भदौ ८ गतेभित्र सेयर कर्जा १२ करोडमा झार्नै पर्ने, नत्र १०० प्रतिशत प्रोभिजन

काठमाडौं । नेपाल राष्ट्र बैंकले भदौं ८ गतेभित्र सेयर कर्जालाई सीमाभित्र ल्याउन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ । बुधबार जारी एकिकृत निर्देशनमा मार्जिन प्रकृतिको कर्जा रू. १२ करोड भन्दा तल झर्न निर्देशन दिइएको हो । मौद्रिक नीतिमा कुनै एक वा सबै इजाजतपत्रप्राप्त संस्थाहरुबाट सेयर धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जाको अधिकतम एकल ग्राहक कर्जा सीमा कुल रु. १२ करोड तोकिएको थियो । ‘मिति २०७८।०५।०८ पूर्व कुनै ऋणीलाई सीमाभन्दा बढी कर्जा प्रवाह भएको भए त्यस्तो कर्जालाई क्रमिक रुपले घटाउँदै लगी कर्जाको भुक्तानी अवधि वा सो मितिबाट एक वर्ष मध्ये जुन पहिले हुन्छ सो अवधि भित्र नियमित गरिसक्नु पर्नेछ’ राष्ट्र बैंकको एकिकृत निर्देशनमा भनिएको छ । कर्जा प्रवाह भएको मितिले एक वर्ष तोकिएकोले २०७९ भदौ ८ गतेभित्र सेयर कर्जा सीमामा ल्याउनु पर्ने वाध्यता बैंक तथा वित्तीय संस्थालाई आईपरेको हो । रु १२ करोड भन्दा बढी कर्जा लिने ऋणिको विवरण भने आधिकारिक रुपमा सार्वजनिक गरिएको छैन । यस्तो कर्जा प्रवाह गर्ने बैंक तथा वित्तीय संस्थाले कर्जा प्रवाह वा नवीकरण गर्दा उक्त सीमा ननाघेको यकिन गरेर मात्र कर्जा प्रवाह/नवीकरण गर्नु पर्नेछ । तोकिएको सीमा नाघी कर्जा प्रवाह वा नवीकरण गरेमा बैंक तथा वित्तीय संस्थाले उक्त कर्जामा शतप्रतिशत कर्जा नोक्सानी व्यवस्था कायम गर्नु पर्ने राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकको नयाँ व्यवस्था : नगद लाभांशमा खुकुलो, ब्याजदरमा कडाइदेखि सुविधा हटाउनेसम्म

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति कार्यान्वयनका लागि बैंक तथा वित्तीय संस्थाहरुलाई एकिकृत निर्देशन जारी गर्दै विभिन्न व्यवस्थाहरु गरेको छ । राष्ट्र बैंकले बुधबार एकिकृत निर्देशन जारी गर्दै संस्थागत निक्षेपकर्ताको ब्याजदरमा कडाइ गरेको छ । अब बैंक तथा वित्तीय संस्थाहरुले सर्वसाधारणलाई मुद्दती निक्षेपमा प्रदान गरिने अधिकतम ब्याजदरभन्दा कम्तीमा दुई प्रतिशत बिन्दुले कम ब्याज दिनु पर्नेछ । यस्तै, नेपाल राष्ट्र बैंकले लाभांश वितरणमा बैंक तथा वित्तीय संस्थालाई खुला छोडेको छ ।यसअघि केही नीतिगत व्यवस्था भएपछि राष्ट्र बैंकले अब भने खुला नै छोडेको हो । यस्ता छन् नयाँ व्यवस्था : नगद लाभांशमा खुकुलो राष्ट्र बैंक बैंक तथा वित्तीय संस्थाले नगद लाभांश वितरणमा खुकुलो नीति ल्याएको हो । इजाजतपत्र प्राप्त संस्थाको २०७८ असार मसान्तमा कायम निक्षेपको भारित औसत ब्याजदरको प्रतिशतभन्दा बढी नहुने व्यवस्था थियो । खुद वितरणयोग्य मुनाफा कुल चुक्ता पुँजीको ५ प्रतिशतभन्दा कम भएका इजाजतपत्र प्राप्त संस्थाले कर प्रयोजनका लागि बाहेक नगद लाभांश वितरण गर्न नपाउने व्यवस्था भएकोमो अब सो व्यवस्था हटेको हो । दुई प्रतिशत मात्रै प्रिमियम इजाजतपत्र प्राप्त संस्थाले २ करोड सम्मको खाद्यान्न उत्पादन, पशुपंक्षी, मत्स्यपालन, निर्यातजन्य उद्योग, शतप्रतिशत स्वदेशी कच्चा पदार्थमा आधारित उत्पादनमूलक उद्योग, हस्तकला तथा सीपमूलक व्यवसाय एवंम् उद्यम व्यवसाय (आयातसम्बन्धी व्यवसाय