काठमाडौं । ‘गत आर्थिक वर्ष २०८०/८१ मा नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा अर्डिनरी (साधारण) सेयरको बजार पुँजीकरण ३५ खर्ब रुपैयाँ थियो । साथै सोही अवधिमा नेप्सेमा प्रमोटर (संस्थापक) सेयरको बजार पुँजीकरण ५ खर्ब २५ अर्ब रुपैयाँ थियो । ३५ खर्बको साधारण सेयरमा ३५ खर्बकै कारोबार भयो तर, संस्थापक सेयरको १५ अर्ब रुपैयाँको मात्रै कारोबार भयो, जुन ३ प्रतिशत हाराहारीमा मात्रै हो,’ एनआईसी एशिया क्यापिटलका रिसर्च हेड कृष्ण दनुवारले अनुसन्धानबाट खुलेको तथ्य उजागर गर्दै भने ।
उनका अनुसार स्टक एक्सचेञ्ज भन्ने बित्तिकै एक्सचेञ्ज अर्थात् एक ठाउँबाट अर्काेमा सर्नु हो । तर, संस्थापक सेयर कारोबारमा खरिदकर्ता र बिक्रेताबीच नमिलेको देखिन्छ । कम्पनी रजिष्ट्रारको कार्यालयमा ३ लाख ३२ हजार कम्पनी दर्ता भएका छन् । जसमध्ये २ हजार २०२ वटा पब्लिक कम्पनी र २४५ वटा कम्पनी मात्रै नेप्सेमा सूचीकृत भएका छन् ।
‘ओटिसी मार्केटमा विस्तारै आकर्षण बढ्दो रहेको उनले बताए । प्राइभेट कम्पनीमा लगानी गर्ने बढिरहेका छन् । गत वर्ष २०६ वटा कम्पनीको २ अर्ब ८ करोड रुपैयाँको कारोबार भएको थियो भने यसपटक २४४ कम्पनीको ५ अर्बको कारोबार भएको छ । यो तथ्याङ्कले पनि ओटीसी मार्केट वृद्धि भइरहेको देखिन्छ । यो मार्केटलाई पनि हामीले क्याप्चर गर्नका लागि प्ल्याटफर्म तयार पारेका छौं,’ दनुवारले भने ।
एनआईसी एशिया क्यापिटको विज्ञ टिमले विभिन्न क्षेत्रका १९ बढी प्राइभेट र पब्लिक कम्पनीको २ अर्बको कारोबार गरिसकेको उनले दाबी गरे । तर, संस्थापक सेयर कारोबारमा भने समस्या रहेको उनको भनाइ छ । नेप्सेमा साधारण सेयरका खरिदकर्ता र बिक्रेता देखिएपनि सोहीअनुसार संस्थापक सेयर कारोबारमा भने ठूलो दूरी रहेको उनले बताए ।
‘नेप्सेमा अर्डिनरी सेयर हाल्नेबित्तिकै खरिदकर्ता र बिक्रेता देखिन्छन् । तर, संस्थापक सेयरमा छैन । संस्थापक सेयरमा कमन मार्केट, सीमित मार्केट, कम्पलायन्स छ । संस्थापक सेयर खरिद गर्नका लागि फिट एण्ड पर्पर टेस्टदेखि नेपाल राष्ट्र बैंक, नेपाल बीमा प्राधिकरणका नियम पालना गर्नुपर्छ । त्यसैले सर्वसाधारण सबैले यो काम गर्न सक्दैन । त्यसका लागि एक्सपर्टिज चाहिन्छ,’ उनले भने ।
