स्वास्थ्य बीमाबाट लाभ लिन धेरै टाढाको बुर्तिवाङ धाउनुपरेको छ’, रेग्मीले भने, ‘चिकित्सकसहितको आधारभूत अस्पताल आफ्नै ठाउँमा सञ्चालनमा आए त हामीले यही ठाउँबाट लाभ लिन पाउथ्यौँ नि !’ निसीखोलाका पूर्णबहादुर चन्दले पनि सामान्य उपचारका गर्न लागि जाँदासमेत स्वास्थ्य बीमाबाट सेवा लिन नपाउँदा आफूहरू निराश भएको बताए । गाउँपालिकाका अध्यक्ष अध्यक्ष सूर्यबहादुर घर्ती भने पालिकामा दस श्ययाको आधारभूत अस्पताल निर्माणको काम अन्तिम चरणमा रहेकाले अब केही महिनामै स्वास्थ्य बीमाबाट लाभ लिने अवस्था बन्ने बताउँछन् । दशवटा स्थानीय तह रहेको बागलुङमा बागलुङ नगरपालिका, गलकोट नगरपालिका, जैमिनी नगरपालिका र ढोरपाटन नगरपालिकाका गरी चार पालिकाका नागरिकले मात्रै आफ्नै ठाउँमा सेवा लिने गरेको स्वास्थ्य बीमा बोर्ड बागलुङका दर्ता अधिकारी नारायणप्रसाद पौडेलले बताए । त्यसबाहेक निसीखोला, तमानखोला, बरेङ, बडिगाड, ताराखोला र काठेखोला गरी छवटा गाउँपालिकामा स्वास्थ्य बीमाका प्रथम सेवाबिन्दु नहुँदा त्यहाँका नागरिक सेवा पाउनकै लागि सदरमुकामलगायत छिमेकी जिल्लामा जानुपर्ने बाध्यता रहेको पौडेलको भनाइ छ । स्वास्थ्य बीमाबाट बीमित परिवारलाई एक वर्षसम्म एक लाख रुपैयाँ बराबरको निःशुल्क उपचारको सेवा प्रदान गर्ने व्यवस्था छ । हाल स्वास्थ्य बीमाबाट जिल्ला सदरमुकाममा रहेको धवलागिरि अस्पताल, ढोरपाटनमा रहेका बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्र, गलकोट नगर अस्पताल, जैमिनीको कुश्मीसेरामा रहेको नगर अस्पतालमा प्रथम सेवाबिन्दुका रूपमा रहेका छन् । रासस

नेपाल मेडिकल कलेजको एनआइसियूको स्तरोन्नति

काठमाडौं । नेपाल मेडिकल कलेजको एनआइसियूको स्तरोन्नति गर्दै नयाँ वेड थप गरिएको छ । नवजात शिशुहरुको उपचारका लागि सञ्चालित १० वेडको एनआइसियूमा १४ वटा नयाँ वेडहरु थप गरि २४ वटा पुर्याइएको हो । शुक्रबार कलेजका प्रबन्ध निर्देशक प्रा.डा. जैनुद्धिन अन्सारीले थप गरिएका नयाँ वेडहरुको उद्घाटन गर्दै सघन उपचार आवश्यक नवजात शिशुहरुलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न नयाँ एनआइसियू वेडहरु थप गरिएको बताए । समय अगाडी जन्मने शिशुहरु, कठिन अवस्थामा जन्म लिएका शिशुहरु तथा जन्मजातै कुनै रोगको शिकार भएका शिशुहरुलाई २४ सैं घण्टा विशेषज्ञ चिकित्सकको प्रत्यक्ष निगरानीमा राखेर उपचार गर्नका लागि एनआइसियू वेडहरु थप गरिएको प्रबन्ध निर्देशक प्रा.डा. अन्सारीले जिकीर गरे । ‘यसअघि १० वेडको एनआइसियू थियो । त्यसलाई अपग्रेट गरी अरु १४ वेड थपिएको छ । खासगरी समय अगाडी जन्मिएका, कुनै स्वास्थ्य समस्या भएका नवजात शिशुहरुलाई उच्च निगरानीमा राखि उपचार गर्नका लागि एनआइसियू चाहिन्छ । यसमा नवजात शिशुको उपचारका लागि कस्तो वातावरण आवश्यक पर्दछ त्यस्तै विधि र सिस्टम हुन्छ ।’ एनआइसियूले भर्खरै जन्मिएका शिशुहरुको स्वास्थ्य तथा उपचारमा टेवा पुग्ने भन्दै प्रा.डा. अन्सारीले भने । उनले कलेजको एनआइसियू सेवा अन्य निजी अस्पतालहरुको दाँजोमा सर्वसुलभ रहेको प्रष्ट्याउँदै आम नागरिकलाई कम शुल्कमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने रणनीति अपनाइएको जिकीर गरे । ‘नयाँ प्रविधि भन्ने वित्तिकै महंगो हुन्छ भन्ने हैन, हामी न्यूनतम शुल्कमा गुणस्तरीय र प्रभावकारी स्वास्थ्य सेवा दिन तत्पर छौं ।’ प्रा.डा. अन्सारी भन्छन् । एनआइसियूमा बालबालिकाको शरिरलाई आवश्यक पर्ने तापक्रम सेट हुन्छ । त्यहाँ भेन्टिलेटर, इन्क्यूवेटर, फोटोथेरापी, पल्स अक्सिमेट्री, फिडिङ ट्युव लगायतका साधन जडित हुन्छन् । शिशुको तापक्रम, मुटुको चाल, स्वासप्रस्वासको गति मापन गर्ने यन्त्रहरु समेत रहेकाले एनआइसियूमा प्रत्येक पल शिशुहरुको निगरानी गरी उपचार गरिन्छ । नेपाल मेडिकल कलेजले पछिल्लो समय स्वास्थ्य सेवातर्फ नविनतम उपचार विधिहरु भित्र्याउँन लागेको प्रबन्ध निर्देशक प्रा.डा. अन्सारीले जानकारी दिए । कलेजको स्वास्थ्य सेवालाई सर्वसुलभ र प्रभावकारी बनाउन नयाँ सेवाहरु थालनी गर्न लागिएको भन्दै उनले चाडैं नै कलेजको सिटी स्क्यान, एमआरआईहरु अपग्रेट गरिने, कार्डियोलोजी र अंकोलोजी सेवाहरु थप गर्ने बताए ।

महाकाली अस्पतालमा जनशक्ति र उपकरण अभाव

कञ्चनपुर । मुलुकमा संघीययतापछि महाकाली प्रादेशिक अस्पतालका रूपमा स्तरोन्नति भए पनि अस्पतालले पर्याप्त जनशक्ति र स्वास्थ्य उपकरण अभावका कारण बिरामी ‘रिफर’ गर्नुपर्ने बाध्यता रहेको छ । विसं २०२० मा प्राथमिक स्वास्थ्य केन्द्रका रूपमा स्थापना भएको कञ्चनपुरको महेन्द्रनगरस्थित प्रादेशिक अस्पताल २०३१ मा २५ शय्याको जिल्ला अस्पतालमा परिणत भएको थियो । जिल्ला अस्पतालबाट स्तरोन्नति हुँदै २०४३ सालमा ५० शय्याको अञ्चल अस्पताल (रेफरल सेन्टर) का रुपमा परिणत भएको थियो । महाकाली प्रादेशिक अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णानन्द भट्टले यहाँ स्वीकृत स्थायी दरबन्दीअनुसार ११ तहका विशेषज्ञ चिकित्सक चार जना र नवौँ र १० तहका विशेषज्ञ चिकित्सक १६ जनाको दरबन्दी भएको जानकारी दिए । ‘यहाँ २० जना विशेषज्ञ चिकित्सकको दरबन्दीमा हाल १२ जना मात्रै विशेषज्ञ चिकित्सक छन्’, उनले भने, ‘छ जना मेडिकल अधिकृतका दरबन्दीमा १३ जना र एक जना डेन्टल सर्जनको दरबन्दीमा तीन जना कार्यरत छन् ।’ उनले अहिले एक जना चिकित्सक मात्रै स्थायी रहेको बताए । उनका अनुसार अन्य चिकित्सक नेपाल सरकारको छात्रवृत्ति करार र अस्पताल व्यवस्थापन समितिबाट करारमा कार्यरत छन् । जनशक्ति मात्रै नभई अस्पतालले स्वास्थ्य उपकरण अभावका कारण यहाँबाट बिरामीको अन्यत्र रेफर गर्नुपरेको उनको भनाइ छ । ‘हाम्रो यहाँ उपचार सम्भव छ तर उपकरण छैनन्’, समितिका अध्यक्ष भट्टले भने, ‘यहाँ सिटिस्क्यान तथा एमआरआइ मेसिनको आवश्यकता छ ।’ उनका अनुसार अस्पतालमा सि–आर्म मेसिन, युएसजी मेसिन, इको मेसिनजस्ता उपकरणको सीमितताका कारण यहाँ आउने सेवाग्राहीले उपचार नपाइ फर्किनुपर्ने अवस्था रहेको छ । ‘हामीसँग उपलब्ध उपकरण पनि बेलाबेला बिग्रिराख्ने भएकाले पनि सेवाग्राही मार्कामा पर्ने गरेका छन्’, अध्यक्ष भट्टले भने, ’यसका लागि हामीले पटकपटक सरकारको ध्यानाकर्षण गराएका छौँ ।’ अहिले अस्पतालमा हाडजोर्नी विशेषज्ञ दुई जना, जनरल सर्जन एक जना, स्त्रीरोग विशेषज्ञ एक जना, बालरोग विशेषज्ञ दुई जना, नाक कान घाँटी विशेषज्ञ एक जना, एनेस्थेसियोलोजिस्ट एक जना, एमडिजिपी तीन जना र रेडियोलोजिस्ट एक जना कार्यरत छन् । अस्पतालमा साइक्याट्रिक विशेषज्ञ, जनरल फिजिसियन, प्याथोलोजिस्ट, डर्माटोलोजिस्ट विशेषज्ञ किकित्सको दरबन्दी भए पनि हालसम्म दरबन्दीअनुसारका चिकित्सक उपलब्ध हुन सकेका छैनन् । यसअघिका निर्वाचनका बेला यहाँका राजनीतिक दलका उम्मेदवारले महाकाली अस्पताललाई सुधार गर्ने प्रमुख एजेन्डा बनाए पनि अस्पतालको स्तर सुधार गर्नका लागि यहाँका जनप्रतिनिधि उदासिन देखिएको यहाँका स्थानीय बताउँछन् । ‘तुलनात्मकरुपमा पहिलेभन्दा अहिले अस्पतालको अवस्था सुधार हुँदै गए पनि स्थापनाकालदेखि नै यहाँ दरबन्दीअनुसारका विशेषज्ञ चिकित्सक आएनन् ।’ यहाँका समाजसेवी लीलाध्वज बस्नेतले भने, ‘भएका चिकित्सकले पनि स्वास्थ्य उपकरणको अभावमा गुणस्तरीय सेवा प्रदान गर्न सकेका छैनन् ।’ उनले यहाँका जनप्रतिनिधिले स्वास्थ्य क्षेत्रमा पर्याप्त बजेट विनियोजन गर्नका लागि पहल गर्नुपर्ने बताए । अस्पतालमा भौतिक संरचना पर्याप्त छन् । केही संरचना निर्माणाधीन अवस्थामा छन् । तर वर्षौंदेखि अस्पतालमा दरबन्दीअनुसारका चिकित्सक अभाव छ भने आवश्यक उपकरणसमेत अभाव हुँदा नागरिकले आधारभूत स्वास्थ्य सेवा पाउनबाट वञ्चित हुनुपरेको सेवाग्राही बताउँछन् । ‘महाकाली अस्पतालमा सबै उपचार गराए एउटा सिटिस्क्यानका लागि मात्रै धनगढी जानुपर्ने बाध्यता आयो’, सेवाग्राही गणेश बोहराले भने, ‘यहाँ सिटिस्क्यानको धेरै आवश्यकता देखिएको छ सरकारले यसको व्यवस्थापन गर्न जरुरी छ ।’ महाकाली अस्पताल स्वास्थ्य केन्द्रबाट जिल्ला, अञ्चल हुँदै प्रादेशिक अस्पतालसम्म स्तरोन्नति भए पनि नाममा मात्रै स्तरोन्नति भएको यहाँका स्थानीयको गुनासो छ ।