बाहेक) सञ्चालनका लागि कर्जा प्रवाह गर्दा आधार दरमा २ प्रतिशतसम्म मात्र थप गरी ऋणको ब्याज तोक्नु पर्नेछ । २० लाखसम्मका यस्ता कर्जा प्रवाह गर्दा मोटर बाटो नभएको खेतीयोग्य जमिनलाई पनि बैंक तथा वित्तीय संस्थाले धितोको रुपमा स्वीकार गर्न सक्नेछन् र प्रत्येक शाखाले यसप्रकारको कर्जासम्बन्धी निवेदन प्राप्त भएको सात कार्य दिनभित्र स्वीकृत गर्नुपर्ने र स्वीकृत हुन नसक्ने भएमा सोको स्पष्ट कारण समेत उल्लेख गरी सम्बन्धित ग्राहकलाई लिखित रुपमा दिनुपर्ने छ । यस्तै, निजी क्षेत्रलाई सूचना प्रविधि पार्क तथा औद्योगिक पार्क निर्माण गर्न कर्जा प्रवाह गर्दा आधार दरमा अधिकतम २ प्रतिशत बिन्दुसम्म प्रिमियम थप गरी ब्याजदर निर्धारण गर्नु पर्नेछ । सेयर धितो कर्जामा १२ करोडको सीमा कुनै एक वा सबै इजाजतपत्र प्राप्त संस्थाहरुबाट सेयर धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जाको अधिकतम एकल ग्राहक कर्जा सीमा कुल १२ करोड कायम गरिएको छ । मिति २०७८ भदौ ८ पूर्व कुनै ऋणीलाई सीमाभन्दा बढी कर्जा प्रवाह भएको भए त्यस्तो कर्जालाई क्रमिक रुपले घटाउँदै लगी कर्जाको भुक्तानी अवधि वा सो मितिबाट एक वर्ष मध्ये जुन पहिले हुन्छ सो अवधिभित्र नियमित गरिसक्नु पर्नेछ । यस्तो कर्जा प्रवाह गर्ने बैंक तथा वित्तीय संस्थाले कर्जा प्रवाह वा नवीकरण गर्दा उक्त सीमा ननाघेको यकिन गरेर मात्र कर्जा प्रवाह/नवीकरण गर्नु पर्नेछ । तोकिएको सीमा नाघी कर्जा प्रवाह वा नवीकरण गरेमा बैंक तथा वित्तीय संस्थाले उक्त कर्जामा शतप्रतिशत कर्जा नोक्सानी व्यवस्था कायम गर्नु पर्नेछ । यसअघि ४ करोडभन्दा बढी कर्जा प्रवाह गर्न नहुने व्यवस्था थियो । कर्मचारीलाई तालिम आवश्यक बैंक तथा वित्तीय संस्थाले कर्मचारीलाई कार्यक्षेत्रसँग सम्बन्धित तालिम प्रत्येक २ वर्षमा कम्तिमा एक पटक र ट्रेड फाइनान्स तथा कर्जा सम्बन्धी कार्य गर्ने कर्मचारीलाई विशिष्टिकृत तालिम प्रत्येक वर्ष प्रदान गर्नु पर्नेछ । बैंक तथा वित्तीय संस्थाले बैंकिङ्ग क्षेत्रमा दक्ष जनशक्तिको विकास गर्नका लागि नयाँ भर्ना भएका कर्मचारीहरुलाई बैंक प्रवेश गरेको १ महिनाभित्र कम्तिमा दुई हप्ताको अभिमुखीकरण तालिम प्रदान गर्नुपर्नेछ । (झ) बैंक तथा वित्तीय संस्थाले कर्मचारीलाई प्रदान गरेको तालिमको शिर्षक, मिति, अवधि, तालिम प्राप्त गर्ने कर्मचारीको नामावली लगायतका विवरण संस्थाको वेबसाइटमा अर्धवार्षिक रुपमा अद्यावधिक गर्नु पर्नेछ । सीआरआर ४ प्रतिशत राख्नु पर्ने अब बैंकहरुले अनिवार्य नगद मौज्दात अन्तर्गत कुल निक्षेप दायित्वको ४ प्रतिशत अनिवार्य नगद मौज्दातवापत यस बैंकमा राख्नु पर्नेछ । यस व्यवस्था बमोजिम कायम गर्नु पर्ने अनिवार्य नगद मौज्दातको न्यूनतम ७० प्रतिशत रकम दैनिक रुपमा यस बैंकमा राख्नु पर्नेछ । एसएलआर १२ प्रतिशत कायम बैंकहरुले वैधानिक तरलता अनुपात सम्बन्धी व्यवस्था २०७९ पुस मसान्तदेखि इजाजतपत्र प्राप्त “क” वर्गका बैंकले कुल स्वदेशी निक्षेपको १२ प्रतिशत, “ख” वर्गका विकास बैंक र “ग” वर्गका वित्त कम्पनीले १० प्रतिशत वैधानिक तरलता अनुपात कायम गर्नु पर्नेछ । पोलिसी रेट परिवर्तन भएमा ब्याज परिवर्तन सकिने निक्षेपमा दिने ब्याजदर मासिक रुपमा मात्र परिवर्तन गर्न सकिनेछ । आगामी महिनाको लागि निक्षेपमा (स्वदेशी तथा विदेशी मुद्रा) लागु हुने ब्याजदरसम्बन्धी सूचना नेपाली महिना शुरु हुनु पूर्व प्रकाशित गरिसक्नुपर्ने छ । तर, नेपाल राष्ट्र बैंकले तय गर्ने बैंक दर तथा नीतिगत दर परिवर्तन भएमा तत्काल ब्याजदर परिवर्तन गरी प्रकाशन गर्न सकिनेछ । ब्याजमा ०.