बीबीसीले सटर भाडाबाट उठाउँछ २ करोड ६९ लाख रुपैयाँ
काठमाडौं । सेयरधनीहरूको बदनियतले बर्बाद बनिरहेको विशाल बजार कम्पनी (बीबीसी)ले सटर भाडाबाट मासिक साढे २ करोडभन्दा बढी रकम आम्दानी गर्दै आएको देखिन्छ । कम्पनी उपलब्ध गराएको तथ्याङ्क अनुसार पसलकवलबाट मासिक २ करोड ६९ लाख ३८ हजार रुपैयाँ भाडा रकम संकलन गर्दै आएको हो । ८ रोपनी क्षेत्रफलमा रहेको तीन तले भवनमा झण्डै ४ सय वटा पसलकवलहरू छन् । ती सटर भाडामा लगाएर कम्पनीले मासिक सो रकम असुल गर्दै आएको हो । कम्पनीका अनुसार भूँइ तलामा ५५ भन्दा बढी पसलकवल भाडामा लगाइएका छन् । भूँइ तलामा रहेका पसल कवलबाट कम्पनीले मासिक ३७ लाख ८ हजार रुपैयाँ आम्दानी गरिरहेको छ । भूँइ तलामा कम्पनीलाई गणपति ज्वेलर्स नेपाल प्रालिले सबैभन्दा धेरै भाडा रकम बुझाउँदै आएको देखिन्छ । कम्पनीले मासिक १५ लाख ६० हजार रुपैयाँ भाडा बुझाउँदै आएको देखिन्छ । ३ हजार ५४० वर्गफिट क्षेत्रफल ओगटेको कम्पनीको पसल नम्बर ५० हो । कम्पनीको पहिलो तलामा रहेका पसलकवलबाट मासिक १ करोड ५ लाख ७३ हजार रुपैयाँ आम्दानी गरिरहेको तथ्याङ्कले देखाउँछ । ३५ भन्दा बढी सटर रहेको पहिलो तलामा पसलदेखि वाणिज्य बैंकका शाखा समेत सञ्चालनमा छन् । पहिलो तलामा हिमालयन बैंक, एनआईसी एशिया बैंकका शाखा सञ्चालनमा छन् । हिमालयन बैंकले भाडा रकमबापत कम्पनीलाई ३९ लाख ९० हजार रुपैयाँ र एनआईसी एशिया बैंकले ८ लाख १४ हजार रुपैयाँ मासिक भाडा भुक्तानी गरिरहेका छन् । यस्तै, दोस्रो तलामा करिब १ सयभन्दा बढी पसलकवलमा पसल सञ्चालनमा छन् । दोस्रो तलामा कम्पनीले मासिक १० लाख ६५ हजार रुपैयाँ भाडा आम्दानी गरिरहेको छ । यस्तै, तेस्रो तलामा रहेका पसलकवलबाट मासिक ९ लाख ४६ हजार रुपैयाँ भाडा उठाउँदै आएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार उत्तरतर्फका टहरा (जमिन तल्ला)बाट मासिक १५ लाख ३६ हजार रुपैयाँ र दक्षिणतर्फ टहरा (जमिन तल्ला)बाट ५१ लाख ७२ हजार रुपैयाँ आम्दानी गरिरहेको छ । साथै, कम्पनीले पार्किङको भाडा बापत मासिक ३७ लाख ३५ हजार रुपैयाँ र करारमा भाडामा लागेका पसलकवलबाट १ लाख ९९ हजार रुपैयाँ मासिक आम्दानी गरिरहेको जनाएको छ । विशाल बजार कम्पनीका प्रबन्ध निर्देशक (एमडी) गोरख बहादुर शाही कम्पनीभित्र सेयरधनी व्यवसायी बिचौलिया बनेर लाखौं कमाइरहेको बताउँछन् । सेयरधनीहरू आफैले विशाल बजारमा पसल नराखी अर्कैलाई भाडामा लगाएर उनीहरूबाट कमिसन लिने गरेको