राजनीतिक संस्कार र विकास दुबैमा अब्बल
जसले मेयरका रूपमा उम्मेदवारी दिँदै गर्दा गरेका प्रतिवद्धता सार्वजनिक गरेको घोषणापत्र सतप्रतिशत पूरा गरे । ललितपुरलाई बस्नयोग्य एक सुन्दर सहरका रूपमा चिनाए । ललितपुरलाई पुनः सांस्कृतिक धरोहरका रूपमा मात्रै स्थापित गरेनन्, सेवाग्राहीले पाउने सेवालाई पनि पूर्ण डिजटलाइजेसन गरे, ती पात्र हुन्– ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन । विसं २०१४ साल मंसिरमा जन्मिएका चिरीबाबु उमेरले ६८ वर्ष नाघे । दाह्री–कपाल सेतै भइसके । नेपालीको औसत आयु ७१ वर्ष हो । तर, नेपाली समाजमा ४० वर्ष कट्दाबित्तिकै उमेर भयो भनेर बुढ्यौलीको गफ लगाउने अभ्यास व्याप्त छ । तर, मेयर चिरीबाबु महर्जनमा थप जिम्मेवारी बोध हुँदैछ । थप काम गर्ने जाँगर पलाउँदैछ । उनले बुढ्यौलीको होइन, विकासको बहस फैलाउँदैछन् । समाजमा श्रमदानको संस्कार बसाल्दैछन्, ध्वस्त भएका सम्पदाहरू उठाउँदैछन् र ललितपुरलाई एउटा बस्नयोग्य सुन्दर सहर बनाउँदैछन् । र त अहिले ललितपुर महानगरको वाहवाही नगर्नेहरू कमै भेटिन्छन् । महानगरभित्र चिरीबाबुलाई नचिन्नेहरू नगन्य छन् । ललितपुर पुल्चोकको एउटा सामान्य किसान परिवारमा जन्मिएका चिरीबाबुले म महानगरको मेयर बन्छु भन्ने कल्पना पनि गरेका थिएनन् । तर, काम गर्ने कर्मवीरहरूलाई भगवानले पनि चिन्दा रहेछन् । समाजले पत्याउँदो रहेछ । राम्रो काम गर्नेको वाहवाही पनि हुँदो रहेछ । अहिले त्यही वाहवाहीका पात्र बनिरहेका छन् चिरीबाबु । सानैदेखि मिहिनेत र संघर्ष गर्न रुचाउने चिरीबाबुले चार वर्षको उमेरमै बुवा गुमाउनु पर्यो । त्यसपछि उनको परिवारमा बादल मडारियो । तीन दाजुभाइ र तीन दिदीबहिनीलाई पालनपोषण गर्ने जिम्मेवारी उनको आमामा थपियो । खानलाई समस्या नभए पनि उनको घरमा नगदको अभाव भने सधैं भइरहन्थ्यो । दिदी र दाजुहरू भने अनपढ थिए । चिरीबाबुमा भने जसरी पनि पढ्नुपर्छ भन्ने बुझाइ थियो । काम गरेर जनताको मन जित्न सकिँदो रहेछ भन्ने प्रमाणित भएको छ । हामी थाक्नु हुँदैन । नसक्ने काम सक्छु भन्नु हुँदैन । तर, सक्ने काम छ भने तुरुन्तै गर्नुपर्छ, सेवाग्राही अर्को पटक नआउने गरी मैले काम गरिरहेको हुन्छु । हामीले भोलि आऊ पर्सि आऊ भनेर अल्झाउँदैनौं । ‘आमाले साह्रै दुःख गरेर हामीलाई हुर्काउनु भयो, ६ कक्षा पढ्दासम्म खुट्टामा जुत्ता/चप्पल परेन,’ ती पीडादायी र संघर्षशील दिनहरू स्मरण गर्दै चिरीबाबुले भने, ‘सानैदेखि पढाइमा अब्बल भएकै कारण आफ्नो खर्च आफै उठाउन सक्ने बनें ।’ ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जन । तस्बिर : नरेश बोहोरा/विकासन्युज कक्षा ६ मा पढ्दा उपत्यकाव्यापी वक्तृत्वकला प्रतियोगितामा चिरीबाबु दोस्रो भए । एक सय रुपैयाँ पुरस्कार पाए । त्यतिबेलाको एक सय रुपैयाँ अहिलेको एक लाख रुपैयाँ बराबर हो । त्यही पैसाले उनले जुत्ता किने । दुई जोर ड्रेस किने । त्यसपछि उनले थप मिहिनेत गर्दै गए । आफूसँगै भाइलाई पनि पढाउनुपर्छ भन्ने हिम्मत दिए । अहिले उनको भाइले विद्यावारिधि गरेका छन् । चिरीबाबु कक्षामा जहिल्यै प्रथम भए । उनले कक्षा १ देखि १० कक्षासम्म ललितपुरको त्रिपद्म माविमा पढे । स्नातकोत्तरसम्म उनले राम्रै अंकका साथ पास गरे । पढ्ने बेलादेखिको मिहिनेत गर्ने बानीले उनलाई जिन्दगीमै सफल बनायो । वडाध्यक्षमा ह्याट्रिक, दुई पटक मेयर चिरीबाबु महर्जन पढाइमात्रै होइन, समाज सेवामा पनि सानैदेखि सक्रिय थिए । शनिबार आउनेबित्तिकै टोल छिमेकका साथीभाइ बटुलेर कहिल्यै पाटीपौवा त कहिले बाटाघाटाहरू सरसफाइमा व्यस्त हुन्थे उनी । सरल र अनुशासित स्वभावका उनलाई समाजमा धरैले रुचाउँथे, प्रशंसा गर्थे । उनले पढाइ, काम र समाजसेवा सँगै अगाडि बढाए । विसं ३०३६ सालको जनमत संग्रहले चिरीबाबुमा ठूलो सामाजिक छाप परिसकेको थियो । २०३८ सालमा चुनाव भयो । उनले ललितपुरको वडा नम्बर ३ बाट वडाअध्यक्षमा जित हासिल गरे । त्यतिबेला देशभर पञ्चायतले जितेको थियो । बहुदल पराजयी