काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले डिजिटल बैंक आवश्यक रहेको जनाएका छन् । सोमबार ‘नेपालको वर्तमान आर्थिक स्थितिपत्र २०८३’ (श्वेतपत्र) जारी गर्दै उनले बैंक तथा मर्जर तथा गाभेर कम भएको उल्लेख गर्दै अब डिजिटल बैंक आवश्यक रहेको उल्लेख गरोक हुन् ।
‘विगत एक दशकमा नयाँ वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनी स्थापनाको लागि ईजाजत प्रक्रिया रोकिएको अवस्था छ । वित्तीय क्षेत्रलाई गतिशील र प्रतिस्पर्धी बनाउन डिजिटल बैंक जस्ता प्रविधियुक्त वित्तीय संस्था आवश्यक छ,’ श्वेतपत्रमा उल्लेख गरिएको छ ।
२०७३ असारमा ईजाजतपत्र प्राप्त बैङ्क तथा वित्तीय संस्थाको (लघुवित्त वित्तीय संस्था समेत) सङ्ख्या १७८ रहेकोमा २०८२ फागुनमा १०६ मा झरेको छ । बैंक तथा वित्तीय संस्थाहरूको सबलीकरण गर्ने उद्देश्यले एक आपसमा गाभ्न÷गाभिन प्रोत्साहित गरिएकोले सङ्ख्या घट्दै गएको श्वेतपत्रमा उल्लेख छ ।
श्वेतपत्रमा बैंक तथा वित्तीय संस्थाको निष्क्रिय कर्जा अनुपात बढ्न थालेको उल्लेख गर्दै २०७२ असारमा ३.३३ प्रतिशत र २०८० असारमा ३.०२ प्रतिशत रहेको निष्क्रिय कर्जा अनुपात २०८२ माघ मसान्तमा ५.४२ प्रतिशत पुगेको बताइएको छ । वाणिज्य बैंकहरूको तुलनामा विकास बैंक र वित्त कम्पनीहरूको निष्क्रिय कर्जा अनुपात उच्च रहेको बताउँदै हालसम्म बैंक् तथा वित्तीय संस्थाहरूको औसत निष्क्रिय कर्जा अनुपात स्वीकार्य तहमा नै रहेको भए तापनि यसको बढ्दो गतिले गर्दा तत्काल सुधारात्मक कदम नचाले आगामी दिनमा यो वित्तीय स्थायित्वका लागि चुनौतीपूर्ण हुँदै जाने उल्लेख गरिएको छ ।
यस्तै, समग्र वित्तीय पहुँच बढ्दै गएपनि कर्जाको पहुँच न्यून छ रहेको श्वेतपत्रमा उल्लेख छ । पछिल्लो दशकमा बैंकको शाखा वृद्धि, सूचना प्रविधिमा आधारित बैंकिङ सेवाको विस्तार र नयाँ नयाँ वित्तीय सेवा प्रदायकहरूको आगमनले वित्तीय साक्षरता र पहुँचमा सुधार आएको बताइएको छ । नेपाल राष्ट्र बैंकको विवरण अनुसार सन् २०२२ मा वित्तीय साक्षरता ५७.९ प्रतिशत रहेको छ । विगत एक दशक अवधिमा बैङ्क तथा वित्तीय संस्थामा निक्षेप खाता सङ्ख्या ३.४ गुणाले बढेर २०८२ फागुनमा ६ करोड २० लाख ६० हजार पुगेको छ ।
ऋण नतिर्न उक्साउने प्रवृत्तिले लघुवित्त वित्तीय संस्थाको निष्क्रिय कर्जा बढेको श्वेतपत्रमा उल्लेख छ । अझै केही ठाउँहरूमा उच्च गरिबी रहेको सन्दर्भमा गरिबी निवारण र महिला सशक्तीकरणको लागि लघुवित्त वित्तीय संस्थाहरूलाई सामाजिक बैंकिङतर्फ उत्प्रेरित गर्नुपर्ने स्थिति रहेको श्वेतपत्रमा उल्लेख छ ।