मर्चेन्ट बैंकिङमा एनआईसी एशियाको ‘माइलस्टोन’, संस्थापक सेयरका खरिदकर्ता खोजिदिने
काठमाडौं । ‘गत आर्थिक वर्ष २०८०/८१ मा नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा अर्डिनरी (साधारण) सेयरको बजार पुँजीकरण ३५ खर्ब रुपैयाँ थियो । साथै सोही अवधिमा नेप्सेमा प्रमोटर (संस्थापक) सेयरको बजार पुँजीकरण ५ खर्ब २५ अर्ब रुपैयाँ थियो । ३५ खर्बको साधारण सेयरमा ३५ खर्बकै कारोबार भयो तर, संस्थापक सेयरको १५ अर्ब रुपैयाँको मात्रै कारोबार भयो, जुन ३ प्रतिशत हाराहारीमा मात्रै हो,’ एनआईसी एशिया क्यापिटलका रिसर्च हेड कृष्ण दनुवारले अनुसन्धानबाट खुलेको तथ्य उजागर गर्दै भने । उनका अनुसार स्टक एक्सचेञ्ज भन्ने बित्तिकै एक्सचेञ्ज अर्थात् एक ठाउँबाट अर्काेमा सर्नु हो । तर, संस्थापक सेयर कारोबारमा खरिदकर्ता र बिक्रेताबीच नमिलेको देखिन्छ । कम्पनी रजिष्ट्रारको कार्यालयमा ३ लाख ३२ हजार कम्पनी दर्ता भएका छन् । जसमध्ये २ हजार २०२ वटा पब्लिक कम्पनी र २४५ वटा कम्पनी मात्रै नेप्सेमा सूचीकृत भएका छन् । ‘ओटिसी मार्केटमा विस्तारै आकर्षण बढ्दो रहेको उनले बताए । प्राइभेट कम्पनीमा लगानी गर्ने बढिरहेका छन् । गत वर्ष २०६ वटा कम्पनीको २ अर्ब ८ करोड रुपैयाँको कारोबार भएको थियो भने यसपटक २४४ कम्पनीको ५ अर्बको कारोबार भएको छ । यो तथ्याङ्कले पनि ओटीसी मार्केट वृद्धि भइरहेको देखिन्छ । यो मार्केटलाई पनि हामीले क्याप्चर गर्नका लागि प्ल्याटफर्म तयार पारेका छौं,’ दनुवारले भने । एनआईसी एशिया क्यापिटको विज्ञ टिमले विभिन्न क्षेत्रका १९ बढी प्राइभेट र पब्लिक कम्पनीको २ अर्बको कारोबार गरिसकेको उनले दाबी गरे । तर, संस्थापक सेयर कारोबारमा भने समस्या रहेको उनको भनाइ छ । नेप्सेमा साधारण सेयरका खरिदकर्ता र बिक्रेता देखिएपनि सोहीअनुसार संस्थापक सेयर कारोबारमा भने ठूलो दूरी रहेको उनले बताए । ‘नेप्सेमा अर्डिनरी सेयर हाल्नेबित्तिकै खरिदकर्ता र बिक्रेता देखिन्छन् । तर, संस्थापक सेयरमा छैन । संस्थापक सेयरमा कमन मार्केट, सीमित मार्केट, कम्पलायन्स छ । संस्थापक सेयर खरिद गर्नका लागि फिट एण्ड पर्पर टेस्टदेखि नेपाल राष्ट्र बैंक, नेपाल बीमा प्राधिकरणका नियम पालना गर्नुपर्छ । त्यसैले सर्वसाधारण सबैले यो काम गर्न सक्दैन । त्यसका लागि एक्सपर्टिज चाहिन्छ,’ उनले भने । उनका अनुसार विदेशमा नेपालमा जस्तो प्रमोटर सेयर छुट्याइने गरिएको छैन । जस्तो एनआईसी एशिया बैंकको एनआईसीए साधारण सेयर हो भने एनआईसीएपी प्रमोटर सेयर हो । एनआईसी एशिया मुख्य प्लेटफर्ममा कारोबार हुन्छ भने सोही बैंकको संस्थापक सेयर कारोबारका लागि कुनै प्लेटफर्म नै छैन । त्यो मार्केट क्याप्चर गर्न कम्पनीले सहजीकरण गर्ने उनको भनाइ छ । जहाँ बिक्रेता र खरिदकर्तालाई कारोबार गर्न एउटा माध्यम हुनेछ । नियामकीय अप्ठ्याराहरूलाई सहज रूपमा सेवा दिन कम्पनी तयार रहेको उनले बताए । डायस्पोरा