उनका अनुसार विदेशमा नेपालमा जस्तो प्रमोटर सेयर छुट्याइने गरिएको छैन । जस्तो एनआईसी एशिया बैंकको एनआईसीए साधारण सेयर हो भने एनआईसीएपी प्रमोटर सेयर हो । एनआईसी एशिया मुख्य प्लेटफर्ममा कारोबार हुन्छ भने सोही बैंकको संस्थापक सेयर कारोबारका लागि कुनै प्लेटफर्म नै छैन । त्यो मार्केट क्याप्चर गर्न कम्पनीले सहजीकरण गर्ने उनको भनाइ छ । जहाँ बिक्रेता र खरिदकर्तालाई कारोबार गर्न एउटा माध्यम हुनेछ । नियामकीय अप्ठ्याराहरूलाई सहज रूपमा सेवा दिन कम्पनी तयार रहेको उनले बताए ।
डायस्पोरा अकाउन्ट सोलुसन (डायस्पोरा खाता सेवा)
२०७८ को जनगणनाअनुसार ३२ लाख नेपाली विदेशमा छन् । अन्य तथ्याङ्कलाई आधार मान्ने हो भने ६७/६८ लाख मानिस विदेशमा रहेको दाबी छ । साथै विदेसिने नेपालीको संख्या थप बढ्दैछ । संसारभर नेपालीको संख्या बढिरहेको छ । एनआईसी एशिया क्यापिटलले विश्व समुदायलाई नेपालको पुँजी बजारसँग आवद्ध गराउन पूलको भूमिका निर्वाह गर्ने गरी डायस्पोरा अकाउन्ट सोलुसन योजना ल्याएको छ ।
संसारको जुनसुकै कुनाका लगानीकर्ता, उद्यमीले नेपाल आएर व्यापार व्यवसाय वा पुँजी बजारमा जोडिन चाहेमा उनीहरूका लागि सहज सेवा कम्पनीले उपलब्ध गराउने भएको हो ।
‘विदेशमा नेपालीको उपस्थिति बढिरहेको छ । तर, नेपालमा वान स्टप सोलुसन छैन । कुनै काम गर्नुपर्यो भने एउटै व्यक्तिले धेरै कार्यालयमा धाउनुपर्ने बाध्यता छ । अब उहाँहरू लगानी गर्न आउनु भयो भने एनआईसी एशियाले एउटै कार्यालयबाट सबै काम गर्नेछ,’ रिसर्च हेड दनुवारले भने, ‘विभिन्न नियामकीय प्रावधान छन् र वार्षिक १२/१३ खर्ब रुपैयाँ रेमिट्यान्सलाई पुँजी बजारमा ल्याउन पुलको रूपमा कम्पनीले भूमिका खेल्नेछ । अथवा यी सबै समस्याको समाधान एनआईसी एशिया क्यापिटलले गर्नेछ ।’
कोही व्यक्ति व्यवसाय गर्न नेपाल आउँछ भने कम्पनीले व्यवसाय सुरु गर्नदेखि व्यवस्थापन, व्यवसाय वृद्धि र सफलता दिलाउने गरी सहयोगी भूमिका खेल्ने उनलेबताए । उनका अनुसार जस्तो कोरियामा पाँच वर्ष बसेर १ करोड रुपैयाँ कमाएर नेपाल फर्किएर मःम हाउस खोल्ने योजना छ भने एनआईसीले कम्पनी दर्ता, कम्पनीको मूल्याङ्कन, कानुनी तथा अनुपालन र आवश्यक लगानी रकम संकलनदेखि सबै काम गरिदनेछ । साथै, व्यवसाय सञ्चालन गरिरहेको छ तर कसरी विस्तार गर्ने भन्ने योजना छैन भने कम्पनीले उक्त सेवा पनि उपलब्ध गरायने उनको भनाइ छ ।
ओएफएस योजना
पु्ँजी बजारमा सूचीकृत तथा सूचीकृत नभएका कम्पनीहरूको संस्थापक सेयर खरिद बिक्री गर्न सहज गराउने उद्देश्यले अफर फर सेल प्लेटफर्म योजना सञ्चालनमा ल्याएको उनले बताए । कम्पनीहरूको संस्थापक समूहको सेयर खरिद बिक्री गर्न निकै कानूनी प्रक्रिया पुरा गर्नुपर्ने भएकाले कम्पनीले उक्त सेवा उलपब्ध गराउने उनको भनाइ छ ।
