४४ हजारबाट सुरु भएको जेष्ठ नागरिक सेवा केन्द्रको तीन तले भवन, ओहोरदोहोर गर्न गाडी खोजिँदै

<p>काठमाडौं । कीर्तिपुरको जनसेवाकी कान्छी महर्जनलाई अहिले सानो खुड्किलो पनि ठूलो पहाड जस्तो लाग्छ । न सजिलै खुड्किला चढ्न सक्छिन्, न त झर्न नै । उमेर बढ्दै गयोे । शरीरमा पहिलेको जस्तो शक्ति पनि छैन । ‘उमेरले डाँडा काटेपछि आफ्नै घरको दैलो पनि तारेभीर लाग्दो रहेछ, न केही काम गर्न सकिन्छ, न कतै हिँडडुल गर्न,’ [&hellip;]</p>

काठमाडौं । कीर्तिपुरको जनसेवाकी कान्छी महर्जनलाई अहिले सानो खुड्किलो पनि ठूलो पहाड जस्तो लाग्छ । न सजिलै खुड्किला चढ्न सक्छिन्, न त झर्न नै । उमेर बढ्दै गयोे । शरीरमा पहिलेको जस्तो शक्ति पनि छैन ।

‘उमेरले डाँडा काटेपछि आफ्नै घरको दैलो पनि तारेभीर लाग्दो रहेछ, न केही काम गर्न सकिन्छ, न कतै हिँडडुल गर्न,’ उनी भन्छिन्, ‘घरमै एक्लै बस्न सकिँदैन, काम पनि गर्न सकिँदैन । बुढेसकालमा त दिनहरू काट्नै धौ पर्दोरहेछ ।’

सोमबार कीर्तिपुरको पाँगा लाछीमा रहेको ‘ज्येष्ठ नागरिक सेवा केन्द्र’मा भेटिएकी कान्छी अहिले ८१ वर्षकी भइन् । उमेर बुढो भएपनि मनले अहिले पनि बच्चाको जस्तै चञ्चलता गर्न खोज्छ । काम गर्ने जाँगर पनि उस्तै लाग्छ । तर, शरीरले साथ दिँदैन । कान्छी उमेर ढल्केर शरीर खुम्चिए पनि इच्छाशक्ति अहिले पनि पहिलेको जस्तै रहने बताउँछिन् ।

कान्छी महर्जन ।

कान्छीका घरमा छोराबुहारी छन् । बुहारी गलैंचाको काम गर्छिन् । छोरा अरू काम गर्छन् । नातिनातिना स्कुल जान्छन् । उनका श्रीमान पहिले नै उनको साथ र संसार छोडेर गए । कान्छी अहिले एक्लो भएको महसुस गर्छिन् । यही एक्लोपन कटाउन उनी घरबाट बिहान १० बजे नै निस्कन्छन् । जहाँ उनी जस्तै घरमा एक्लै भएका वृद्धवृद्धाहरू जम्मा हुन्छन् ।

कान्छी पनि तिनै साथीहरूसँग दिन कटाउने मेसोमा लाछीमा रहेको जेष्ठ नागरिक सेवा केन्द्रमा पुग्छिन् । जहाँ उनीजस्तै अन्य धेरै जना हुन्छन् । दिनभर योगा गर्ने, गीत गाउने, रमाइलो गर्नेदेखि लिएर चिया नास्ता गरेर घर फर्किन मिल्छ ।

कीर्तिपुर नगरपालिका ८ पाँगाका नारायण महर्जन बिहान १० बजेपछि लठ्ठी टेक्दै घरबाट निस्कन्छन् । छोराबुहारी काममा व्यस्त, नातिनातिना स्कुल गएपछि उनलाई पनि घरमा एक्लै बस्न मन पर्दैन । उनी पनि विस्तारै जेष्ठ नागरिक केन्द्रमा आइपुग्छन् । केही समय पहिलेदेखि बुढाबुढी सँगसँगै घरबाट निस्कने गरे पनि अहिले नारायण एक्लै निस्कन्छन् । उनकी श्रीमतीलाई अलि सन्चो छैन । बिरामी श्रीमतीलाई एकैछिन एक्लै बस्न भन्दै उनी घरबाट निस्कन्छन् ।