अकाउन्ट सोलुसन (डायस्पोरा खाता सेवा) २०७८ को जनगणनाअनुसार ३२ लाख नेपाली विदेशमा छन् । अन्य तथ्याङ्कलाई आधार मान्ने हो भने ६७/६८ लाख मानिस विदेशमा रहेको दाबी छ । साथै विदेसिने नेपालीको संख्या थप बढ्दैछ । संसारभर नेपालीको संख्या बढिरहेको छ । एनआईसी एशिया क्यापिटलले विश्व समुदायलाई नेपालको पुँजी बजारसँग आवद्ध गराउन पूलको भूमिका निर्वाह गर्ने गरी डायस्पोरा अकाउन्ट सोलुसन योजना ल्याएको छ । संसारको जुनसुकै कुनाका लगानीकर्ता, उद्यमीले नेपाल आएर व्यापार व्यवसाय वा पुँजी बजारमा जोडिन चाहेमा उनीहरूका लागि सहज सेवा कम्पनीले उपलब्ध गराउने भएको हो । ‘विदेशमा नेपालीको उपस्थिति बढिरहेको छ । तर, नेपालमा वान स्टप सोलुसन छैन । कुनै काम गर्नुपर्यो भने एउटै व्यक्तिले धेरै कार्यालयमा धाउनुपर्ने बाध्यता छ । अब उहाँहरू लगानी गर्न आउनु भयो भने एनआईसी एशियाले एउटै कार्यालयबाट सबै काम गर्नेछ,’ रिसर्च हेड दनुवारले भने, ‘विभिन्न नियामकीय प्रावधान छन् र वार्षिक १२/१३ खर्ब रुपैयाँ रेमिट्यान्सलाई पुँजी बजारमा ल्याउन पुलको रूपमा कम्पनीले भूमिका खेल्नेछ । अथवा यी सबै समस्याको समाधान एनआईसी एशिया क्यापिटलले गर्नेछ ।’ कोही व्यक्ति व्यवसाय गर्न नेपाल आउँछ भने कम्पनीले व्यवसाय सुरु गर्नदेखि व्यवस्थापन, व्यवसाय वृद्धि र सफलता दिलाउने गरी सहयोगी भूमिका खेल्ने उनलेबताए । उनका अनुसार जस्तो कोरियामा पाँच वर्ष बसेर १ करोड रुपैयाँ कमाएर नेपाल फर्किएर मःम हाउस खोल्ने योजना छ भने एनआईसीले कम्पनी दर्ता, कम्पनीको मूल्याङ्कन, कानुनी तथा अनुपालन र आवश्यक लगानी रकम संकलनदेखि सबै काम गरिदनेछ । साथै, व्यवसाय सञ्चालन गरिरहेको छ तर कसरी विस्तार गर्ने भन्ने योजना छैन भने कम्पनीले उक्त सेवा पनि उपलब्ध गरायने उनको भनाइ छ । ओएफएस योजना पु्ँजी बजारमा सूचीकृत तथा सूचीकृत नभएका कम्पनीहरूको संस्थापक सेयर खरिद बिक्री गर्न सहज गराउने उद्देश्यले अफर फर सेल प्लेटफर्म योजना सञ्चालनमा ल्याएको उनले बताए । कम्पनीहरूको संस्थापक समूहको सेयर खरिद बिक्री गर्न निकै कानूनी प्रक्रिया पुरा गर्नुपर्ने भएकाले कम्पनीले उक्त सेवा उलपब्ध गराउने उनको भनाइ छ । ‘कम्पनीहरूको संस्थापक समूहको सेयर कारोबार गर्न निकै झन्झटिलो प्रक्रिया रहेको र लगानीकर्ताहरूले चाहेको समयमा खरिदकर्ता तथा बिक्रीकर्ता नपाउँदा संस्थापक सेयरमा गरिएको लगानी फ्रिज भएर बसेको छ । त्यसैले संस्थापक सेयर खरिद बिक्रीको लागि वान स्टप सोलुसन उपलब्ध गराउने मुख्य उद्देश्यले अफर फर सेल माध्यम ल्याएको हो,’ उनले भने । संस्थापक समूहको सेयर बिक्री गर्न चाहने सेयरधनीहरूले क्यापिटलको वेबसाइटमा माग गरेबमोजिमको विवरण रीतपूर्वक भरेपश्चात उक्त विवरणको आधारमा सम्बन्धित कम्पनीको सेयर खरिदकर्ता खोजिदिने काम क्यापिटलले गर्ने छ । सेयर खरिदकर्ता तथा बिक्रीकर्ताको विवरण सुरक्षित तथा गोपनीयता कायम राख्ने कम्पनीले