बालबालिकालाई आज र भोलि भिटामिन ‘ए’ र जुकाको औषधी खुवाइँदै

फाइल फोटो काठमाडौं । सरकारले आज र भोलि देशैभर ६ महिनादेखि ५ वर्ष मुनिका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाउँदै छ । स्वास्थ्य तथा जनसख्या मन्त्रालय अनुसार भिटामिन ‘ए’ क्याप्सुल ६ महिनादेखि ५९ महिनाका बालबालिका तथा जुकाको औषधि एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई खुवाइने छ । भिटामिन ‘ए’ करिब ३२ लाख बालबालिका र जुकाको औषधि करिब २९ लाख बालबालिकालाई खुवाइने मन्त्रालयले जनाएको छ । सरकारले बालबालिकामा हुनसक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्नका लागि २०५० सालदेखि भिटामिन ‘ए’ क्याप्सुल र २०५६ सालदेखि जुकाको औषधि नियमित खुवाउन थालेको हो । ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमका लागि ५२ हजार महिला स्वास्थ्य स्वयम्सेविका र १० हजार स्वास्थ्यकर्मी खटिने मन्त्रालयले जनाएको छ । मन्त्रालयले ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमसँगै सोही दिन खोप लगाउन छुटेका बालबालिकालाई नजिकैको स्वास्थ्य केन्द्रमा गएर खोप लगाउन आग्रह गरेको छ । सरकारले प्रत्येक आर्थिक वर्षमा कात्तिक र वैशाखमा भिटामिन ‘ए’ र जुकाको औषधि बालबालिकालाई निःशुल्क खुवाउने गरेको छ ।

यी ६ जडीबुटी जसले शरीरमा गर्मी बढ्न दिँदैनन्

काठमाडौं । गर्मीयाम सुुरु भएसँगै कसरी स्वस्थ जीवन जिउने भनेर धेरैलाई पीर हुन्छ । अझ तराई लगायत बढी गर्मी हुने ठाउँका नागरिकलाई स्वास्थ्य समस्याले बढी सताउँछ । यो बेलामा कस्ता खानेकुरा खाँदा स्वस्थ रहन र गर्मीसँग जुध्न सकिने भन्ने उत्सुकता हुन्छ । यो मौसममा शरीरमा देखिने समस्यालाई व्यवस्थापन गर्न पनि उत्तिकै जरुरी हुन्छ, अन्यथा शरीरले धेरै कष्ट भोग्नुपर्छ । गर्मीमा धेरै महँगो पनि नपर्ने सजिलै घरवरपर पाइने केही जडीबुटीहरू छन् । जसको मद्दतले तपाईं शरीरको तापलाई सन्तुलित राख्न सक्नुहुन्छ । यी ६ जडीबुटीको बारेमा जानौँ धनियाँ धनियाँलाई चिसो जडीबुटीका रूपमा चिनिन्छ । यसको शीतल गुणहरूले शरीरको गर्मी कम गर्न मद्दत गर्दछ । धनियाँमा एन्टिअक्सिडेन्ट, एन्टी–क्यान्सर र न्यूरोप्रोटेक्टिभ गुण हुन्छ । यसबाहेक यसले रगतमा चिनीको मात्रालाई पनि कायम राख्छ । यी सबै कारकहरूले यसलाई गर्मी मौसममा धेरै विशेष र प्रभावकारी जडीबुटी बनाउँछन् । अब तपार्इंले आफ्नो आहारमा धनियाँलाई सूप, सस र सलादको रूपमा समावेश गर्न सक्नुहुन्छ, यसबाहेक धनियाँको दानाबाट बनेको चिया पनि फाइदाजनक हुन्छ । पुदिना गर्मीमा पुदिना सेवनले शरीरलाई शितलता प्रदान गर्छ । गर्मीमा यो छाला, ओठ, पाचन