सुकुम्बासी बस्ती हटाउन सेना परिचालन भएको हो ?

काठमाडौं । नेपाली सेनाले सुकुम्बासी बस्ती हटाउन सेना प्रयोग नभएको स्पष्ट पारेको छ । नियमित अभ्यासमा देखिँदा त्यसलाई सुकुम्बासी बस्ती हटाउन सेनाको प्रयोग भएको बुझ्नु राम्रो नभएको सेनाको प्रष्टीकरण छ ।

सरकारले शनिबार थापाथलीको सुकुम्बासी बस्ती हटाएको थियो । सोही दिन नेपाली सेनाको उपस्थिति भएको भन्दै सामाजिक सञ्जालमा चर्चा भएको थियो । तर, नेपाली सेनाले थापाथली क्षेत्रमा आफ्नो नियमित अभ्यास भइरहेकोले त्यहाँ देखिनुलाई प्रयोग भएको रूपमा नबुझ्न आग्रह गरेको छ । 

नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतका अनुसार नेपाली सेनाको नियमित अभ्यासमा सेनाको टोली बाहिर निस्केको थियो । ‘नेपाली सेना सुकुम्बासी क्षेत्रमा देखा पर्नु संयोग थियो, बाहिर चर्चामा आए जस्तो नेपाली सेना सुकुम्बासी बस्ती हटाउन गएको होइन,’ उनले भने । 

भक्तपुरको मनोहरा सुकुम्बासी क्षेत्रमा भने नेपाली सेना पुगेको उनले जानकारी दिए । ‘भक्तपुर जिल्ला सुरक्षा  समितिको बैठकमा सदस्यको हैसियत सहभागी भएका थियाैं, बैठकपछि त्यस क्षेत्रको निरीक्षण तथा अनुगमनमा सहभागी भइएको हो,’ उनले भने । 

सरकारले गत शनिबार र आइतबार काठमाडौंका थापाथली, गैरीगाउँ र मनोहराका खोला तथा नदी किनाराका सुकुम्बासी बस्ती उठाएको थियो । नेपाल प्रहरीको उपस्थितिमा जिल्ला प्रशासन कार्यालयले खोला किनाराको बस्तीलाई व्यवस्थापन गरेको छ ।

थापाथली, गैरीगाउँ र शान्तिनगरमा बसोबास गरिरहेका १४४ परिवार सरकारको सम्पर्कमा आएका छन् । सम्पर्कमा आएका र उद्धार गरिएका परिवारहरूलाई सुरुमा दशरथ रंगशाला पुर्याएर उनीहरूको विवरण संकलन गरेको छ ।

सरकारले काठमाडौंको नदी किनारका पाँच वटा बस्ती खाली गराएको छ । काठमाडौं उपत्यका विकास प्राधिकरणको तथ्याङ्कअनुसार शान्तिनगरमा ४७६, गैरीगाउँमा १६२, थापाथलीमा १४३, गोठाटारमा ७७ र मनोहरा टोलमा १३ गरी ८७१ घरधुरी रहेका थिए ।

सम्पर्कमा आएका परिवारहरूलाई दशरथ रंगशालामा ल्याएर विवरण संकलन गरेर काठमाडौंका विभिन्न होटलहरूमा राखिएको छ । होटलमा राखिएका परिवारहरू वास्तविक सुकुम्बासी हुन् वा होइनन् भन्ने पहिचान गर्ने प्रक्रिया भइरहेको छ ।

Share News