जनाएको छ । कम्पनीको इतिहास सन् २०१६ बाट सञ्चालनमा आएको एनआईसी एशिया क्यापिटलले छोटो समयमा सेवामार्फत राम्रो छाप छाड्न सफल भएको कम्पनीले दाबी गरेको छ । साथै, नेपालको मर्चेन्ट बैंकिङमा पहिलो र एकमात्रै आइएसओ सर्टिफाइड क्यापिटल रहेको कम्पनीले जनाएको छ । पुँजी बजारमा इनोभेटिभ सेवा र सम्पूर्ण पुँजी बजारको सेवा दिने उद्देश्य रहेको यस कम्पनीले सेयर रजिष्ट्रार, लगानी व्यवस्थापन, सेयर निष्कासन तथा बिक्री प्रबन्धक, निक्षेप सदस्य, सेयर प्रत्याभूती, लगानी व्यवस्थापन तथा संस्थागत परामर्श सेवासमेत प्रदान गर्दै आएको छ । साथै कम्पनीले योजना व्यवस्थापक तथा डिपोजिटरीको कार्य पनि गर्दै आएको छ । कम्पनीले सन् २०१७ मा पहिलो बन्दमुखी योजना ग्रोथ फण्ड, सन् २०१८ मा ब्यालेन्सड् फण्ड र सन् २०१९ मा आईएसओ सर्टिफाइड बनेको रिसर्च हेड दनुवारले बताए । सन् २०२० मा कर्पाेरेट एडभाइजरी सेवा, अनलाइनबाट सेवा, सन् २०२१ मा अनलाइन टीएमएस, सन् २०२२ मा विशिष्टिकृत लगानी कोष, सन् २०२३ मा मौरिसससँग रणनीतिक साझेदार र सन् २०२४ मा आइडीया टू आइडीया सर्भिस सेवा सुरु गरेको उनले बताए । ‘कम्पनीले सेवालाई मात्रै नभई आफ्ना प्रडक्टलाई पनि सबैको आवश्यकता पुरा गर्न विविधिकरण गरेको छ । अब एआई प्रविधिबाट दूरदराजसम्म सेवा दिने योजना छ । डीपीमा ७ लाख ५२ हजार खातासहित मर्चेन्ट बैंकिङमा नेतृत्व गरेको छ । टिएमएसमा साढे २ अर्बको अण्डर म्यानेजमेन्ट छ । ६ वटा म्युचुअल फण्ड र फरक-फरक प्रडक्ट विविधिकरणमा कम्पनीले सेवा सुरु गरेको छ,’ उनले भने, ‘सन् २०१६ देखि सन् २०२४ सम्म आइपुग्दा कम्पनीले आफ्नोमात्रै माइलस्टोन नभएर इण्डष्ट्रीलाई पनि ग्रो गर्न सहयोग गरेको छ।’
नबिलबाट बाहिरिँदै ज्ञानेन्द्र ढुंगाना, गभर्नरका लागि ‘टप थ्री’मा पर्न राजीनामा अनिवार्य
काठमाडौं । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्ञानेन्द्र ढुङ्गाना नबिल बैंकबाट बाहिरिने भएका छन् । नेपाल राष्ट्र बैंकको गभर्नर बन्नका लागि विभिन्न व्यक्तिबीच लबिङ र प्रतिस्पर्धा चलिरहँदा सीईओ ढुङ्गानाले पनि सीईओबाट बाहिरिएर गभर्नरका लागि प्रतिस्पर्धा थालेका हुन् । अहिले उनी विदामा बसेर राजनीतिक लबिङमा लागिरहेका छन् । ‘गभर्नरका लागि सिफारिस समितिले मेरो नाम पठाएपछि मात्र राजीनामा दिन्छु’ नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुंगानाले एक महिनाअघि विकासन्युज प्रतिनिधिसँग भनेका थिए । तर, अहिले परिस्थिति परिवर्तन भएको छ । बैंकमा बहालवाला प्रमुख कार्यकारी अधिकृतलाई गभर्नरमा सीफारिस गर्न नसकिने जनाउँदै माथिल्लो तहबाट ढुंगानामाथि राजीनामाको दबाब परेको छ । गभर्नर बन्ने तीब्र चाहनासहित प्रतिस्पर्धामा ओर्लिएका ढुंगाना गत सातादेखि देखि नै विदामा बसेका हुन् । प्रमुख कार्यकारी अधिकृत ढुंगाना विदामा बसेको तर राजीनामा गरिनसकेको बैंकका अध्यक्ष उपेन्द्र पौडेलले बताए । सिफारिस