५ प्रतिशत घटबढ गर्न पाइने नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुले निक्षेपको प्रकाशित ब्याजदरमा ०.५ प्रतिशत बिन्दु भन्दा बढी नहुने गरी निक्षेप संकलन गर्न पाइने व्यवस्था गरेको छ । राष्ट्र बैंकले बुधबार बैंक तथा वित्तीय संस्थाहरुका लागि एकिकृत निर्देशन जारी गर्दै यस्तो व्यवस्था गरेको हो । ‘बोलकवोलको आधारमा संकलन हुने मुद्दती निक्षेप (स्वदेशी तथा विदेशी मुद्रा) को हकमा प्रकाशित ब्याजदरमा ०.५ प्रतिशत बिन्दु भन्दा बढी नहुने गरी निक्षेप संकलन गर्नु पर्नेछ,’ एकिकृत निर्देशनमा भनिएको छ । बैंकदर ८.५ प्रतिशत कायम यस बैंकबाट इजाजतपत्रप्राप्त संस्थाहरुलाई प्रचलित ऐनमा भएको व्यवस्था अनुसार उपलब्ध गराईने कर्जाको ब्याजदर (बैंकदर) ८.५ प्रतिशत कायम गरिएको छ । ब्याजदर करिडोरको माथिल्लो सीमाको रुपमा रहेको स्थायी तरलता सुविधा दर ८.५ प्रतिशत, तल्लो सीमाको रुपमा रहेको निक्षेप संकलन दर ५.५ प्रतिशत र नीतिगत दरको रुपमा रहेको रिपो दरलाई ७.० प्रतिशत कायम गरिएको छ । मर्जरको सुविधा पुससम्म वाणिज्य बैंकहरु एक आपसमा गाभ्ने/गाभिने वा प्राप्ति प्रक्रियामा संलग्न भई २०७९ पुस मसान्तभित्र एकीकृत कारोबार सञ्चालन गरेमा काठमाडौं उपत्यका बाहिर तीन वटा शाखा खोली सञ्चालनमा ल्याए पश्चात एकीकृत कारोबार गरेको मितिले १ वर्षसम्म काठमाडौं उपत्यकामा एक शाखा खोल्न यस बैंकको स्वीकृति लिनुपर्ने छैन । २०७९ पुस मसान्तभित्र गाभ्ने/गाभिने तथा प्राप्ति प्रक्रिया सम्पन्न गरी एकीकृत कारोबार गर्ने गरी दुई वा दुईभन्दा बढी वाणिज्य बैंकहरु एकापसमा गाभ्ने/गाभिने तथा प्राप्ति प्रक्रियामा सहभागी भएमा एक पटकका लागि ६५ वर्ष उमेर नाघेको व्यक्ति बैंक तथा वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त/पुनः नियुक्त हुन बाधा पर्ने छैन । वाणिज्य बैंकहरु एक आपसमा गाभ्ने/गाभिने वा प्राप्ति प्रक्रियामा संलग्न भई २०७९ पुस मसान्तभित्र एकीकृत कारोबार सञ्चालन गरेमा यस बैंकबाट तोकिएको कुल निक्षेपमा सरकारी संस्था एवम् संस्थानहरु, पब्लिक लिमिटेड कम्पनीहरु, बचत तथा ऋण सहकारी संस्था तथा त्यस्ता संस्था एवम्संस्थान मातहत संचालित कोषहरुको निक्षेपको अंश प्रति संस्था १० प्रतिशत बिन्दुले थप गरिनेछ । वाणिज्य बैंकहरु एक आपसमा गाभ्ने/गाभिने वा प्राप्ति प्रक्रियामा संलग्न भई २०७९ पुस मसान्तभित्र एकीकृत कारोबार संचालन गरेमा यस बैंकबाट तोकिएको न्यूनतम २५ प्रतिशत बराबर ऋणपत्र जारी गर्नु पर्ने समयावधि एकीकृत कारोबार गरेको मितिले १ वर्षसम्म थप गरिनेछ । जरिवाना छुट बैंक तथा वित्तीय संस्थाबाट अधिकतम ५ करोडसम्म कर्जा उपयोग गरेका उद्यम व्यवसायहरुले २०७९ असार मसान्तसम्म तिर्नुपर्ने कर्जाको साँवा तथा ब्याज २०७९ असोज मसान्तसम्म भुक्तानी गरेमा थप हर्जाना तथा पेनाल ब्याज नलाग्ने व्यवस्था मिलाउनु पर्नेछ । बैंक तथा वित्तीय संस्थाले लघुवित्त