नारायण महर्जन ।

भन्छन्,‘ श्रीमतीलाई खाना अनि औषधी खुवाएर आउँछु, एकछिन यहाँ बसेर फेरि घर जान्छु, आजभोलि दिनहरू यसरी नै बितिरहेका छन् ।’ उमेरले ८१ वर्ष लागेका नारायण उमेर ढल्केसँगै घरमा एक्लै बस्न निकै समस्या हुने गरेको अनुभव सुनाउँछन् ।

कलंकीकी ज्वाला डङ्गोल अहिले कीर्तिपुर बस्दै आएकी छन् । मूल घर कीर्तिपुर भएपनि उनको परिवार कलंकीम बस्दै आएको थियो । उनका श्रीमान थला परेपछि उनको परिवार मूल घर कीर्तिपुरमा सरेको छ । घर नजिकै ज्येष्ठ नागरिक सेवा केन्द्र छ भन्ने थाहा भएपछि अहिले उनी पनि फुर्सद निकालेर त्यहाँ आउन थालेकी छन् । उमेरले ७० वर्ष लागेकी उनी यो केन्द्र आफूहरू जस्तै दुःखमा परेका र घरमै एक्लै बस्न नसक्नेहरूका लागि राम्रो ठाउँ रहेको बताउँछिन् ।

‘मलाई यहाँ यस्तो संस्था छ भन्ने थाहा थियो । तर, आएको थिइनँ । अहिले नियमित ३ महिना भयो आउन थालेको । यो त हामीजस्ताहरूको लागि दुःख बिसाउने र एक्लोपन मेटाउने साथी पो रहेछ,’ उनले भनिन्, ‘छोरा बुहारीहरू काममा गइहाल्छन्, नातिनातीनाहरू स्कुल गइहाल्छन् ।’

ज्वाला डङ्गोल ।

उनी यहाँ आएर आफूहरूले एकअर्कालाई चिन्ने अवसर पाएको बताउँछिन् । ज्वालाकाे अहिले धेरैजनासँग चिनजान भइसकेको छ । अहिले नारायण, कान्छी राधाजस्तै कीर्तिपुर नगरपालिका वडा नम्बर ८ का जेष्ठ नागरिकहरू दिनभरि समय बिताउन त्यही पुग्ने गर्छन् ।

दुःख पीडा पोख्ने ठाउँ

सहरमा आजभोलि घरहरू एकमाथि एक जोडिएका छन् । तलामाथि तला ठडिएका छन् । पहिलेजस्तो खुल्ला ठाउँ कतै छैन । अग्ला घर र बाक्ला बस्तीले सहरका वृद्धवृद्धाहरू च्यापिरहेको महसुस गर्न थालेका छन् । अझ यहाँ रैथानेहरूले घरभाडामा दिने र पैसा कमाउने उद्देश्यले पाँचौं, छैटौं तलाका घरहरू ठड्याएका छन् ।

तलका सबै कोठाहरू भाडामा दिएर छतमा बसिरहेका जेष्ठ नागरिकलाई भने घरबाट तल झर्न र तलबाट माथि चढ्न हिमाल चढेजस्तो गर्नुपर्छ । यस्ता घरमा एक्ला दिनहरू बिताइरहेका कीर्तिपुरको पाँगाका ज्येष्ठ नागरिकहरू भने अहिले बिहान १० बजेदेखि दिउँसो तीन बजेसम्म पाँगामा रहेको जेष्ठ नागरिक सेवा केन्द्रमा दिनहरू बिताइरहेका छन् ।

सुभद्रा महर्जन ।

यो सेवा केन्द्र अहिले आफूहरूको बुढेसकालको सारथी भएको कीर्तिपुरकी सुभद्रा महर्जन बताउँछिन् । उनी आफूजस्ता अरू साथीभाइ देख्दा आफ्ना दुःखसुखका कुरा सुनाउन सहज हुने बताउँदै आफूहरूका लागि निकै राम्रो भएको सुनाउँछिन् ।

केन्द्रमा के-के हुन्छ ?