‘कम्पनीहरूको संस्थापक समूहको सेयर कारोबार गर्न निकै झन्झटिलो प्रक्रिया रहेको र लगानीकर्ताहरूले चाहेको समयमा खरिदकर्ता तथा बिक्रीकर्ता नपाउँदा संस्थापक सेयरमा गरिएको लगानी फ्रिज भएर बसेको छ । त्यसैले संस्थापक सेयर खरिद बिक्रीको लागि वान स्टप सोलुसन उपलब्ध गराउने मुख्य उद्देश्यले अफर फर सेल माध्यम ल्याएको हो,’ उनले भने ।
संस्थापक समूहको सेयर बिक्री गर्न चाहने सेयरधनीहरूले क्यापिटलको वेबसाइटमा माग गरेबमोजिमको विवरण रीतपूर्वक भरेपश्चात उक्त विवरणको आधारमा सम्बन्धित कम्पनीको सेयर खरिदकर्ता खोजिदिने काम क्यापिटलले गर्ने छ । सेयर खरिदकर्ता तथा बिक्रीकर्ताको विवरण सुरक्षित तथा गोपनीयता कायम राख्ने कम्पनीले जनाएको छ ।
कम्पनीको इतिहास
सन् २०१६ बाट सञ्चालनमा आएको एनआईसी एशिया क्यापिटलले छोटो समयमा सेवामार्फत राम्रो छाप छाड्न सफल भएको कम्पनीले दाबी गरेको छ । साथै, नेपालको मर्चेन्ट बैंकिङमा पहिलो र एकमात्रै आइएसओ सर्टिफाइड क्यापिटल रहेको कम्पनीले जनाएको छ ।
पुँजी बजारमा इनोभेटिभ सेवा र सम्पूर्ण पुँजी बजारको सेवा दिने उद्देश्य रहेको यस कम्पनीले सेयर रजिष्ट्रार, लगानी व्यवस्थापन, सेयर निष्कासन तथा बिक्री प्रबन्धक, निक्षेप सदस्य, सेयर प्रत्याभूती, लगानी व्यवस्थापन तथा संस्थागत परामर्श सेवासमेत प्रदान गर्दै आएको छ । साथै कम्पनीले योजना व्यवस्थापक तथा डिपोजिटरीको कार्य पनि गर्दै आएको छ ।
कम्पनीले सन् २०१७ मा पहिलो बन्दमुखी योजना ग्रोथ फण्ड, सन् २०१८ मा ब्यालेन्सड् फण्ड र सन् २०१९ मा आईएसओ सर्टिफाइड बनेको रिसर्च हेड दनुवारले बताए । सन् २०२० मा कर्पाेरेट एडभाइजरी सेवा, अनलाइनबाट सेवा, सन् २०२१ मा अनलाइन टीएमएस, सन् २०२२ मा विशिष्टिकृत लगानी कोष, सन् २०२३ मा मौरिसससँग रणनीतिक साझेदार र सन् २०२४ मा आइडीया टू आइडीया सर्भिस सेवा सुरु गरेको उनले बताए ।
‘कम्पनीले सेवालाई मात्रै नभई आफ्ना प्रडक्टलाई पनि सबैको आवश्यकता पुरा गर्न विविधिकरण गरेको छ । अब एआई प्रविधिबाट दूरदराजसम्म सेवा दिने योजना छ । डीपीमा ७ लाख ५२ हजार खातासहित मर्चेन्ट बैंकिङमा नेतृत्व गरेको छ । टिएमएसमा साढे २ अर्बको अण्डर म्यानेजमेन्ट छ । ६ वटा म्युचुअल फण्ड र फरक-फरक प्रडक्ट विविधिकरणमा कम्पनीले सेवा सुरु गरेको छ,’ उनले भने, ‘सन् २०१६ देखि सन् २०२४ सम्म आइपुग्दा कम्पनीले आफ्नोमात्रै माइलस्टोन नभएर इण्डष्ट्रीलाई पनि ग्रो गर्न सहयोग गरेको छ।’