वित्तीय संस्थालाई विपन्न वर्ग कर्जा अन्तर्गत थोक कर्जा प्रवाह गर्दा आधार दरमा २ प्रतिशत बिन्दुसम्म मात्र प्रिमियम थप गरी ब्याजदर निर्धारण गर्नुपर्नेछ । सुविधा हटे कोभिड–१९ बाट प्रभावित ऋणीको हकमा ६ महिना भन्दा बढीको ब्याज बक्यौता नरहेको अवस्थामा धितो लिलामी प्रक्रिया २०७८ असार मसान्तसम्मका लागि स्थगन गर्नु पर्ने व्यवस्था हटेको छ । यस प्रयोजनका लागि, कोभिड– १९ बाट प्रभावित ऋणीले आफ्नाे उद्योग व्यवसाय तथा आयश्रोतबाट सम्पुर्ण किस्ता भुक्तान गर्न नसकि ब्याज बक्यौतामात्र चुक्ता गर्न चाहेमा सोको विवरण तथा विस्तृत जानकारी लिखित रुपमा माग गरी बैंक तथा वित्तीय संस्थाले किस्ताको ब्याज मात्र असूल उपर गर्ने व्यवस्था यसअघि रहेकोमा अब यो व्यवस्था पनि हटेको छ । निषेधाज्ञा जारी भएका स्थानका संचालनमा पूर्ण रोक लगाइएका उद्योग, पेशा, व्यवसायको सम्बन्धमा निषेधाज्ञा अवधिभर बैंक तथा वित्तीय संस्थाले कुनै पनि प्रकारको असूलीसम्बन्धी सूचना वा लिलामीसम्बन्धी सूचना जारी गर्न नपाइने व्यवस्था भएकोमा अब यो व्यवस्था पनि राष्ट्र बैंकले हटाएको छ । बैंक तथा वित्तीय संस्थाले निषेधाज्ञाको अवधिमा कर्जाको किस्ता वा ब्याज भुक्तानी गरी विश्वसनीयता कायम गर्नसक्ने ग्राहकलाई प्रोत्साहनस्वरुप ब्याजदर वा ब्याज रकममा छुट प्रदान गर्न सक्ने व्यवस्था पनि अब हटेको छ ।

१० लाख डिपोजिट गर्दा एक करोड पाइने, कुन बैंकमा पैसा राख्दा बढी फाइदा ?

काठमाडाैं । पछिल्लो समय बैंकहरुबीच मुद्दती बचत योजनामा प्रतिस्पर्धा चलेको छ । बैंकहरुले आकर्षक योजना ल्याएर निक्षेपकर्तालाई आकर्षित बनाइरहेका छन् । यसअघि आधा दर्जन वाणिज्य र विकास बैंकहरुले मुद्दति योजना ल्याएकोमा अझै थप वाणिज्य बैंकहरुले पनि मुद्दति योजना ल्याएका हुन् । बैंकिङ प्रणालीमा तरलताको अभाव भइरहेको बेला वाणिज्य र विकास बैंकहरुले आकर्षक बचत खाता योजना सार्वजनिक गरेका छन् । सर्वसाधारणबाट निक्षेप तान्नकै लागि बैंकहरुले उच्च ब्याज तथा आकर्षक योजनासहित बचत खाता योजना सार्वजनिक गरिरहेका हुन् । बैंकहरुले १० गुणासम्म निक्षेप बढ्ने योजना ल्याएका हुन् । यदि अहिले तपाईंले कुनै बैंकमा १० लाख रुपैयाँ निक्षेप राख्नु भयो धने बैंकहले तोकिएको वर्षपछि १ करोड हुनेछ । त्यसमा कर्जाको पनि सुविधा बैंकहरुले ल्याएका छन् । कुन बैंकको कस्ता योजना ? ग्लोबल आइएमई बैंक ग्लोबल आइएमई बैंक लिमिटेडले “ग्लोबल आइएमई चक्रवर्ती मुद्दती योजना” सार्वजनिक गरेको छ । बैंकले ग्राहकको मुद्दती निक्षेपलाई दोब्बर, तेब्बर, चौबर वा सोही अनुसार बनाउन सकिने योजना सार्वजनिक गरेको हो । सो मुद्दती निक्षेप योजनाअन्तर्गत तोकिएको समयावधिभित्र निक्षेप दोब्बर, तेब्बर, चौबर वा ग्राहकको चाहना बमोजिम त्योभन्दा अझ बढी हुने बैंकले जनाएको छ । बैंकको योजनामा निर्धारित ब्याजदरको लागि आवश्यक ब्याज प्रचलित दर अनुसार लागु हुने बैंकले जनाएको छ । तर उक्त मुद्दति निक्षेप खाता सञ्चालनका लागि न्यूनतम मौज्दात १० हजार रुपैयाँ हुनुपर्नेछ । बैंकले समयानुकूल उच्चतम प्रतिफल प्रदान गरी प्रत्यक्ष रुपमा लावान्भित हुने खालका योजना ल्याउने गरेको छ । राष्ट्रिय वाणिज्य बैंक राष्ट्रिय वाणिज्य बैंकले फुल डबल मुद्दती खाता