हुनुभन्दा अगाडि राजीनामा गर्न आफूलाई सुझाव आएको ढुंगानाले बताए । राजीनामा बारे केही दिनमा निर्णय लिने पनि उनको भनाइ छ । सीईओ ढुङ्गानाले डेढ वर्षअघि देखि नै गभर्नर बन्ने योजनासहित सोही किसिमले लबिङ सुरु गरेका थिए । विकासन्युजले २०८० भदौमा उनले गभर्नरका लागि तयारी थालेको समाचार सम्प्रेषण गरेको थियो । त्यसपछि उनलाई धेरैले गभर्नरको प्रतिस्पर्धीको रुपमा चर्चा गरेका थिए । नेपाल राष्ट्र बैंकको गभर्नर बन्नका लागि दुई दर्जन व्यक्तिले आकांक्षा देखिएका छन् । बैंकका सीईओ, अन्य नियमनकारी निकायममा नेतृत्व गरिसकेका व्यक्तिहरुले राष्ट्र बैंकको गभर्नर बन्न आकांक्षा देखाएका छन् । उनीहरुले सोही किसिमले राजनीतिक लबिङ गरिरहेका छन् ।
४४ हजारबाट सुरु भएको जेष्ठ नागरिक सेवा केन्द्रको तीन तले भवन, ओहोरदोहोर गर्न गाडी खोजिँदै
काठमाडौं । कीर्तिपुरको जनसेवाकी कान्छी महर्जनलाई अहिले सानो खुड्किलो पनि ठूलो पहाड जस्तो लाग्छ । न सजिलै खुड्किला चढ्न सक्छिन्, न त झर्न नै । उमेर बढ्दै गयोे । शरीरमा पहिलेको जस्तो शक्ति पनि छैन । ‘उमेरले डाँडा काटेपछि आफ्नै घरको दैलो पनि तारेभीर लाग्दो रहेछ, न केही काम गर्न सकिन्छ, न कतै हिँडडुल गर्न,’ उनी भन्छिन्, ‘घरमै एक्लै बस्न सकिँदैन, काम पनि गर्न सकिँदैन । बुढेसकालमा त दिनहरू काट्नै धौ पर्दोरहेछ ।’ सोमबार कीर्तिपुरको पाँगा लाछीमा रहेको ‘ज्येष्ठ नागरिक सेवा केन्द्र’मा भेटिएकी कान्छी अहिले ८१ वर्षकी भइन् । उमेर बुढो भएपनि मनले अहिले पनि बच्चाको जस्तै चञ्चलता गर्न खोज्छ । काम गर्ने जाँगर पनि उस्तै लाग्छ । तर, शरीरले साथ दिँदैन । कान्छी उमेर ढल्केर शरीर खुम्चिए पनि इच्छाशक्ति अहिले पनि पहिलेको जस्तै रहने बताउँछिन् । कान्छी महर्जन । कान्छीका घरमा छोराबुहारी छन् । बुहारी गलैंचाको काम गर्छिन् । छोरा अरू काम गर्छन् । नातिनातिना स्कुल जान्छन् । उनका श्रीमान पहिले नै उनको साथ र संसार छोडेर गए । कान्छी अहिले एक्लो भएको महसुस गर्छिन् । यही एक्लोपन कटाउन उनी घरबाट बिहान १० बजे नै निस्कन्छन् । जहाँ उनी जस्तै घरमा एक्लै भएका वृद्धवृद्धाहरू जम्मा हुन्छन् । कान्छी पनि तिनै साथीहरूसँग दिन कटाउने मेसोमा लाछीमा रहेको जेष्ठ नागरिक सेवा केन्द्रमा पुग्छिन् । जहाँ उनीजस्तै अन्य धेरै जना हुन्छन् । दिनभर योगा गर्ने, गीत गाउने, रमाइलो गर्नेदेखि लिएर चिया नास्ता गरेर घर फर्किन मिल्छ । कीर्तिपुर नगरपालिका ८ पाँगाका नारायण महर्जन बिहान १० बजेपछि लठ्ठी टेक्दै घरबाट निस्कन्छन् । छोराबुहारी काममा व्यस्त, नातिनातिना स्कुल गएपछि उनलाई पनि घरमा एक्लै बस्न मन पर्दैन । उनी पनि विस्तारै जेष्ठ नागरिक केन्द्रमा आइपुग्छन् । केही समय पहिलेदेखि बुढाबुढी सँगसँगै घरबाट निस्कने गरे पनि अहिले नारायण एक्लै निस्कन्छन् । उनकी श्रीमतीलाई अलि सन्चो छैन । बिरामी श्रीमतीलाई एकैछिन एक्लै बस्न भन्दै उनी घरबाट निस्कन्छन् । नारायण महर्जन । भन्छन्,‘ श्रीमतीलाई खाना अनि औषधी खुवाएर आउँछु, एकछिन यहाँ बसेर फेरि घर जान्छु, आजभोलि दिनहरू यसरी नै बितिरहेका छन् ।’ उमेरले ८१ वर्ष लागेका नारायण उमेर ढल्केसँगै घरमा एक्लै बस्न निकै समस्या हुने गरेको अनुभव सुनाउँछन् । कलंकीकी ज्वाला डङ्गोल अहिले कीर्तिपुर बस्दै आएकी छन् । मूल घर कीर्तिपुर भएपनि उनको परिवार कलंकीम बस्दै आएको थियो । उनका श्रीमान थला परेपछि उनको परिवार मूल घर कीर्तिपुरमा सरेको छ । घर नजिकै ज्येष्ठ नागरिक सेवा केन्द्र छ भन्ने थाहा भएपछि अहिले उनी पनि फुर्सद निकालेर त्यहाँ आउन थालेकी छन् । उमेरले ७० वर्ष लागेकी उनी यो केन्द्र आफूहरू जस्तै दुःखमा परेका र घरमै एक्लै बस्न नसक्नेहरूका लागि राम्रो ठाउँ रहेको बताउँछिन् । ‘मलाई यहाँ यस्तो संस्था छ भन्ने थाहा थियो । तर, आएको थिइनँ । अहिले नियमित ३ महिना भयो आउन थालेको । यो त हामीजस्ताहरूको लागि दुःख बिसाउने र एक्लोपन मेटाउने साथी पो रहेछ,’ उनले भनिन्, ‘छोरा बुहारीहरू काममा गइहाल्छन्, नातिनातीनाहरू स्कुल गइहाल्छन् ।’ ज्वाला डङ्गोल । उनी यहाँ आएर आफूहरूले एकअर्कालाई चिन्ने अवसर पाएको बताउँछिन् । ज्वालाकाे अहिले धेरैजनासँग चिनजान भइसकेको छ । अहिले नारायण, कान्छी राधाजस्तै कीर्तिपुर नगरपालिका वडा नम्बर ८ का जेष्ठ नागरिकहरू दिनभरि समय बिताउन त्यही पुग्ने गर्छन् । दुःख पीडा पोख्ने ठाउँ सहरमा आजभोलि घरहरू एकमाथि एक जोडिएका छन् । तलामाथि तला ठडिएका छन् । पहिलेजस्तो खुल्ला ठाउँ कतै छैन । अग्ला घर र बाक्ला बस्तीले सहरका वृद्धवृद्धाहरू च्यापिरहेको महसुस गर्न थालेका छन् । अझ यहाँ रैथानेहरूले घरभाडामा दिने र पैसा कमाउने उद्देश्यले पाँचौं, छैटौं तलाका घरहरू ठड्याएका छन् । तलका सबै कोठाहरू भाडामा दिएर छतमा बसिरहेका जेष्ठ नागरिकलाई भने घरबाट तल झर्न र तलबाट माथि चढ्न हिमाल चढेजस्तो गर्नुपर्छ । यस्ता घरमा एक्ला दिनहरू बिताइरहेका कीर्तिपुरको पाँगाका ज्येष्ठ नागरिकहरू भने अहिले बिहान १० बजेदेखि दिउँसो तीन बजेसम्म पाँगामा रहेको जेष्ठ नागरिक सेवा केन्द्रमा दिनहरू बिताइरहेका छन् । सुभद्रा महर्जन । यो सेवा केन्द्र अहिले आफूहरूको बुढेसकालको सारथी भएको कीर्तिपुरकी सुभद्रा महर्जन बताउँछिन् । उनी आफूजस्ता अरू साथीभाइ देख्दा आफ्ना दुःखसुखका कुरा सुनाउन सहज हुने बताउँदै आफूहरूका लागि निकै राम्रो भएको सुनाउँछिन् । केन्द्रमा के-के हुन्छ ? बिहान १० बजेदेखि ज्येष्ठ नागरिकहरू घरबाट हिँड्न थाल्छन् । कोही पुगिसक्छन्, कोही विस्तारै पुग्छन् । धेरैजसो जम्मा भइसकेपछि राष्ट्रिय गीत गाउँछन् । ७० देखि सय वर्षसम्मका जेष्ठ नागरिक सबैलाई राष्ट्रिय गीत गाउन मज्जाले आउँछ । यो गीत गाइसकेपछि सबैजना आ–आफ्नो परिचय दिन्छन् । सबैले आफ्नो नाम भनिसकेपछि सुरु हुन्छ योगा । शारीरिकदेखि मानसिक योगा गरिसकेपछि सबैजना कोही गीत गाउने, कोही नाच्ने गरी