बिहान १० बजेदेखि ज्येष्ठ नागरिकहरू घरबाट हिँड्न थाल्छन् । कोही पुगिसक्छन्, कोही विस्तारै पुग्छन् । धेरैजसो जम्मा भइसकेपछि राष्ट्रिय गीत गाउँछन् । ७० देखि सय वर्षसम्मका जेष्ठ नागरिक सबैलाई राष्ट्रिय गीत गाउन मज्जाले आउँछ । यो गीत गाइसकेपछि सबैजना आ–आफ्नो परिचय दिन्छन् ।

सबैले आफ्नो नाम भनिसकेपछि सुरु हुन्छ योगा । शारीरिकदेखि मानसिक योगा गरिसकेपछि सबैजना कोही गीत गाउने, कोही नाच्ने गरी रमाइलो गर्छन् । यति गरिसकेपछि उनीहरूका लागि चिया, बिस्कुट आउँछ । एकछिन बसेर सबैजनाले चिया बिस्कुट खान्छन् । त्यसपछि ठूलो स्क्रिनमा टिभी लगाइन्छ । टिभी हेर्दै बस्ने कोही गफ गर्ने एकअर्कासँग कुराकानी गर्ने समय पनि हुन्छ ।

यति गर्दा २, साढे २ भइसक्छ । त्यसपछि सबैजना बसेर फेरि खाजा खान्छन् । खाजा खाइसकेपछि फेरि उनीहरू बिस्तारै आफ्नो घरतिर लाग्छन् । पाँगाका ज्येष्ठ नागरिकको आजभोलिको दैनिकी यही हुँदै आएको छ ।

सतुराम महजर्न ।

घरमा काम गर्न नसक्ने, एक्लै बस्दा पनि एक्लोपनले शारिरीक र मानसिक समस्या हुने भन्दै यो समस्या आउन नदिन यस्तो काम सुरुवात गरेको जेष्ठ नागरिक सेवा केन्द्रका अध्यक्ष सतुराम महजर्न बताउँछन् ।

कसरी गरियो परिकल्पना ?

वि.सं २०७२ सालमा गएको विनाशकारी भूकम्पले काठमाडौंमात्र होइन, धेरै ठाउँलाई तहसनहस बनायो । कीर्तिपुरको पाँगामा पनि धेरै घरहरू भत्के । नागरिकहरू टहरामा बस्न थाले । अवस्था सामान्य हुँदै जाँदा तन्नेरीहरू काममा जान थाले । काम भएकाहरू काममा नभएकाहरू काम खोज्न जान थाले । घरमा ज्येष्ठ नागरिकहरू मात्र हुन्थे । यस्तो अवस्था देखेर पाँगाकी हरिदेवी महर्जनलाई जेष्ठ नागरिकहरूको लागि केही गर्न पाए हुन्थ्यो भन्ने लाग्यो । उनलाई वृद्धवृद्धाहरू दिनभर टहरामा एक्लै बसिरहेको हेर्न मन लागेन ।

हरिदेवीले आफ्नो समूहमा यो कुरा सुनाइन् । उनीलगायत १२ जना महिलाहरूले बालकुमारी समूह भनेर धेरै पहिलेदेखि गठन गरेका थिए । उनीहरू जेष्ठ नागरिकको सहजताका लागि भन्दै जेष्ठ नागरिक केन्द्र सञ्चालन गर्ने योजना बनाए । उनीहरू बाहै्रजना हरेक व्यक्तिका घरमा पुगे । आफूहरूको योजना सुनाए । कसैले पत्यानन् । महामारीको बेला भएको भन्दै सम्पत्ति अन्न सकिएको बेला सहयोग गर्नसक्ने आश्वासन पनि कहीँबाट आएन ।