सञ्चालनमा ल्याएको छ । बैंकको अनुसार ग्राहकले यो मुद्दती खातामा लगानी गरेको रकम ६ वर्ष ७ महिना २३ दिनमा दुई गुणा हुनेछ । सो अवधीको अन्त्यमा बैंकले कुनै पनि शुल्क कट्टी नगरी ग्राहकलाई पूरा दोब्बर रकम भुक्तानी गर्नेछ । यो योजनामा ग्राहकले कुल जम्मा रकमको ९० प्रतिशतसम्म कर्जा लिन सक्नेछन् । यस मुद्दती खाता खोल्ने ग्राहकहरुले लकर सेवामा शत प्रतिशत, क्रेडिट कार्ड सुविधामा ५० प्रतिशत छुट पाउनेछन् । त्यसैगरी, यस अन्तर्गत डेबिट कार्ड, मोबाइल बैंकिङ्ग सेवामा शुरुको वर्ष निस्शुल्क र बाँकी अवधीको शुल्कमा ५० प्रतिशत छुट लगायत अन्य आकर्षक सुविधाहरु पनि प्रदान गरिने बैंकले जनाएको छ । प्राइम कमर्सियल बैंक प्राइम कमर्सियल बैंकले तीन वटा मुद्दती खाता संचालनमा ल्याएको छ । बैंकले प्राइम धनवृद्धि मुद्दती खाता (व्यक्तिगत), प्राइम धनवृद्धि रेमिट मुद्दती खाता (व्यक्तिगत) तथा प्राइम धनवृद्धि (संस्थागत) मुद्दती खाता सञ्चालनमा ल्याएको हो ।प्राइम धनवृद्धि मुद्दती खाता (व्यक्तिगत) नेपाली नागरिकहरुका लागि, प्राइम धनवृद्धि रेमिट मुद्दती खाता (व्यक्तिगत) विदेशबाट पठाएको रकम प्राप्त गर्ने नेपाली नागरिकका लागि तथा प्राइम धनवृद्धि संस्थागत मुद्दती खाता संस्थागत लगानीकर्ताहरुका लागि लक्षित गरि सञ्चालनमा ल्याइएको बैंकले जनाएको छ । बैंकका अनुसार ग्राहकहरुले यी मुद्दती खाताहरुमा जम्मा गरेको रकम २१ वर्ष ७ महिना २० दिन (प्राइम धनवृद्धि मुद्दती खाता), १९ वर्ष १० महिना ७ दिन (प्राइम धनवृद्धि रेमिट मुद्दती खाता) तथा २६ वर्ष ६ महिना ३ दिन (प्राइम धनवृद्धि संस्थागत मुद्दती खाता) सम्ममा दश गुणा बढी रकम पाउनेछन् । प्राइम धनवृद्धि मुद्दती खाता र प्राइम धनवृद्धि रेमिट मुद्दती खाताका निक्षेपकर्ताहरुले १८ घातक रोगकाविरुद्ध बीमा १० लाख, दुर्घटना बीमामा १० लाख र १ लाखसम्मको स्वास्थ्य बीमाप्राप्त गर्न सक्नेछन । यस्तै, ग्राहकले आवश्यकता अनुसार ९० प्रतिशतसम्म ऋण सुविधा प्राप्त गर्न सक्ने बैंकले जानकारी दिएको छ । एनआईसी एसिया बैंक एनआईसी एशिया बैंकले ‘एनआईसी एशिया सर्वश्रेष्ठ १० गुणा मुद्दती योजना’ लाई निरन्तरता दिएको छ । बैंकले यही आषाढ १२ गतेदेखि आषाढ मसान्तसम्मको लागि निक्षेपको १० गुणासम्म प्राप्त हुने ‘एनआईसी एशिया सर्वश्रेष्ठ १० गुणा मुद्दती योजना’ ल्याएको थियो । व्यक्तिगत, संस्थागत एवं रेमिटेन्स ग्राहकहरू लक्षित गरेर ल्याइएको सो योजनामा देश एवं विदेशमा बस्ने ग्राहकको सहभागीता, रुची एवं चासोलाई सम्मान गर्दै बैंकले यस योजनालाई २०७९ श्रावण मसान्तसम्मका लागि निरन्तरता दिने निर्णय गरेको हो । आम जनमानसको बैंकिङ्ग आवश्यकता, चाहना तथा अपेक्षालाई समुचित पहिचान गरी तथा बजारको सूक्ष्म रुपको अध्ययन तथा विश्लेषण गरी आफ्ना निक्षेप योजनाहरूलाई सोही अनुरुप थप ग्राहकमैत्री एवं प्रभावकारी बनाउन बैंकले यो योजनालाई निरन्तरता दिने निर्णय गरेको हो । उक्त योजनामा निक्षेपकर्ताले ५ वर्ष १० महिना देखि १९ वर्ष १० महिनासम्म मुद्दती खातामा रकम जम्मा गरे अनुुसार दुई गुणा देखि १० गुणा सम्म निक्षेप रकम फिर्ता पाउनेछन् । यस्तै, आफूले निक्षेप गरेको रकम र पाकेको ब्याज गरी कुल रकमको ८० प्रतिशत बराबर कर्जा समेत लिन