भएको थियो । त्यो अवस्थामा उनले सहज जित निकालेका थिए । ‘पुल्चोक पुस्तकालय स्थापना गरें, जुन अहिले पनि सञ्चालनमा छ । टोलटोलमा फ्री क्लिनिक स्थापना गरेँ, यसले मलाई सहजै जित्न सहज भयो,’ उनले विगत स्मरण गर्दै भने । उनी वडाअध्यक्ष हुँदै गर्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको एउटा परियोजनामा काम गर्थे । उनले कामसँगै वडाअध्यक्षको जिम्मेवारी पनि लिए । दुइटै काम अगाडि बढाए । म प्राविधिक रूपमा अल्पमतमा भए पनि सबैको मन जितें, पारदर्शी भएर काम गरें । फरक पार्टीका सदस्यहरूले पनि मलाई सहयोग गर्नुभयो, नियत सही राखेर काम गरियो भने र आर्थिक रूपमा पारदर्शी बनियो भने सबैले विश्वास गर्ने रहेछन् । आफू आर्थिक रूपमा पारदर्शी भएको चिरीबाबु दाबी गर्छन् । कुनै पनि कामको हिसाबकिताब चुस्तदुरुस्त बनाएर पारदर्शी ढंगले काम गर्ने भएकोले पनि सबैले आफूलाई रुचाउने गरेको उनको बुझाइ छ । उनी २०४३ र २०४९ मा पनि वडा नम्बर ३ बाटै अध्यक्षमा विजयी भएर जनप्रतिनिधिका रूपमा जितको ह्याट्रिक गरे । २०४६ सालमा बहुदललाई समर्थन गर्न उनले वडाध्यक्षबाट राजीनामा दिएका थिए । २०५४ को चुनावमा पनि उम्मेदवार बन्ने चिरीबाबुको चाहना थियो । तर, उनी त्यतिबेला पढ्नका लागि क्यानडामा थिए । तीन महिनाको असाइनमेन्ट उनले ७२ दिनमा सकाएर नेपाल फर्किएका थिए । तर, त्यतिबेलासम्म कांग्रेसले अर्कै उम्मेदवार उठाइसकेको थियो । उनले कांग्रेसको उम्मेदवार जिताउन भरपुर सहयोग गरे । तर, कांग्रेसको उम्मेदवार ललितपुरमा पराजित भए । चिरीबाबु ज्यापू समुदायको अध्यक्ष बने । तीन वर्षको अवधिमा ज्यापू समुदायको नेतृत्व गर्दै उनले सामाजिक काममा आफूलाई सक्रिय बनाउँदै गए । २०७४ को स्थानीय तहको चुनावमा उनी नेपाली कांग्रेसको तर्फबाट मेयरको उम्मेदवार बने । त्यतिबेला राष्ट्रिय राजनीतिमा उनको नाम सुन्ने कमै थिए । तर, ज्यापू समुदायमा उनी परिचित पात्र थिए । २०७४ मा ललितपुर महानगरपालिकाको मेयरमा ३२६ मतान्तरले उनी विजयी भए । उनी विजयी भएपनि कार्यपालिकामा नेपाली कांग्रेसका १२ जना र विपक्षीका २७ जना सदस्य थिए । ‘म प्राविधिक रूपमा अल्पमतमा भए पनि सबैको मन जितें, पारदर्शी भएर काम गरें । फरक पार्टीका सदस्यहरूले पनि मलाई सहयोग गर्नुभयो, नियत सही राखेर काम गरियो भने र आर्थिक रुपमा पारदर्शी बनियो भने सबैले विश्वास गर्ने रहेछन्,’ मेयर महर्जनले आफ्नो अनुभव सुनाउँदै भने । उनको बुझाइमा चुनावमा जित्नु ठूलो कुरा होइन, जितेको कुरा सस्टेन गर्न सक्नुपर्छ । ‘मैले कुनै पनि काम गर्दा श्वेतपत्र जारी गर्छु । योजना सम्पन्न भएपछि त्यसको स्टेटमेन्ट सार्वजनिक गर्छु, त्यसले विश्वासको वातावरण सिर्जना गर्छ । विपक्षी टिमका साथीहरू पनि खुसी हुनेगरी काम गरेको छु,’ उनले भने । उनी २०७९ मा पनि मेयरकै उम्मेदवार बने । दोस्रो पटक उनले विपक्षीलाई १८ हजार मतले हराए । ‘काम गरेपछि जितिँदो रहेछ भन्ने यो उदाहरण हो,’ उनले भने, ‘मेरो कामले ललितपुरवासीले दोस्रो पटक ठूलो मतान्तरले जिताएका हुन् ।’ सम्पदाका संरक्षक, शैक्षिक हबका अभियन्ता ललितपुर महानगरपालिका सांस्कृतिक सहरका रूपमा पनि परिचित छ । २०७२ को भूकम्पले भने ललितपुरका अधिकांश सांस्कृतिक सम्पदाहरू ध्वस्त भए । यी संरचनाहरू पुनःनिर्माण हुन नसक्ने र भइहाले पनि पुरानो कलाशैलीमा बन्न नसक्ने चिन्तामा स्थानीयहरू थिए । तर, २०७४ मा मेयर बनेपछि चिरीबाबुले आफ्नो पहिलो प्राथमिकतामा सांस्कृतिक सम्पदाहरूको पुनःनिर्माणलाई राखे । भूकम्पले तहसनहस भएका ललितपुरका सम्पदाहरू अहिले पुरानै शैलीमा ठडिएका छन् । ती सम्पदाहरू थप आकर्षक बनेका छन् । भूकम्पले भत्किएका ललितपुरका मठमन्दिर, बिहार, बहाल, सत्तल, पाटी, पोखरी निर्माण सम्पन्न भइसकेका छन् । मेयर महर्जनले निर्माण भएका सबै सम्पदा पुरातात्विक शैलीमै पुनःनिर्माण गरिएको बताए । मेयर महर्जनले ललितपुर महानगरपालिकालाई स्मार्ट सिटी बनाउने लक्ष्यका साथ काम गरिरहेका छन् । स्मार्ट