अर्थमन्त्रीले सार्वजनिक गरे ३० पृष्ठको श्वेतपत्र (पूर्णपाठ)
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘नेपालको वर्तमान आर्थिक स्थितिपत्र २०८३’ (श्वेतपत्र) सार्वजनिक गरेका छन् । उनले सोमबार मुलुकको पछिल्लो आर्थिक अवस्थालाई समेटेर श्वेतपत्र जारी गरेका हुन् । सार्वजनिक भएको श्वेतपत्रका अनुसार पछिल्लो एक दशकमा औसत आर्थिक वृद्धि ४.२ प्रतिशत मात्र छ भने चालु वर्षमा यो थप खुम्चिएर ३.५ प्रतिशतमा सीमित हुने प्रक्षेपण छ । उनले अर्थतन्त्र पूर्णतः रेमिट्यान्सको भरोसामा टिकेको उल्लेख गरेका छन् । यस्तो छ श्वेतपत्र :
सुकुम्बासी बस्ती हटाउन सेना परिचालन भएको हो ?
काठमाडौं । नेपाली सेनाले सुकुम्बासी बस्ती हटाउन सेना प्रयोग नभएको स्पष्ट पारेको छ । नियमित अभ्यासमा देखिँदा त्यसलाई सुकुम्बासी बस्ती हटाउन सेनाको प्रयोग भएको बुझ्नु राम्रो नभएको सेनाको प्रष्टीकरण छ । सरकारले शनिबार थापाथलीको सुकुम्बासी बस्ती हटाएको थियो । सोही दिन नेपाली सेनाको उपस्थिति भएको भन्दै सामाजिक सञ्जालमा चर्चा भएको थियो । तर, नेपाली सेनाले थापाथली क्षेत्रमा आफ्नो नियमित अभ्यास भइरहेकोले त्यहाँ देखिनुलाई प्रयोग भएको रूपमा नबुझ्न आग्रह गरेको छ । नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतका अनुसार नेपाली सेनाको नियमित अभ्यासमा सेनाको टोली बाहिर निस्केको थियो । ‘नेपाली सेना सुकुम्बासी क्षेत्रमा देखा पर्नु संयोग थियो, बाहिर चर्चामा आए जस्तो नेपाली सेना सुकुम्बासी बस्ती हटाउन गएको होइन,’ उनले भने । भक्तपुरको मनोहरा सुकुम्बासी क्षेत्रमा भने नेपाली सेना पुगेको उनले जानकारी दिए । ‘भक्तपुर जिल्ला सुरक्षा समितिको बैठकमा सदस्यको हैसियत सहभागी भएका थियाैं, बैठकपछि त्यस क्षेत्रको निरीक्षण तथा अनुगमनमा सहभागी भइएको हो,’ उनले भने । सरकारले गत शनिबार र आइतबार काठमाडौंका थापाथली, गैरीगाउँ र मनोहराका खोला तथा नदी किनाराका सुकुम्बासी बस्ती उठाएको थियो । नेपाल प्रहरीको उपस्थितिमा जिल्ला प्रशासन कार्यालयले खोला किनाराको बस्तीलाई व्यवस्थापन गरेको छ । थापाथली, गैरीगाउँ र शान्तिनगरमा बसोबास गरिरहेका १४४ परिवार सरकारको सम्पर्कमा आएका छन् । सम्पर्कमा आएका र उद्धार गरिएका परिवारहरूलाई सुरुमा दशरथ रंगशाला पुर्याएर उनीहरूको विवरण संकलन गरेको छ । सरकारले काठमाडौंको नदी किनारका पाँच वटा बस्ती खाली गराएको छ । काठमाडौं उपत्यका विकास प्राधिकरणको तथ्याङ्कअनुसार शान्तिनगरमा ४७६, गैरीगाउँमा १६२, थापाथलीमा १४३, गोठाटारमा ७७ र मनोहरा टोलमा १३ गरी ८७१ घरधुरी रहेका थिए । सम्पर्कमा आएका परिवारहरूलाई दशरथ रंगशालामा ल्याएर विवरण संकलन गरेर काठमाडौंका विभिन्न होटलहरूमा राखिएको छ । होटलमा राखिएका परिवारहरू वास्तविक सुकुम्बासी हुन् वा होइनन् भन्ने पहिचान गर्ने प्रक्रिया भइरहेको छ ।