सक्ने बैंकले जनाएकोे छ । यसअघि बैंकको ५ वर्षसम्म कुल ८४ लाख रुपैयाँसम्मको बीमा सुनिश्चित गर्ने अतुलनिय फाइदाहरूसँगै सर्वाधिक उच्च ब्याजदर, तीन बीमा सम्बन्धी सर्वश्रेष्ठ फाइदाहरू, तीन कर्जा सम्बन्धी फाइदाहरू र १८ अन्य अतुलनीय सर्वश्रेष्ठ फाइदाहरू गरी कुल २४ सर्वश्रेष्ठ फाइदाहरू रहेको ‘सर्वश्रेष्ठ बचत खाता’ योजना सञ्चालनमा ल्याएको थियो । कुमारी बैंक कुमारी बैंकले १० गुणासम्मको प्रतिफल दिने विभिन्न निक्षेप मुद्दती योजनाहरु ल्याएको छ । बैंकले २ गुणा, ३ गुणा, ४ गुणा र १० गुणासम्मको प्रतिफल दिने विभिन्न निक्षेप मुद्दती योजना ल्याएको हो । उक्त मुद्दती निक्षेप योजनाहरु दीर्घकालीन अवधिको लागी निक्षेप राखी आकर्षक प्रतिफल प्राप्त गर्न इच्छुक व्यक्ति तथा संघसंस्थालाई लक्षित गरेर ल्याइएको बैंकले जनाएको छ । सो निक्षेप योजना अनुसार व्यक्तिगत निक्षेपकर्ताले आफ्नो साँवा रकममा २ गुणा, ३ गुणा, ४ गुणा र १० गुणा प्रतिफल क्रमशः ५.९० वर्ष, १०.२१ वर्ष, १२.९४ वर्ष र २१.६३ वर्षको अवधिमा प्राप्त गर्नेछन् । यसैगरी, संस्थागत निक्षेपकर्ताले आफ्नो साँवा रकममा २ गुणा, ३ गुणा, ४ गुणा र १० गुणा प्रतिफल क्रमशः ७.२५ वर्ष, ११.७१ वर्ष, १४.९२ वर्ष र २५.४० वर्षको अवधिमा प्राप्त गर्नेछन् । यस्ता योजनाको विस्तारले औपचारिक बैंकिङ्ग प्रणालीहरू मार्फत् अर्थतन्त्रमा रकमको प्रवाहलाई प्रोत्साहन गर्नेे हुँदा हाल बैंक तथा वित्तीय संस्थाभित्र विद्यमान तरलता अभाव र सो कारणले कर्जा प्रवाहमा आएकोे अवरोधकोे स्थितिमा केहि सहजता आउन सक्ने विश्वास बैंकले राखेको छ । नेपाली वित्तिय क्षेत्रमा हाल सम्मकै व्यक्तिगत एवं संस्थागत मुद्धतीमा उच्चतम ब्याजदर दिने मध्येमा यी योजनाहरु पर्ने बैंकले जनाएको छ । माछापुच्छ्रे बैंक माछापुच्छ्रे बैंकले ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै माछापुच्छ्रे स्मार्ट मुद्धति खाता संचालनमा ल्याएको छ । उक्त खाता अन्तर्गत ग्राहकहरुले साढे ६ वर्षमा आफूले जम्मा गरेको रकमको दुईगुना रकम (डबल रकम) प्राप्त गर्न सक्ने बताइएको छ । माछापुच्छ्रे स्मार्ट मुद्धती खाता न्यूनतम ५० हजारमा नै खोल्न सकिनेछ । साथै बैंकले यस खातामा साँवा रकमको ९० प्रतिशतसम्म ऋण ग्राहकलाई प्रदान गर्नेछ । एनएमबि बैंक एनएमबि बैंकले दुई नयाँ मुद्दती योजना ल्याएको छ । बैंकले ‘एनएमबि डबल मुद्दती’ र ‘एनएमबि जन्मभूमि डबल मुद्दती’ गरी दुई योजना सार्वजनिक गरेको हो । जसमध्ये ‘एनएमबि डबल मुद्दती योजना’ अन्तर्गत ग्राहकले न्यूनतम मौज्दात ५० हजार रुपैयाँ वा सो भन्दा बढी रकमको मुद्दती खाता खोल्दा ७६ महिनापछि सो रकम डबल हुनेछ । त्यसैगरी, ‘एनएमबि जन्मभूमि डबल मुद्दती योजना’ मा नेपालीहरुले वैदेशिक रोजगारीबाट रेमिट्यान्स आएको रकममा ७० महिनामै सो रकम डबल हुने बैंकले जानकारी गराएको छ । सोही योजना अन्तर्गत एनएमबि बैंकका ग्राहकहरूले आफ्नो मुद्दती रकमको ९० प्रतिशतसम्म क्रेडिट कार्ड सुविधा र उक्त कार्ड जारी गर्दा शुल्क नलाग्ने साथै मुद्दती रसिद धितोमा पनि ८० प्रतिशतसम्म कर्जा पाउन सकिने जानकारी गराइएको छ । सेञ्चुरी बैंक सेञ्चुरी कमर्सियल बैंकले सेञ्चुरी डबल धमाका मद्धती खाता संचालनमा ल्याएको छ । यस खातामा