कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको कमी, प्रचारप्रसार र कनेक्टिभिटीको आवश्यकता
काठमाडौं । कञ्चनजङ्घा नेपालकै सबैभन्दा रमणीय र जैविक विविधताले भरिपूर्ण गन्तव्यमध्ये एक भए पनि पर्यटकहरूको संख्या अपेक्षित रूपमा बढाउन सकिएको छैन । कञ्चनजङ्घा क्षेत्रमा वार्षिक एक हजार पर्यटक पनि पुग्न समस्या छ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको तथ्यांकअनुसार कञ्चनजंघा संरक्षण क्षेत्रमा पाँच आर्थिक वर्षमा २ हजार ४४६ विदेशी पर्यटक पुगेको देखिन्छ । जबकि पाँच आवमा विश्वको अग्लो सगरमाथा क्षेत्रमा एक लाख ६६ हजार ८३६ विदेशी पर्यटक भित्रिएका छन् । सुरुवातदेखि २०२३ सम्म हालसम्म ५८५ जनाले आरोहीले कञ्चनजङ्घा हिमाल चढेका छन् भने सुरुवातदेखि २०२३ सम्म ८ हजार ८५ जना आरोहीले सगरमाथा चढेका छन् । कञ्चनजङ्घा संरक्षण क्षेत्रमा २०२१ मा सबैभन्दा कम विदेशी पर्यटक पुगेको देखिन्छ । उक्त वर्ष विश्वभर नै छाएको कोभिड-१९ ले गर्दा विदेशी पर्यटकको संख्या घट्न पुगेको हो । त्यस्तै, सन् २०२२ मा अघिल्लो वर्षभन्दा पर्यटकको संख्यामा केही सुधार देखिएपनि सोचेअनुसारको पर्यटक भित्रिएको देखिँदैन । सन् २०२३ मा कञ्चनजङ्घा संरक्षण क्षेत्रमा पुग्ने पर्यटकको संख्यामा केही सुधार छ । पछिल्लो आर्थिक वर्षमा कञ्चनजङ्घामा विगतका वर्षको तुलनामा पर्यटकको संख्या केही सुधार देखिएपनि साेंचेअनुसार बढ्न नसकेको यस क्षेत्रका सरोकारवालाहरू बताउँछन् । कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषदले उपलब्ध गराएको तथ्यांकअनुसार चालु आवको हालसम्म ८४९ पर्यटक कञ्चनजङ्घा संरक्षण क्षेत्रमा पुगेका छन् । जसमा विदेशी पर्यटकमात्रै ८४६ जना छन् । आव २०८०/८१ मा कुल एक हजार ८५ पर्यटक कञ्चनजङ्घा पुगेका छन् । जसमा विदेशी मात्रै १ हजार १७ जना छन् । त्यस्तै, ३९ जना आन्तरिक पर्यटक पुगेका छन् । आव २०७९/७९ मा ७१३ जना कञ्चनजङ्घा संरक्षण क्षेत्र पुगेका छन् । जसमध्ये विदेशीमात्रै ६६१ जना छन् । कम प्रचार-प्रसार र कनेक्टिभिटीको समस्या कञ्चनजंघामा पर्यटकको संख्या बढाउन नसक्नुको मुख्य कारण त्यस क्षेत्रको प्रचारप्रसार गर्न नसकेको कारण औंल्याउँछन् नेपाल पर्वतारोहण संघका महासचिव मोहन लम्साल । ‘कञ्चनजङ्घाको बारेमा जति प्रचारप्रसार हुनपर्ने हो त्यो हुन सकेको छैन,’ उनले भने, ‘प्रचारप्रसार पर्याप्त गर्न नसक्दा पर्यटकीय सम्भावना बोकेको कञ्चनजङ्घा ओझेलमा परेको छ ।’ विश्वको अग्लो सगरमाथा हिमाल आफै प्रख्यात छ, त्यसैले उक्त हिमालको प्रचारप्रसार गर्न आवश्यक छैन । धेरैले विश्वकै अग्लो हिमाल चढेर नाम कमाउन चाहन्छन्, त्यसैले अन्य हिमालहरूको तुलनामा सगरमाथामा धेरै पर्यटक पुग्ने गरेका छन् । त्यसबाहेक सगरमाथाको दाँजोमा कञ्चनजङ्घा बढी महँगो र चढ्न समेत गाह्रो हुँदा आरोहीको रोजाइमा कञ्चनजङ्घाभन्दा सगरमाथा नै बढी रोजाइमा पर्ने गरेको महासचिव लम्साल बताउँछन् । उनी कम मूल्यमा सुरक्षित देश भ्रमण गर्न पर्यटक पुग्ने भएकाले सरकारले पनि त्यसतर्फ ध्यान दिनुपर्ने औंल्याउँछन् । त्यस्तै, कञ्चनजङ्घाको अर्को समस्या हो कनेक्टिभिटी । हवाई, यातायात, सञ्चारजस्ता क्षेत्रमा यो क्षेत्रमा अझै पूर्ण रूपमा कनेक्टिभिटी बढ्न सकेको छैन । कञ्चनजङ्घा क्षेत्र पुग्नको लागि नियमित उडान हुँदैन । उडान भइहाले पनि सिधै त्यहाँ पुग्न सम्भव छैन । काठमाडौंबाट ताप्लेजुङसम्मको नियमित फ्लाइट हुन नसक्दा त्यहाँ पुग्ने पर्यटकले कि त विराटनगर कि भरतपुरको रुट हुँदै यात्रा गर्नुपर्ने हुँदा झन्झट छ । त्यस्तै महँगो टिकट । अहिले लुक्लासम्म पुग्न २ सय डलरसम्म पर्ने महासचिव लम्साल सुनाउँछन् । विश्वमा नेपालको हवाई उडान सुरक्षित छैन भन्ने सन्देश प्रवाह भइरहँदा पर्यटकको लागि सडक यातायात हुन सक्ने भएपनि नेपालमा यातायातको सुविधा पनि राम्रो छैन । यात्रुहरू पनि सडक यात्रा गर्न डराउने कारण पर्यटकीय रूपमा उत्कृष्ट ठाउँमा पर्यटक बढाउन समस्या रहेको महासचिव लम्सालको भनाइ छ । ‘नेपालमा पर्यटक आएन भनेर मात्रै के गर्ने, पर्यटकको संख्या बढाउन राज्यले पनि हवाई र बाटोलाई फोकस गर्नुपर्छ । नियमित उडान नहुँदा पर्यटकले दुःख पाइरहेका छन्, हामीले कम्तीमा काठमाडौंदेखि सुर्खेतसम्मको बाटो राम्रो बनाइदिनुपर्यो भनेर सुझाव दिइरहेका हुन्छौं, तर कार्यान्वयनको पाटोमा सरकार निकै फितलो छ ।’ कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषदले नियमित गर्ने कामहरू गरिरहेको छ । बाटोघाटोमा झोलुङ्गे पुल राख्नेदेखि, बाटो क्रसिङहरू राख्ने काम गरिरहेको छ । समृद्ध पहाडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सञ्जीव न्यौपानेले कञ्चनजङ्घा क्षेत्रको पूर्वाधार, खानेपानी, सञ्चारजस्ता क्षेत्रको विकासको लागि सरकारसँग नियमित पहल गर्दै आएको बताए । उनका अनुसार समृद्ध पहाडले विभिन्न क्याम्पिएन क्षेत्रहरूमा खानेपानीको परियोजना अघि बढाएको छ । उनका अनुसार राम्जेल (४ हजार ८०० मिटर) माथि पनि खानेपानीको प्रोजेक्ट गरिरहेको छ । त्यस्तै, विभिन्न होटलमा फोहर पानी स्यानिटेसनको लागि प्रभावकारी तरिका सिकाउँदै आएको उनले बताए । त्यस्तै, मोबाइल नेटवर्कका लागि नेपाल टेलिकमलाई अनुरोध गरिसकेको र इन्टरनेटको समस्या विस्तारै समाधान हुँदै जाने सीईओ न्यौपानेको भनाइ छ । ‘नेपाल टेलिकमसँग कनेक्टिभिटीका लागि मोबाइल नेटवर्क बनाउन आग्रह गरेका छौं । अहिले हुल्सासम्म थ्रीजी नेटवर्क पुगेको छ । त्यस्तै, वर्ल्डलिंकलाई पनि उक्त क्षेत्रमा ब्रोडब्यान्ड सर्भिस, फाइबर कहाँसम्म लिएर जान सकिन्छ भनेर सहकार्य गरिरहेका छौं,’ उनले भने । सीईओ न्यौपानेका अनुसार