चिनियाँ उद्योगमा ६ वर्षयताकै छलाङ, नाफामा १५.८ प्रतिशत वृद्धि
काठमाडौं । मध्यपूर्वमा जारी युद्धले विश्वव्यापी तेल बजारलाई अस्थिर बनाउँदै कच्चा पदार्थको लागत उच्च बनाए पनि चीनका औद्योगिक कम्पनीहरूको नाफा मार्च महिनामा पछिल्ला छ महिनाकै सबैभन्दा तीव्र गतिमा बढेको छ । राष्ट्रिय तथ्याङ्क ब्यूरो (एनबीएस) ले सोमबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार, मार्चमा औद्योगिक नाफा अघिल्लो वर्षको सोही अवधिको तुलनामा १५.८ प्रतिशतले बढेको हो, जुन गत वर्षको सेप्टेम्बरयताकै सबैभन्दा तीव्र वृद्धि हो । यसअघि यस वर्षको पहिलो दुई महिनामा १५.२ प्रतिशत वृद्धि भएको थियो । यस वर्षको पहिलो तीन महिनामा उद्यमहरूको नाफा १५.५ प्रतिशतले बढेको छ, जुन २०१७ पछि (२०२१ मा महामारीका कारण भएको असामान्य वृद्धि बाहेक) वर्षको सुरुआतकै सबैभन्दा तीव्र वृद्धि हो । एनबीएसका प्रमुख तथ्याङ्कविद् यू वेइनिङले उपकरण तथा उच्च प्रविधि उत्पादन क्षेत्रको नाफामा तीव्र वृद्धि भएको उल्लेख गरेका छन् । पहिलो त्रैमासमा यी क्षेत्रहरूको नाफा क्रमशः २१ प्रतिशत र ४७.४ प्रतिशतले बढेको छ । कृत्रिम बौद्धिकता (एआई) र अर्धचालक (सेमिकन्डक्टर) क्षेत्रमा आएको उछालले वर्षको पहिलो तीन महिनामा विभिन्न उपक्षेत्रहरूमा उल्लेखनीय नाफा वृद्धि गराएको छ । अप्टिकल फाइबर उत्पादकहरूको नाफा ३३६.८ प्रतिशतले बढेको छ भने अप्टोइलेक्ट्रोनिक्स र डिस्प्ले उपकरण उत्पादकहरूको नाफा क्रमशः ४३ प्रतिशत र ३६.३ प्रतिशतले बढेको छ । स्मार्ट (बौद्धिक) उत्पादनहरूको माग बढ्दा उदीयमान उद्योगहरूमा पनि आम्दानी बढेको छ । ड्रोन उत्पादकहरूको नाफा ५३.८ प्रतिशतले बढेको छ भने अन्य स्मार्ट उपभोक्ता उपकरण उत्पादकहरूले पनि उल्लेखनीय वृद्धि गरेका छन् । कच्चा पदार्थ उत्पादकहरूको नाफा पहिलो त्रैमासमा अघिल्लो वर्षको तुलनामा ७७.९ प्रतिशतले बढेको छ, किनभने तेल रिफाइनरीहरू नाफामा फर्किएका छन् । साथै एरोस्पेस, नयाँ ऊर्जा र नयाँ पुस्ताको सूचना प्रविधि जस्ता रणनीतिक उदीयमान उद्योगहरूले गैर–फलाम धातु कम्पनीहरूको नाफा ११६.७ प्रतिशतले बढाएको छ । यो वृद्धि २०२५ मा देखिएको स्थिरताको अवधिपछि आएको हो, जब औद्योगिक कम्पनीहरूको आम्दानी लगातार तीन वर्षको गिरावटपछि मात्र ०.६ प्रतिशतले बढेको थियो । पिनपोइन्ट एसेट म्यानेजमेन्टका अध्यक्ष तथा प्रमुख अर्थशास्त्री झीवेइ झाङका अनुसार उत्पादकहरूको नाफा सुधार हुनुमा बलियो निर्यातको पनि महत्त्वपूर्ण भूमिका रहेको छ । पहिलो त्रैमासमा चीनको निर्यात अमेरिकी डलरमा १४.