रमाइलो गर्छन् । यति गरिसकेपछि उनीहरूका लागि चिया, बिस्कुट आउँछ । एकछिन बसेर सबैजनाले चिया बिस्कुट खान्छन् । त्यसपछि ठूलो स्क्रिनमा टिभी लगाइन्छ । टिभी हेर्दै बस्ने कोही गफ गर्ने एकअर्कासँग कुराकानी गर्ने समय पनि हुन्छ । यति गर्दा २, साढे २ भइसक्छ । त्यसपछि सबैजना बसेर फेरि खाजा खान्छन् । खाजा खाइसकेपछि फेरि उनीहरू बिस्तारै आफ्नो घरतिर लाग्छन् । पाँगाका ज्येष्ठ नागरिकको आजभोलिको दैनिकी यही हुँदै आएको छ । सतुराम महजर्न । घरमा काम गर्न नसक्ने, एक्लै बस्दा पनि एक्लोपनले शारिरीक र मानसिक समस्या हुने भन्दै यो समस्या आउन नदिन यस्तो काम सुरुवात गरेको जेष्ठ नागरिक सेवा केन्द्रका अध्यक्ष सतुराम महजर्न बताउँछन् । कसरी गरियो परिकल्पना ? वि.सं २०७२ सालमा गएको विनाशकारी भूकम्पले काठमाडौंमात्र होइन, धेरै ठाउँलाई तहसनहस बनायो । कीर्तिपुरको पाँगामा पनि धेरै घरहरू भत्के । नागरिकहरू टहरामा बस्न थाले । अवस्था सामान्य हुँदै जाँदा तन्नेरीहरू काममा जान थाले । काम भएकाहरू काममा नभएकाहरू काम खोज्न जान थाले । घरमा ज्येष्ठ नागरिकहरू मात्र हुन्थे । यस्तो अवस्था देखेर पाँगाकी हरिदेवी महर्जनलाई जेष्ठ नागरिकहरूको लागि केही गर्न पाए हुन्थ्यो भन्ने लाग्यो । उनलाई वृद्धवृद्धाहरू दिनभर टहरामा एक्लै बसिरहेको हेर्न मन लागेन । हरिदेवीले आफ्नो समूहमा यो कुरा सुनाइन् । उनीलगायत १२ जना महिलाहरूले बालकुमारी समूह भनेर धेरै पहिलेदेखि गठन गरेका थिए । उनीहरू जेष्ठ नागरिकको सहजताका लागि भन्दै जेष्ठ नागरिक केन्द्र सञ्चालन गर्ने योजना बनाए । उनीहरू बाहै्रजना हरेक व्यक्तिका घरमा पुगे । आफूहरूको योजना सुनाए । कसैले पत्यानन् । महामारीको बेला भएको भन्दै सम्पत्ति अन्न सकिएको बेला सहयोग गर्नसक्ने आश्वासन पनि कहीँबाट आएन । यसैक्रममा एकदिन हरिदेवी लगायतको भेट पाँगाका सतुरामसँग भयो । उनीहरू आफ्नो योजना सतुरामलाई सुनाए । तर, उनले पनि विश्वास गरेनन् । सबै कुरा बताउँदै गएपछि सतुरामले एउटा सर्त राखे- तपाईंहरूको काममा म सहमत छु । तर, यो काम सुरु गरेको तीन महिनासम्म पनि राम्रो भएन, जेष्ठ नागरिक कोही आएनन् भने केन्द्र नै स्थगित गर्नुपर्छ । अर्को, त्यहाँ काम गरेको श्रमको पैसा लिन नपाउने । अहिले सेवाका लागि भन्ने पछि दिनभर सेवा गर्नुपर्दा फोकटमा समय खेर गयो भन्न नपाइने । यो सर्तमा सबैजना सहमत भएपछि बल्ल जेष्ठ नागरिक सेवा केन्द्र सुरु भएको हो । यहाँ अहिले करिब ५० जना जेष्ठ नागरिकहरू छन् । सुरुमा ४४ हजार लगानी सर्त स्वीकार भएपछि सतुरामले २० हजार रुपैयाँ सहयोग गरे । बाँकी १२ जना महिलाले प्रतिव्यक्ति २/२ हजार उठाए । ४४ हजार रुपैयाँ जम्मा भएपछि उनीहरूले पाँगामा रहेको मन्दिरमा जेष्ठ नागरिकहरूलाई भेला पार्न सुरु गरे । उनीहरूको यो काम देखेपछि धेरैजनाले सहयोग गर्न सुरु गरे । केन्द्र सुरु गरेको सय दिन मनाउँदा धेरै राम्रो अवस्था भइसकेको थियो । अहिले जहाँ जेष्ठ नागरिकहरू बसिरहेका छन्, त्यो ठाउँमा पहिले सानो नाटेश्वर मन्दिर थियो, जुन अर्कै क्लबले बनाएको थियो । फेरि यो केन्द्र सुचारु भइसकेपछि त्यसलाई पनि भत्काएर तीन तलाका सानो घर बनाइयो । अहिले त्यही भवनमा दिनहरू बिताउँछन् जेष्ठ नागरिकहरू । ‘धेरैजसो वरिपरिका मनकारीले सहयोग गरे, अहिले पनि जन्मदिन, कसैको पास्नी भयो भने सबैजना आउनुहुन्छ, आमाबाहरूलाई खुवाउनुहुन्छ, अलिकति पैसा पनि दिएर जानुहुन्छ । यस्तै–यस्तै मनकारीले गर्दा यो संस्था बचेको छ,’ सतुरामले भने । उनीहरूले गरेको काम एक जना जर्मनको नागरिकले देखे । उनले यो सेवा देखेर खुसी हुँदै वृद्धवृद्धाहरूलाई २ वर्षलाई पुग्नेगरी एक दिनमा दुई हजारका दरले पैसा दिए । १४ लाख ४० हजार रुपैयाँ अहिले बैंकमा राखेर ब्याजमा लगाएको अध्यक्ष सतुरामले बताए । सेवाको भाव बोकेकी हरिदेवी कीर्तिपुरको पाँगाकी हरीदेवी महर्जनलाई पहिलादेखि नै सेवा गरौं न भन्ने इच्छा पहिलेदेखि नै थियो । तर, कसरी गर्ने, के गर्ने भन्ने धेरै ज्ञात थिएन । उनलाई गाउँमा बुढा बाआमा एक्लै बसेको देख्दा माया लाग्थ्यो । घरमा कोही नहुँदा न उनीहरूले समयमा खाजा पाउँथे, न खाना बरु कतिपय वृद्धवृद्धाहरूले छोराबुहारीकै अपहेलना सहनुपरेको हुन्थ्यो । उनलाई जेष्ठ नागरिकहरूलाई दिन कटाउन मिल्ने गरी केही सेवा गर्न पाए हुन्थ्यो भन्ने लाग्यो । हरिदेवी महर्जन । अगाडिदेखि नै यो सोंच आएपछि भूकम्पपछि यो अवस्था झन दर्दनाक देखियो । त्यसपछि १२ जना महिला र अर्का एक सतुराम मिलेर २०७३ साल वैशाख ४ गते ज्येष्ठ नागरिक सेवा केन्द्रको उद्घाटन गरे । उद्घाटन गरेकै दिन कसैले पाँच, कसैले १० गरी पैसा दिन सुरु गरे । त्यही दिनमात्र ४६ हजार पैसा संकलन भयो । कसैले चामल, दाल तकारी, चिउरा, भाँडा ग्याससमेत १३ जनाले आफ्नै घरबाट सुरु गरेर सेवा कार्य अगाडि बढाए । सप्ताहबाट ४० लाख संकलन यो संस्थामा सुरुवातीमा ९० भन्दा बढी ज्येष्ठ नागरिकहरू थिए । त्यसपछि कोरोना महामारी फैलियो । मान्छे देख्दा मान्छे नै भाग्नुपर्ने अवस्थामा धेरैजना जेष्ठ नागरिकहरू आउन छोडे । अहिले ५० जनामात्र आउने गरेका छन् । ज्येष्ठ नागरिकहरूलाई हरेक महिना कहिले घुमाउन, कहिले पिकनिकमा लगिने गरिन्छ । हरेक आमाबुवाका जन्मदिनलाई उत्वसवको रूपमा मनाइन्छ । विभिन्न उतारचढावका बीच १० वर्षसम्म ज्येष्ठ नागरिकहरूको सेवामा हरिदेवी, सतुरामहरू केन्द्रित छन् । अहिले त्यहाँ कहिले विद्यार्थी, कहिले कुनै संघसंस्थाका मान्छेहरू हेर्न अध्ययन गर्न पुगिरहन्छन् । यही क्रममा केही वर्ष पहिले काठमाडौंको टेवालका एकजना बा पाँगाको ज्येष्ठ नागरिक सेवा केन्द्र खोज्दै पुगे । उनी कम्बलहरू किनेर पशुपतिनाथको वृद्धाश्रम पुगेका रहेछन् । वृद्धाश्रमले कम्बल नलिने बरु पैसा लिने भनेपछि उनी कीर्तिपुर पुगेका रहेछन् । उनले आफूले किनेका कम्बल त्यहीका ज्येष्ठ नागरिकहरूलाई वितरण गरे । उनले राम्रो काम