दुई हप्ताअघि कञ्चनजङ्घा क्षेत्रभित्रका स्थानीय १० जना युवालाई वर्ल्डलिंकले काठमाडौंमा प्राविधिक तालिम दिएर पठाइएको थियो । उनीहरू लाई इन्टरनेट जोड्ने बेलामा प्रयोग गर्न सकिने उनले सुनाए । सीईओ न्यौपानेका अनुसार यति कार्यक्रम मात्रै कञ्चनजङ्घा क्षेत्रको लागि पर्याप्त नभएको हुँदा केन्द्रीय सरकार, पर्यटन बोर्डले नयाँ कार्यक्रम ल्याउन पहल गरिरहेको छ । पर्यटन बोर्डले एकपटक आयोजना गरिने कार्यक्रममा बजेट नछुट्याए पनि रणनीति हिसाबले वार्षिक बजेटमा कञ्चनजङ्घाको लागि केही न केही कार्यक्रम छुट्याउनुपर्ने बताउँछन् । उनले भने, ‘वार्षिक बजेटमा पर्यटन बोर्डले बजेट नै छुट्याएर कार्यक्रम गर्नुभयो भने प्रभावकारी हुन सक्छ । उदाहरणको लागि त्यहाँको बाटो, पुल पुनः निर्माण गर्न, होटलको क्षमता वृद्धि तालिममा फोकस कार्यक्रम ल्याउनुपर्छ । यस्ता कार्यक्रम ल्याउनुहुन्छ कि भन्ने हाम्रो अपेक्षा छ ।’ ७० औैं वार्षिक उत्सव मनाउने तयारीमा कञ्चनजङ्घा हिमालको पहिलो सफल आरोहण भएको ७० औं वर्ष पुगेको उपलक्ष्यमा कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषदले तीन दिने विशेष कार्यक्रमको आयोजना गर्ने भएको छ । कार्यक्रमको मुख्य आयोजकमा कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद् र सहआयोजकमा समृद्ध पहाड, नेपाल पर्वतारोहण संघलगायत विभिन्न संघसंस्था छन् । वार्षिक उत्सव मनाउनुको मुख्य उद्देश्य कञ्चनजङ्घा आरोहणका विविध आयामहरूको नेपाल तथा अन्तर्राष्ट्रिय स्तरमा प्रचार-प्रसार गरी अन्तर्राष्ट्रिय पर्वतारोहीहरूका लागि सुरक्षित, दिगो, र उत्तरदायी र आकर्षक बनाउने रहेको आयोजकले जनाएको छ । कार्यक्रम आयोजकका अनुसार अप्रिल २४ मा काठमाडौंमा अर्को विशेष कार्यक्रमको आयोजना हुने छ । यस कार्यक्रमले स्थानीय समुदाय, विभिन्न संघसंस्था र विभिन्न सरोकारवाला निकायलाई एकसाथ जोडिन मद्दत पुग्ने आयोजकले जनाएको छ । पर्वतीय पर्यटनको प्रवर्द्धन, हिमालको संरक्षण, ऐतिहासिक उपलब्धिको कदर, स्थानीय समुदायको समृद्धि, र दिगो पर्वतारोहण प्रचार-प्रसार एवं रणनीति विकासजस्ता उद्देश्य यो कार्यक्रमको रहेका छन् । त्यस्तै, यस उत्सवले कञ्चनजङ्घा क्षेत्रको अलौकिक सुन्दरता, जैविक विविधता एवं पर्वतीय पर्यटनको सम्भावनालाई विश्व समुदाय समक्ष पुर्याउन मद्दत पुग्ने छ । हिमाली पारिस्थितिक प्रणालीको संरक्षण, जलवायु परिवर्तनले कञ्चनजङ्घा हिमाल र आसपासका क्षेत्रहरूमा पारेका असरबारे सचेतना जगाउने, शेर्पा, लिम्बू, राई लगायतका स्थानीय समुदायहरूको पर्वतीय पर्यटनमा योगदानलाई सम्मान गरी स्थानीय परम्परा एवं सांस्कृतिक महत्वलाई प्रचार-प्रसार गर्ने कार्यक्रमको उद्देश्य रहेको छ । सन् १९५५ मे २५ मा बेलायती नागरिक जर्ज ब्याण्ड र जो ब्राउनले पहिलोपटक कञ्चनजङ्घा हिमालको सफल आरोहण गरेका थिए । यो हिमाल ८ हजार ८५६ मिटर अग्लो छ ।
