नबिलमा एनबी बैंक गाभिने पक्का, दुवै बैंकले साधारणसभाबाट पाए स्वीकृति
काठमाडौं । नबिल बैंकले एनबी बैंकलाई र एनबी बैंक नबिल बैंकमा गाभिने पक्का भएको छ । दुवै बैंकको आज भएको विशेष साधारणसभाले दुवै बैंक एक आपसमा गाभ्न/गाभिनका लागि अख्तियारी दिएको हो । दुवै बैंकले मर्जर तथा एक्विजिसन भन्दै आज (शनिबार) विशेष साधारणसभा बोलाएका थिए । दुवै बैंकको विशेष साधारणसभाले गाभ्ने तथा गाभिन स्वीकृति प्रदान गरेसँगै अब दुवै बैंक एक आपसमा गाभ्ने गाभिने प्रक्रियामा अगाडि बढ्नेछ। दुवै बैंकको साधारणसभाले सभामा प्रस्ताव गरेका सबै एजेण्डा पारित गरेको बताइएको छ । एनबी बैंकका सूचना अधिकारी विश्व प्रकाश पौडेलले एनबी बैंकले विशेष साधारणसभामा पेश गरेका सबै एजेणहरु सर्वसम्मत पारित भएको बताए । उनका अनुसार अब एनबी बैंक नबिलमा गाभिने प्रक्रिया अगाडि बढ्नेछ । यस्तै, नबिल बैंकका कर्पोरेट कम्युनिकेशन हेड कृष्ण सुवेदीले पनि नबिल बैंकमा एनबी बैंक गाभ्ने प्रस्ताव विशेष साधारणसभाले सर्वसम्मत रुपमा पारित गरेको बताए । उनले पनि सभामा प्रस्तुत भएका सबै प्रस्तावहरु स्वीकृत भएको बताए । यस्तो बन्नेछ बैंक एनबी बैंकलाई गाभेपछि नबिल अधिकांश सूचकमा पहिलाे बैंक बन्नेछ । मर्जरपछि नबिल बैंकको चुक्ता पुँजी पौने २३ अर्ब रुपैयाँ पुग्नेछ । अहिले नबिल बैंकको पुँजी १८ अर्ब ४९ करोड रुपैयाँ छ भने नेपाल बंगलादेश बैंकको चुक्ता पुँजी १० अर्ब ८ करोड रुपैयाँ छ । नबिलले एनबी बैंकलाई ४३ रुपैैयाँमा भाग्न लागेको हो । यी बैंक मर्ज भएपनि यस अघि मर्ज भएको ग्लोबल आइएमइर्ए बैंक नै पुँजीका आधारमा अगाडि हुनेछ । नबिल पुँजीको आधारमा दोस्रो बैंक बन्नेछ । हाल नबिल बैंकको निक्षेप २ खर्ब ३४ अर्ब २२ करोड ९९ लाख ४८ हजार र कर्जा २ खर्ब २१ अर्ब ९८ करोड ९३ लाख ५६ हजार रूपैयाँ छ । यस्तै, एनबी बैंकको निक्षेप ८२ अर्ब २ करोड १५ लाख १७ हजार र कर्जा लगानी ७६ अर्ब २० करोड ९३ लाख १५ हजार रूपैयाँ छ । हालसम्म बढी लाभांश वितरणमा नबिल बैंक पहिलो बन्दै गएको छ । नबिल बैंकले एनबी बैंकलाई गाभेर अझै पनि आफ्नो स्थान सुरक्षित बनाउने रणनीति छ ।
सेयर बजारमा १८ बीमा कम्पनीको लगानी : ज्योतिले ११५ प्रतिशत बढाउँदा अन्यले कति ?