उनले आरोप लगाए । व्यवसायीको सहजताको लागि भन्दै सस्तो भाडा दर तोकेपनि सेयरधनीहरूले भने अर्कै व्यवसायीलाई भाडामा दिएर ठूलो रकम असुल्ने गरेको उनको भनाइ छ । ‘सेयरधनीले सटर राखेका व्यवसायीबाट ठूलो रकम उठाएर कम्पनीलाई थोरै मात्रै तिर्ने गरेका छन् । कम्पनीले पाउनु पर्ने अधिकांश भाडा रकम बिचमै हराउँछ । पसल भएका अधिकांश सेयरधनीहरू आफू व्यापार गर्दैनन् । उनीहरू अन्य कुनै व्यापारीलाई कम्पनीको पसल भाडामा लगाउँछन्,’ उनले भने ‘सम्झौताका हिसाबले जसको नाममा पसल र सेयर छ, उनीहरू व्यापार गर्दैनन् । अर्कै मान्छेलाई पसल चलाउन दिइरहेका छन् । कम्पनीको भाडादरभन्दा बढी मूल्य तोकेर उनीहरु भाडामा लगाउँछन् । सेयरधनीहरू नै बिचौलिया बनेर व्यवसायीहरूबाट गैरकानूनी ढंगबाट अतिरिक्त रकम लिइरहेका छन् ।’ वास्तविक व्यवसायीले अधिकतम् भाडा रकम तिर्नु परेको उनले बताए । साथै विचौलिया सेयरधनीहरूले उठाइरहेको भाडा रकम करको दायरामा नआएको उनले बताए । कम्पनीको आम्दानी घटाउन गैरकानूनी कामले बढावा दिइरहेको उनले बताए । शाहीका अनुसार सेयरधनीरूले पसलको भाडाबापत कम्पनीलाई ५०÷६० हजार रुपैयाँ तिर्छन् । तर, व्यवसायीहरूबाट भने १० गुणा बढी भाडा लिने गरेको गुनासो कम्पनीमा आएको छ । यदि सेयरधनीसँगको सम्झौता खारेज भए कम्पनीको नाफा तीन गुणा बढ्ने उनले दाबी गरे । हाल कम्पनीले वार्षिक २५ करोड रुपैयाँको हाराहारीमा आम्दानी गरिरहेको छ । उक्त सम्झौता खारेज हुँदा हालको आम्दानी बढेर ६०/७० करोड रुपैयाँ पुग्ने अनुमान उनको छ । ‘कम्पनीले २०/२५ करोड रुपैयाँ कमाउँछ भने सेयरधनीहरूले ५० करोड कमाउँछन् । उक्त प्रस्ताव पारित भएपछि सेयरधनीहरूको बिना मिहिनेतको ५० करोड रुपैयाँ गुम्दैछ । यो रकम गुम्ने त्रासले मुद्धा मामिला भइरहेको छ,’ उनले भने, ‘प्रतिस्पर्धाबाट लागेका पसलबाहेकको भाडा रकम न्यून छ ।’
३ सय अर्ब डलरको बन्यो ओपनएआई, एक दशकमै एक ट्रिलियनको एआई उद्योग हुने विज्ञको दावी
काठमाडौं । ओपनएआईले ४० अर्ब डलरको लगानी जुटाएको छ, जुन हालसम्मकै सबैभन्दा ठूलो निजी प्रविधि सम्झौता हो । यो ४० अर्बको लगानीले च्याटजीपीटी निर्माता ओपनएआईको मूल्यांकन ३०० अर्ब डलर पुर्यायो । पिचबुकका अनुसार यो कुनै पनि निजी प्रविधि कम्पनीले अघिल्लो पटक उठाएको रकमको करिब तीन गुणा हो । यसले ओपनएआईलाई मात्र स्पेसएक्स (३५० अर्ब डलर) पछाडि राख्छ र टिकटकको अभिभावक कम्पनी बाइटडान्ससँग बराबर बनाउँछ। जापानको