४० बिघा जग्गामा एग्रो टुरिजम व्यवसाय गर्दै वाग्ले, कराेडौंको लगानी

काठमाडौं । जग्गा तथा आवास विकास संघका अध्यक्ष इच्छा बहादुर वाग्लेले कृषि-पर्यटन व्यवसाय गर्ने तयारी गरेका छन् । अध्यक्ष वाग्लेले बारामा कृषि-पर्यटन व्यवसाय गर्ने तयारीका साथ काम गरिरहेका छन् । उनका अनुसार अहिले त्यसका लागि जग्गा अधिग्रहणको काम भइरहेको छ । उनले ४० बिघा क्षेत्रफलमा सो व्यवसाय गर्ने तयारी थालेको बताए । नेपालका उत्पादनहरु अर्गानिक रुपमा राखेर त्यही आफुले नै खपत गर्ने योजनाका साथ सो व्यवसाय सञ्चालन गर्ने तयारी भइरहेको उनको भनाइ छ । ‘बारामा मेरो आफ्नै होटल पनि छ, कृषि-पर्यटन व्यवसायबाट उत्पादन वस्तुलाई होटलले नै खपत गर्छ, अब पर्यटनसँगै कृषिमा पनि जाने तयारी गरेको हुँ, पर्यटकका लागि पनि सो क्षेत्र आकर्षणको केन्द्र बन्न सक्छ,’ उनले विकासन्युजसँग भने । ‘अहिले त्यसको लागि जग्गा खरिदको तयारीमा लागको छौं, यसको लागि करिब ४० बिघा जमिनको आवश्यक पर्छ, करिब १५ बिघा जमिन खरिद गरिसकेका छौं, सो ठाउँमा जग्गाको मूल्य कठ्ठाको ३ लाख रुपैयाँ जस्तो पर्न जान्छ, झन्डै ६० लाख रुपैयाँ बिघाको पर्छ, जमिन खरिदको लागि ३०/४० करोड रुपैयाँ लाग्न सक्छ, यसलाई एकै पटकभन्दा पनि क्रमबद्ध रुपमा विकास गर्दै लैजाने हो,’ उनले भने । उनका अनुसार सो क्षेत्रमा सयौंले रोजगारी पाउनेछन् भने कराडौं लगानी लाग्नेछ । परियोजनाको विस्तृत अध्ययन गर्न भने बाँकी नै छ । उनका अनुसार सो क्षेत्रमा समय अनुसारको बिउ बिजन पनि उपलब्ध गराउने कृषि जडिबुटी, फलफूल उपादन गर्नेदेखि अन्न पनि उत्पादन हुनेछ । उनले यसको सञ्चालन फागुनबाट हुने बताए । उनले बारालाई स्वदेशी तथा विदेशी पर्यटकको हब बनाउने योजना रहेको सुनाए । पछिल्लो समय कृषि पर्यटनको चर्चा निकै बढेको देखिन्छ । कोरोना महामारीका कारण पर्यटन व्यवसाय संकटमा परेपछि त यसको महत्व झनै बढेको छ । नेपाल भुपरिवेष्ठित मुलुक भएका कारण कच्चा पदार्थ ल्याउन सहज नहुने भएकाले यहाँ ठूला ठूलो कलकारखाना र उद्योग सञ्चालन गर्न सहज छैन । तर यसको विकल्पमा नेपालको आर्थिक विकासमा पर्यटन र कृषि उपयुक्त माध्यम बन्न सक्ने धेरैको बुझाइ छ । एग्रो टुरिजमलाई लक्षित गरेर स्थापना गरिएका फार्म हाउसहरुमा आफ्नै उत्पादनमा जोड दिने गरिन्छ । वाग्लेले सो क्षेत्रमा बास पनि बस्न मिल्नेछ ।

नेशनल, मेट र नेपाल लाइफको बीमालेख बढी निष्कृय, पौने ६३ अर्बको व्यतित हुँदा नोक्सानमा १९ कम्पनी