सिटीका आधारभूत विषयहरूलाई मध्यनजर गर्दै उनले काम गरिरहेका छन् । कुनै बेला फोहोर र खाल्डाखुल्डीले दिक्क बनाउने ललितपुरका सडकहरूले आजभोलि जो कोहीलाई पनि मोहित बनाउँछ । ललितपुरलाई स्मार्ट सिटी बनाउने योजनाका साथ महानगरले नेपालमै पहिलो पटक इन्टेलिजेन्ट ट्राफिक लाइट जडान गरेको छ । बालकुमारी मन्दिर, पाटनको देगु तलेजु, भीमकाय भीमसेन मन्दिर, बुङ्गमतीको रातो मच्छिन्द्रनाथको शिखर शैलीको मन्दिर, पिम्वाल जगमदु पोखरी, पाटी पुनःनिर्माण, सौगल महादेव मन्दिर, यशोधरा महाविहार करुणामय मन्दिर, पुल्चोक ढुङ्गेधारा मर्मत, जगनाथ मन्दिर, सिकुचा फल्चा, अशोक चैत्य, पशुपति मन्दिर, सैथु गणेश मन्दिर, हरिशङ्कर मन्दिर, तापाहिटी पाटी, चोछे लाछि पाटी, छ्याबहाल पाटी लगायतको पुनर्निर्माण तथा मर्मत कार्य सम्पन्न भइसकेको उनले बताए । ललितपुर महानगरपालिकाले महानगरको काम व्यवस्थित र मर्यादित गर्ने उद्देश्यले ‘एक्सन टिम’ बनाएर काम गरेको थियो । ‘सम्पदाको क्षेत्रमा मभन्दा पछि आउने मेयरलाई काम छैन, सबै काम सम्पन्न भइसकेको छ । ३०औं वर्षदेखि रोकिएको मछिन्द्रनाथपछिको चर्चित जात्रा पाया जात्रा सुरु गरेका छौं । धेरै जात्राका लागि अक्षय कोष सुरु गरेका छौं,’ उनले भने । विकास नायकबाट सम्मानित भएपछि तस्बिर खिचाउँदै चिरीबाबु महर्जन । सम्पदाको क्षेत्रमा उत्कृष्ट काम गरेको भन्दै ललितपुर महानगरपालिका सम्मानित पनि भएको चिरीबाबुले सुनाए । अहिले ललितपुरले महानगरले एक विद्यालय–एक सम्पदा कार्यक्रम सुरु गरेको छ । महानगरभित्र रहेका सम्पदा संरक्षण गर्न र विद्यार्थीलाई सम्पदाको बारेमा जानकारी दिन यो कार्यक्रम सुरु गरेको उनको भनाइ छ । उनले टिकाभैरवबाट सप्तपाताल पोखरीसम्म राजकुलो ल्याउने ऐतिहासिक प्रयास पनि गरेका छन् । जसको ७० प्रतिशत काम सम्पन्न भइसकेको छ । सम्पदाको संरक्षण तथा पुनःनिर्माणसँगै मेयर महर्जनले ललितपुरलाई शैक्षिक हबका रूपमा पनि चिनाएका छन् । अहिले देशभरका शैक्षिक संस्थाहरूमध्ये ललितपुर महानगरपालिकाका बोर्डिङ तथा सामुदायिक विद्यालयहरूले उत्कृष्ट नतिजा ल्याइरहेका छन् । गत वर्षको एसईईमा ललितपुर महानगरका विद्यालयले ८७.६ प्रतिशत नतिजा ल्याए । ४८६ विद्यार्थीले एसईईमा ४ जीपीए ल्याए । ७५३ पालिकामध्ये शिक्षामा उत्कृष्ट नगरका रूपमा ललितपुर सम्मानित पनि भएको छ । प्रिन्सिपल एसोसिएसन अफ नेपाल (पान) ले ललितपुर महानगरलाई शिक्षामा राम्रो काम गरेको भन्दै सम्मान पनि गरिसकेको छ । स्मार्ट सिटीका परिकल्पनाकार, आईटीमा अब्बलता मेयर चिरीबाबुले ललितपुर महानगरपालिकालाई स्मार्ट सिटी बनाउने लक्ष्यका साथ काम गरिरहेका छन् । स्मार्ट सिटीका आधारभूत विषयहरूलाई मध्यनजर गर्दै काम भइरहेको छ । कुनै बेला फोहोर र खाल्डाखुल्डीले दिक्क बनाउने ललितपुरका सडकहरूले आजभोलि जो कोहीलाई पनि मोहित बनाउँछ । ललितपुरलाई स्मार्ट सिटी बनाउने योजनाका साथ महानगरले नेपालमै पहिलो पटक इन्टेलिजेन्ट ट्राफिक लाइट जडान गरेको छ । कृत्रिम बौद्धिकता (एआई) मा आधारित ‘इन्टेलिजेन्ट ट्राफिक लाइट सिस्टम’ ले सवारीको चाप हेरेर बाटो बन्द गर्ने र खुलाउने काम स्वचालित रूपमा गर्न थालेपछि ट्राफिक प्रहरीलाई सडकमा उभिएर हात हल्लाउने, सिठी फुक्नुपर्ने बाध्यता हटेको छ । इन्टेलिजेन्ट ट्राफिक लाइटको सिस्टम नेपालमा पहिलोपटक नभएको प्रविधि हो । ‘ललितपुर महानगरलाई बस्नयोग्य स्मार्ट सिटीका रूपमा विकास गर्नेगरी काम गरिरहेको छु । स्मार्ट सिटीका राम्रा अवयवहरू पालना गरिरहेका छौं । अहिले सुन्दर, सफा र हराभरा महानगर देखेर सबैले प्रशंसा गर्नुहुन्छ, खुसी लाग्छ,’ मुस्कुराउँदै चिरीबाबुले भने । ललितपुरले मुलुकमै सबैभन्दा पहिलो एलएमसी एपबाट सेवा दिइरहेको छ । त्यसबाट निःशुल्क रूपमा २३ वटा काम हुन्छन् । कल गरेको ४ मिनेटमा पुगेर सेवा दिने गरेको उनको दाबी छ । ‘त्यो एपबाट प्रभावकारी काम भइरहेको छ, स्थानीयले फोन गरेको ४ मिनेटभित्रै पुगेर सेवा दिने गरेका छौं । कतै आगलागी भयो भने