गरेको भन्दै थप सप्ताह लगाएर संकलन भएको पैसा अक्षय कोष स्थापना गरी जम्मा गर्न सल्लाह दिए । उनले आफूले पनि एक लाख रुपैयाँ सहयोग गरे । उनैको सल्लाहअनुसार यो केन्द्रले सप्ताह लगायो । जहाँ ४० लाख पैसा उठ्यो । उनीहरूले ४० लाख रुपैयाँ बैंकमा जम्मा गरे । त्यसपछि उनीहरूले अब संस्थाको आफ्नै भवन बनाउने योजना बनाए । यो योजनापछि उनीहरूले स्थानीय तहसँग छलफल गरे । अहिले कीर्तिपुर नगरपालिकाले पनि वर्षमा एक लाख रुपैयाँ दिँदै आएको छ । सांसद राजन केसीले ४० लाख सहयोग गरेपछि ८० लाख रुपैयाँ जम्मा भयो । त्यसपछि भवनका लागि जग्गा खोजी भयो । ६ आना तीन पैसा जग्गा अलिकति पैसा जम्मा भएपछि हरिदेवीले आफ्नी कान्छी सासूसँग जग्गा मागिन् । उनले आफ्नो र कान्छी सासूको जग्गा एउटै ठाउँमा हुँदा त्यही जग्गा निःशुल्क दिन आग्रह गरिन् । ‘हामी पनि भोलि जानुपर्ने त्यही ठाउँ हो, आज हामीले जग्गा उपलब्ध गरिरहे सजिलो हुन्छ भन्दै कान्छी सासुलाई फकाएँ, त्यसपछि हामी मिलेर जग्गा दियौं,’ उनले भनिन् । दुई जना मिलेर दिएको जग्गा ६ आना तीन पैसा थियो । जग्गा पाइसकेपछि भवन निर्माण सुरु गरियो । अहिले त्यो ठाउँमा तीन तलाको भवन ठडिएको छ । बजारबाट अलि टाढा हुँदा जेष्ठ नागरिकलाई हिँडेर त्यहाँ पुग्न समस्या हुँदा अहिले त्यो भवन त्यत्तिकै छ । चार–पाँच कोठा भाडामा दिएपनि अन्य कोठा त्यतिकै छन् । सतुराम भवन बनेपनि ज्येष्ठ नागरिकलाई हिँडेर त्यहाँ पुग्न समस्या हुँदा आफ्नै भवनमा सर्न नसकेको बताउँछन् । भन्छन्, ‘यहाँसम्म पुग्न आमाबालाई धौ–धौ पर्छ , त्यहाँ पुग्न बाटो पनि अप्ठ्यारो छ । केही गाडीको व्यवस्था गर्न सके सजिलो हुन्थ्यो ।’ त्यसका लागि पहिला गोरेटो बाटो रहेको बाटोलाई पीच गर्ने काम पनि हुँदैछ । त्यो बाटो पीच गर्नको लागि पनि दिनरात वडाकार्यालयदेखि पालिका कार्यालय धाउनु परेको दुःख उस्तै छ । भावी योजना हरिदेवी अब बनाएको भवनमा वृद्धवृद्धालाई राख्न सके आफूले सुरु गरेको काम पुरा हुने बताउँछिन् । ‘मेरो जुन सेवा गर्ने धोको थियो त्यो पूरा भयो । भवन पनि बनाएँ, अब आमाबालाई घरसम्म पुर्याउन गाडी र एउटा डाक्टर तथा नर्स राख्ने योजना छ । साथै अलिकति जग्गा लिएर पार्कजस्तै बनाएर उहाँहरूलाई डुलाउने ठाउँ पनि बनाइदिने धोकोे छ । उनी भन्छिन्, ‘मेरा त चार जना छोरी छन्, तीन जनाको बिहे भइसक्यो, एउटा छोरीको बाँकी छ । छोरापनि छैन, भोलि मैले बस्नुपर्ने यही ठाउँ हो ।’ अहिले ज्येष्ठ नागरिकहरू अप्ठ्यारो अवस्थामा छन् । धेरैजसो अभिभावकको छोराछोरी बाहिर हुँदा घरमा एक्ला छन् भने छोराछोरी सँगै भएका वृद्धवृद्धा पनि एक्लोपनमा दिनहरू बिताइरहेका छन् । सहरमा न उनीहरूलाई एक्लोपन मेटाउने ठाउँ छन् त न छोरीछोरीसँग बाआमासँगै बसेर कुराकानी गर्ने फुर्सद सन्तानहरूलाई छ । व्यस्त अहिलेको दैनिकीमा जेष्ठ नागरिकहरूका लागि उपयुक्त स्थान भनेकै यस्ता सेवा केन्द्रहरू रहेको हरिदेवी बताउँछिन् ।