काठमाडौं । चालु आर्थिक वर्षको चैत मसान्तसम्म जीवन बीमा कम्पनीले साढे ८ अर्ब रुपैयाँ बढी लगानी सेयर बजारमा गरेका छन् । जुन पुस मसान्तको तुलनामा ५ करोड १९ लाख रुपैयाँले बढी हो । कम्पनीहरुले अघिल्लो त्रैमास अर्थात पुस मसान्तसम्ममा ८ अर्ब ४९ करोड रुपैयाँ बराबरको लगानी दोश्रो बजारमा सूचीकृत कम्पनीको सेयरमा गरेका थिए । सञ्चालित १९ कम्पनीमध्ये १८ कम्पनीले सो मात्राको लगानी गरेका हुन् । बीमा समितिको तथ्यांक अनुसार सञ्चालित मेटलाइफ एलिको बाहेक अन्य कम्पनीले सो मात्राको लगानी गरेका हुन् । लगानी गरेका कम्पनीमध्ये रकमको आधारमा सबैभन्दा बढी लगानी लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआईसी) को छ । कम्पनीले चालु आवको ९ महिनामा मात्रै २ अर्ब ९० करोड रुपैयाँ बराबरको लगानी गरेको छ । जुन गत तीन महिनायताकै ८९.२४ प्रतिशतले बढी हो । एलआईसीले गत पुससम्मको १ अर्ब ५३ करोड रुपैयाँ सेयर बजारमा लगानी गरेको थियो । त्यस्तै, नेपाल लाइफ र एशियन लाइफ इन्स्योरेन्सले हालसम्म १ अर्ब रुपैयाँभन्दा बढी लगानी गरेका छन् । बजारमा सबैभन्दा कम लगानी गुराँस लाइफ इन्स्योरेन्सको छ । इन्स्योरेन्सले हालसम्म ६९ लाख २५ हजार रुपैयाँ सूचीकृत कम्पनीको सेयरमा लगानी गरेको छ । जुन पुसमसान्तको तुलनामा स्थिर छ । त्यस्तै, गत पुसदेखि चैतसम्मको लगानी प्रतिशत हेर्ने हो भने अधिकांशले लगानी बढाएका छन् । र, तीन वटा कम्पनीको लगानी स्थिर छ भने ५ वटा कम्पनीले भने घटाएका छन् । लगानी घटाउनेमा नेपाल लाईफ, रिलायबल लाईफ, आईएमई लाईफ, प्रभु लाईफ र सिटिजन लाईफ रहेका छन् । यी कम्पनीले क्रमशः ५७.३७, ४०.६०, ३८.०४, ३७.७६ र ३.५५ प्रतिशतले सेयरमा लगानी घटाएका छन् । यता प्रतिशतको आधारमा सबैभन्दा बढी लगानी बढाउनेमा ज्योति लाइफ इन्स्योरेन्स छ । ज्योतिले गत तीन महिनाको अवधिमै ११५ प्रतिशतले सेयर लगानी बढाएको छ । गत पुससम्म ६ करोड ५२ लाख रुपैयाँ सेयर बजारमा लगानी गरेको इन्स्योरेन्सले चैत मसान्तसम्ममा १४ करोड २ लाख रुपैयाँ बराबरको लगानी गरेको देखिन्छ । पुसयता लगानी बढाएको कम्पनीमध्ये सबैभन्दा कम प्रतिशतले बढाउनेमा सूर्या लाइफ इन्स्योरेन्स छ । इन्स्योरेन्सले पुसदेखि यता २.६५ प्रतिशतले लगानी बढाएर चैतसम्ममा ३३ करोड ९६ लाख रुपैयाँ पुर्याएको छ । राष्ट्रिय बीमा संस्थान, सानिमा लाईफ र गुराँस लाईफ इन्स्योरेन्सको सेयर लगानी भने स्थिर छ । जसमध्ये राष्ट्रिय बीमा संस्थानले १८ करोड ६५ लाख, सानिमाले २ करोड ६४ लाख र गुराँसले ६९ लाख रुपैयाँ सूचीकृत कम्पनीको सेयरमा गरेका छन् । जुन पुसदेखि यता स्थिर छ । घटबढ छैन । जीवन बीमा इन्स्योरेन्स कम्पनीहरुले नेप्सेमा सूचीकृत कम्पनीको साधारण सेयरमा बढीमा १० प्रतिशतसम्म मात्रै लगानी गर्न पाउने व्यवस्था रहेको छ । सोहि अनुसार उनीहरुले दोश्रो बजारमा लगानी गर्दै आएका छन् । कसले कति गरे ?