सानो दमकलबाट गल्लीगल्लीमा छिरेर आगो निभाउने काम गर्छौं, त्यसका लागि दमकलमा फर्मको व्यवस्था गरेका छौं । त्यसले जस्तोसुकै आगो पनि निभाउँछ,’ उनले भने । बाँयाबाट क्रमश : नेपाल राष्ट्र बैंकका डुपेटी गभर्नर बमबहादुर मिश्र, विकास मिडियाका अध्यक्ष रामकृष्ण पौडेल, ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जन, एनआईसी एसियाका सीईओ सुजित शाक्य र नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्दराज पाण्डे । महानगरभित्र आगलागी भएमा आपतकालीन सूचना प्रणालीको विकास पनि महानगरले गरेको छ । कुनै ठाउँमा आगलागी हुँदा तुरुन्त सूचना र प्रतिक्रिया दिन सहयोग पुर्याउने उक्त सिस्टमले धुवाँ वा ताप पत्ता लाग्ने बित्तिकै स्विच सक्रिय भई साइरन बज्छ र मोबाइलमा सन्देश पठाउँछ । अहिले पाटन दरबार क्षेत्र र पाटन अस्पतालमा यो सेवा छ । प्रभावकारी भएमा ललितपुरको चोकचोकमा राख्ने योजना मेयर चिरीबाबुको छ । उनले सरकारले अपाङ्गताको क्षेत्रमा सबै नगरपालिकाभन्दा राम्रो काम गरेको भन्दै ललितपुरलाई पुरस्कृत गरेको जानकारी दिए । निःशुल्क स्वास्थ्य सेवा, महानगरमा ‘वान डोर पोलिसी’ ललितपुर महानगरपालिकाले स्वास्थ्यमा ठूलो लगानी गरेको छ । लगानी अनुसारको नतिजा पनि आइरहेको मेयर चिरीबाबुको दाबी छ । ‘हामीले जेष्ठ नागरिकलाई वर्षैपिच्छे निःशुल्क निमोनिया खोप दिँदै आएका छौं । घर–घरमा गएर महानगरको स्वास्थ्यकर्मीसहितको टिमले चेकजाँच गरिरहेका हुन्छन्, निरन्तर फलोअप पनि हुन्छ, महिलाहरूको स्तन र पाठेघरको क्यान्सर सेवा घर–घरमै पुगेर दिन्छौं,’ उनले भने । यस्तै, ललितपुर महानगरले स्वास्थ्य बीमाको सुरुवातसँगै पाटन अस्पतालमा एलो स्वास्थ्य केन्द्र स्थापना गरेर प्रत्येक दिन २६० जनालाई सेवा दिइरहेको छ । त्यसको क्षमता बढाउने र एक्स्टेन्सन खोल्ने तयारी भइरहेको पनि उनले जानकारी दिए । ‘स्वास्थ्य बीमाको पहिलो कन्ट्याक्ट पोइन्टको रूपमा पाटन अस्पतालसँग सहकार्य गरेर ‘एलो स्वास्थ्य केन्द्र’ खोलेका छौं । त्यहाँबाट हामीले इमरजेन्सीदेखि सबै सेवा प्रवाह गर्छौं । हामीलाई सामाजिक सेवामा राम्रो काम गरेको भनेर नगरपालिका संघले पुरस्कृतसमेत गरेको छ,’ उनले भने। यस्तै, मेयर चिरीबाबुको अर्को ठूलो सफलता सुशासन र नागरिक सेवा प्रवाहमा देखिएको छ । सेवाग्राहीले महानगरपालिकाभित्रका कामहरूका लागि शाखा–शाखा धाउनु नपरोस् भनेर उनले ‘वान डोर पोलिसी’ लागू गरेका छन् । यसमा सेवाग्राहीले एउटै शाखामा गएर काम गर्न सक्छन् र कामको प्रगति कहाँ पुग्यो भन्ने जानकारी उनीहरूको मोबाइलमा मेसेजमार्फत पठाइन्छ । नगर प्रहरी पनि देशभरका पालिकाहरूले सिक्ने गरी उत्कृष्ट बनेको छ । उनले नगरवासीलाई एउटै छानामुनिबाट सेवा दिनका लागि ब्लक बी भवन निर्माण गरेका छन् । जहाँबाट महानगरका सबै शाखाबाट हुने सेवाहरू प्रवाह हुनेछन् । ‘हामी थाक्नु हुँदैन । नसक्ने काम सक्छु भन्नु हुँदैन । तर, सक्ने काम छ भने तुरुन्तै गर्नुपर्छ, सेवाग्राही अर्को पटक नआउने गरी मैले काम गरिरहेको हुन्छु । हामीले भोलि आऊ पर्सि आऊ भनेर अल्झाउँदैनौं,’ उनले भने, ‘त्यसैले पनि नगरवासीको मन जितिएको छ ।’ प्रतिवद्धता सतप्रतिशत पूरा मेयर चिरीबाबु महर्जनले आफूलाई राजनीतिकर्मीभन्दा पनि जनताको सेवकका रूपमा चिनाउन रुचाउँछन् । दुई कार्यकालमा आफूले प्रतिवद्धता गरेका अधिकांश काम सम्पन्न गरेको उनको दाबी छ । ‘मैले घोषणापत्रमा राखेका अधिकांश काम पूरा गरेको छु, कतिपय काम सम्पन्न हुने चरणमा छन्,’ उनले भने । चिरीबाबुले प्रतिवद्धता गरेको १.४ किलोमिटरको फ्लाईओभर निर्माण गर्न नसकेकोमा भने उनी बेखुसी छन् । प्राविधिक अध्ययन प्रतिवदेनले फ्लाईओभर निर्माण गर्न सकिने सम्भावना कम देखाएपछि उनी केही हच्किएका छन् यद्यपि पछि हटेका छैनन् । उनले पहिलो कार्यकालमा उम्मेदवार बन्दा थापाथलीदेखि पुल्चोकसम्म १.