सफ्टबैंकले ३० अर्बको लगानी गर्दै नेतृत्व गरेको छ, जसमा मुख्य लगानीकर्ता माइक्रोसफ्ट, अल्टीमिटर, थ्राइभजस्ता संस्थाहरू पनि सामेल छन् । ओपनएआईले ब्लग पोस्टमा उल्लेख गरेअनुसार यो नयाँ पूँजी एआई अनुसन्धानलाई थप अघि बढाउन र कम्प्युटिङ पूर्वाधारलाई विस्तार गर्न प्रयोग गरिनेछ । सीएनबीसीले रिपोर्ट गरेअनुसार लगानीमध्ये १८ अर्ब डलर स्टारगेट परियोजनामा प्रयोग गरिने अपेक्षा गरिएको छ । सफ्टबैंक, ओपनएआई र ओराकलबीचको यो संयुक्त परियोजना जनवरीमा राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा घोषणा गरिएको थियो । सुरुवाती चरणमा १० अर्ब लगानी हुनेछ भने २०२५ को अन्त्यसम्म बाँकी ३० अर्ब थपिनेछ । तर यो सम्झौतासँग एउटा शर्त पनि जोडिएको छ । सफ्टबैंकले सोमबार अपडेट गरेको फाइलिङमा उल्लेख गरेअनुसार यदि ओपनएआईले २०२५ को डिसेम्बर ३१ भित्र नाफामुखी संरचनामा परिवर्तन नगरेमा सफ्टबैंकको कुल लगानी घटाएर २० अर्बसम्म सीमित गर्न सकिनेछ । यस प्रावधानले ओपनएआईलाई नाफामुखी रूपान्तरण पूरा गर्न दबाब बढाउनेछ, जसका लागि माइक्रोसफ्टको समर्थन र क्यालिफोर्निया एटर्नी जनरलको अनुमोदन आवश्यक हुनेछ । यस्तै, ओपनएआईका सह-संस्थापक एलन मस्कले अदालतमा यो रूपान्तरणको विरोध गरेका छन् । ओपनएआई हाल एक ‘क्याप्ड–प्रोफिट’ संरचनामा सञ्चालन भइरहेको छ, जसले २०१९ मा स्थापना गरिएको सीमित साझेदारी मोडेललाई समेट्छ । संस्थाको मूल गैर-नाफामुखी इकाइ प्रमुख सेयरधारक हो र यदि पुनर्संरचना भएमा यसलाई छुट्टै संस्थाका रूपमा विभाजन गरिनेछ । ओपनएआईका लगानीकर्ताहरूले कनर्भटिबल नोट्स पाएका छन्, जुन भविष्यमा इक्विटीमा परिणत हुनेछ । ओपनएआईको लगानी इतिहासकै सबैभन्दा ठूलो निजी प्रविधि सम्झौता हो । यसअघि एन्ट ग्रुपले २०१८ मा १४ अर्ब लगानी उठाएको थियो । सफ्टबैंक र अन्य लगानीकर्ताहरूले च्याटजीपीटीको तीव्र वृद्धि जारी रहने विश्वास गरेका छन् । ओपनएआईले सोमबार च्याटजीपीटीका साप्ताहिक प्रयोगकर्ताहरू ५०० मिलियन पुगेको घोषणा गर्यो, जुन गत महिना मात्र ४०० मिलियन थियो । कम्पनीले २०२५ को अन्त्यसम्म राजस्व १२.७ अर्ब पुग्ने अनुमान गरेको छ । ओपनएआईका सीईओ साम अल्टम्यानले एक्स (पूर्व ट्वीटर) मा लेखेका छन्, ‘च्याटजीपीटीको लन्च मेरो जीवनकै सबैभन्दा ठूलो भाइरल क्षण थियो, हामीले पाँच दिनमै एक मिलियन प्रयोगकर्ता जोड्यौं । तर अहिले हामीले मात्र एक घण्टामा एक मिलियन प्रयोगकर्ता जोडिरहेका छौं ।’ उद्योग विशेषज्ञहरूका अनुसार जेनेरेटिभ एआई बजार १० वर्षभित्र १ ट्रिलियनको उद्योग बन्नेछ । गुगल, अमेजन, एन्थ्रोपिक, पेर्पलेक्सिटीलगायतका कम्पनीहरू एआई एजेन्टहरू विकास गर्न प्रतिस्पर्धा गरिरहेका छन् । ओपनएआईले हालै सीईओ अल्टम्यानको भूमिकामा परिवर्तन गर्दै उनलाई अनुसन्धान र उत्पादनमा केन्द्रित गराएको छ भने मुख्य सञ्चालन अधिकारी ब्राड लाइटक्यापलाई व्यापार र दैनिक सञ्चालनको जिम्मेवारी दिइएको छ ।
बैंकका सञ्चालकलाई कस्तो अवस्थामा लाग्छ कुलिङ पिरियड ? राष्ट्र बैंकले अदालतमा दियो यस्तो तर्क
काठमाडौं । नेपाल राष्ट्र बैंकले निर्देशिकाले बैंक तथा वित्तीय संस्थालाई ‘गाइड’ गर्ने तर्क गरेको छ । विवेक शमशेर जवराले नेपाल बैंकविरूद्ध दायर गरेको रिटमा बहस गर्दै राष्ट्र बैंकका प्रतिनिधिहरूले बैंकिङ क्षेत्रलाई निर्देशिकाले नियमन गर्ने दाबी गरेका हुन् । गत चैत ६ गते सम्पन्न ६५औं वार्षिक साधारण सभामा सर्वसाधारण सेयरधनीहरूको तर्फबाट प्रतिनिधित्व गर्ने भन्दै बैंकको सञ्चालक बन्न पूर्वसञ्चालक जबराले उम्मेदवारी दिएका थिए । तर, जबराविरुद्ध उजुरी परेपछि नेपाल बैंकको निर्वाचन अधिकृतको कार्यालयले उनको उम्मेदवारी रद्द गरेको थियो । सोही निर्णयविरूद्द जबरा न्याय माग्दै गत चैत ५ गते उच्च अदालत पाटन पुगेका थिए । उच्च अदालत पाटनका कायम मुकायम मुख्य न्यायाधीश लाल बहादुर कुँवरको चैत ५ गतेको एकल इजलाशले बैंकको चैत ६ गते हुने निर्वाचन रोक्न आदेश दिएको थियो । साथै, दुवै पक्षबीच छलफल गराई अन्तरिम आदेश जारी हुने/नहुने सम्बन्धमा निश्कर्षमा पुग्न चैत ११ गते अन्तरिम आदेश छलफलको पेशी तोकेको थियो । तर, चैत ११ गते नभ्याएपछि चैत १५ गते शुक्रबार बहसका लागि समय तोकेको थियो । शुक्रबारको बहसबाट अदालतले ५ गतेको अन्तरिम आदेशलाइ नै निरन्तरता दिएको छ भने चैत २१ गतेका लागि तारेख तोकेको छ । शुक्रबारको बहसमा राष्ट्र बैंकका प्रतिनिधिहरूले बैंकिङ क्षेत्रलाई निर्देशिकाले नियमन गर्ने तर्क राखेको बहसमा एक सहभागीले विकासन्युजलाई बताए । बैंक तथा वित्तीय संस्था ऐन (बाफिया)सँगै राष्ट्र बैंकले जारी गरेका निर्देशिकाले समेत बैकिङ क्षेत्रलाई गाइड गर्ने तर्क राखेको उनको भनाइ छ । ‘बैकिङ क्षेत्रको सुशासन अन्तर्गत पर्ने भएकाले एकीकृत निर्देशिकाको व्यवस्था गरिन्छ । बैंकिङ क्षेत्रलाई सुशासित गर्न निर्देशिका जारी हुन्छन्,’ राष्ट्र बैंकका प्रतिनिधिले बहसमा भनेको विषय उदृत गर्दै स्रोतले भन्यो, ‘हुन त सबै विषय सुशासनकै लागि राखिएको हो । अब राष्ट्र बैंकले लिखित जवाफ पेस गरेपछि स्पष्ट होला ।’ वार्षिक साधारण सभासम्म सञ्चालक समितिले रिक्त रहने पदमा पदावधि सकिन लागेको सञ्चालकलाई निरन्तरता दिन सक्ने व्यवस्था वाफियामा उल्लेख छ । यदि पुर्ननियुक्ति भएको खण्डमा निरन्तरता रहने र साधारण सभाबाट चुनाव जितेर पुनः सञ्चालक बन्न सक्ने प्रावधान छ । ‘सञ्चालक समितिले आवश्यक र योगदानलाई महसुस गरेर पुनःनियुक्ति गर्न सक्छ । पुर्ननियुक्ति हुँदा निरन्तरता कायम रहन्छ । त्यहाँ कहीँ पनि ब्रेक हुने अवस्था रहँदैन । तर, जबराको केसमा भने ब्रेक भइसकेको अवस्था देखिन्छ,’ राष्ट्र बैंकका एक अधिकारीले भने, ‘पुस २८ गते जबराको पदावधि सकियो । चैत ६ गते बैंकले वार्षिक साधारण सभा बोलायो । साधारण सभासम्म २/३ महिना ब्रेक भइसकेको छ । २/३ महिना ब्रेक भएपछि कुलिङ लाग्छ । यदि पुर्ननियुक्ति भएको खण्डमा निरन्तरता मानिन्थ्यो ।’ राष्ट्र बैंकका अधिकारीहरूको दाबी अनुसार पदमा हुँदा समयमा वार्षिक साधारण सभा गर्नु सञ्चालकको दायित्व हो । साथै राष्ट्र बैंकले जारी गर्ने निर्देशिका पनि ऐन सरह नै लागू हुने भएकाले पालना गर्नु बैंक तथा वित्तीय संस्थाको कर्तव्य हुने उनीहरूको दाबी । ‘जस्तो होटलमा खाना खान जाँदा पेटभरी खाना खान दिन्छ । तर, एक/दुई प्लेट खाइसकेपछि मलाई पुग्यो भनेर हात चुठेर निस्कियो । फेरी एक/दुई घण्टापछि आएर खाना खान्छु त्यसैमा निरन्तरता दिनुपर्याे भन्नु त मिल्दैन । होटलले दोस्रो प्लेटमा खाना लगाएपछि दुइटै प्लेटको पैसा लिन्छ,’ उनले भने, ‘जबराको केसमा पनि निरन्तरता पाएको भए कुलिङ लाग्ने अवस्था थिएन । तर, पदावधि सकिएपछि केही समय ग्याप भएको देखिन्छ ।’ तर, जबरा भने कुलिङ नलाग्ने दाबी गर्छन् । सीईओले २ कार्यकाल बन्न पाउने तर सञ्चालकले दोस्रो कार्यकालका लागि ६ महिनाको कुलिङ चाहिने भन्दै उनले प्रश्न गरेका छन् । ‘जस्तो निर्णय कार्यान्वयन गर्ने व्यक्तिलाई कुलिङ अवधि नपर्ने । तर, निर्णय गर्ने अधिकार नभएको व्यक्तिलाई कुलिङ पर्ने विषय तर्कसंगत भएन भन्ने विषय उठेको छ । यसैका आधारमा पनि अदालतले अन्तरिम आदेशलाई निरन्तरता दिएको देखिन्छ,’ उनले भने । नेपाल बैंकका सञ्चालकको चुनाव रोक्न अदालतको आदेश, ‘यो लडाइँ बैंकिङ क्षेत्रकै हो’ बाफियालाई टक्कर दिँदै कुलिङको नाममा सञ्चालकको उम्मेद्वारी रद्द, अयोग्य हुनेछन् बैंकिङ क्षेत्रका सञ्चालक