सहकारीप्रति झन अनुदार बन्यो राष्ट्र बैंक, बचतको सीमादेखि सीईओ र सञ्चालकलाई कडाइसम्म
काठमाडौं । बचत तथा ऋण सहकारी संस्थाप्रति नेपाल राष्ट्र बैंक कडा बनेको छ । राष्ट्र बैंकले बिहीबार सहकारी संस्थाका लागि निर्देशा तथा मापदण्ड जारी गर्दै विभिन्न नीतिगत व्यवस्था गरेको हो । राष्ट्र बैंकले सहकारी संस्थाले प्राथमिक पुँजी कोषको १५्र गुणासम्म बचत संकलन गर्न सक्ने, संस्थाले बैंक तथा वित्तीय संस्था र सहकारी बैंकबाट आफ्नो कुल सम्पत्तिको पाँच प्रतिशतसम्म ऋण लिन सक्ने व्यवस्था गरेको छ । तर, यसरी ऋण लिँदा पुँजीकोषको शतप्रतिशत भन्दा बढी ऋण लिन नपाइने व्यवस्था गरेको छ । यस्तै, ५१ प्रतिशत वा सोभन्दा बढी लगानी सामूहिक जमानीमा गर्ने सहकारी संस्थाको हकमा कुल सम्पत्तिको२० प्रतिशत वा पुँजी कोषको१० गुणासम्म (जनु कम हुन्छ त्योसीमासम्म) ऋण लिन सक्ने व्यवस्था गरेको छ । यस्तै, राष्ट्र बैंकले बचतमा पनि सीमा तोकेको छ । अब बचत तथा ऋण सहकारी संस्थले एक जिल्ला कार्यक्षेत्र भएको दश लाख, एकभन्दा बढी जिल्ला कार्यक्षेत्र भएको पच्चीस लाख र एक प्रदेशभन्दा बढी कार्यक्षेत्र भएको पचास लाख रुपैयाँ बचतको सीमा तोकेको छ । सहकारी संस्थाले सदस्यता लिएको न्यूनतम तीन महिना नपुगेका सदस्यहरुलाई ऋण लगानी गर्न नसक्ने व्यवस्था पनि गरेको छ भने संस्थाले प्रति सदस्य प्राथमिक पुँजीको अधिकतम १५ (पन्ध्र) प्रतिशतभन्दा बढी रकम ऋण प्रवाह गर्न नसक्ने व्यवस्था गरेको छ । सहकारी संस्थाले नियमित बचत गरिरहेका सदस्यलाई निजको बचत रकमको पाँच गुणा वा बढीमा रु पाँच लाखमध्येजुन कम हन्ुछ सो बराबरकोरकममात्र बिना धितोऋण प्रवाह गर्न सक्नेछ र यसरी बिना धितो कर्जा प्रवाह गर्दा कम्तीमा दुई जना सदस्यहरुको जमानी लिनु पर्नेछ । सम्पत्ति खरिद÷निर्माण गर्दा साधारणसभाको कम्तीमा ५१ प्रतिशत बहुमतको निर्णयबाट मात्र गर्नुपर्नेछ र सम्पत्ति खरिद÷निर्माण गरिएको जानकारी ३० दिनभित्र नियमनकारी निकायमा दिनुपर्ने, विशिष्टिकृत संस्थाबाहके ठुलो कारोबार गर्ने संस्थाले कुल ऋणको न्यूनतम ५० प्रतिशत कृषि, उद्योग र व्यवसाय सञ्चालन÷बिस्तारलगायत उत्पादनमूलक क्षेत्रमा प्रवाह गर्नु पर्ने व्यवस्था पनि गरेको छ । यस्तै, संस्थाले सदस्यको बचतको सुरक्षणमा बढीमा ९० प्रतिशतसम्म ऋण प्रवाह गर्न सक्ने व्यवस्था गरेको छ भने अचल सम्पत्तिको धितोमा ऋण प्रवाह गर्दा उप÷महानगरपालिकामा रहको धितो मूल्याङ्कनको बढीमा ६० प्रतिशतसम्म र नगर÷गाउँपालिकामा रहेको धितोको हकमा बढीमा ७० प्रतिशत सम्म ऋण प्रदान गर्न सक्ने व्यवस्था पनि गरेको छ । संस्थाले कुल बचत दायित्वको कम्तिमा १५ प्रतिशत तरल सम्पत्ति कायम गर्नु पर्नेछ । तरल सम्पत्ति मापन गर्दा देहाय वमोजिमको