प्रणाली र समग्र शरीरको लागि धेरै लाभदायक साबित हुन्छ । विशेष गरी यसले गर्मीमा हुने पाचन समस्याको उपचार गर्छ । जसले गर्दा पेट चिसो रहन्छ र शरीरको तापलाई सन्तुलनमा राख्न मद्दत गर्छ । यस बाहेक यसमा एन्टी–माइक्रोबियल र एन्टी–इन्फ्लेमेटरी गुणहरू पाइन्छ, जसले शरीरमा आरामदायी प्रभाव उत्पन्न गर्छ । पुदिनाको चिया, चटनीको साथसाथै यसबाट कूलिङ ड्रिंक्स तयार गरी आफ्नो आहारमा समावेश गर्न सक्नुहुन्छ । गुलाफ गुलाफ प्राचीन कालदेखि नै परम्परागत जडीबुटी औषधीको रूपमा प्रयोग गरिँदै आएको छ । यसमा एन्टी–इन्फ्लेमेटरी गुणहरूले यसलाई विशेष बनाउँछ । नेशनल लाइब्रेरी अफ मेडिसिनले प्रकाशित गरेको अध्ययनका अनुसार गुलाबको फूलमा रहेको गुणले दुखाइबाट राहत दिन्छ । यो शरीर सुन्निने, डिप्रेसन र एन्जाइटी जस्ता मानसिक स्वास्थ्यसम्बन्धी समस्याहरूमा पनि धेरै प्रभावकारी साबित हुन सक्छ । यो इरेक्टाइल डिसफंक्शन जस्ता यौन समस्याहरूमा पनि प्रभावकारी हुन्छ । यस बाहेक गर्मीमा गुलाबको फूलबाट बनेको चिया सेवन गर्न सकिन्छ । लेमनग्रास लेमनग्रास, शीतल गुण र अन्य पोषक तत्वहरूको पावर हाउस हो । लेमनग्रासले गर्मीमा शरीरलाई शीतलता प्रदान गर्दछ र छालाको सुन्निने जस्ता विभिन्न समस्याहरूको उपचार गर्न मद्दत गर्दछ । यसलाई आहारमा समावेश गर्ने सबैभन्दा सजिलो उपाय यसको चिया हो । तपाईं यसलाई सूप, करी आदिमा पनि थप्न सक्नुहुन्छ । हिबिस्कस फूलहरू हिबिस्कस चिसो गुणहरूको लागि परिचित छ । हिबिस्कस चिया सेवनले शरीरको तापक्रम नियन्त्रण गर्न र हाइड्रेसनलाई बढावा दिन मद्दत गर्ने अध्ययनले देखाउँछ । जसका कारण यसलाई गर्मीमा उत्कृष्ट फूलको रूपमा चिनिन्छ । यसको चिया र सर्बतले तपाईंलाई ताजा रहन मद्दत गर्दछ । सौंफ सौंफ परम्परागत रूपमा शरीरलाई चिसो बनाउन र पाचनमा सहायता गर्न प्रयोग गरिन्छ । यसको हुने एन्टिअक्सिडेन्टले अपचलाई कम गर्न मद्दत गर्दछ । तपाईं सौंफको चिया र सिरप लिन सक्नुहुन्छ । साथै, यसलाई माउथ फ्रेसनरको रूपमा चपाउँदा पनि फाइदा हुन्छ । एजेन्सी

नेपालमा स्वास्थ्य जनशक्ति : उत्पादनभन्दा गुणस्तरमा चुनौती

काठमाडौं । राम्रो आम्दानी भएका वा अलि हुनेखाने परिवारले आफ्ना सन्तानलाई डाक्टर/नर्स बनाउने सपना देख्नु नौलो होइन । डाक्टर/नर्स बनाउन आवश्यक शिक्षा आर्जन गर्न पनि सानोतिनो लगानीले पुग्दैन । अभिभावकले आफ्नो र सन्तानको सपना पूरा गर्न लाखौं रकम खर्च पनि गरिरहेका छन् । तर, छोराछोरीले लिइरहेको शिक्षा राम्रो छैन भन्दा अभिभावकको मन अमिलो हुनु अस्वाभाविक होइन । नेपालमा नर्सिङ, एमबीबीएस, बीडीएस लगायत मेडिकल साइन्सको पढाइको