पुँजी थप्दा बीमा कम्पनीको प्रतिफल ४/५ प्रतिशतमा झर्छ
अहिले बीमा समितिले बीमा कम्पनीहरूलाई पुँजी बढाउनका लागि ताकेता गरिरहेको छ । जब बीमा समितिबाट पुँजी वृद्धिको निर्देशन आयो, कम्पनीहरूबीच पनि छलफलमा भयाे । पुँजी वृद्धि के हो ? हामीले बुझेनौं भनेर हामी समितिमा पनि गयाैं । उहाँहरुले पनि त्यतिबेला तपाईंहरूले हामीलाई पुँजी वृद्धि योजना दिनुस्, त्यसपछि पुँजी वृद्धि योजना हेरेर हामी कसरी अगाडि बढ्ने भनेर सही निर्णय गर्छौं भन्नुभयो । त्यही अनुरुप हामीले क्यापिटल प्लान पनि बुझाऔं। पुँजी वृद्धिको औचित्य के हो ? भनेर कम्पनीहरूको सल्लाह भएको थियो । पुँजी वृद्धि आवश्यक छ की छैन ? पुँजी वृद्धि गरेर त्यसको फाइदा नोक्सान के हुन्छ ? भन्ने कुरामा हाम्रो धेरै सल्लाह गरेका छौं । पुँजी थपेर वा हकप्रद सेयर जारी गरेर कुनै प्रतिफल हुने देखिएन । नगद थप गरेर थप रिटर्न हुने देखिँदैन भनेर समितिले नै भनेकाे छ । हामी कम्पनीहरूले पनि अहिलेको समयमा पैसा थप गरेर बिजनेस जस्टिफाई हुँदैन भन्नेमा छौं । जति बिजनेस हुन्छ, त्यो अनुसार लगानी हुनुपर्छ । कुल प्रिमियम संकलनभन्दा पनि २० वटा कम्पनीको ५० अर्बको क्यापिटल हुने भयो । जुन बढी पुँजीकरण हुन जाने भयो । जुन बीमाकोष छ, जहाँ हरेक वर्ष नाफाको ५० प्रतिशत जम्मा हुन्छ, त्यो सेयरधनीको पुँजी नै हो । त्यसलाई नै चुक्ता पुँजी मान्नु पर्यो भनेर हामीले समितिसँग प्रस्ताव गरेका छाैं । यसाे गर्दा पुरानो कम्पनीहरुले धेरै पैसा थप्नु पर्दैन । नपुग पैसा हामी एक वर्षभित्रमा थप्छौं भनेका थियौं । अधिकांश कम्पनीले पहिलो विकल्पमा यहि राखेका छन् । दोश्रो विकल्पमा हामीले ४ वर्षको बोनस वा हकप्रद सेयर दिने भनेका थियौं । त्यसपछि समितिले पुनः अन्तक्रियामा बोलायाे । जसमा समितिले मुख्य उद्देश्य मर्जरमा नै जाउ भन्ने छ । समितिले कम्पनी संख्या घटाउनको लागि नै पुँजी वृद्धि गर भनेकाे छ । हकप्रद शतप्रतिशत जारी गर्न नदिने । प्रत्यक्ष रुपमा मर्जर नै गर भन्ने उद्देश्य छ । तर, कुरा के आयो भने अहिले २० वटा निर्जीवन बीमा कम्पनीको छ । जसमा कसैको पुँजी पुगिसकेको छ । २० वटा कम्पनी धेरै भयाे भन्ने उहाँहरूकाे धारणा छ। यहि ४ वर्ष अगाडि बीमा समितिबाटै तीन वटा नयाँ लाइसेन्स दिएको थियो । त्यतिबेला तपाईंहरुको पहुँच पुगेको छैन, अझ कम्पनी थप्नुपर्छ भनेर समितिले भनेकाे थियाे । अहिले ४ वर्षपछि आएर उहाँहरुले (समिति) फेरि कम्पनी थोरै भयो, संख्या घटाउनु पर्याे । पुँजी वृद्धिको औचित्य पुँजी वृद्धि हुने/नहुने