सम्पत्ति समावेश गर्नुपर्ने मापदण्डमा उल्लेख छ । बचत र ऋणकोब्याजदर बीचकोअन्तर छ प्रतिशतभन्दा बढी लिन नपाइने व्यवस्था पनि राष्ट्र बैंकले गरेको छ भने । ब्याजदर गणना गर्दा बचत र ऋणको भारित औसत ब्याजदरलाई आधार मान्नुपर्ने उल्लेख छ । राष्ट्र बैंकले सहकारी संस्थाको प्रमुख कार्यकारी अधिकृतका लागि सहकारी संस्थाबाट आफूले वा एकाघर परिवारको नाममा ऋण नलिएको, फौजदारी अभियोगमा कारवाही नभएको, कालोसूचीमा नपरेको वा कालोसूचीबाट फुकुवा भएको तीन वर्ष पूरा भएको, (अन्य सहकारी संस्थाहरुमा संलग्न नभएको, राजनैतिक दलको सदस्य नभएको, २१ वर्ष उमेर पूरा भएको र ठूला कारोवार गर्ने सहकारी संस्था बाहेकको हकमा न्यूनतम शैक्षिक योग्यता दश जोड दुई वा प्रवीणता प्रमाणपत्र तह र ठुलो कारोबार गर्ने संस्थाहरुको हकमा स्नातक तह उत्तीर्ण भएको हुनु पर्ने पर्ने व्यवस्था गरेको छ । सञ्चालकको एकाघर परिवारको व्यक्ति कार्यकारी प्रमुख÷संस्था प्रमुखको रुपमा कार्य गर्न नपाउने व्यवस्था गरेको छ भने कार्यालय प्रमुखको नियुक्तिसम्बन्धी जानकारी नियमनकारी निकायलाई १५ दिनभित्र दिनु पर्ने व्यवस्था गरेको छ । सहकारी सञ्चालक समितिमा अध्यक्षसहित कम्तिमा पाँच र बढीमा नौ जना जना सदस्य रहन सक्ने व्यवस्था गरिएको छ भने उपलब्ध भएसम्म समितिमा कम्तिमा तेत्तीस प्रतिशत महिला सदस्यको प्रतिनिधित्व निश्चित गर्नुपर्ने व्यवस्था छ । परिवारको एकभन्दा वढी ब्यक्ति एकै अवधिमा सञ्चालक तथा लेखा सुपरिवेक्षण समितिको पदाधिकारीको रुपमा निर्वाचित हुन नपाउने, सञ्चालक पदमा दुई कार्यकालभन्दा बढी अवधिको लागि निर्वाचित हुन र बहाल रहन नसक्ने व्यवस्था गरेको छ । कुनै पनि सदस्य एकै अवधिमा एकभन्दा बढी संस्थाको सञ्चालक वा पदाधिकारी हुन नपाइने, सञ्चालक समितिमा निर्वाचित हुनका लागि प्रचलित कानुनबमोजिम कालोसूचीमा नपरेको वा कालोसूचीमा परेको भएमा फुकुवा भएको मितिले तीन वर्ष पूरा भएको हुनु पर्ने, सञ्चालकले आफू जमानी बसी कुनै पनि ऋण प्रवाह गर्न नपाइने र सञ्चालक कालो सूचीमा परेमा र आफैले वा परिवारका सदस्यले लिएको ऋण र जमानी दिएको ऋण खराब वर्गमा वर्गीकृत भएमा त्यस्तो सञ्चालक स्वतः पदमुक्त हुने व्यवस्था गरेको छ ।
सञ्चय र योगदानकर्ताको खातामा ईपीएफले जम्मा गर्यो साढे ५ अर्ब रुपैयाँ
काठमाडौं । कर्मचारी सञ्चय कोषले गत आर्थिक वर्ष २०८०/८१ मा आर्जन गरेको कुल मुनाफाबाट सञ्चयकर्ता तथा योगदानकर्ताहरूलाई करिब ५ अर्ब ३४ करोड रुपैयाँ मुनाफा वितरण गरेको छ । जसअनुसार, कोषका सञ्चयकर्ताहरूको खातामा करिब ५ अर्ब २७ करोड रुपैयाँ र योगदानमा आधारित निवृत्त भरण कोषका योगदानकर्ताहरूको खातामा करिब ६ करोड ४३ लाख रुपैयाँ मुनाफा जम्मा गरिएको मुख्य प्रबन्धक तथा प्रवक्ता दामोदर प्रसाद सुवेदी जानकारी दिए । उनका अनुसार कर्मचारी सञ्चय कोष सञ्चालक समितिको चैत १७ गते बसेको बैठकले कोषको आर्थिक वर्ष २०८०/८१ को वित्तीय विवरण स्वीकृत गर्दै सञ्चयकर्ता तथा योगदानकर्ताहरूको व्यक्तिगत खातामा रहेको शुरू मौज्दात रकममा १.