ग्राहकहरुले साढे ६ वर्षमा आफूले जम्मा गरेको रकमको दुई गुनणा रकम (डबल रकम) प्राप्त गर्न सक्नेछन् । सेञ्चुरी डबल धमाका मद्धती खाता न्यूनतम १० हजार रुपैयाँमा नै खोल्न सकिनेछ । यस खातामा बैंकले ग्राहकलाई मोबाइल बैंकिंङ, भिसा डेबिट कार्ड र एसएमएस एलर्ट निःशुल्क उपलब्ध गराएको छ । साथै, यस खातामा साँवा रकमको ८० प्रतिशतसम्म ऋणपनि लिन सकिनेछ । बैंक अफ काठमाण्डू बैंक अफ काठमाण्डूले ग्राहक लक्षित आकर्षक प्रतिफल तथा विशेषतायुक्त बिओके सुपर मुद्दती खाता योजना सञ्चालनमा ल्याएको छ । बैंक अफ काठमाण्डूले बिओके सुपर बचत खातामा बचत रकमको २ गुणादेखि अधिकतम ४ गुणासम्म प्रतिफल दिन्छ । ‘बिओके सुपर मुद्दतीमा लगानी, भविष्यको लागि सुरक्षित आम्दानी’ नारासहित बैंकले ६ वर्ष ५ महिनामा निक्षेपको २ गुण देखी १३ वर्षमा निक्षेपको चार गुणासम्मको प्रतिफल योजना ल्याएको हो । यस्तो प्रतिफल प्रतिशतमा नभएर अब कुल निक्षेपको चार गुणा पाइने बैंकले जनाएको छ । खासगरी बिओके सुपर मुद्दती खातामा तीन किसिमको योजना ल्याएको बैंकले ६ वर्ष ५ महिनामा दुई गुणा, १० वर्ष ३ महिनामा तीन गुणा र १३ वर्षको मुद्दती निक्षेपमा अधिकतम चार गुणासम्म प्रतिफल दिने जनाएको छ । यद्यपि, यस्तो निक्षेपका लागि निक्षेपकर्ताले न्यूनतम ५० हजार रुपैयाँ खातामा राख्नुपर्नेछ । नेपाल एसबिआई बैंक नेपाल एसबिआई बैंकले धनवृद्धि योजना अन्तर्गत आकर्षक मुद्धती खाता संचालनमा ल्याएको छ । बैंकले यस योजना अन्तर्गत ग्राहकले जम्मा गरेको रकम ६ वर्ष ६ महिनामा दुई गुणा तथा १० वर्ष ३ महिनामा ३ गुणाभन्दा बढी प्रतिफल दिने मुद्धती खाता संचालनमा ल्याएको हो । बैंकका अनुसार उक्त खातामा ब्याज सावाँमा पुँजीकृत हुँदै परिपक्वता पश्चात एकमुष्ट रकम भुक्तानी हुनेछ । बैंकले ग्राहकहरुलाई खातामा रहेको सावाँ रकमको ९० प्रतिशतसम्म ऋण दिन सक्ने जानकारी दिएको छ । यसका साथै संस्थाको हकमा जम्मा गरेको रकम ७ वर्षमा दुई गुणा तथा ११ वर्ष ३ महिनामा ३ गुणा हुने बैंकले जनाएको छ । सिद्धार्थ बैंकले आफ्ना ग्राहकको लागि निक्षेप रकमको १० गुणासम्म प्रतिफल प्राप्त हुने ‘सिद्धार्थ श्रीवृद्धि मुद्दती खाता’ सञ्चालनमा ल्याएको छ । सिद्धार्थ बैंक बैंकको अनुसार व्यक्तिगत, संस्थागत एवं रेमिन्ट्यान्स ग्राहकवर्गहरुलाई लक्षित गरी ल्याइएको यस मुद्दती खातामा न्यूनतम १० हजार जम्मा गरी खाता खोल्न सकिने छ । यस मुद्दती खातामा ग्राहले बैंकले तोकेको समयावधि पश्चात् आफ्नो साँवा रकमको २ गुणा देखि १० गुणा सम्मको प्रतिफल प्राप्त गर्न सक्नेछन् । यसका अतिरिक्त, ग्राहकले आफ्नो साँवा रकमको ९० प्रतिशतसम्मको कर्जा सुविधा पाउनुका साथै १०० प्रतिशतसम्मको क्रेडिट कार्ड सुविधा समेत प्राप्त गर्न सक्नेछन् । ग्राहकलाई उक्त क्रेडिट कार्ड जारी गर्दा कुनै पनि शुल्क नलाग्ने बैंकले जनाएको छ । सानिमा बैंक सानिमा बैंकले बैंकले न्युनतम अवधिमा ५ गुणासम्म हुने व्यक्तिगत तथा संस्थागत सानिमा धमाका मुद्धति खाता ल्याएको छ । बैंकको यस योजना अन्तर्गत ३ वटा मुद्धति खातास् रेमिट्यान्स धमाका मुद्धति खाता, सानिमा धमाका मुद्धति खाता र सानीमा कर्पोरेट धमाका खाता रहेको छ । बैंकले सानिमा रेमिट्यान्स धमाका मुद्धति खाता अन्तर्गत ५।