भन्ने भएन । तर, पुँजी वृद्धिको औचित्य के हो भन्ने हो । बीमा समितिले जोखिममा आधारित पुँजी (रिक्स बेस क्यापिटल) मा जाने भनेकाे छ । यसमा जान तपाईं जति काम गर्नुहुन्छ । त्यति बढी जोखिम लिनुहुन्छ । त्यसमा पुँजी हुनुपर्यो । त्यो थाम्नुपर्यो । भोलि मैले ठूलो काम गर्नु पर्याे भने ठूलो लगानी गर्नुपर्याे । जोखिम धेरै लिनु पर्याे । होइन मलाई यति नै ठीक छ भने त्यसैमा सीमित रहनु पर्याे । रिक्स बेस क्यापिटलमा जान हामी तयार छौं । जो व्यक्तिले व्यापार बढाएर जान्छ उसले पुँजी बढाउँछ । बढ्छ बढ्दैन भन्दा पनि पुँजी बढाउने औचित्य के हो ? व्यापार बढेपछि स्वचालित रुपमा पुँजी बढाउँदै जाऔंला । समितिले रिक्स बेस क्यापिटलमा जाने भनेकाे छ, र फेरि न्यूनतम पुँजी पनि राख्ने भनेकाे छ । पहिले त कति कम्पनीहरू हुँदा ठीक हो भन्नेको अध्ययन हुनु पर्याे । अहिले २० वटा छ, १० वटा ठीक हो की ५ वटा हो की । बजारमा कति वटा ठीक हुन्छ भन्ने कुराको अध्ययन हुनु पर्याे । १० वटा कम्पनी नै भएपनि त्यहाँ अस्वस्थ प्रतिस्पर्धा नहुने भन्ने छैन । मर्जरमा जाने कुरामा नियामक निकायले बाध्य पारेपछि जानै पर्याे । तर, मर्जरमा जाने भन्ने कुरा त्यति सजिलो छैन । एउटा कम्पनीमा दुईवटा मिल्नलाई बीमामा धेरै विषयहरू छ । बैंक तथा वित्तीय संस्था जस्तो पनि होइन । यहाँ हरेक कम्पनीको आउटस्ट्याडिङ् क्लेम (तिर्न बाँकी दावी) छ । त्यो दावी आज पर्याे भने आजै निर्णय हुँदैन । समय लाग्छ । जस्तै, आज बाढी गएर हाइड्रोपावर डुब्यो । उसले मेरो ५० करोडको नोक्सानी भयो भन्यो । तर, कम्पनीले ४० करोडको अनुमान गरेको हुन्छ । भोलि त्यो घटेर २० करोड या बढेर ६०/७० करोड पनि हुन सक्छ । त्यसैले कुनै पनि कम्पनीको तिर्न बाँकी दाबी यति नै हो भनेर एकिन गर्न गाह्रो हुन्छ । मर्जरमा जान आवश्यक छैन व्यक्तिगत रुपमा भन्नु पर्दा कम्पनीहरुलाई मर्जर आवश्यक छैन । आज २० वटा कम्पनी छ भोलि १० वटा भएपनि प्रतिस्पर्धा एउटै हुन्छ । धेरै कम्पनी भएपछि धेरै अन्योल भयो भने समितिकाे बुझाइ छ। कम भयो भने बजार नियन्त्रण गर्न सकिन्छ भन्ने हो । यो पनि उहाँहरू (समिति)को तर्फबाट ठिकै होला । तर, अहिलेको कम्पनीलाई मर्जरमा जाउ भन्नलाई सजिलो छैन । कर्मचारीहरु कसरी मिलाउने । तिर्न बाँकी दावीहरु कसरी मिलाउने । भन्दैमा गर्न सकिने छैन । धेरै लफडा आउन सक्छ । मर्जरमा गएर २ वटा कम्पनी जोडेपछि झन राम्रो हुन्छ भने हामी जान तयार छौं । तर, २ कम्पनी जोडेर झन् खराब हुने भो भने त्यो नराम्रो हुन्छ । बैंक अफ काठमाण्डू (बीओके) को केसमा उहाँहरु बीओके र लुम्बिनी बैंकको मर्जर गर्नुभयो । पहिले बीओके टप ५ मा थियो । पछि आएर मर्ज गरेपछि लोवेस्ट बटम ५ मा उहाँहरु हुनुहुन्छ । मर्ज गर्दैमा राम्रो हुन्छ भन्ने होइन । हकप्रद सेयर जारी गर्न नदिने नै भनेकाे छ । दिए पनि औचित्य नै छैन । क्यापिटल प्लानको प्रस्तावमा हामीले पुँजी बढाउनुको औचित्य नै छैन भनेका थियौं । दोश्रो विकल्पमा, नियामक निकायले भनेपछि गरौं । तर, बीमाकोषलाई पुँजी मानौं भनेका थियौं । त्यो गर्दा २० प्रतिशत फरक आउँथ्यो । त्यसको हकप्रद सेयर जारी गरौं भनेका थियौं । त्यो पनि मान्य भएन भने ३/४ वर्ष समय दिनु बोनस र हकप्रद गरेर पुँजी पुर्याउँछौं भन्ने प्रस्ताव थियो । लगानी प्रतिफल राम्रो छैन अहिले बीमामा भएको लगानीको प्रतिफल नै राम्रो छैन । जति प्रतिफल कम्पनीले दिन सक्नुपर्ने हो त्यो दिन सकेका छैनौं । जति पनि कम्पनीहरु हेर्ने हो भने १०/१२ प्रतिशतभन्दा बढी छैन । जबकी बैंकको व्याज नै १०/१२ प्रतिशत नाघिसकेको छ । त्यसको रिटर्न त खासै केही भएन अहिलेको अवस्थामा । तपाईंले पुँजी दोब्बर गर्नुभयो भने त ४/५ प्रतिशतमा आउन सक्छ । बीमामा जति व्यवसाय बढ्नु पर्ने थियो त्यो बढ्न नपाएर प्रतिफल पनि बढ्न पाएको छैन । प्रतिफल बढाउनको लागि नन् ट्यारिफवालामा न्यूनतम दर लगाउनु पर्छ भन्नु भएको छ । किनभने यसमा धेरै घाटा भयो । दावी धेरै भयो । प्रिमियम घट्दै गयो । दावी बढ्दै गयो । कोभिड इन्स्योरेन्स गर्नै नहुने इन्स्योरेन्स कोभिड इन्स्योरेन्सले गर्दाै कम्पनीहरुलाई धेरै नोक्सान भइरहेको छ । यो त गर्नै नहुने इन्स्योरेन्स हो । नियामक निकाय र नेपाल सरकारले गर्नुपर्छ भनेर गरायौं । त्यसमा पुरै नोक्सान भयो । त्यसमा हाम्रो कम्पनीहरूको ४/४ करोड दिएको छ । त्यो त कम्पनीको भयो । नेपाल सरकारबाट आउनुपर्ने पैसा बाँकी नै छ । जुन सरकारको दायित्व थियो, त्यो पनि आउनु पर्याे । हाम्रो सबै कम्पनीहरुले दिइसक्यो । बीमा समितिले पनि दियो । यो भन्दा बढी दायित्व लिन्छु भन्ने नेपाल सरकारले सारा बीमा क्षेत्रलाई नोक्सान बनाएको छ । बीमा क्षेत्रमा लगानी गर्ने सन्तुष्ट छैनन् भन्न पनि भएन । एउटा व्यवसायबाट गरेको आम्दानीबाट । हरेक कम्पनीले हरेक वर्ष न्यूनतम १०/१५ प्रतिशत प्रतिफल दिइरहेको छ । र, अर्को सेयर बजारबाट सन्तुष्ट नै छन् । बजारमा इन्स्योरेन्सको सेयर मूल्य उच्च नै छ । न्यूनतम पनि ८ सय रुपैयाँ नै छ । सेयर मार्केटबाट पनि लगानीकर्ताले फाइदा नै गरेका छन् । त्यसैले लगानी खराबै हो भन्न