यसैक्रममा एकदिन हरिदेवी लगायतको भेट पाँगाका सतुरामसँग भयो । उनीहरू आफ्नो योजना सतुरामलाई सुनाए । तर, उनले पनि विश्वास गरेनन् । सबै कुरा बताउँदै गएपछि सतुरामले एउटा सर्त राखे- तपाईंहरूको काममा म सहमत छु । तर, यो काम सुरु गरेको तीन महिनासम्म पनि राम्रो भएन, जेष्ठ नागरिक कोही आएनन् भने केन्द्र नै स्थगित गर्नुपर्छ ।

अर्को, त्यहाँ काम गरेको श्रमको पैसा लिन नपाउने । अहिले सेवाका लागि भन्ने पछि दिनभर सेवा गर्नुपर्दा फोकटमा समय खेर गयो भन्न नपाइने । यो सर्तमा सबैजना सहमत भएपछि बल्ल जेष्ठ नागरिक सेवा केन्द्र सुरु भएको हो । यहाँ अहिले करिब ५० जना जेष्ठ नागरिकहरू छन् ।

सुरुमा ४४ हजार लगानी

सर्त स्वीकार भएपछि सतुरामले २० हजार रुपैयाँ सहयोग गरे । बाँकी १२ जना महिलाले प्रतिव्यक्ति २/२ हजार उठाए । ४४ हजार रुपैयाँ जम्मा भएपछि उनीहरूले पाँगामा रहेको मन्दिरमा जेष्ठ नागरिकहरूलाई भेला पार्न सुरु गरे । उनीहरूको यो काम देखेपछि धेरैजनाले सहयोग गर्न सुरु गरे । केन्द्र सुरु गरेको सय दिन मनाउँदा धेरै राम्रो अवस्था भइसकेको थियो ।

अहिले जहाँ जेष्ठ नागरिकहरू बसिरहेका छन्, त्यो ठाउँमा पहिले सानो नाटेश्वर मन्दिर थियो, जुन अर्कै क्लबले बनाएको थियो । फेरि यो केन्द्र सुचारु भइसकेपछि त्यसलाई पनि भत्काएर तीन तलाका सानो घर बनाइयो । अहिले त्यही भवनमा दिनहरू बिताउँछन् जेष्ठ नागरिकहरू ।

‘धेरैजसो वरिपरिका मनकारीले सहयोग गरे, अहिले पनि जन्मदिन, कसैको पास्नी भयो भने सबैजना आउनुहुन्छ, आमाबाहरूलाई खुवाउनुहुन्छ, अलिकति पैसा पनि दिएर जानुहुन्छ । यस्तै–यस्तै मनकारीले गर्दा यो संस्था बचेको छ,’ सतुरामले भने ।

उनीहरूले गरेको काम एक जना जर्मनको नागरिकले देखे । उनले यो सेवा देखेर खुसी हुँदै वृद्धवृद्धाहरूलाई २ वर्षलाई पुग्नेगरी एक दिनमा दुई हजारका दरले पैसा दिए । १४ लाख ४० हजार रुपैयाँ अहिले बैंकमा राखेर ब्याजमा लगाएको अध्यक्ष सतुरामले बताए ।