७ प्रतिशतले बढेको छ, जुन २०२२ को सुरुआतपछि सबैभन्दा तीव्र वृद्धि हो । तर झाङका अनुसार मध्यपूर्वको द्वन्द्वले दोस्रो त्रैमासमा अर्थतन्त्रमा दबाब सिर्जना गर्न सक्छ, किनकि उच्च ऊर्जा मूल्य र कमजोर बाह्य मागले निर्यातकर्ताहरूका लागि चुनौती बढाउनेछ । संकटका बीच पनि तुलनात्मक स्थायित्व तेलको मूल्य बढ्दै जाँदा यसले विश्व अर्थतन्त्रमा असर पार्न थालेको छ, जसले आयात लागत बढाउने र कच्चा पदार्थमा निर्भर उत्पादकहरूको नाफा घटाउने जोखिम बढाएको छ । अमेरिका–इजरायलले इरानमाथि आक्रमण सुरु गरेपछि फेब्रुअरी अन्त्ययता ब्रेन्ट कच्चा तेलको मूल्य करिब ४८ प्रतिशतले बढेको छ, जसले रसायन, फाइबर र प्लास्टिक जस्ता क्षेत्रहरूको लागत बढाएको छ । मोरगन स्ट्यान्लीका चीनसम्बन्धी प्रमुख अर्थशास्त्री रोबिन सिङका अनुसार चीनको ऊर्जा संरचना जसमा कोइला र नवीकरणीय ऊर्जाको ठूलो हिस्सा छ । जसले तेल मूल्यको उतारचढावबाट केही संरचनात्मक सुरक्षा दिएको छ। ३२ वटा क्षेत्रको सर्वेक्षणमा करिब ७० प्रतिशत कम्पनीहरूले आफ्ना विश्वव्यापी प्रतिस्पर्धीहरूको तुलनामा ‘कम लागत झट्का र कम उत्पादन अवरोध’ अनुभव गरेको बताएका छन् । सिङका अनुसार, ‘चीन तुलनात्मक रूपमा राम्रो अवस्थामा छ र ठूलो तर अत्यधिक नभएको ऊर्जा झट्काबीच निर्यात बजार हिस्सा बढाउने अवसर पाउन सक्छ ।’ यद्यपि विश्वव्यापी माग सुस्त हुँदा निर्यातको गति सीमित हुन सक्छ र उच्च ऊर्जा आयात लागतले आपूर्ति श्रृंखलामा नाफा घटाउन सक्छ, जसले अर्थतन्त्रलाई पूर्ण रूपमा सुरक्षित राख्न सक्दैन । उद्यमहरूको नाफा पहिले नै दबाबमा थियो किनभने लामो समयदेखि कमजोर रहेको रियल इस्टेट बजार र कमजोर रोजगारी अवस्थाले आन्तरिक माग घटाएको थियो, जसले विभिन्न क्षेत्रमा प्राइस वार बढाएको थियो । हालै धातुको मूल्य बढ्नु र बेइजिङले अत्यधिक उत्पादन क्षमता नियन्त्रण गर्न तथा अत्यधिक प्रतिस्पर्धा कम गर्न गरेको प्रयासले अर्थतन्त्रमा मुद्रा संकुचनको दबाब केही कम गरेको छ । तेलको मूल्य बढेपछि चीनको उत्पादक मूल्य सूचकांक (पीपीआई) मार्चमा सकारात्मक भएको छ, जुन तीन वर्षभन्दा बढी समयपछि पहिलो पटक वृद्धि भएको हो र दशकौं लामो अपस्फीतिको अन्त्य गरेको छ । मोरगन स्ट्यान्लीले यस वर्ष चीनको पीपीआई १.२ प्रतिशतले बढ्ने अपेक्षा गरेको छ, जबकि गत वर्ष २.६ प्रतिशतले घटेको थियो । उपभोक्ता मूल्य पनि यस वर्ष ०.८ प्रतिशतले बढ्ने अनुमान गरिएको छ, जबकि गत वर्ष स्थिर थियो । समुद्रमा रहेका ट्यांकरहरूमा भण्डारण गरिएको इरानी तेल तथा ठूलो मात्रामा मौज्दातले विश्वकै सबैभन्दा ठूलो आयातकर्तालाई केही राहत दिएको छ । तर हालैका हप्ताहरूमा ट्रम्प प्रशासनले होर्मुज जलडमरूमा लगाएको नौसैनिक नाकाबन्दीले बेइजिङको रणनीतिमा परिवर्तन ल्याउन सक्छ, किनकि युद्ध सुरु हुनु अघि चीनको करिब आधा तेल आयात यही मार्गबाट हुने गरेको थियो । अमेरिकी प्रशासनले शुक्रबार चीनको एउटा स्वतन्त्र ‘टीपोट रिफाइनरीमाथि इरानी तेल खरिद गरेको आरोपमा प्रतिबन्ध लगाएको जनाएको छ । यसले चीनको कुल रिफाइनरी क्षमताको करिब चौथाइ हिस्सा ओगट्ने प्रमुख ऊर्जा स्रोतमा असर पार्न सक्छ । (सीएनबीसीबाट अनुदित तथा सम्पादित)