मिल्दैन । प्रतिफल पाएकै छन् । सेयर बजारमा लगानी गर्नेलाई फाइदा बजारमा इन्स्योरेन्सको सेयर सीमित छ । बजारमा २० वटा निर्जीवन कम्पनी छ । सबैको १ अर्बको पुँजी छ । कूल पुँजीको ५० प्रतिशत दोश्रो बजारमा भएपनि ८/९ अर्बको क्यापिटलको सेयर मार्केटमा भयो । जबकी बैंकको हेर्नुभयो भने एउटै बैंकको १२/१३ अर्बको पुँजी छ । त्यसैले निर्जीवन बीमा बजारमा सेयरको माग छ । जसले गर्दा लगानीकर्तालाई भविष्यमा फाइदा हुन्छ । नियामक निकायले बीमा क्षेत्रका विकृति हटाएर थप राम्रो बनाउनु पर्छ । पछिल्लो समय निकायबाट धेरै सकारात्मक परिवर्तन भइरहेको छ । उधारो बीमा भइरहेको थियो । अहिले त्यो पूर्ण रुपमा हटेको छ । अनुगमन पनि भइरहेको छ । तर, क्यापिटल बढाउने कुरामा हामीसँग सर-सल्लाह गरिएन । जसले गर्दा बीमा क्षेत्रलाई नै अफ्ठ्यारो भयो । त्यसैले, त्यस्तो नीति नियम बनाउँदा सरोकारवालाहरुसँग छलफल गर्न आवश्यक देखिन्छ । अर्को, सञ्चालकहरुको कार्यकाल २ कार्यकाल बाहेक बस्न नपाउने व्यवस्था छ । मुख्य लगानीकर्ता बस्न नपाउने अर्को ल्याउनु पर्ने । यसमा समिति अधिकारभन्दा बाहिर जानुभएको छ । यस्तो व्यवस्था उहाँहरुले भन्दा पनि ऐनमा परिवर्तन भएर आउँदा राम्रो हुन्थ्यो । कम्पनीहरुलाई प्रत्यक्ष असर पर्दैनथ्यो । स्वेच्छिक बीमा गराउन आवश्यक अहिलेको परिवेशमा निर्जीवन बीमामा थप लगानीको आवश्यक नै छैन । निर्जीवन बीमा क्षेत्रमा कम्पनीहरुमा अस्वस्थ प्रतिस्पर्धा छ भनिरहेका छौं त्यसको न्यूनिकरण गर्नु पर्याे । र, नियमन निकायले दिएको नियम कानुन निर्देशनको पालना गर्नुपर्छ । त्यो गर्याे भने बीमा क्षेत्र स्वच्छ हुन्छ । त्यसपछि स्वस्थ प्रतिस्पर्धा हुन्छ । र, सम्पूर्ण क्षेत्रमै कुनै समस्या हुँदैन । अर्को, बीमा क्षेत्रको साइज बढाउनु पर्याे । कम्पनी, बीमा समिति र सरकार मिलेर सबैले इन्स्योरेन्स गरौं र गराऔं । जसलाई बाध्यात्मक पर्या छ उहाँहरुले बीमा गर्नुभएको छ । तर, जो स्वेच्छिक छ उसले आफ्नो अन्तर्आत्माबाट मैले बीमा गर्नुपर्छ । भोलि जोखिम छ, आगलागी हुन सक्छ भन्ने सोचाई आउन सकेको छैन । यसमा हामीले थप गृहकार्य गर्नुपर्यो । र, थप बीमा जागरण ल्याउनु पर्याे । हामी नियामक निकायले कतिपय राम्रो काम गर्नुभएको छ । सल्लाह सुझाव दिनुभएको छ । कतिपय व्यवस्थाहरु हामीसँगैको सहाकार्यमा ल्याएको भए राम्रो हुन्थ्यो । कतिपय अफ्ठ्यारो कुराहरु छन् । ती कुराहरु छलफलमा समाधान होला जस्तो लाग्छ । (लुम्बिनी जनरल इन्स्योरेन्सका अध्यक्ष मूलसँग गरिएको कुराकानीमा आधारित)