सेवाको भाव बोकेकी हरिदेवी

कीर्तिपुरको पाँगाकी हरीदेवी महर्जनलाई पहिलादेखि नै सेवा गरौं न भन्ने इच्छा पहिलेदेखि नै थियो । तर, कसरी गर्ने, के गर्ने भन्ने धेरै ज्ञात थिएन । उनलाई गाउँमा बुढा बाआमा एक्लै बसेको देख्दा माया लाग्थ्यो । घरमा कोही नहुँदा न उनीहरूले समयमा खाजा पाउँथे, न खाना बरु कतिपय वृद्धवृद्धाहरूले छोराबुहारीकै अपहेलना सहनुपरेको हुन्थ्यो । उनलाई जेष्ठ नागरिकहरूलाई दिन कटाउन मिल्ने गरी केही सेवा गर्न पाए हुन्थ्यो भन्ने लाग्यो ।

हरिदेवी महर्जन ।

अगाडिदेखि नै यो सोंच आएपछि भूकम्पपछि यो अवस्था झन दर्दनाक देखियो । त्यसपछि १२ जना महिला र अर्का एक सतुराम मिलेर २०७३ साल वैशाख ४ गते ज्येष्ठ नागरिक सेवा केन्द्रको उद्घाटन गरे । उद्घाटन गरेकै दिन कसैले पाँच, कसैले १० गरी पैसा दिन सुरु गरे । त्यही दिनमात्र ४६ हजार पैसा संकलन भयो । कसैले चामल, दाल तकारी, चिउरा, भाँडा ग्याससमेत १३ जनाले आफ्नै घरबाट सुरु गरेर सेवा कार्य अगाडि बढाए ।

सप्ताहबाट ४० लाख संकलन

यो संस्थामा सुरुवातीमा ९० भन्दा बढी ज्येष्ठ नागरिकहरू थिए । त्यसपछि कोरोना महामारी फैलियो । मान्छे देख्दा मान्छे नै भाग्नुपर्ने अवस्थामा धेरैजना जेष्ठ नागरिकहरू आउन छोडे । अहिले ५० जनामात्र आउने गरेका छन् । ज्येष्ठ नागरिकहरूलाई हरेक महिना कहिले घुमाउन, कहिले पिकनिकमा लगिने गरिन्छ । हरेक आमाबुवाका जन्मदिनलाई उत्वसवको रूपमा मनाइन्छ ।

विभिन्न उतारचढावका बीच १० वर्षसम्म ज्येष्ठ नागरिकहरूको सेवामा हरिदेवी, सतुरामहरू केन्द्रित छन् । अहिले त्यहाँ कहिले विद्यार्थी, कहिले कुनै संघसंस्थाका मान्छेहरू हेर्न अध्ययन गर्न पुगिरहन्छन् । यही क्रममा केही वर्ष पहिले काठमाडौंको टेवालका एकजना बा पाँगाको ज्येष्ठ नागरिक सेवा केन्द्र खोज्दै पुगे । उनी कम्बलहरू किनेर पशुपतिनाथको वृद्धाश्रम पुगेका रहेछन् । वृद्धाश्रमले कम्बल नलिने बरु पैसा लिने भनेपछि उनी कीर्तिपुर पुगेका रहेछन् ।

उनले आफूले किनेका कम्बल त्यहीका ज्येष्ठ नागरिकहरूलाई वितरण गरे । उनले राम्रो काम गरेको भन्दै थप सप्ताह लगाएर संकलन भएको पैसा अक्षय कोष स्थापना गरी जम्मा गर्न सल्लाह दिए । उनले आफूले पनि एक लाख रुपैयाँ सहयोग गरे । उनैको सल्लाहअनुसार यो केन्द्रले सप्ताह लगायो । जहाँ ४० लाख पैसा उठ्यो । उनीहरूले ४० लाख रुपैयाँ बैंकमा जम्मा गरे ।

त्यसपछि उनीहरूले अब संस्थाको आफ्नै भवन बनाउने योजना बनाए । यो योजनापछि उनीहरूले स्थानीय तहसँग छलफल गरे । अहिले कीर्तिपुर नगरपालिकाले पनि वर्षमा एक लाख रुपैयाँ दिँदै आएको छ । सांसद राजन केसीले ४० लाख सहयोग गरेपछि ८० लाख रुपैयाँ जम्मा भयो । त्यसपछि भवनका लागि जग्गा खोजी भयो ।