गुणस्तर निकै कमजोर रहेको भन्दै जानकारले चिन्ता व्यक्त गरेका छन् । नर्सिङ वा एमबीबीएस पढिसकेका व्यक्तिले काम गर्न लाइसेन्स लिनुपर्छ । यसका लागि मेडिकल काउन्सिल, नर्सिङ परिषदले बर्सेनि लाइसेन्स परिक्षा लिन्छ । तर, बिडम्वना नेपालमा लाइसेन्स परीक्षामा पास हुनेको संख्या न्यून छ । एउटा व्यक्तिलाई पीसीएल नर्सिङ कोर्स गर्न तीन वर्ष लाग्छ । त्यसमा शुल्कमात्र चार लाख रुपैयाँ बढी लाग्छ । खाने र बस्ने शुल्क जोड्ने हो भने त्यसको दोब्बर खर्च हुन्छ । यसरी खर्च गरेर पढेका नर्सहरूको गुणस्तर भने खस्किदो छ । नेपाल नर्सिङ परिषदले लिने हरेक परिक्षामा ८० प्रतिशत बढी नर्र्स फेल हुने गरेका छन् । पीसीएल नर्सिङको मात्र होइन बीएस्सी नर्सिङतर्फको लाइसेन्स परीक्षामा पनि उस्तै अवस्था छ । यसको कारण पढाइमा गुणस्तर नभएको नर्सिङ परिषदका अध्यक्ष सरला केसी बताउँछिन् । उनका अनुसार सन् २०१२ देखि अहिलेसम्म नर्सिङ लाइसेन्स परिक्षा दिरहेका विद्यार्थी अहिलेसम्म पास भएका छैनन् । ‘नेपाली स्वास्थ्य क्षेत्रका जनशक्ति उत्पादन गर्दा क्वालिटीमा समस्या भयो,’ उनी भन्छिन्, ‘हामीले लिने परिक्षाको फुलमार्क १५० को हुन्छ, तर यसमा कसैले ७ त कसैले ९ नम्बरमात्र ल्याउँछन्, यस्तो अवस्थामा हामीले कस्तो जनशक्ति उत्पादन गरिरहेका छौँ भन्ने प्रश्न हो ।’ अहिले नर्सिङ कलेज बन्द भयो भन्दै कराउनुपर्ने अवस्था नभएको उनी बताउँछिन् । तर, देशलाई जनशक्ति अभाव भए फेरि उत्पादन गर्न सकिने तर क्वालिटी मेन्टेन कसरी गर्ने भन्नेमा ध्यान दिनुपर्ने उनको भनाइ छ । यस्तो समस्या नर्सिङमा मात्र हैन डाक्टरको लाइसेन्स परीक्षामा पनि समस्या उस्तै छ । एमबीबीएस वा बीडीएस पढिसकेपछि डाक्टरको रूपमा काम गर्न लाइसेन्स लिनुपर्छ । ६ वर्ष लगाएर एमबीबीएस पढाइ सकेर उत्तिर्ण भए पनि मेडिकल काउन्सिलले लिने लाइसेन्स परीक्षामा डाक्टरहरू फेल हुने गरेका छन् । नेपाल मेडिकल काउन्सिलले लिने लाइसेन्स परीक्षामा ५० प्रतिशत विद्यार्थी पनि पास हुन मुस्किल पर्छ । नेपाल मेडिकल काउन्सिलका अध्यक्ष चोपलाल भुसाल पटक–पटक डाक्टर अनुत्तिर्ण हुनुले नेपालको मेडिकल चिकित्सा शिक्षाको कमजोर अवस्था देखाएको बताउँछन् । उनका अनुसार यो वर्ष मेडिकल काउन्सिलले लिएको एमबीबीएसको लाइसेन्स परिक्षामा ५६ प्रतिशतमात्र पास भए । ‘१४–१५ पटक परिक्षा दिँदा पनि नाम निकाल्न नसकेका डाक्टरहरू हामीकहाँ छन्,’ भुसाल भन्छन्, ‘यो समस्या धेरै छ, लाखाँैँ खर्च गरेर एमबीबीएस पढ्छन, तर लाइसेन्समा नाम निकाल्न सक्दैनन्, यसमा कसलाई दोष दिनू खै ।’ यसमा विदेश पढेर आएका ३० प्रतिशतमात्र पास हुने गरेको उनको भनाइ छ । गुणस्तर किन भएन ? नेपालमा डेन्टल र मेडिकल मिलाएर वार्षिक तीन हजार डाक्टर उत्पादन हुन्छन् । नेपालमा चिकित्सा शिक्षा पढाइ हुने धेरै कलेजहरू पनि उत्तिकै छन् । तर, तिनमा पढाइको गुणस्तर भने निकै कमजोर छ । नेपाल चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्रा. डा.अन्जनी कुमार झा शिक्षाको गुणस्तरीय शिक्षामा ध्यान दिनुपर्ने बताउँछन् । ‘सबै बुद्धिजीवी कलेज खोलेर बढाउन लाग्दा गुणस्तरमा पनि ध्यानदिनुपथ्र्यो यसो भएन,’ उनी भन्छन्, ‘विद्यार्थी आफैमा कमजोर भएर होस् या विद्यार्थीलाई पढाउने संस्था कमजोर भएर कारण जेसुकै होस्, नेपालमा स्वास्थ्यकर्मीको पढाइको गुणस्तर राम्रो देखिँदैन ।’ नेपालमा बर्सेनी हजारौंको संख्यामा स्वास्थ्य क्षेत्रमा जनशक्ति उत्पादन हुन्छन् । एमबीबीएसदेखि नर्सिङ, अनमी, मिडवाइफरी लगायत विभिन्न क्षेत्रमा हजारांै जनशक्ति उत्पादन भए पनि समस्या भने गुणस्तरमा देखिन थालेको छ । कलेजको संख्या बर्सेनि बढ्दो छ । अहिले एमबीबीएसको सिट संख्या पनि बढिरहेको छ । नर्सिङको हकमा पहिलेको तुलनामा केही कम भएको छ । तर, अब अर्को वर्षदेखि तीन हजार सिट बढ्ने सम्भावना छ । जनशक्ति उत्पादनमा समस्या नभएको बताउँदै चिकित्सा शिक्षा आयोगका अध्यक्ष झा आवश्यक्ता परे त्यसलाई सम्बोधन गर्न एमबीसी तयार रहेको बताउँछन् । क्वालिटी दिन नसके समस्यामा परिन्छ एक समय नेपालबाट गलैंचाको निर्यात निकै हुन्थ्यो । तर, अहिले गलैंचा उद्योग धरापमा छन् । ‘पहिले गलैचा, महलगायतका धेरै सामान बाहिर जान्थ्यो, अहिले बन्द भयो,’ चिकित्सा शिक्षा आयोगका अध्यक्ष झा भन्छन्, ‘यो बन्द हुनुको एउटै कारण क्वालिटी भएन, गलैंचा उद्योग धरासायी भयो, यदि अब यही बाटोमा मेडिकल साइन्सलाई लैजाने हो भने एक दिन चिकित्सा पनि गलैंचा जसरी रोकिने छन् ।’ नेपाल संयुक्त राष्ट्रसंघ (युएन) को सदस्य राष्ट्र हो । देशले प्रत्येक वर्ष युएनको मेम्बर बन्नका लागि ३० हजार डलर तिर्दै आएको छ । स्वास्थ्य क्षेत्रमा काम गर्दै आएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले अस्पताल सेवातिर बढी ध्यान युएन नेसनले अर्को विश्व चिकित्सा शिक्षा महासंघ (डब्लुएफएमई) अर्गनाइजेसन बनाएको छ । डब्लुएफएमईले आफ्नो सदस्यता लिएको मुलुकको जनशक्तिमात्र एक देशबाट अर्को देशमा पठाउन मिल्ने व्यवस्था गरेको छ । डा. झा नेपालले पनि यसको सदस्य बन्नका लागि प्रयास गरिरहेको बताए । ‘डब्लुएफएमईले नेपालमा मेडिकल स्कुलको सिट कति छ, गुणस्तर कस्तो छ लगायत विभिन्न विषय हेर्ने गर्छ,’ उनी भन्छन्, ‘यदि यसको सदस्यता लिन नेपालले सकेन भने ग्लोबल मार्केटमा स्वास्थ्य जनशक्ति बाहिर जान पाउँदैन, हाम्रो चिकित्सा शिक्षा क्षेत्रमा यसतै कमजोरी रहने हो भने हामी बाध्यतात्मक अवस्थामा पर्ने छौँ, ।’ उनका अनुसार यो क्वालिटी मेन्टन गर्न बाध्यात्मक अवस्थामा छ । क्वालिटीमा कम्प्रमाइज गर्न सक्ने अवस्था छैन । नेपालमा यस्तै अवस्था रहने हो भने अब नेपाली चिकित्सक र स्वास्थ्यकर्मीलाई विदेशमा जानसमेत समस्या हुने विज्ञहरूको भनाइ छ । ब्रेन ड्रेन उच्च नेपालमा बे्रन ड्रेन अर्थात प्रतिभा पलायन हुने दर उच्च छ । अहिले नेपालमा पढेका डाक्टर, नर्सहरूको संख्या पलायन हुने दर पनि उच्च छ । स्टाफनर्स उत्पादन हुनासाथ विदेश जाने समस्या पहिलेदेखिकै हो । डा. चोपलाल भुसाल यस्ता केसहरू आफूकहाँ पनि थुप्रै आउने गरेको बताउँछन् । पछिल्लो चार–पाँच वर्षको तथ्यांक हेर्दा जति पनि नर्स उत्पादन भए उनीहरू सबै बाहिर नै गएका छन् । नर्समात्र हैन डाक्टर विदेशिने दर पनि उत्तिकै बढेको छ । सन् २०२० मा १ हजार ८७ डाक्टर बाहिरिएका थिए भने २०२३ देखि २४ को मे महिनासम्म ३ हजार २ सय बढी चिकित्सक विदेशतिर लागेका छन् । समयमा परीक्षा नलिने, भर्ना नलिने कारण र पास भएकाहरू पनि नेपालमा बस्न सकिँदै भन्ने सोचले पनि बाहिरिरहेको उनको भनाइ छ । विज्ञहरू लाखांै करोडौं रुपैयाँ लगानी गरेर डाक्टर बनेकाहरू अरु देशले निःशुल्क पाउनु दुःखद भएको बताउँछन् । उनी बाहिर बसेर केही सीप सिकेर आउने भन्दै बाहिरबाट आएकालाई नेपालमा कसरी व्यवस्थापन गर्ने भन्ने अहिलेको मुख्य विषय भएको बताउँछन् । नर्सलाई दुई छाक टार्नै गाह्रो नेपालमा एउटा नर्सलाई काम गरेर दुई छाक राम्रो खान धौ धौ पर्ने अवस्था छ । लाखौं खर्च गरेर पढेका नर्सलाई अहिलेको महँगीमा बाँच्नै सकिने अवस्था रहेको नर्सिङ परिषदका अध्यक्ष सरला केसी बताउँछिन् । उनी नेपाली नर्स विदेशिन बाध्य भए पनि उनीहरूका लागि यो अवसर भएको बताउँछिन् । ‘नेपालमा नर्सहरू बाहिरिए भनेर चिन्ता मान्नुपर्दैन,’ उनी भन्छिन्, ‘अहिले नर्सहरूका लागि ग्लोबल मार्केट खुल्ला छ, यो खुसीको कुरा हो, यहाँ बसेर भरपेट खाना नपाउनुभन्दा कमसेकम उनीहरू विदेश जाँदा आफ्नो लगानी त उठाउन सक्छन ।’ उनले एक रातमा एउटा बिरामी राखेको एक लाखको बिल दिने अस्पतालले नर्सलाई १५ हजार पैसा दिनसमेत नसकेको बताइन् । ‘नर्सलाई पहिले भोलियन्टर राख्ने कुरा चल्यो हामीले विरोध ग¥यौँ,’ उनी थप्छिन्, ‘अहिले सेवाकालीन तालिम भनेर दिइँदै छ, तीन वर्ष लगाएर पीसीएल, चार वर्ष लगाएर बीएस्सी पढेको छ फेरि पनि ऊ तालिममा जाँदा बाआमासँग पैसा मागेर जानुपर्ने अवस्था छ, यस्तो अवस्थामा नर्सहरू विदेशिएकोमा राज्य चिन्तित हुनुपर्ने अवस्था छैन ।’