४ किलोमिटर लामो फ्लाइओभर निर्माण गर्ने घोषणा गरेका थिए । यस्तै, ललितपुरमा ६७ वटा ढुङ्गेधारा छन् । तीमध्ये ६५ प्रतिशत ढुङ्गेधारा अहिले सुकेका छन् । ढुङ्गेधारालाई पुरानै अवस्थामा फर्काउन उनले ठूलो प्रयास गरे पनि त्यो सम्भव नभएको उनले सुनाए । ‘घोषणा गरेको भन्दा धेरै काम गरेको छु, घोषणामा नराखेको इन्टेलिजेन्ट ट्राफिक लाइट सुरु गरेका छौं । ब्लक बीको निर्माण पनि गरेका छौं, सेवाग्राहीका लागि वान डोर पोलिसी अपनाएका छौं । यी काम घोषणापत्रमा थिएनन् । तर, समय सापेक्ष सेवाअनुसार सुरु गर्यौं,’ उनले भने, ‘अहिले सबैले प्रशंसा गर्नुहुन्छ, काम गरियो भने साथ र विश्वास आर्जन गरिने रहेछ, खुसी लागेको छ ।’ विकास मिडियाले विकास नायकका रूपमा सम्मान गर्ने विषय आफ्नो जीवनको एउटा नयाँ अध्याय भएको चिरीबाबुको बुझाइ छ । ‘मैले गरेको कामलाई सूक्ष्म तरिकाले अध्ययन गरेर सम्मानित गरेकोमा खुसी छु । यसले थप जिम्मेवारी बोध भएको छ । यो सम्मानले मलाई थप जिम्मेवार र बढी काम गर्न प्रेरणा र ऊर्जा थप्नेछ ।’ चिरीबाबुकै शब्दहरू : काम गरेर जनताको मन जित्न सकिँदो रहेछ भन्ने प्रमाणित भएको छ । म पहिलो पटक वडाध्यक्ष हुँदा नगर पञ्चायतमा बजेट नै थिएन । तर, विभिन्न निकायसँग समन्वय गरेर बजेटको व्यवस्थापन गरें र काम गरेर देखाएँ । मेरो बुझाइमा चुनाव जित्नु मात्रै ठूलो कुरा होइन, जितेको विश्वासलाई दीर्घकालसम्म जोगाएर राख्न सक्नु नै वास्तविक जित हो । नियत सफा राखेर र पारदर्शी रूपमा काम गरियो भने जनताको विश्वास स्वतः जित्न सकिन्छ । यही सोंचका साथ मैले कुनै पनि योजना अघि बढाउँदा एक प्रकारको श्वेतपत्र सार्वजनिक गर्ने गर्छु । योजना सम्पन्न भएपछि त्यसको विस्तृत स्टेटमेन्ट सार्वजनिक गर्छु । यसले जनतामा विश्वासको वातावरण सिर्जना गर्छ । मेयर भएपछि मैले गरेको कामको मूल्यांकन जनताले मतमार्फत गरेका छन् । पहिलो पटक म केवल ३२६ मतको अन्तरले विजयी भएको थिएँ । त्यतिबेला ३९ सदस्यीय कार्यपालिकामा कांग्रेसका मात्र १२ जना सदस्य थिए । तर मेरो नियत सफा भएकाले सबैको सहयोग पाएँ । विपक्षी दलका जनप्रतिनिधिहरू समेत मप्रति सन्तुष्ट र सहयोगी बने । पहिलो कार्यकालमा धेरैले मेरो काम मन पराए । त्यसकै परिणामस्वरूप दोस्रो पटक मैले विपक्षीलाई १८ हजार मतको फराकिलो अन्तरले पराजित गरें । काम गरेपछि जितिँदो रहेछ भन्ने यसको स्पष्ट उदाहरण हो । ललितपुरलाई स्मार्ट सिटीका रूपमा विकास गर्न, शिक्षा, स्वास्थ्य, पूर्वाधार, सम्पदा, वातावरण र सूचना प्रविधिमा उल्लेखनीय काम गरेका छौं । निःशुल्क स्वास्थ्य जाँच गरेर घरघरमा सेवा दिइरहेका छौं । विभिन्न रोगको निःशुल्क उपचार गराइरहेका छौं । यसले नागरिकको स्वास्थ्यमा सकारात्मक प्रभाव पारेको छ । वृद्धवृद्धालाई निःशुल्क निमोनिया खोप उपलब्ध गराइरहेका छौं । सफलताको मूल आधार भनेको थाक्नु नहुने र नसकिने काम सक्छु भनेर भ्रम नछर्नु हो । तर सकिने काम छ भने ढिलाइ नगरी तुरुन्तै गर्नुपर्छ । म सेवाग्राहीलाई भोलि आऊ, पर्सि आऊ भनेर अल्झाउने काम गर्दिनँ । नसकिने काम भए स्पष्ट कारणसहित जानकारी दिन्छु । आर्थिक रूपमा पारदर्शी भइयो र नियत ठीक राखियो भने सबैको विश्वास जित्न सकिन्छ भन्ने मेरो दृढ विश्वास हो । म आफूलाई राजनीतिज्ञभन्दा जनताको सेवक मान्छु । जनप्रतिनिधिको प्रमुख दायित्व भनेकै सेवाग्राहीको हरेक काममा सहजीकरण गर्नु हो । घोषणापत्रमा उल्लेख गरेका अधिकांश प्रतिवद्धता पूरा भइसकेका छन् । तर ४.१ किलोमिटरको फ्लाइओभर निर्माण भने हुन सकेको छैन । त्यसको प्राविधिक प्रतिवेदन सन्तोषजनक नभएको, लागत महँगो रहेको र ६ वटा घर प्रभावित हुने देखिएकाले कार्यान्वयन हुन सकेन । यद्यपि, यो योजना अझै पनि मेरो प्राथमिकतामै छ । विपद् न्यूनीकरणमा पनि हामी प्रभावकारी रूपमा अघि बढिरहेका छौं । ‘वान डोर पोलिसी’ लागू गरेर सेवाग्राहीलाई एउटै शाखाबाट सम्पूर्ण सेवा दिने व्यवस्था गरिएको छ । सेवाग्राहीको काम कुन चरणमा पुगेको छ भन्ने जानकारी मोबाइलमै सन्देशमार्फत उपलब्ध गराइन्छ । अब शाखा–शाखा धाउनु पर्ने झन्झट अन्त्य भएको छ । मेरो जीवनमा विकास मिडियाको विकास नायकको रूपमा सम्मान एउटा नयाँ अध्यायजस्तै हो । मैले गरेको कामलाई सूक्ष्म रूपमा अध्ययन गरेर मूल्यांकन गर्दै सम्मानित गरिएकोमा खुसी छु । मेरो नेतृत्वमा महानगरले गरेका कामहरूको कदर हुनु भनेको थप जिम्मेवारी बोध हुनु हो । यो सम्मानले मलाई अझ जिम्मेवार बन्न, अझ धेरै काम गर्न र जनताको सेवामा थप ऊर्जा र प्रेरणा दिएको छ ।