१० प्रतिशतका दरले हुने रकम मुनाफाका रूपमा वितरण गर्ने निर्णय गरे बमोजिमको मुनाफा सञ्चयकर्ता तथा योगदानकर्ताहरूको खातामा जम्मा गरिएको हो । कोषले प्रत्येक आर्थिक वर्षमा आर्जन गरेको कुल मुनाफाको ९२ प्रतिशत रकम सञ्चयकर्ताका लागि मुनाफा र कल्याणकारी प्रयोजनका लागि छुट्याई वितरण गर्ने गरेको छ भने बाँकी रकम विभिन्न जगेडा कोषमा राख्ने गरिएको छ । कोषले सञ्चयकर्ता तथा योगदानकर्ताहरूलाई चालु आर्थिक वर्षमा सञ्चित रकममा ५.५० प्रतिशतका दरले ब्याज प्रदान गरेको छ भने सञ्चित रकमको सुरक्षणमा सञ्चयकर्ता तथा योगदानकर्ताहरूले कोषबाट ६.६० प्रतिशत ब्याजमा सञ्चित रकमको ९० प्रतिशतसम्म विशेष सापटी पाउने गरेका छन् । यस परिप्रेक्ष्यमा कोषबाट सञ्चयकर्ता तथा योगदानकर्ताहरूले पाउने ५.५० प्रतिशत ब्याजदरमा मुनाफा १.१० प्रतिशत समेत जोड्दा जम्मा ६.६० प्रतिशत हुने र विशेष सापटीको ब्याजदर ६.६० प्रतिशत मात्र भएकाले सञ्चयकर्ता तथा योगदानकर्ताहरूले प्राप्त गर्ने प्रतिफल र तिर्नुपर्ने ब्याज समान रहन गएको छ । यसैगरी, हाल अर्थतन्त्रमा देखिएको शिथिलताको अवस्थामा समेत सञ्चयकर्ता तथा योगदानकर्ताहरूलाई सञ्चित रकममा ब्याज र मुनाफा समेत गरी वार्षिक ६.६० प्रतिशतका दरले प्रतिफल प्रदान गर्न सकिएको छ । कोषले सञ्चयकर्ता तथा योगदानकर्ताहरूको सेवा कालको आवश्यकता परिपूर्ति गर्ने उद्देश्यले विगतदेखि नै विशेष सापटी, घर सापटी, शैक्षिक सापटी, घर मर्मत सापटी, सरल सापटी र जग्गा खरिद सापटी समेत उपलब्ध गराउँदै आएको छ । साथै, सञ्चयकर्ताले छुट्टै योगदान गर्नु नपर्ने गरी कोषले आफ्नै स्रोतबाट सञ्चयकर्ता दम्पतीलाई स्वास्थ्य उपचार सोध भर्ना सुविधा उपलब्ध गराउँदै आएको छ भने काजक्रिया अनुदान, सुत्केरी तथा शिशु स्याहार सुविधा, दुर्घटना क्षतिपूर्ति अनुदान लगायतका सामाजिक सुविधाहरू समेत प्रदान गर्दै आएको छ । यस अन्तर्गत गत आर्थिक वर्ष २०८०.८१ मा सुत्केरी तथा शिशु स्याहार सुविधा बापत १९ हजार ५२५ जना सञ्चयकर्तालाई करिब १४ करोड ६५ लाख रुपैयाँ, काजक्रिया अनुदान बापत ७०६ जनालाई करिब २ करोड ८२ लाख रुपैयाँ, दुर्घटना क्षतिपूर्ति बापत १०७ जनालाई करिब २ करोड १४ लाख रुपैयाँ, स्वास्थ्य उपचार सोध भर्ना बापत ५ हजार ७३६ जनालाई ३४ करोड ६५ लाख रुपैयाँ र विशेष आर्थिक सुविधा बापत निजामतीतर्फका ४७ जना सञ्चयकर्तालाई करिब ७० लाख रुपैयाँ प्रदान गरिएको छ । हाल कर्मचारी सञ्चय कोषमा ५ लाख ७५ हजारको सङ्ख्यामा सञ्चयकर्ता र ८० हजार ४०० को सङ्ख्यामा निवृत्त भरण कोषका योगदानकर्ता रहेका छन् ।