६ आना तीन पैसा जग्गा 

अलिकति पैसा जम्मा भएपछि हरिदेवीले आफ्नी कान्छी सासूसँग जग्गा मागिन् । उनले आफ्नो र कान्छी सासूको जग्गा एउटै ठाउँमा हुँदा त्यही जग्गा निःशुल्क दिन आग्रह गरिन् ।

‘हामी पनि भोलि जानुपर्ने त्यही ठाउँ हो, आज हामीले जग्गा उपलब्ध गरिरहे सजिलो हुन्छ भन्दै कान्छी सासुलाई फकाएँ, त्यसपछि हामी मिलेर जग्गा दियौं,’ उनले भनिन् ।

दुई जना मिलेर दिएको जग्गा ६ आना तीन पैसा थियो । जग्गा पाइसकेपछि भवन निर्माण सुरु गरियो । अहिले त्यो ठाउँमा तीन तलाको भवन ठडिएको छ । बजारबाट अलि टाढा हुँदा जेष्ठ नागरिकलाई हिँडेर त्यहाँ पुग्न समस्या हुँदा अहिले त्यो भवन त्यत्तिकै छ । चार–पाँच कोठा भाडामा दिएपनि अन्य कोठा त्यतिकै छन् ।

सतुराम भवन बनेपनि ज्येष्ठ नागरिकलाई हिँडेर त्यहाँ पुग्न समस्या हुँदा आफ्नै भवनमा सर्न नसकेको बताउँछन् । भन्छन्, ‘यहाँसम्म पुग्न आमाबालाई धौ–धौ पर्छ , त्यहाँ पुग्न बाटो पनि अप्ठ्यारो छ । केही गाडीको व्यवस्था गर्न सके सजिलो हुन्थ्यो ।’

त्यसका लागि पहिला गोरेटो बाटो रहेको बाटोलाई पीच गर्ने काम पनि हुँदैछ । त्यो बाटो पीच गर्नको लागि पनि दिनरात वडाकार्यालयदेखि पालिका कार्यालय धाउनु परेको दुःख उस्तै छ ।

भावी योजना

हरिदेवी अब बनाएको भवनमा वृद्धवृद्धालाई राख्न सके आफूले सुरु गरेको काम पुरा हुने बताउँछिन् । ‘मेरो जुन सेवा गर्ने धोको थियो त्यो पूरा भयो । भवन पनि बनाएँ, अब आमाबालाई घरसम्म पुर्याउन गाडी र एउटा डाक्टर तथा नर्स राख्ने योजना छ । साथै अलिकति जग्गा लिएर पार्कजस्तै बनाएर उहाँहरूलाई डुलाउने ठाउँ पनि बनाइदिने धोकोे छ ।

उनी भन्छिन्, ‘मेरा त चार जना छोरी छन्, तीन जनाको बिहे भइसक्यो, एउटा छोरीको बाँकी छ । छोरापनि छैन, भोलि मैले बस्नुपर्ने यही ठाउँ हो ।’

अहिले ज्येष्ठ नागरिकहरू अप्ठ्यारो अवस्थामा छन् । धेरैजसो अभिभावकको छोराछोरी बाहिर हुँदा घरमा एक्ला छन् भने छोराछोरी सँगै भएका वृद्धवृद्धा पनि एक्लोपनमा दिनहरू बिताइरहेका छन् । सहरमा न उनीहरूलाई एक्लोपन मेटाउने ठाउँ छन् त न छोरीछोरीसँग बाआमासँगै बसेर कुराकानी गर्ने फुर्सद सन्तानहरूलाई छ । व्यस्त अहिलेको दैनिकीमा जेष्ठ नागरिकहरूका लागि उपयुक्त स्थान भनेकै यस्ता सेवा केन्द्रहरू रहेको हरिदेवी बताउँछिन् ।

Share News