राजनीतिक हस्तक्षेपको मूल्य : भेनेजुएलामा शिक्षा र स्वास्थ्य गम्भीर संकटमा
काठमाडौं । कुनै समय शिक्षा र स्वास्थ्य पहुँचमा अग्रणी स्थानमा रहेको भेनेजुएला अहिले थिलोथिलो अवस्थामा पुगेको छ । कमजोर अर्थतन्त्र, नागरिक विदेश पलायनले शिक्षा र स्वास्थ्य प्रणाली कमजोर बनेको छ । धेरै शिक्षक र चिकित्सकले देश छोडेका छन् । विभिन्न रिपोर्टका अनुसार अहिलेसम्म करिब ८ देखि १० लाख भेनेजुएली नागरिकले देश छोडिसकेका छन् । पछिल्ला २० वर्षमा राजनीतिक अस्थिरता हुँदा भेनेजुएलाको समग्र अवस्था खस्किएको विज्ञहरूले बताएका छन् । सन् २००५ मा ह्युगो चाभेजको नेतृत्वमा भेनेजुएलाले शिक्षा सुधारमा उल्लेखनीय उपलब्धी देखाएको थियो । त्यो बेला प्राथमिक तहको भर्नादर ८५ प्रतिशतबाट ९५ प्रतिशत र माध्यमिकमा ४० प्रतिशतबाट ७० प्रतिशत पुगेको थियो । तर मादुरोको शासनकालमा शिक्षा प्रणाली झन् कमजोर बनेको थियो । वर्षौंको कुप्रबन्ध र कोभिड–१९ महामारीले सन् २०२३ सम्ममा ३ देखि १७ वर्ष उमेरका ४० प्रतिशत विद्यार्थी अनियमित स्कुल जाने गरेको पाइएको थियो । यस्तै, ३ देखि २४ वर्षका ३४ प्रतिशत बालबालिका÷युवा कुनै विद्यालयमा भर्ना नभएको तथ्याङ्कले देखाएको थियो । शिक्षकहरूको आर्थिक अवस्था पनि चुनौतीपूर्ण देखिएको थियो । यो अवस्था सन २०२४ र ०२५ मा झनै बढेको अनुमान गरिएको छ । शिक्षा र स्वास्थ्यको अवस्था कमजोर रहेको भेनेजुएलामा अहिले थप संकट चुलिएको छ । अमेरिकाले शनिबार राजधानी कारकास लगायतका सहरहरूमा आक्रमण गरी राष्ट्रपति निकोलस मादुरो र उनकी पत्नीलाई नियन्त्रणमा लिएपछि थप संकट चुलिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । शिक्षा, स्वास्थ्य क्षेत्रमा संकट गहिरिदै जाँदा देशभित्रै राष्ट्रपति निकोलस मादुरोको विरोध हुँदै आएको थियो । संक्रामक रोगको प्रकोप र रोकथाम कमजोर भेनेजुएलामा विशेषगरी गरीब र दुर्गम क्षेत्रहरूमा मलेरिया, डेंगु, दादुरा र डिप्थेरिया जस्ता रोगको पुनः प्रकोप हुने देखिएको छ । अधिकारीहरू र मानवीय सहायता संगठनहरूले खोप अभियान र रोग नियन्त्रण उपाय नहुँदा यस्तो भएको बताउँछन् । साथै सरसफाइको अवस्था बिग्रँदा पनि असर परेको छ । सुरक्षित पिउने पानीको पहुँचमा सन् २०२५ मा करिब ६२ प्रतिशत जनसंख्या प्रभावित भएको समाचार सार्वजनिक भएको थियो । जसले पानीजन्य रोगहरू बढाएको र आधारभूत सरसफाइ कमजोर बनाएको छ । धेरै समुदायमा पानी नपाउँदा वा कहिलेकाहीँ मात्र प्राप्त हुने हुँदा मानिसहरू असुरक्षित पानीको स्रोतमा निर्भर हुन बाध्य छन् । जसले पाचनसम्बन्धी रोग र छालासम्बन्धी संक्रमण बढाएको छ । भनेजुएलाका बालबालिकामा अहिले पनि कुपोषण मुख्य स्वास्थ्य जोखिमका रूपमा देखिएको छ । भोकमरीले धेरै बालबालिकाले पोषणयुक्त खानेकुरा पाइरहेका छैनन् । भोकमरी र कुपोषण भोकमरी र कुपोषण अहिले मुख्य स्वास्थ्य जोखिम बन्दा विशेष गरी पाँच वर्षभन्दा कम उमेरका बालबालिका र गर्भवती महिलाहरू प्रभाव परेको छ । करिब १० प्रतिशत जनसंख्यामा गम्भीर खाद्य आवश्यकता छ भने ४०प्रतिशत जनसंख्या महत्वपूर्ण खाद्य आवश्यकतामा रहेको बताइन्छ । दीर्घकालीन कुपोषणले बालबालिकाको वृद्धि अवरुद्ध गरिरहेको र प्रतिरक्षा प्रणाली कमजोर बनाउँदै लगेको चिकित्सकहरूले बताएका छन् । जसले संक्रमणको जोखिम र दीर्घकालीन विकास सम्बन्धी समस्या बढाइरहेको छ । सहायता कार्यक्रमहरूले साना बालबालिका र गर्भवती महिलाका लागि पोषण सहयोगलाई प्राथमिकता दिइरहेका छन्, तर कोष अभाव र पहुँच सीमितताका कारण सबैभन्दा प्रभावित क्षेत्रमा पर्याप्त सेवा पुर्याउन सकिएको छैन । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले अमेरिकी कदमले क्षेत्रीय रूपमा गम्भीर परिणामहरू निम्त्याउन सक्ने चेतावनी दिएका छन् । उनको चिन्ता केवल कुटनीतिक सीमा भित्र छैन । इन्टरनेश्नल हेल्थ रेगुलेशन २००५ अनुसार राज्यहरूले अन्तर्राष्ट्रिय यात्रा, व्यापार र रोग नियन्त्रणमा अनावश्यक अवरोध सिर्जना गर्ने कार्यहरू गर्न पाइँदैन । भेनेजुएलाको संकटको स्तर र प्रकृति विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को इमरर्जेन्सी रेस्पोन्स फ्रेमवर्क अन्तर्गत ग्रेड ३ आपतकालीन स्थिति हो । यो अवस्थामा संगठनव्यापी सक्रियता आवश्यक पर्छ । हडतालअघि नै करिब करिब ८० लाख भेनेजुएलाली मानवीय सहायता आवश्यक अवस्थामा थिए । सैन्य तनावले नयाँ विस्थापनको तरंग निम्त्याउने खतरा पैदा गरेको छ । जसले कोलम्बिया र ब्राजिलका स्वास्थ्य प्रणालीमा समेत अतिरिक्त दबाब पर्न सक्ने विज्ञहरूको अनुमान छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अब भनेजुएलामा अमेरिकाले शासन गरी तेल उद्योग चलाउने दावी गरेका छन् । तेल आम्दानीमाथि नियन्त्रणले खाद्यान्न आयात, पानी प्रशोधन, र स्वास्थ्यमा सार्वजनिक खर्चको नियन्त्रणमा प्रत्यक्ष प्रभाव पार्दछ । एक देशमा यस्तो खालका गतिविधिहरूले अभावको सङ्क्रमण उत्पन्न गर्न सक्छन् जसले स्वास्थ्य सुरक्षामा ठूलो चुनौती ल्याउन सक्ने चेतावनी अन्तर्राष्टिय मिडियाले दिएका छन् । लाखौं मानिस जीवन-मरणको मुखमा पुग्ने चेतावनी भेनेजुयली राष्ट्रपति निकोलस मादुरो र उनकी पत्नी सिलिया फ्लोरेसलाई अमेरिकाले चोर शैलीमा अपहरण गरेको हो । जनवरी तीनमा अमेरिकाले हवाई आक्रमण गरी निकोलस दम्पतीलाई अपहरण गरेको थियो । मादुरोको गिरफ्तारीपछि देशमा नयाँ प्रशासनले सत्ता कब्जा गरे पनि राजनीतिक अस्थिरता र दमन जारी छ । पत्रकार र सञ्चारकर्मीहरूलाई गिरफ्तार गर्ने, अभिव्यक्ति स्वतन्त्रता सीमित गर्ने र अमेरिकी आक्रमणसँग सम्बन्धित व्यक्तिलाई पत्ता लगाएर पक्राउ गर्ने आदेश जारी गरिएको छ । यस अस्थिरताले केवल राजनीतिक क्षति मात्र नभई शिक्षा र स्वास्थ्य प्रणालीमा दीर्घकालीन असर पार्ने खतरा बढाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । अमेरिकाले मादुरोलाई नियन्त्रणमा लिन गरिएको आक्रमणबाट करिब २ करोड ८० लाख जनसंख्याको स्वास्थ्यको संरचनामा क्षति पुगेको अन्तर्राष्ट्रिय मिडियाहरूले लेखेका छन् । अमेरिकाको आक्रमणबाट सबैभन्दा ठूलो क्षति स्वास्थ्य प्रणाली, ऊर्जा आपूर्ति र सामाजिक स्थायित्वमा परेको छ । यतिसम्मकि अहिले त्यहाँका चिकित्सक र स्वास्थ्य क्षेत्रमा काम गरिरहेकाहरूले अहिलेको अवस्थामा तत्काल कुनै कदम चालिएन भने लाखौं मानिस जीवन मरणको मुखमा पुग्ने चेतावनी दिएका छन् । विभिन्न रिपोर्टका अनुसार स्वास्थ्य सेवा, पानी र सार्वजनिक सेवा नहुँदा करिब ७० प्रतिशत जनसंख्या सार्वजनिक वा निजी स्वास्थ्य सेवाको पहँचबाट वञ्चित भएका छन् । अस्पतालमा प्रायः विशेषज्ञ, आधारभूत सामग्री र आवश्यक उपकरणको अभावमा रहेका छन् । जसमा कारण नागरिकले पट्टीदेखि एन्टिोबायोटिकसम्म आफै जुटाउनु पर्ने बाध्यतामा छन् । लामो समयदेखि चलिरहेको आर्थिक संकटले आधा बढी भेनेजुएली नागरिक चरम गरिबीतिर धकेलिएका छन् । भेनेजुएलालाई विश्वकै तेलको धनी राष्ट्र मानिन्छ । यो देशको मुख्य आम्दानी भनेकै तेल निर्यात हो । तर पछिल्लो समय देशमा आर्थिक पतन, बेरोजगारीदर बढेको छ भने आधारभूत वस्तुको अभाव पनि बढेको छ । मदुरोको अपहरणपछि धेरैले अमेरिकाको आँखा भेनेजुएलाको तेलमा परेको बताएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यो कदमप्रति धेरैले असन्तुष्टि जनाएका छन् भने अमेरिकाको कारवाहीलाई अन्तर्राष्ट्रिय कानुन उल्लंघन भनेका छन् ।
एप्पल ब्रान्ड बेच्ने जेनरेसन नेक्स्टको आम्दानी ५३.७१ प्रतिशत बढ्यो, एक वर्षमै साढे ६ अर्ब रुपैयाँ