काठमाडौं । हालसम्म कूल ६२ अर्ब ७९ करोड रुपैयाँ बराबरको बीमालेख (बीमा पोलिसी) व्यतित भएका छन् । आर्थिक वर्ष २०७८/७९ सम्ममा कूल १९ वटा जीवन बीमा कम्पनीहरुको ११ लाख १९ हजार ५९४ वटा बीमालेख व्यतित भएको हो । जसमध्ये रकमका आधारमा सबैभन्दा बढी बीमालेख व्यतित हुनेमा नेशनल लाइफ इन्स्योरेन्स रहेको छ । इन्स्योरेन्सको हालसम्ममा ३२ अर्ब ५२ करोड रुपैयाँ बराबरको बीमालेखमा ल्याप्सेस् देखिएको हो । संख्याको आधारमा भने ८५ हजार ४०१ वटा बीमालेखहरु ल्याप्सेस् अर्थात व्यतित् भएका छन् । त्यस्तै, अधिकांश कम्पनीकोे अर्बौं बढीको बीमालेख व्यतित भएका छन् । जसमा नेशनल लाइफसँगै मेट लाइफ, नेपाल लाइफ, लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल), गुराँस लाइफ, सिटिजन लाइफ, सूर्या लाइफ र राष्ट्रिय बीमा संस्थानहरु रहेका छन् । यसमध्ये मेट लाइफको ८ अर्ब ४१ करोड रुपैयाँ, नेपाल लाइफको ७ अर्ब ६३ करोड रुपैयाँ बराबरको बीमालेखहरु व्यतित भएका छन् बाँकीको १ देखि पौने ३ अर्ब रुपैयाँसम्मको बीमालेखहरु व्यतित भएका बीमा श्रोतले जनाएको छ । र, बाँकी रहेका ११ कम्पनीहरुको करोडौंको बीमालेखमा ल्याप्सेस् देखिएको छ । गत आर्थिक वर्षको तथ्याङ्कको आधारमा सबैभन्दा कम बीमालेख व्यतित हुनेमा महालक्ष्मी लाइफ इन्स्योरेन्स रहेको छ । समीक्षा अवधिसम्ममा इन्स्योरेन्सको १० करोड ३० लाख रुपैयाँ बराबरको बीमालेख व्यतित भएको छ । यो अवधिमा महालक्ष्मीको कूल २ हजार ६७९ वटा बीमालेखहरु यतिकै व्यतित भएका हुन् । कुनको कति ? कसरी हुन्छ बीमालेख व्यतित ? कुनै पनि कम्पनीबाट लिएको बीमालेख समयमै नवीकरण नगरेपछि उक्त बीमालेख स्वतः व्यतित हुने गर्छ । कम्पनीहरुले तोकेको समयभित्र बीमितले आफ्नो बीमालेखको नवीकरण गरेमा उक्त बीमालेख व्यतित हुँदैन । यदि बीमालेख व्यतित भएको खण्डमा कम्पनीले बीमितहरुलाई नवीकरण गर्नको लागि थप समय दिएको हुन्छ । सो अवधिभित्रमा पनि बीमालेख नवीकरण नगरेमा सो बीमालेख निष्क्रिय हुनेछ । र, बीमितिले बीमा गरेवापतको कुनै पनि जोखिम सुरक्षा पाउँदैनन् । तर, म्यादी बीमाको हकमा भने यो प्रावधान लागू नहुने समितिले जनाएको छ । बीमालेख व्यतित हुँदा बीमा गर्ने बीमित र बीमा गराउने कम्पनी दुबैले घाटा हुने देखिन्छ । सो अवस्थामा बीमितले बीमा गरे वापतको सुरक्षा तथा सेवा सुविधा पाउँदैनन् भने बीमा कम्पनीले प्रिमियम पाउँदैनन् ।

प्रभु बैंक र सेञ्चुरी बैंकबीच मर्जर सम्झौता, चुक्ता पूँजी २२ अर्ब २६ करोड पुग्ने

काठमाडौं । प्रभु बैंक र सेञ्चुरी कमर्सियल बैंक मर्ज हुने भएका छन् । दुबै बैंकले मर्जर सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेसँगै एक हुने भएका हुन् । आइतबार भएको सम्झौतामा प्रभु बैंकका तर्फबाट रमेशसिंह खड्का र सेञ्चुरी बैंकका तर्फबाट मनबहादुर राईले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । हाललाई दुबै बैंकबीच १ः१ अनुपातको रेसियोमा मर्ज हुने भनिएपनि यसमा परिवर्तन हुन सक्ने बताएको छ । मर्जर पश्चात् बन्ने बैंकको नाम प्रभु बैंक नै रहनेछ । सहमति अनुसार प्रभु बैंकले सीईओ र अध्यक्ष दुबै पाउने छ । मर्जरपछि बैंकको सीईओमा प्रभु बैंकका अशोक शेरचन नियुक्त हुनेछन् भने डेपुटी सीईओमा सेञ्चुरी बैंकका सीईओ मनोज न्यौपाने हुनेछन् । हाल प्रभु बैंकको चुक्ता पूँजी १२ अर्ब ७० करोड ८७ लाख रुपैयाँ रहेको छ भने सेञ्चुरी बैंकको चुक्ता पूँजी ९ अर्ब ५५ करोड ३९ लाख रुपैयाँ रहेको छ । मर्जर पश्चात् बन्ने बैंकको चुक्ता पूँजी २२ अर्ब २६ करोड २६ लाख रुपैयाँ पुग्नेछ ।