७९ वर्षमा दुई गुणा, ९.१८ वर्षमा तीन गुणा, ११.५८ वर्षमा ४ गुणा र १३.४५ वर्षमा ५ गुणा रकम दिने बताएको छ । बैंकले यसको न्युनतम मौजदात ५ लाख रुपैयाँ हुनुपर्ने जनाएको छ । बैंकले सानिमा धमाका मुद्धति खाता अन्तर्गत ६.३२ वर्षमा दुई गुणा, १०.०१ वर्षमा तीन गुणा, १२.३ वर्षमा ४ गुणा र १४.६६ वर्षमा ५ गुणा रकम दिने बताएको छ । बैंकले यसको न्युनतम मौजदात ५ लाख रुपैयाँ हुनुपर्ने जनाएको छ । यस्तै, बैंकले सानिमा कर्पोरेट खाता अन्तर्गत ६.९४ वर्षमा दुई गुणा, ११ वर्षमा तीन गुणा, १३.८८ वर्षमा ४ गुणा र १६.१२ वर्षमा ५ गुणा रकम दिने जनाएको छ । बैंकले यसको न्युनतम मौजदात १० लाख रुपैयाँ हुनुपर्ने जनाएको छ । साथै, बैंकले सम्पूर्ण निक्षेप खाताहरुमा ब्याज प्रदान गर्ने भएको छ । बैंकले नयाँ आर्थिक वर्षलाई लक्षित गर्दै नेपाली तथा विदेशी मुद्रा खातामा यस्तो सुविधा दिन लागेका जनाएको छ । बैंकको अनुसार यो योजना बचत खाता, कल खाता तथा सम्पर्ण खाताहरुमा लागु हुनेछ । नेपाल बैंक नेपाल बैंकले नेपाल बैंक डबल धमाका मुद्दतीखाता सञ्चालनमा ल्याएको छ । व्यक्तिले यो मुद्दती खातामा लगानी गरेको रकम ६ वर्ष ४ महिना २० दिनमा दुई गुणा हुनेछ भने संस्थाको हकमा ७ वर्ष ३ महिनामा मुद्दतीको रकम दुईगुणा हुने बैंकले जनाएको छ । त्यसैगरी, रेमिट्यान्सबाट प्राप्त रकम यस मुद्दती खातामा लगानी गर्दा छ वर्ष ११ महिना २ दिनमा रकम दुईगुणा हुनेछ । यस मुद्दती खाता खोल्ने ग्राहकहरुले ५ लाखसम्मको क्रेडिट कार्ड सुविधा लगायत अन्य आकर्षक सुविधाहरु पनि प्राप्त गर्नेछन् । नेपालभरका सम्पूर्ण शाखाहरुमार्फत यो मुद्दती खाता खोल्न सकिने बैंकले जनाएको छ । ज्योति विकास बैंक ज्योति विकास बैंकले ‘ज्योति दुई गुणा डिपोजिट’ मुद्धती योजना सार्वजनिक गरेको छ । उक्त योजना अन्तर्गत ग्राहकले ५ वर्ष ११ महिनामै जम्मा गरेको रकमको दुई गुणा रकम प्राप्त गर्छन् । व्यक्तिगत ग्राहकलाई लक्षित गरी ल्याइएको यस मुद्धती खातामा न्यूनतम १० हजार जम्मा गरि खाता खोल्न सकिन्छ । यो खाता बैंकको सम्पूर्ण शाखा कार्यालयहरुबाट खोल्न सकिने छ । साथै, यस खातामा ग्राहकलाई रकम आवश्यक परेमा साँवा रकमको ९० प्रतिशतसम्म ऋण सुविधा पनि छ । महालक्ष्मी विकास बैंक महालक्ष्मी विकास बैंकलृ नयाँ मुद्दती योजना महालक्ष्मी क्रमिक बचत खाता सार्वजनिक गरेको छ । बैंकले एक हजारमै मुद्दती खाता खोल्न सकिने ‘महालक्ष्मी क्रमिक बचत खाता’ मा दैनिक मौज्दातमा १२ प्रतिशत व्याज गणना गरी उक्त व्याज त्रैमासिक रूपमा साँवामा गाभि एकमुष्ट रुपमा भुक्तानी गरिने कुरा बैंकले जनाएको छ । यस योजना अन्तर्गत खाता खोलेका ग्राहकहरुले ५ बर्षसम्म जुनसुकै समयमा यस खातामा रकम जम्मा गर्न सक्नेछन् । मुक्तिनाथ विकास बैंक मुक्तिनाथ विकास बैंकले ग्राहकलाई ध्यानमा राख्दै निक्षेपकर्तालाई व्यक्तिगत मुद्दती खातामा १२ प्रतिशतको वार्षिक ब्याजदर प्रदान गरेको छ । यस योजना अन्तर्गत बैंकमा न्यूनतम पाँच हजारको मुद्धती खाता खोल्न सकिनेछ र त्सयमा अवधि भने न्यूनतम ३ महिना देखि १५ वर्षसम्म ग्राहकले रोज्न सक्नेछन् । यस खाताबाट बचत गर्न चाहाने ग्राहकलाई न्यूनतम लगानीमा उच्चतम प्रतिफलको फाइदा पुग्ने विश्वास बैंकले लिएको जनाएको छ ।