काठमाडौं । नेपालमा एप्पल ब्रान्डको एकमात्र आधिकारिक वितरक जेनरेसन नेक्स्ट कम्युनिकेसनले एक वर्षमा साढे ६ अर्ब रुपैयाँ बराबर आम्दानी गरेको छ । जेनरेसन नेक्स्ट कम्युनिकेसनले सन् २०२५ मा ६ अर्ब ५९ करोड ६० लाख रुपैयाँ कुल सञ्चालन आम्दानी गरेको जनाएको छ । यो आम्दानी अघिल्लो वर्षको तुलनामा ५३.७१ प्रतिशत अर्थात् २ अर्ब ३० करोड ५० लाख रुपैयाँ बढी हो । सन् २०२४ मा कम्पनीले ४ अर्ब २९ करोड १० लाख रुपैयाँ कुल सञ्चालन आम्दानी गरेको थियो । कम्पनीको आम्दानीलाई आधार मान्ने हो भने नेपाली उपभोक्तामा एप्पल ब्राण्डका सामाग्रीमा आकर्षण बढेको प्रस्ट देखिन्छ । सन् २०१० अगस्टमा स्थापना भएको जेनरेसन नेक्स्ट कम्युनिकेसन नेपालमा एप्पल ब्रान्डको एक मात्रै आधिकारिक वितरक हो भने डेल ब्रान्डका उत्पादनहरूको तीन वटा आधिकारिक वितरकमध्ये एक हो । कम्पनीको आम्दानीमा एप्पल ब्रान्डको हिस्सा बढी रहेको जनाएको छ । अघिल्लो वर्ष ५० प्रतिशत रहेको एप्पलबाट हुने आम्दानी सन् २०२५ मा ९७ प्रतिशत पुगेको कम्पनीले दाबी गरेको छ । अन्तर्राष्ट्रियस्तरका प्रविधि कम्पनीहरूको आधिकारिक प्रतिनिधित्व गर्दै कम्पनीले नेपाली बजारमा गुणस्तरीय उत्पादन तथा भरपर्दो सेवा प्रदान गर्दै आएको जनाएको छ । कम्पनीले आफ्नै स्वामित्वमा रहेका दुइवटा कार्यालय तथा ग्राहक सेवा केन्द्रहरूमार्फत ग्राहकहरूलाई सामग्रीहरू बिक्री वितरण गर्दै आएको छ । नेपालका प्रमुख शहरहरूमा कम्पनीको बलियो बजार उपस्थिति रहेको छ । कम्पनीले सन् २०२० मा ९४ करोड ६० लाख रुपैयाँ, सन् २०२१ मा १ अर्ब ९५ करोड ३० लाख रुपैयाँ, सन् २०२२ मा ३ अर्ब ५७ करोड १० लाख रुपैयाँ, सन् २०२३ मा २ अर्ब २१ करोड ८० लाख रुपैयाँ कुल सञ्चालन आम्दानी गरेको थियो । जेनरेसन नेक्स्ट कम्युनिकेसनका प्रमुख सेयरधनी पवन कुमार भीमसरिया हुन् । उनको कम्पनीमा सतप्रतिशत सेयर स्वामित्व रहेको छ । कम्पनीले एक दशक भन्दा बढी समयदेखि विभिन्न इलेक्ट्रोनिक्स सामग्रीको व्यापार गर्दै आएको छ । जेनरेसन नेक्स्ट कम्युनिकेसन भीमसरिया समूह अन्तर्गतको कम्पनी हो, जसले नेपालमा व्यापार, उत्पादन, घरजग्गा तथा अन्य विविध क्षेत्रमार्फत बलियो उपस्थिति जनाएको छ । कम्पनीको नेतृत्व प्रबन्ध निर्देशक पवनकुमार भीमसरियाले गर्दै आएका छन् । उनीसँग बैंकिङ, व्यापार तथा उत्पादन क्षेत्रमा चार दशकभन्दा बढीको अनुभव रहेको छ । उनको रणनीतिक निर्णय र जोखिम व्यवस्थापनले दीर्घकालीन वृद्धि हासिल गर्दै आएको छ । साथै, कम्पनीको सञ्चालक समिति तथा व्यवस्थापन तहमा अनुभवी व्यक्तिहरू छन् । जसले प्रतिस्पर्धात्मक बजारमा आफ्नो व्यवसायलाई निरन्तर रूपमा अगाडि बढाइरहेको छ । कम्पनीको आम्दानीमा उछाल आए पनि ब्याज, कर लगायतपछिको मार्जिन भने सामान्य सुधार भएको छ । सन् २०२४ मा ५.०५ प्रतिशत रहेको मार्जिन सन् २०२५ मा ५.५२ प्रतिशत रहेको छ । करपछिको नाफा मार्जिन पनि सुधार भई ३.२३ प्रतिशत पुगेको कम्पनीले जनाएको छ । कम्पनीको कुल नगद सञ्चितिमा पनि उल्लेखनीय वृद्धि भएको छ । सन् २०२४ मा ११ करोड रुपैयाँ रहेको नगद सञ्चिति सन् २०२५ मा २२ करोड २० लाख रुपैयाँ पुगेको छ । हाल कम्पनीसँग डेल उत्पादनका लागि १५० भन्दा बढी डिलरहरू रहेका छन् भने एप्पल उत्पादनका लागि ५० भन्दा बढी आधिकारिक पुनः बिक्रेताहरू रहेका छन् । यस्तो व्यापक वितरण सञ्जालले कम्पनीका उत्पादनहरूलाई देशभर सहज रूपमा उपलब्ध गराउन सहयोग पुर्याएको छ । बिक्रीपछिको सेवाको गुणस्तर सुनिश्चित गर्न जेनरेसन नेक्स्ट कम्युनिकेसनले काठमाडौं उपत्यकाभित्र दुइवटा आधिकारिक एप्पल सेवा केन्द्र स्थापना गरेको छ । यी सेवा केन्द्रहरूमार्फत कम्पनीले उपभोक्तालाई समयमै, भरपर्दो र गुणस्तरीय बिक्रीपछिको सेवा प्रदान गर्दै आएको छ, जसले कम्पनीप्रति ग्राहकको विश्वास अझ सुदृढ बनाएको छ । कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट २ अर्ब ३७ करोड ९० लाख रुपैयाँ ऋण लिएको छ । जसमा १ करोड ९० लाख रुपैयाँ दीर्घकालीन र २ अर्ब ३६ करोड रुपैयाँ अल्पकालीन ऋण रहेको कम्पनीले जनाएको छ ।